बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पहिलो प्रसव

कहिल्यै हार नमानेकाे हिम्मत

शनिबार, २१ असार २०८२, २० : २२
शनिबार, २१ असार २०८२

सारांश

  • सुलोचनाको जीवन यात्रा: बाल्यकाल, संघर्ष, र साहित्यिक यात्राको बारेमा जानकारी दिइएको छ।
  • विभिन्न कठिनाइहरूको सामना गर्दै सुलोचनाले शिक्षा, राजनीति, र साहित्यमा आफ्नो पहिचान बनाइन्।
  • सुलोचनाको जीवनका महत्त्वपूर्ण घटनाहरू, जस्तै विवाह, पारिवारिक सम्बन्ध, र साहित्यिक योगदानको चर्चा गरिएको छ।

काठमाडौँको मुटु झोछेँमा वि.सं. २०११ फागुनमा एउटा नेवार परिवारमा जन्मिएकी हुन् सुलोचना । पिता साहित्यमा रुचि राख्थे । हजुरआमा (अजी) कवि थिइन्, चार भाषाकी ज्ञाता । तर उनले न पिताको अनुहार देख्ने सौभाग्य पाइन् न त अजीको छहारीमा हुर्किन नै पाइन् । सुलोचना जन्मिएको आठ महिनामा उनका पिताको निधन भयो । एकल आमाका तीन सन्तानमध्ये कान्छी, आफ्ना लागि दिदीहरूभन्दा स्थिति केही सहज भने थियो कि भन्छिन् उनी । दिदीहरू जेहेन्दार थिए । तर घर–व्यवहार हेर्दाहेर्दै न त पढ्न पाए, न त लेख्न । बिहेपछि उनीहरूको जीवन झनै कष्टकर बन्यो । दिदीहरू निकै राम्रा कविता पनि कोर्न सक्थे । तर सानै उमेरमा दुःख बर्सिएको जिन्दगीमा उनीहरूले कविताको हात समाएर कहिल्यै हिँड्न पाएनन् ।

अभाव र दुःखले भरिएको घरभरि जताततै सुलोचनाका पिता र अजीका पालाका साहित्यिक किताब मात्रै थिए । त्यही किताबसँगै हुर्किइन् सुलोचना । ‘२६ वर्षलाई अहिले बिहा गर्ने उमेर नै होइन भन्छन्, त्यो उमेरमा मेरी आमाले एक्लैले तीनवटी छोरीलाई हुर्काउनुभयो,’ सुलोचना भन्छिन् । पिता नहुनु अपूरणीय क्षति थियो नै । फेरि आमा पनि खासै साक्षर नभएकाले अर्थ आर्जन गर्न पनि सजिलो थिएन । त्यसमाथि आर्थिक, सामाजिक समस्याको चाङ । उनले सहजै पढ्न पाइनन् । सुलोचना त्यतिबेलाका अरू बच्चाभन्दा अलि बढी चुलबुले थिइन् । घरका सानातिना काम भ्याएर बाहिर चोकतिर साथीभाइसँग खेल्दै डुल्दै बिताउने मौका पनि पाइन् । सानैदेखि पढ्नुपर्छ, ज्ञानी हुनुपर्छ भन्ने सोचले विस्तारै उनीभित्र घर बनाउन थाल्यो । ‘घरभरि छरिएका किताब पढ्न पनि त मैले अक्षर चिन्नैपथ्र्यो । त्यसैका लागि भए पनि मैले पढ्न थालेँ,’ उनले भनिन् ।
संयोग कस्तो भयो भने उनको घरनजिकै महिलाहरूको एक समूहले विद्यालय खोल्यो । तर कताबाट पाउनु सुलोचनाले कोर्स बुक, कापी, कलम ? कसले किनिदिनु ? यी बिनै उनले अक्षरको हात समातिन् । ‘अहिले सम्झँदा रमाइलो लाग्छ । तर ती दिन दुःख, सङ्घर्ष, सकस र चुनौतीपूर्ण थिए,’ उनले सुनाइन् । विद्यालय जाँदा साथमा बोकेर लैजाने कोर्सका किताबकापी हुँदैनथे । सुलोचना घरमा पिताले सङ्कलन गरेर राख्नुभएका समकालीन साहित्यकारहरूका कृति बोकेर स्कुल जान्थिन् । किताबका चाङमा बालकृष्ण समको ‘मुटुको व्यथा’, ‘भीष्म प्रतिज्ञा’, ‘शारदा’ पत्रिका, तिब्बती भाषाका अन्य कैयौँ पुस्तक र हिन्दी भाषाका केही पुस्तक पनि थिए ।

अरू विषयमा त उनले सुनेकै भरमा पनि राम्रै अङ्क ल्याएर उत्तीर्ण भइन् । तर गणित छिचोल्न उनलाई गाह्रो भयो । जेनतेन गरेर २०२९ सालमा सुलोचना एसएलसी पास भइन् । ‘एसएलसी उत्तीर्ण भएको दिन मलाई आफूले हिमालभन्दा ठूलो पहाड चढेको जस्तो महसुस भयो,’ उनी भन्छिन् । आफूले कत्रो अभाव भोगेर त्यहाँसम्म पुगेकी थिइन् । भविष्यमा के गर्ने त भन्ने सोच्दै जाँदा उनले शिक्षक जान नमान्ने, सबभन्दा अँध्यारो जुन ठाउँ छ, त्यहीँ गएर पढाउँछु भन्ने अठोट गरिन् । यसका लागि उनले झोछेँभन्दा केही पर हिँडेर दस मिनेटमै पुगिने भए पनि काठमाडौँको सबभन्दा पिछडिएको ठाउँमध्ये एक, दलितहरू बस्ने ठाउँ रोजिन् । त्यहाँ स्कुलको नाममा साइनबोर्ड थियो तर स्कुल घर नै थिएन, एउटा फल्चा मात्र थियो । त्यहीँका विद्यार्थीहरूलाई उनले चार वर्षसम्म पढाइन् । ‘मेरो पढाइ, साहित्यिक अनि राजनीतिक यात्रा सबैसँगसँगै जस्तो अगाडि बढे,’ विगतका दिनलाई कोट्याउँदै उनले भनिन् ।

किशोरावस्थामा पुग्नुभन्दा अगाडिदेखि नै सुलोचनाको सम्बन्ध बाल साहित्यकार शान्तदास मानन्धरसँग थियो । एउटै टोल भएकाले उनलाई सुलोचना काका भन्थिन् । शान्तदासको घरमा त्यतिबेलाका भूमिगत नेता र साहित्यकार श्यामप्रसाद शर्मा लुकेर बस्ने गर्थे । सुलोचनाकै एक काकाकी छोरी त्यो घरमा ओहोदोहोर गरिराख्थिन् । तिनैले मानन्धरको घरबाट ल्याएर सुलोचनालाई राजनीतिक, प्रगतिशील किताबहरू पढ्न दिन्थिन् । ती किताबसँग सङ्गत गर्न थालेपछि सुलोचनाको झुकाव वामपन्थी राजनीतितिर हुन थाल्यो ।

किशोरावस्था पूरा नहुँदै सोह्र वर्षमा नै उनको घरमा उनको बिहेको कुरा चल्यो । त्यो बेला मागी बिहेको चलन थियो । तर उनी भने गोप्य रूपमा राजनीतिमा होमिसकेकी थिइन् । उनलाई नै बिहे गर्छु भनेर दुई वर्षयता पर्खेका एक केटाका परिवारले ।

अठार वर्ष पुग्दा बिहेको दिनसमेत निश्चित भइसकेपछि, सुलोचनाले राजनीतिक कारणले बिहे नगर्ने निर्णय लिइन् । तर त्यो केटाको परिवार उनलाई बिहे नगरी नछाड्ने अडानमा थिए । बिहेअघि भोज गर्ने चलन थियो, उनीहरूको संस्कारमा त्यो भोजको समेत तयारी भइसकेको थियो । पछि सुलोचनाले बिहे गर्दै नगर्ने निर्णय सुनाइन् । धेरै सङ्घर्ष भयो, जीवनमरणकै । यो कुरा सुनेपछि लमीले उनको घरमा आएर निकै विरोध जनाएकी थिइन्, ‘धोका दियो’ भनेर । छोरीकै कारण परिवारको इज्जत जाने भएकाले सुलोचनाकी आमालाई पनि धेरै गाह्रो भयो । बिहे नगरे आफैँ मरिदिन्छु भनेर आमाले भनेको समेत सुलोचनाले सुनाइन् । आफैँलाई जन्म दिएकी आमाले आफ्नै कारणले मृत्युवरण गरेको दृश्य कल्पँदा कसको मन पो नकाँप्ला ! 

आमालाई मर्न दिनुभन्दा त बरु आफू नै मर्छु, टन्टै साफ भन्ने सोच उनमा आयो । आमाकै अनुहार हेरेर सुलोचना आमासामु आत्मसमर्पण गर्नसमेत तयार थिइन् । तर पार्टीसम्बद्ध एक दाइ (उनले नाम खुलाइनन्) ले ‘अहिलेसम्म संसारमा कहीँ पनि छोरीले बिहे गरिनँ भनेर आमाले आत्महत्या गरेका छैनन् । त्यो त तिमीलाई तर्साउन मात्रै भनेको हो । तिमी नडराऊ, संसार ठूलो छ,’ भनेपछि सुलोचनालाई थप आँट आयो । सुलोचनासितै बिहे गर्न भनेर केटाका परिवारले दुई वर्ष कुरिसकेका थिए । यो बिहे नगर्ने निर्णयपछि सुलोचनाले निकै समयसम्म मानसिक र पारिवारिक तनावको सामना गर्नुपर्‍यो ।

  • साहित्यिक यात्रा

सुलोचनाले कक्षा ६ मा पढ्न थालेदेखि साहित्यमा कलम चलाउन सुरु गरिन् । त्यतिबेला उनले सानो बच्चाले गुच्चाको लोभ गरेको विषयमा छोटो कथा लेखेकी थिइन् । तर यो कथा उनले कतै पनि छपाइनन् । पछि कविता पनि लेखिन्, उनको सुरुको कविता पढेपछि श्यामप्रसाद शर्माले ‘यो केटीले लेख्छे है, यो लेख्न सक्ने केटी हो,’ भनेर भनेको कुरा सुलोचनाका काकाकी छोरीले उनीसम्म ल्याइपुर्‍याइन् । त्यसपछि उनले धेरै कविताहरू कोर्न थालिन् । सुलोचना किशोरावस्थादेखि नै भूमिगत राजनीतिमा होमिएकाले ती कविताहरूमा नाम लेखिँदैनथे । त्यसैले शुरुआती दिनमा उनले लेखेका कुराका दस्तावेज कतै पनि भेटिँदैनन् ।
लेनिनको किताब पढेपछि सुलोचना मजदुर बनेर क्रान्तिको काममा लागिन् । मजदुरहरूको अवस्था चित्रण गर्न त्यतिबेला उनी आफैँले नाटक लेखेर मञ्चन गराएकी थिइन् । तर त्यो नाटकको पनि न त उनीसँग पाण्डुलिपि छ, न त भिडियो नै । अहिलेजस्तो कम्प्युटर थिएन । अफिसमा काम गर्ने साथीहरूले टाइप गरेर एक मुठा बनाइदिएका थिए उनका कविताहरू । त्यतिबेला किताब छपाउने सोच पनि थिएन । ती कविताहरू सबै इनारमा खस्न पुगे, सुरक्षाका निम्ति ।

सुलोचनाले आई.ए. उत्तीर्ण गर्न १० वर्ष लगाइन् । पार्टीको बुर्जुवा शिक्षाविरोधी नीतिका कारण यस्तो परिस्थिति उत्पन्न भएको थियो । उनीसमेतका केही युवा साथीहरू जानीजानी फेल भएका थिए । यो समूहमा अष्टलक्ष्मी शाक्यसमेत धेरै जना थिए । वि.सं. २०३८ सालमा सुलोचनाले सरोज धितालसँग बिहे गरिन् । चीनबाट पढेर आएका धिताल भक्तपुर हस्पिटलमा काम गर्थे । उनी राम्रो डाक्टर थिए । उनी वामपन्थी राजनीतिमा पनि होमिएका थिए । सङ्गठनमा आबद्ध भएकै समयमा यी दुईको भेट भएको थियो । विस्तारै यो भेट चिनजान र प्रेममा परिणत भयो । जीवन बिताउन सुलोचनाले लोग्नेमान्छे मात्रै खोजेकी थिइनन्, विचारसहितको असल मान्छे खोजेकी थिइन् । आफूले खोजेको कुरा उनले धितालमा भेटिन् । बिहे गरेपछि सुलोचनालाई पढाइ पूरा गर्नुपर्ने सोच आउन थाल्यो । विस्तारै उनले पढाइ पूरा गरिन् । बिहे गरेको एक वर्षपछि सुलोचनाको पहिलो सन्तान छोरी जन्मिइन् । त्यति नै बेला वामपन्थी विद्रोह उत्कर्षमा थियो । बच्चा पेटमा भएकै बेला सरोज भूमिगत भए । केही समय सुलोचनाले बच्चा र व्यवहार सम्हाल्दै एक्लै दुःख गरेर छोरी हुर्काइन् । सानो बच्चालाई बोक्दै तराईतिर स्कुलमा पढाउने काममा पनि लागिन् ।

२०४१ सालतिर सरोज सर्जरीमा पीएचडी गर्न चीन गए । व्यवहारमा नपरेका उनलाई अरू बेला घरपरिवारबारे अनुभव पनि कमै थियो । तर चीन पुगेपछि भने उनले घरपरिवार र जहानको निकै पीर गर्न थाले । एक वर्ष नहुँदै पढाइ नै बीचमै छाडेर नेपाल फर्कने कुरा गर्न थालेपछि सुलोचना पनि भिसा मिलाएर छोरीलाई साथै बोकेर अध्ययनका लागि भनेर चीन गइन् । चीनमा पुगेर पनि पढाइका निम्ति श्रीमान् एकातिर, आफू एकातिर अनि छोरी अर्कातिर हुनुपर्‍यो । तीन जनाको एउटा परिवार तीनतिर बाँडियो । अनेक दुःख र हन्डर खाएर धिताल दम्पतीले पढे । यही समयमा सुलोचनाले जापानी पाठकका निम्ति लेख लेख्न थालिन् । छात्रवृत्ति भए पनि छोरीलाई पढाउन पैसाको खाँचो थियो । त्यतिबेला त आफूले रहरभन्दा पनि कहरले लेखेको उनी सुनाउँछिन् । यसबापत उनले राम्रै पैसा पनि पाउँथिन् । उनले लेखेको कुरालाई श्रीमानले अङ्ग्रेजीमा र जापानी साथीहरूले जापानीमा उल्था गरिदिन्थे । चिनियाँ भाषामा उनी आफैँ लेख्थिन् । विस्तारै उनका लेख अरू देशमा पनि छापिन थाले । बालकलाई सम्बोधन गरेर उनले लेखेको एउटा लेख न्युयोर्कको सम्मेलनमा समेत पेस भएको थियो । चीनमा पढाइ पूरा गरेर २०४८ सालमा सुलोचना नेपाल फर्किइन् । नेपाल आएको केही महिनापछि उनको कान्छी छोरी जन्मिइन् । ‘म त फेरि बुहारी, अन्तरजातीय बिहे गरेकी थिएँ । मेरो नयाँ सङ्घर्ष सुरु भयो,’ हाँस्दै उनले सुनाइन् । हरेक सङ्घर्ष र कष्टका दिनहरू सम्झिँदा उज्यालो रहने उनको मुहार यो कुरा भनिरहँदा पनि उस्तै उज्यालो र शान्त थियो ।

  • पहिलो कृति

सुलोचनाले लेखेको पहिलो कृति ‘कर्म या भोग, धै गुछुथाय्’ हो । यो कृति २०३२ सालमा छापियो । साथीहरूले नै यो कृति छपाइदिएका थिए । यो नेवारी भाषामा आएको थियो यो कृति । तर उनी भूमिगत भएकाले यस कृतिमा उनको नाम कतै थिएन । उनीसँग अहिले यो कृतिको एउटै प्रति पनि छैन । पछि उनले यसको एक प्रति पाएकी थिइन् । तर त्यसलाई उनले बचाएर राख्न सकिनन् । किशोरावस्थामा पनि उनले दर्जनौँ कविता लेखेकी थिइन् । कविताका मुठा साथी अष्टलक्ष्मी शाक्यको घरमा राखेकी थिइन् । एक दिन अष्टलक्ष्मीको घरमा प्रहरीले छापा मार्‍यो । दिदी समातिने डरले उनका बहिनीहरूले घरमा भएका सबै कागजपत्र इनारमा खसाइदिएका थिए । यस क्रममा सुलोचनाका कविताका मुठाहरू पनि पानीमा खसेर स्वाहा भए । आफ्नो पिताको सम्झनामा उनले नेवारी भाषामा दिदीहरूसँग मिलेर एउटा पुस्तिका छपाएकी थिइन् । त्यो कृति पनि उनीसँग खासै बाँकी छैन । उनले औपचारिक रूपमा कृति छपाएको चाहिँ २०५६ सालमा हो, ‘झ्यारखाना’ शीर्षकको कथासङ्ग्रह । नेपालीमा यसको अर्थ झ्यालखाना हुन्छ । यो कथासङ्ग्रह नेवारी भाषामा आएको थियो । यसको विमोचनमा प्रमुख अतिथि थिए पूर्वमन्त्री तथा साहित्यकार पद्मरत्न तुलाधर, कवि दुर्गालाल र प्राध्यापक माणिकलाल श्रेष्ठ सो कार्यक्रममा अतिथिका रूपमा आएका थिए । आफ्ना कथाहरू पढेर तुलाधर मञ्चमा नै रोएको सम्झना उनको मनमा अहिले पनि उत्तिकै गाढा छ । यो कृतिमा उनले २०४० सालयता लेखेका कथाहरू सङ्गृहीत गरिएको थियो । उनको यो कृति बहिनी श्रीलक्ष्मीको भावना पिथना प्रकाशनले छापिदिएको थियो, जसका कारण कृति छपाउन आर्थिक रूपमा सुलोचनालाई त्यति भार परेन । कृतिको विमोचन गर्ने खर्च मात्रै उनले बेहोरेकी थिइन् ।

अहिलेसम्म सुलोचनाका कथा, कविता, नियात्रा, लेखहरूको सङ्कलन सबै गरेर १८ वटा कृति छापिएका छन् । उनका ‘रात’, ‘आहा ! जीवन’ आदि कवितासङ्ग्रह छापिएका छन् । उनको ‘इतिहासका जिउँदा पानाहरू’ निबन्धसङ्ग्रह पनि प्रकाशित छ । यसबाहेक ‘जीवनबाट जीवन सिकौँ’ जीवनदर्शन पनि आएको छ । यतिबेला उनको ‘एकजोर आँखा’ कथासङ्ग्रह प्रेसमा छ अहिले । ‘प्रकाशकलाई छाप्न भनेर दिएकी छु । कहिले बजारमा आउँछ थाहा छैन,’ उनले भनिन् ।

लगभग पूरा भएर पनि उनले कैयौँ कृति अलपत्र छाडेकी छिन्, किताबका रूपमा प्रकाशन गरेकी छैनन् । ‘प्रकाशक पनि छन् । घरमै लिन आउँदाखेरि पनि मैले दिन सकेकी छैन । म अलिक अल्छी छु कि जस्तो लाग्छ,’ हाँस्दै भनिन् । ‘बहिनी, अब त मलाई किताब निस्कियोस्, ननिस्कियोस् केही जस्तो लाग्दैन । एक प्रकारले सन्तुष्ट छु,’ उनले सुनाइन् ।

२५ वर्ष भयो सुलोचनाको पीएचडी अड्किएको । ‘म अलि बढी कर्ममा विश्वास गर्छु । आफूले जे कर्म गर्‍यो, त्यसैको फलित हुन्छ । त्यसकारणले सकेसम्म कसैलाई पनि चित्त नदुखाऊँ भन्छु । तर कसैले जानेर नजानेर मेरो पीएचडी अड्काइरहेका छन् । खुसामद गर्ने बानी नै छैन । मेरो यही बानीका कारण पीएचडी रोकिएको छ,’ उनले सुनाइन् । पहिले राजनीतिक काममा लागेको भए पनि अब त उनी स्वतन्त्र भएर लेखन तथा सिर्जनात्मक काममा बढी लागेकी छिन् ।

  • अन्तरजातीय बिहे

सानैदेखि सुलोचना विद्रोही थिइन् । बिहे नै गर्दिनँ भनेर बसेकी थिइन् । आमाले रोजेको केटासँग बिहे गरिनन् । तर पछि जब उनले बाहुन केटासित बिहे गर्ने निर्णय गरिन्, उनकी आमा खुसी हुनुहुन्नथ्यो । जीवनको अन्तिम वर्षमा मात्रै आमाले ‘ज्वाइँ त भगवानै रहेछन्’ भन्नुभएको कुरा उनी सुनाउँछिन् । श्रीमान्को घरमा उनले खेपेको हेला, भेदभावको कहानी पनि गाह्रै छ । सरोजका पिता न्यायाधीश थिए, हुनेखाने परिवारका छोरा । तर छोराले नेवार्नी बुहारी ल्याएपछि लामो समयसम्म घरपरिवारसँग उनको सम्बन्ध बिग्रियो । छोराको मायाले हार्न नसकेपछि तीन वर्षपछि ससुराले सुलोचनालाई दसैँको अवसर पारेर अनौपचारिक रूपमा घर भित्र्याए । तर सासूले भने उनलाई सुरुमा अपनाइनन् । आफू घरमा छिरेको पहिलो दिन सासूको अनुहारमा मडारिएको कालो बादल उनले अहिले पनि बिर्सिएकी छैनन् । समय बित्दै जाँदा ससुराले भने उनलाई स्नेह दिन थाले । जीवनका अन्तिम क्षणमा सुलोचनाका ससुरा छोरासँग भन्दा बुहारीसँग बढी नजिक भएका थिए । पछि त सासूले पनि स्वीकार गर्नुभयो । अब सम्बन्ध सहज नै छ ।

यसै सन्दर्भमा उनी ससुराबासँगका केही अविस्मरणीय क्षण सम्झन्छिन् । शिवरात्रिको समय थियो । ससुराले सुलोचनालाई आफूसँग कतै गइदिन भनेका थिए । तर कामको व्यस्ततामा उनलाई घर आउन अलि ढिला भएछ । बर्बादै भयो भनेर उनी हतारिएर घर आउँदा ससुराले हाँस्दै ‘भयो, तिमी अब जानुपर्दैन’ भने । खासमा टोलमा दाँत झिक्ने क्रममा कुनै वृद्धको मृत्यु भएको घटना ससुराले देखेका थिए । उनको पनि दाँत झिक्नु थियो । केही भइहाल्यो भने त भनेर उनले बुहारीलाई साथमा लैजान खोजेका रहेछन् । फेरि शिवरात्रिको दिनमा मृत्यु भयो भने गति परिने जनविश्वास पनि थियो । ससुराले आफूप्रति गरेको त्यो माया र विश्वास देखेर सुलोचना निकै भावविभोर भएकी थिइन् । यी कुरा सुलोचनाले ससुराबारे लेखेको ‘श्रद्धा’ संस्मरण निबन्ध पुस्तकमा लेखेकी पनि छन् ।

सुलोचना थिइन् शाकाहारी । मासुको गन्ध उनलाई मनै नपर्ने । त्यसैले दसैँमा श्रीमान्को घरमा टीका लगाउन आउँदा प्रायः उनी टीकाको दिन छलेर जान्थिन् । एक वर्ष दसैँको टीका थाप्न आउँदा ससुराले पूजाकोठामा पस्नुअघि ‘अब तिमीले मेरो हातबाट टीका लगाइरहनु पर्दैन बा । तिमीलाई त्यसै आशीर्वाद छ,’ भनेर २२ वर्षअगाडि भनेको कुरा पनि उनले सम्झिइन् ।

सरोज धिताललाई भेट्नुभन्दा अगावै सुलोचनाले उनका कविता पढेकी थिइन्, तर छद्मनाममा । कविता मन परेको थियो । कविप्रति जिज्ञासा थियो मनमा । एक जना मजदुरकी श्रीमती बिरामी भएर उनलाई हेर्ने मान्छे कोही नभएकाले सुलोचना भक्तपुर अस्पताल पुगेकी थिइन् । यस क्रममा सरोजसँग सुलोचनाको अस्पताल र बिरामीबारे विवाद पनि परेको थियो । भक्तपुर अस्पतालमा उनलाई भेट्दा आफूलाई मन परेको कवि उनै हुन् भन्ने सुलोचनालाई थाहै थिएन । पार्टी सङ्गठनले पार्टीका महिला कार्यकर्ताका लागि दर्शन पढाउन सरोजलाई बोलाएपछि दुवैको भेट भयो । त्यतिबेला सरोज २४ वर्षका थिए । हिमचिम बढ्दै जाँदा उनलाई मन पराएर, बिहेको कुरा अगाडि बढेपछि भावी श्रीमान्को बानीव्यहोरा बुझ्न उनले कति ठाउँमा सोधपुछ गरेकी थिइन् । चारैतिरबाट ‘उनी त असल मान्छे, आफ्नो देश भनेर विदेशमा पाएको अवसर छाडेर फर्किएको’ भन्ने प्रतिक्रिया आएपछि अन्ततः बिहे गर्ने निर्णयमा सुलोचना पुगिन् । मध्यम परिवारमा पुलपुलिएरै हुर्केका थिए सरोज । दुःखकष्ट के हो ? अभाव के हो ? थाहै थिएन । त्यसमाथि बालकैदेखि पिताको धेरै नजिक भएर हुर्किएका थिए उनी । तैपनि आमा, दिदीबहिनीले भोग्ने महिलाको दुःख थाहा थियो । कवितामा उनले महिलाले भोग्नुपर्ने कुरा नै लेखेका थिए । नजिक भएर उनीहरूको दुःखपीडा नियालेर हुर्किएको नभए पनि महिलाले भोग्ने समस्या बुझ्दै नबुझेको मान्छे थिएनन् । तर मान्छे त्यति व्यावहारिक थिएनन्, यस्तो मान्छेसँग व्यवहार गर्न सुरुमा सुलोचनालाई अप्ठ्यारो पनि भएको थियो । केही वर्षसम्म त सँगै नहुँदा श्रीमान्को साथ त्यति पाइनन् पनि । तर जीवनको उत्तराद्र्धमा धिताल दम्पतीलाई देख्दा जोकोहीलाई पनि ईष्र्या लाग्न सक्छ । शान्त र शालीन स्वभावको यो जोडी सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छ । सामाजिक सञ्जालमा समेत नियमित रूपमा दुई जनाले प्रेम, जीवन, आपसी सम्बन्ध र दर्शन लगायत विविध विषयमा रोचक संवादका भिडियो राखिराखेका हुन्छन् । ७० वर्षकी भइन् सुलोचना । यो उमेरमा पनि उनी साहित्यमा उत्तिकै सक्रिय छिन् । हरेक हप्ता रेडियो सगरमाथामा ‘जीवनबाट जीवन सिकौँ’ कार्यक्रम चलाइराखेकी छिन् । साहित्यिक कार्यक्रममा उत्तिकै सक्रिय छिन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्मा सन् २०१० देखि २०१३ सम्म सदस्य रही सुलोचनाले आफ्नो कार्यकालमा मातृभाषा साहित्य विभागको नेतृत्व सम्हालेकी थिइन् । मातृभाषा साहित्य प्रतिष्ठानकी संस्थापक अध्यक्ष उनी महिला सर्जकहरूको संस्था ‘गुञ्जन’की संस्थापक सदस्य पनि हुन् । मदन पुरस्कार गुठी लगायत राष्ट्रिय स्तरका संस्थामा उनी सदस्यका रूपमा संलग्न छिन् । ‘सम्पूर्ण आकाश’ स्तम्भकी स्तम्भकारका रूपमा तीस वर्षदेखि चिनिएकी उनले रेडियो सगरमाथामा पच्चीस वर्षदेखि निरन्तर साप्ताहिक कुराकानी प्रस्तुत गर्दै आएकी छन् । ‘लेख्नुस्, लेख्नुस्, लेख्नुस् । नलेखिकन लेखक हुँदैन, निर्भीक भएर लेख्नुस्,’ नयाँ पुस्ताका महिला लेखकलाई के भन्नुहुन्छ दिदी भनेर सोध्दा उनी भन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा