बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पेचिलाे बन्दै उपनिर्वाचनकाे विषय

उपनिर्वाचनलाई लिएर लोकतान्त्रिक मोर्चामा विवाद, जनमत पार्टी बाहिरिन्छ ?

बुधबार, २५ असार २०८२, १६ : ०४
बुधबार, २५ असार २०८२

सारांश

  • रुपन्देही-३ को उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने विषयमा संघीय लोकतान्त्रिक मोर्चाभित्र विवाद उत्पन्न भएको छ।
  • जनमत पार्टीले मोर्चामा आफू रहने वा नरहने भन्नेबारे अन्य दलको निर्णयमा भर पर्ने जनाएको छ, तर आफूहरु मोर्चाबाट अलग नभएको बताएको छ।
  • मोर्चामा रहेका दलहरूले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिने निर्णय गरेका छन्, जनमत पार्टीले भने छुट्टै उम्मेदवारी दिने जनाएको छ।

काठमाडौँ । रुपन्देही–३ मा हुने उपनिर्वाचनको विषय लिएर संघीय लोकतान्त्रिक मोर्चामा विवाद उत्पन्न भएको छ ।

तराई मधेसका सात वटा दल सम्मिलित मोर्चामा उपनिर्वाचनका लागि साझा उम्मेदवार उठाउने विषयमा जनमत पार्टी सहमत हुन नसकेको हो । मोर्चामा रहेका बाँकी ६ दलले भने साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् ।

यही विषयलाई लिएर मोर्चामा विभाजनको संकेत देखिएको छ । जनमत पार्टीले मोर्चामा आफू रहने कि नरहने भन्नेबारे मोर्चाका अन्य घटक दलको व्यवहार र निर्णयमा भर पर्ने प्रस्ट पारेको छ । मोर्चाका अन्य दलले भने मोर्चामा रहने कि नरहने भन्ने निर्णय गर्न जनमत पार्टी स्वतन्त्र रहेको जनाएका छन् ।

मोर्चामा रहेका जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी, लोसपा र जनता प्रगतिशील पार्टी उपनिर्वाचनमा साझा उम्मेदवार उठाउन सहमत भएका हुन् । उनीहरूले नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही–३ मा उम्मेदवारी दिने र मोर्चाका अन्य घटकले सघाउने निर्णय गरेका छन् । मोर्चाका ६ घटकले यस्तो निर्णय गरेको बैठकमा जनमत पार्टीको भने सहभागिता थिएन । जनमत पार्टीले रुपन्देही–३ मा छुट्टै उम्मेदवारी दिने निर्णय लिएको छ ।

मोर्चाका एक घटक दल जसपा नेपालका महासचिव रामकुमार शर्माले रुपन्देही–३ मा मोर्चाबाट साझा उम्मेदवार उठाउने निर्णय सर्वसम्मतिले भएको जानकारी दिए । उनले भने, ‘मोर्चाको मंगलबार बसेको बैठकमा जनमत पार्टी अनुपस्थित थियो । तैपनि हामीले उपनिर्वाचनको बारेमा निर्णय गर्‍यौँ । सो निर्णयमा जनमत पार्टीलाई पनि सहमत बनाउने प्रयास भइरहेको छ ।’

मोर्चामा रहने कि नरहने भन्ने निर्णय गर्न जनमत पार्टी स्वतन्त्र रहेको शर्माले बताए । ‘हामी मोर्चाबाट जनमत पार्टीलाई निकाल्दैनौँ, यदि जनमत पार्टीलाई नै मोर्चामा बस्ने इच्छा भएन भने हामी रोक्ने पक्षमा पनि छैनौँ,’ उनले भने ।

यता, जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले पनि आफूहरू मोर्चाबाट अलग नरहेको र नहुने बताए । उनले भने, ‘हामी मोर्चामै छौँ । कुनै प्राविधिक कारणले हिजोको बैठकमा हामी गएनौँ । यसको मतलब हामी मोर्चामा छैनौँ भन्ने होइन । हामी मोर्चामा छौँ तर सबै निर्णयमा सहमत हुनैपर्छ र मान्नै पर्छ भन्ने छैन ।’

रुपन्देही–३ मा हुने उपनिर्वाचनमा जनमत पार्टीले आफ्नै उम्मेदवार उठाउने चौधरीको भनाइ छ । पार्टीले यो विषयमा निर्णय लिइसकेको  बताउँदै उनले मोर्चाले कसलाई समर्थन गर्‍यो वा गरेन भन्ने विषयमा जनमत पार्टीको कुनै मतलब नरहेको प्रस्ट पारे ।

उनले कसैलाई चुनाव जिताउन, कसैलाई सांसद बनाउन वा मन्त्री बनाउनका लागि मोर्चा नबनेको जिकिर गरे । संविधान संशोधन र संघीयतालाई बलियो बनाउने उद्देश्यले मोर्चा बनाइएको उनको भनाइ छ । तर अहिले आएर मोर्चालाई चुनावी गठबन्धन बनाउन थालिएकाले त्यो विषयलाई जनमत पार्टीले अस्वीकार गरेको उनले प्रस्ट पारे ।

चौधरीले भने, ‘चुनाव कसरी लड्ने र सरकारमा कसरी जाने विषयमा जनमत पार्टी स्वयं निर्णय गर्छ । यसमा मोर्चा वा कुनै गठबन्धनको सहयोग आवश्यक छैन । अरु बाँकी विषयमा मोर्चासँग सहकार्य हुन्छ ।’

जनमत पार्टीलाई तेजोबध गर्न मोर्चाको उद्देश्य, प्रतिवद्धता र आचारसंहिता विपरीत अनावश्यक दबाब दिने कार्य तत्काल बन्द गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘कुनै पनि किसिमका घेराबन्दी हामीलाई सह्य हुनेछैन । सम्बन्धित सबै पक्षलाई हेक्का होस् ।’

रुपन्देहीमा कसको शक्ति कति ?

२०७९ को चुनावमा रुपन्देही–३ मा प्रत्यक्षतर्फ नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले आ–आफ्नो उम्मेदवार खडा गरेका थिए । मोर्चामा रहेका अन्य दलमध्ये जसपा नेपालले एमाले र लोसपा नेपालले कांग्रेसलाई त्यतिवेला समर्थन गरेका थिए । जसपा नेपालले एमालेलाई प्रतिनिधि सभामा समर्थन गरेर प्रदेश सभा लिएको थियो । त्यसरी नै लोसपा नेपालले पनि प्रतिनिधि सभामा कांग्रेसलाई समर्थन गरेर प्रदेश सभा सिट लिएको थियो ।

र नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले प्रतिनिधि सभा निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएका थिए । यस क्रममा नागरिक उन्मुक्ति पार्टी चौथो स्थानमा रह्यो । उन्मुक्ति पार्टीका उम्मेदवार तुलसीप्रसाद थारुले चार हजार ७५१ मत पाएका थिए । त्यस्तै पाँचौँ स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार प्रमोदकुमार राउतले तीन हजार ३१७ मत ल्याएका थिए ।

समानुपातिकतर्फ पनि नागरिक उनमुक्ति पार्टीले सो निर्वाचन क्षेत्रमा चार वटा मधेसी दलमध्ये सबैभन्दा बढी मत ल्याएको छ । सो पार्टीले ६ हजार १० मत ल्याएको थियो । त्यस्तै जनमत पार्टीले तीन हजार ७३२ मत ल्याएको थियो । समानुपातिकतर्फ जसपा नेपालले पाँच हजार २९१ र लोसपाले पाँच हजार ५३ मत पाएका थिए ।

मोर्चामा रहेका चार वटा संसदीय दलमध्ये नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष र समानुपातिक दुवैमा सबैभन्दा बढी र जनमत पार्टीले सबैभन्दा कम मत पाएको थियो ।

एक लाख ३२ हजार ७९१ कुल मतदातामध्ये रुपन्देही–३ मा ९३ हजार ४४९ मत खसेको थियो । त्यसमा ८८ हजार २१२ मत सदर भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप