संसद् विरोधको थलो होइन, समाधानको मञ्च बनाउनुपर्छ : सभामुख
सारांश
- सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरे।
- सभामुखले संसदको नियमित कारबाहीमा केही सांसद अनुपस्थित भएकोमा चिन्ता व्यक्त गर्दै वार्ता र संवादको लागि आह्वान गरे।
- छलफलमा कांग्रेस, रास्वपा, राप्रपा, माओवादी केन्द्र र एमालेका सचेतकहरू सहभागी थिए, र उनीहरूले आगामी दुई साताभित्र सहमति खोज्ने कुरामा जोड दिए।
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सोमबार संसद बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग सोमबार छलफल गरेका हुन् ।
त्यसक्रममा सभामुख घिमिरेले प्रतिपक्षमा रहेका केही सांसद्हरुले निरन्तर संसदको नियमित कारबाहीमा भाग नलिएकोमा आफ्नो ध्यानाकर्षण भएको बताए । ‘संसदको नेतृत्वको तर्फबाट व्यक्तिगत रूपमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, सभामुखले भने, ‘मलाई लाग्छ अनन्तकालसम्म संसद् अवरोध हुनु समाधान होइन, अझ संसदको चौथो र पाँचौँ राजनीतिक शक्ति नियमित छलफलमा सहभागी नहुनु दुखद छ ।’
सभामुखले सरकार र सत्तापक्षमा रहेका राजनीतिक शक्तिसहित प्रमुख प्रतिपक्षी दललाई संसदको नियमित छलफलमा सहभागी नभएका राजनीतिक दलहरूलाई पुन एक पटक वार्ता र संवादमा बस्न अपिल गरे ।
‘आवश्यक व्यवस्थापन तथा सहजीकरणको लागि सभामुखको तर्फबाट मेरो पहलकदमी रहनेछ’, सभामुखले भने, ‘संसद्लाई विरोधको थलो होइन, समाधानको मञ्च बनाउन सम्पूर्ण माननीयज्यूहरूसँग सहयोगको अपिल गर्दछु । आगामी २ साताको बिचमा पुन: संवादमा बसेर सहमति गरौं ।’
सभामुखसँगको छलफलमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपासँग सहमति गर्न धेरै प्रयास भए पनि नतिजा नआएको बताए । ‘केही सातादेखि हामी संवादमा समेत बसेका छैनौँ । अब केही समय संसद् स्थगित गरेर पनि रास्वपा र राप्रपासँग सहमति गरेर संसदमा भाग लिने वातावरण बनाउनुपर्छ’ घिमिरेले भने, ‘संसदको ठुलो पार्टीका नाताले नेपाली कांग्रेस आवश्यक सहजीकरणको लागि तयार छ ।’
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफूहरू निरन्तर आन्दोलनमा रहेको भन्दै महत्त्वपूर्ण विधेयक नभएको अवस्थामा साउनमा दुई साता बैठक रोकेर सहमतिको वातावरण बनाउनुपर्ने बताए । ‘संसदलाई सधैँ यसरी अघि बढाउँदा राम्रो सन्देश गएको छैन’, परियारको भनाई छ । राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले सभामुखलाई सहमतिका लागि सरकारसँग अपिल गरिदिन अनुरोध गरे । ‘बजेट पास अत्यावश्यक थियो, तर नियमित बैठक चौथो र पाँचौँ ठुलो दलको अनुपस्थितिमा सञ्चालन गर्नु राम्रो भएन’, शाहीको भनाइ छ ।
माओवादी केन्द्रका हितराज पाण्डेले भूमि विधेयकलाई समितिमा लैजान आग्रह गरे । ‘फुल हाउसबाट पारित नगरौँ । दुई साता बैठक रोकेर दलहरूबिच साझा सहमति गरौँ’, पाण्डेको प्रस्ताव थियो ।
छलफलमा प्रमुख सचेतकहरू श्याम घिमिरे, हितराज पाण्डे, सन्तोष परियार, ज्ञानबहादुर शाही र एमाले सचेतक सुनिता बराल सहभागी थिए । बैठकले साउन १५ गतेसम्मको क्यालेन्डरमा सहमति गरेको सभामुखको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण