सामान्य प्रशासनमन्त्रीले राजीनामा दिएपछि सांसदहरूको तारोमा भूमि व्यवस्थामन्त्री
सारांश
- घूस डिल अडियो सार्वजनिक भएपछि संघीय मामिलामन्त्री राजकुमार गुप्ताले राजीनामा दिए।
- गुप्ताले राजीनामा दिएसँगै अन्य मन्त्रीको छानबिनको माग सांसदहरूले गरेका छन्।
- मन्त्री गुप्ता र बिचौलियाबीच कास्की मालपोत अधिकृतको सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्तिको लागि मोलमोलाइ भएको अडियो सार्वजनिक भएको थियो।
काठमाडौँ । घूस डिल गरेको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिए । यससँगै घूस डिल प्रकरणमा मन्त्री गुप्ताले पोलेका भूमिव्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी समेत सांसदहरुको तारोमा परेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकले सांसदहरुले अधिकारीलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले मन्त्री गुप्ताले पोलेका अर्का मन्त्रीले राजीनामा दिनु पर्दैन भन्ने प्रश्न गरे । ‘सामान्य प्रशासनमन्त्री गुप्ताले घूस प्रकरणको अडियोमा पोलेका अर्का मन्त्रीले राजीनामा दिन पर्दैन ?’ सांसद दाहालले प्रश्न गरे । उनले गुप्ताले राजीनामा दिएर मात्रै नहुने भन्दै छानबिन समेत गर्नुपर्ने बताए । त्यस्तै गुप्ताले पोलेका मन्त्रीमाथि पनि छानबिन हुनुपर्ने उनको भनाइ थियो ।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने बताउँदै उनले नाम पोलेका मन्त्रीबारे सरकारको धारणा के हो भन्ने प्रश्न गरे । घूस काण्डमा संलग्नहरूमाथि सत्य तथ्य छानबिन हुनुपर्ने सांसद् नेपालीको भनाइ छ ।
अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पदबाट राजीनामा दिएका गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने र उनले पोलेका अर्का मन्त्रीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । शाहीले बहालवाला मन्त्रीले घूसको डिल गरेको अडियो सार्वजनिक हुने बेलासम्म छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेर बसेको थियो भन्ने प्रश्न समेत गरे ।
प्रतिपक्षी पार्टीका सांसदले मात्रै होइन, सत्तारुढ दलकै सांसदले पनि गुप्ताले पोलेका मन्त्रीबारे धारणा मागेका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कथनी र करणीमा फरक रहेको आम गुनासो रहेको भन्दै घूसको डिल प्रकरणमा त्यस्तो नगर्न सुझाइन् ।
‘हाम्रो सरकार प्रमुखले सगौरब भन्ने गर्नुहुन्छ म भ्रष्टाचार गर्दिनँ, र गर्नपनि दिन्नँ । तर विडम्बना हालै मात्र मन्त्रिपरिषदका सदस्य संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिल गरिरहेको अडियो संवाद सार्वजनिक रूपमा छताछुल्ल भएको छ,’ गौतमले भनिन्, ‘यसरी छताछुल्ल भएको अडियोमा अर्को मन्त्रीको पनि संलग्नता बारे बोलेको सुनिन्छ । यो सार्वजनिक चासो र चिन्ताको विषय बनेको छ । आम लोकले प्रधानमन्त्रीको कथनी र करणीमा फरक गरिरहेका छन् । यहाँ कथनीमा जस्तै करणीमा खरो रूपमा उत्रनुहोस् ।’
मन्त्री गुप्ता र बिचौलियाबिच कास्की मालपोत अधिकृतको सरुवा रोक्न र भूमि आयोगको अध्यक्ष नियुक्ति गर्न मोलमोलाइ गरेको भनिएको अडियो सार्वजनिक भएको थियो ।
यद्यपि मन्त्री गुप्ताले भने उक्त अडियो आफ्नो नभएको प्रतिक्रियासहित बचाउ गर्दै आएका थिए । तर, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई बालुवाटार बोलाएर अडियो प्रकरणबारे सोधखोज गरेका थिए । गुप्तासँग प्रधानमन्त्रीले सोधखोज गरेको भोलिपल्ट उनले राजीनामा गरेका हुन् ।
सार्वजनिक अडियोमा बिचौलियाले पनि मन्त्री अधिकारीको नाम प्रस्टै लिएका छन् । ‘हिजो भूमिमन्त्रीसँग भेटघाट भएको थियो मेरो । तपाईं पहिल्यै किन नआएको ? तपाईँको नाममात्रै सुनेको मैले सुजन भाइ । तपाईं त मेरो परिवारजस्तो रहेछ । तपाई मसँग पहिला किन भेट्न आउनुभएन ? तपाईंले खेम पुन कि खेम पुन भनेर यही अडान लिएको भए पाँच दिन अघि भनेको भए म खेम पुन नै गर्दिन्थेँ भनेर मन्त्रीले भन्नुभयो ।’
तर मन्त्री अधिकारीले सोमबारको प्रतिनिधिसभा बैठकमा आफूमाथि उठेको प्रश्नको प्रतिवाद गरेका थिए । उनले कुनै गलत काम गरेको भए तथ्य देखाउन चुनौती दिएका थिए ।
‘म मात्र होइन, मेरो मन्त्रालय र मसँग सम्बन्धित कुनै पनि व्यक्तिहरूले कहीँ कतै त्यस्तो कारोबारलाई डिल गरेको रहेछ भने यथार्थ जानकारी ल्याइदिनुस् कानुनी कारबाही भोग्न तयार छौँ,’ मन्त्री अधिकारीले भनेका छन्, ‘तर, अनावश्यक हल्ला गरेर कसैको चरित्र हत्या गर्ने र बदनाम गराएर काममा अवरोध गर्ने कामतिर यहाँहरू नलाग्नको निम्ति अनुरोध गर्न चाहन्छु ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण