मेयरमा हारेकी भगवती न्यौपाने मन्त्री बन्न सफल, यस्तो छ राजनीतिक यात्रा
सारांश
- भगवती न्यौपाने, जो २०७४ सालको स्थानीय निर्वाचनमा मेयर हारेकी थिइन्, अहिले सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छिन्।
- उनी २०७६ मा राष्ट्रिय सभा सदस्यमा विजयी भएकी थिइन् र पार्टीको सिफारिसमा निरन्तर अवसर पाइरहिन्।
- न्यौपाने एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र हुन् र उनको राष्ट्रिय सभा सदस्यको कार्यकाल केही महिना मात्र बाँकी छ।
पोखरा । २०७४ सालको स्थानीय निर्वाचनमा भानु नगरपालिकामा मेयर हारेकी भगवती न्यौपाने राष्ट्रिय सभा सदस्य हुँदै अहिले सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छिन् । पर्साबाट निर्वाचित राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि न्यौपानेलाई प्रधानमन्त्री केपी ओलीले मन्त्री पद जिम्मा लगाएका हुन् ।
पराजित भए पनि पार्टीको सिफारिसमा निरन्तर अवसर पाइरहने व्यक्तिमा उनी पर्छिन् । न्यौपाने २०७६ को निर्वाचनमा राष्ट्रिय सभा सदस्यमा विजयी भएकी हुन् । तत्कालीन समयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एउटै थियो ।
राष्ट्रिय सभा सदस्य निर्वाचित भएपछि उनी पार्टीको तर्फबाट सचेतक छिन् । उनै न्यौपाने अहिले सामान्य प्रशासन मन्त्री नियुक्त भइन् ।
वि.सं. २०५१ सालमा एमालेको साधारण सदस्यबाट राजनीतिक यात्रा थालेकी न्यौपाने भुइँतहबाटै उठेकी नेतृ हुन् । विद्यार्थी राजनीतिबाट खारिँदै अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य, अनेमसंघ तनहुँको दुई कार्यकाल अध्यक्ष र पार्टीको जिल्ला कमिटीमा निरन्तर सक्रिय उनी तनहुँमै पार्टीको सचिवका रूपमा ९ वर्ष काम गरिन् ।
२०६२/६३ को जनआन्दोलनमा उनको सक्रियताले उनलाई तनहुँमा एक जुझारु नेतृको पहिचान दियो । स्थानीय तहको निर्वाचनमा पराजय नभोगेको भए सायदै उनले मन्त्री बन्ने अवसर पाउँथिन् । न्यौपानेको राजनीतिक यात्रा त्यतिबेला मोडियो, जतिबेला उनी भानु नगरपालिकाको मेयरमा पराजित भइन् । प्रत्यक्ष निर्वाचनमा पराजय भोगे पनि उनलाई साढे २ वर्षपछि एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनायो । तत्कालीन नेकपाको गठबन्धनका कारण उनले सहजै चुनाव जितिन् ।
न्यौपाने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र हुन् । त्यसो त, उनको राष्ट्रिय सभा सदस्य पदको आयु केही महिना मात्र बाँकी छ । फागुनमा सांसद पदबाट बिदा हुनुअघि उनले सामान्य प्रशासन मन्त्रीको शक्तिशाली जिम्मेवारी पाएकी हुन् । उनी दसौँ महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्य बनेकी थिइन् । अब राष्ट्रिय सभा सदस्यका रूपमा उनको कार्यकाल आगामी फागुनसम्म मात्र छ । त्यतिन्जेल सिंगो कर्मचारीको तालचाबी उनको जिम्मामा आएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण