बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अर्थतन्त्र

एक आर्थिक वर्षमा प्रतितोला ४४ हजार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

चाँदी ३९० रुपैयाँले वृद्धि
बिहीबार, ०१ साउन २०८२, ११ : ४८
बिहीबार, ०१ साउन २०८२

सारांश

  • गत आर्थिक वर्ष २०८१/८२ मा सुनको मूल्य प्रतितोला ४४ हजार ५०० रुपैयाँले वृद्धि भयो।
  • आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिनको तुलनामा सुन ३०० र चाँदी ५ रुपैयाँले बढेर कारोबार भयो।
  • सरकारले सुनचाँदीमा २ प्रतिशत विलासिता कर लगाएको छ, जसले मूल्यलाई असर गर्यो।

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा सुनको मूल्य प्रतितोला ४४ हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ । गत आर्थिक वर्षको २०८१/८२ को पहिलो दिन साउन १ गते सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । 

गत साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो । २०८०/८१ को अन्तिम दिन असार ३१ गते प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तर पछिल्लो एक आर्थिक वर्षमा छापावाल सुनको मूल्य प्रतितोला ४४ हजार पाँच रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिन अर्थात असार ३२ गतेको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य ५ रुपैयाँले बढेर कारोबार भएको छ ।  

जसअनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबारको दिन बुधवार सोही सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ थियो । 

२०८१ साल मङ्सिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। २०८१ कात्तिकमा १ लाख ७१ हजार रुपैयाँ पुगेको सुनको मूल्य सरकारको उक्त निर्णयपछि मंसिर ११ गते १ लाख ४८ हजार ७ सय रुपैयाँसम्म झरेको थियो। २०८१ को अन्त्यमा चैत ३१ गते भने सुनको मूल्य १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो  । सरकारले बजेटमा व्यवस्था गरेको आर्थिक ऐन अनुसार सुनचाँदीमा आजैदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ । 

चाँदी ३९० रुपैयाँले बढ्यो 

त्यस्तै, चाँदीको मूल्य पनि आर्थिक वर्ष २०८१/८२को पहिलो कारोबारको दिन गत साउन १ गते प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । 

आर्थिक २०८१/८२ को अन्तिम कारोबारको दिन बुधवार २ हजार २६० रुपैयाँ कायम भएको थियो । तर नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको छ । यसरी हेर्दा पछिल्लो एक आर्थिक वर्षमा चाँदीको ३९० रुपैयाँले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप