बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

विप्लव, घनश्याम र जनार्दनको एउटै स्वर– नेतृत्वको सम्मानपूर्वक बिदाइ, पार्टी एकतामा जोड

मङ्गलबार, ०६ साउन २०८२, १९ : ५१
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा तीन कम्युनिस्ट पार्टीका नेताहरूले वामपन्थी ध्रुवीकरण र एकताको सङ्कल्प गरे।
  • कार्यक्रममा नेताहरूले वर्तमान राजनीतिक अवस्था, कम्युनिस्ट आन्दोलनका चुनौती र भावी योजनाबारे छलफल गरे, नयाँ पार्टी खोल्ने प्रश्नको जवाफ दिए।
  • नेताहरूले वामपन्थी एकता र ध्रुवीकरणको आवश्यकता औंल्याउँदै, पुरानो नेतृत्वलाई सम्मान गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्नेमा जोड दिए।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृतिको अवसरमा प्रमुख तीन कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताले वामपन्थी ध्रुवीकरण र एकताको सङ्कल्प गरेका छन् । 

स्कुल अफ मार्क्सिजले काठमाडौँको राष्ट्रिय सभा गृहमा गरेको ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक गोष्ठीमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले वामपन्थी ध्रुवीकरणको सङ्कल्प गरेका हुन् । 

तीनै जना नेताहरूले पहिलो चरणमा नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदान, वर्तमान अवस्था र भावी चुनौतीबारे विचार राखेपछि दर्शक दीर्घबाट आएका प्रश्नको जवाफ दिएका थिए । 

अन्तर्क्रियामा धेरैको चासो तीन दलका दोस्रो तहका नेताहरू मिले नयाँ पार्टी खोल्न लागेको हो भनेर प्रश्न सोधेका थिए । सोही प्रश्नको जवाफ दिँदै नेकपाका महासचिव विप्लवले अहिलेको नेतृत्वबाट कम्युनिस्ट आन्दोलन नबढ्ने जिकिर गर्दै नयाँ ध्रुवीकरणको सुरुवात भएको बताए ।

‘हामीले पुराना नेताहरूलाई अपमान गर्ने होइन । उहाँहरूले अहिलेसम्म पुर्‍याएको योगदानको सम्मान गर्दै कम्युनिस्टहरूबिच ध्रुवीकरण गर्नुपर्छ । त्यसको सुरुवात आजबाट भएको छ । वामपन्थीबिच एकता र ध्रुवीकरण हुन्छ’, उनले भने ।

यसैगरी माओवादीसँग एकता हुन्छ कि हुँदैन यदि एकता भएमा प्रचण्डको उत्तराधिकारी बन्नुहुन्छ कि हुँदैन भन्ने प्रश्नको जवाफमा उनले एकता नै नभई जवाफ दिनुको कुनै अर्थ नभएको जिकिर गरे ।

‘पार्टी एकता नै भएको छैन । अहिले नै उत्तराधिकारीको कुरा गरे माओवादीमा भूकम्प जान्छ । यद्यपि एकताको विषयमा पहल भइरहेको छ । माओवादीसँग मात्रै होइन सबै कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरण आजको आवश्यकता हो’, उनले भने ।

कार्यक्रममा एकीकृत समाजवादीका महासचिव भुसालले तीन पार्टीबिच एकता कसको नेतृत्वमा हुन्छ भन्ने प्रश्नमा उनले एकता तत्काल सम्भव नभए पनि विचार गोष्ठीले नयाँ अध्याय सुरुवात भएको जिकिर गरे ।

‘अब पुराना नेतृत्वबाट कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन । तत्काल एकता त सम्भव नहोला ध्रुवीकरण पक्कै हुन्छ । आजको कार्यक्रमले नयाँ बहस सुरु भएको छ’, उनले भने ।

यता माओवादीका उपमहासचिव शर्माले वामपन्थीबिच ध्रुवीकरण र एकताको पहललाई कसैले रोक्न नसक्ने जिकिर गरे । पार्टी विभाजन नभए पुराना नेतृत्वलाई ससम्मान बिदाइ गरेर कम्युनिस्टहरूबिच एकता र ध्रुवीकरण हुने बताए ।

‘अहिलेको नेतृत्वबाट कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने हाम्रो निष्कर्ष हो । वामपन्थीबिच एकता र ध्रुवीकरणको दोस्रो पुस्ताले गर्छ । अझ म भन्छु– हामीले भन्दा पनि तेस्रो पुस्ता आएर नेतृत्व गरोस् । यसमा मेरो एउटा सर्त छ । पुराना नेतृत्वलाई अपमान होइन सम्मान गर्ने हो । यस कार्यक्रमले एकता र ध्रुवीकरणको हुन्छ’, उनले भने ।

पार्टी विभाजन गर्न लागिएको हो भन्ने प्रश्नमा उनले आफूहरूको सङ्कल्प पार्टी विभाजन गर्ने नभई कम्युनिस्ट आन्दोलनको रुपान्तरण, एकता र ध्रुवीकरण रहेको स्पष्ट पारे ।

यी तीनै वटा पार्टी समाजवादी मोर्चामा रहेका छन् । विप्लव माओवादी आन्दोलनका दोस्रो पुस्ताका नेता भएपनि अहिले एउटा घटकको नेतृत्वमा छन् । भुसाल र शर्मा आफ्ना पार्टीभित्र नेतृत्व पुस्तान्तरण वा हस्तान्तरणको अभियानमा सक्रिय छन् । पछिल्लो समय वामपन्थी एकता र ध्रुवीकरणमा सक्रिय भूमिका खेलिरहेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप