मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

पूर्वराष्ट्रपति विद्या भण्डारीले भनिन्– ‘समृद्धि मुठ्ठीभर मानिसको लागि हुनु हुँदैन’

बिहीबार, ०८ साउन २०८२, २१ : ५९
बिहीबार, ०८ साउन २०८२

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि आम जनताले महसुस गर्ने गरी हुनुपर्ने बताइन्।
  • उनले राजनीतिक स्थायित्व र विश्वासको वातावरण निर्माण गरेर लगानी भित्र्याउनुपर्ने र प्रतिफल सबै नागरिकसम्म पुर्‍याउनुपर्ने बताइन्।
  • भण्डारीले नेपालले आफ्नै समाजको आवश्यकता अनुसार समृद्धिको मार्ग तय गर्नुपर्ने र लगानीकर्तालाई आह्वान गरिन्।

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि केवल सीमित व्यक्ति वा समूहका लागि नभई आम जनताले महसुस गर्ने गरी हुनुपर्नेमा जोड दिएकी छिन् । नेपाल खबरको आयोजनाका भएको ‘राइजिङ नेपाल समिट’मा प्रमुख वक्ताको रूपमा बोल्दै भण्डारीले भनिन्, ‘हामीले के पनि बिर्सनु हुँदैन भने समृद्धि केवल मुठ्ठीभर मानिसहरूको लागि होइन, आममानिसका लागि हुनु पर्दछ।’ 

भण्डारीले राजनीतिक स्थायित्व र विश्वासको वातावरण निर्माण गरेर मात्रै देशमा लगानी भित्र्याउन सकिने र त्यसको प्रतिफल सबै नागरिकसम्म पुर्‍याउनुपर्ने बताइन् । लगानीसँगै रोजगारी, सामाजिक समावेशिता, ग्रामीण विकास र वातावरणीय जिम्मेवारी जस्ता विषयलाई सँगसँगै लैजानुपर्ने आवश्यकता रहेको उनको जोड थियो ।

पूर्वराष्ट्रपति भण्डारीले लगानीको ढोका खोल्नु भनेको केवल पुँजी र मुनाफाका लागि मात्र नभई न्याय, सम्भावना र विश्वासका लागि पनि भएको बताइन्। ‘देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठुलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै हो’ उनले भनिन्, ‘नीतिगत स्पष्टता, विधिको शासन र पारदर्शी प्रशासन आवश्यक छन्, तर त्यसको आधार बनाउने कार्य राजनीतिक नेतृत्वको काँधमा छ।’

नेपालले अरूको विकास मोडेलको नक्कल गर्नुभन्दा पनि आफ्नै समाजको आवश्यकता, स्रोत, साधन र सम्भावनालाई विश्लेषण गरेर समृद्धिको मार्ग तय गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीको सुझाव छ । कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गरी आयात प्रतिस्थापन गर्नु अर्थतन्त्रको मुख्य आधार भएको उनको भनाइ थियो ।

स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आह्वान गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन र विश्वासको नयाँ युगमा प्रवेश गरिरहेको बताइन् ।  ‘यहाँ लगानी गर्नु केवल मुनाफा कमाउने कुरा मात्र होइन, इतिहासको साझेदार बन्ने अवसर पनि भएको भन्दै उनले नेपालमा गरिएको लगानीले गरिबलाई रोजगारी दिने, एक उद्यमीलाई हौसला दिने र गाउँलाई उज्यालो दिने काम गर्ने बताइन् । ।

आर्थिक समृद्धिको यात्रामा सबैलाई सक्रियतापूर्वक लाग्न आग्रह गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, 'समृद्धि अब सपना मात्र नभई सबैको सङ्कल्प बन्नुपर्छ ।'

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप