रौतहटमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित, खाद्य सङ्कटको जोखिम
सारांश
- रौतहटमा पर्याप्त वर्षा नहुँदा र सिँचाइको अभावका कारण धान रोपाइँ प्रभावित भएको छ।
- मलखादको अभाव र चर्को मूल्यका कारण किसानहरु मारमा परेका छन् भने खाद्य संकटको सम्भावना बढेको छ।
- कृषि ज्ञान केन्द्रले वैकल्पिक बाली लगाउन र किसानलाई आवश्यक सहयोग गर्न सरकारलाई आग्रह गरेको छ।
रौतहट । सिङ्गो मधेस प्रदेशसँगै रौतहट जिल्लामा पनि पर्याप्त वर्षा नहुँदा र सिँचाइको पर्याप्त सुविधा नहुँदा धान रोपाइँ प्रभावित भएको छ। साउनको पहिलो साता सकिँदासमेत जिल्लामा जम्मा ५५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र, रौतहटका निमित्त प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले जानकारी दिए ।
जिल्लामा ३४ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि हालसम्म १८ हजार ७ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ। मौसममा आएको चरम अस्थिरता र पूर्वाधार अभावका कारण किसानहरू चिन्तित बनेका छन्।
ज्ञान केन्द्रका प्रमुख कुर्मीका अनुसार यमुनामाई, गरुडा, गुजरा र चन्द्रपुर नगरपालिकामा ६०–६५ प्रतिशत रोपाइँ भएको भए पनि ईशनाथ र बौद्धिमाई नगरपालिकामा यो अनुपात ४५ प्रतिशतमा सीमित छ।
महँगो सिँचाइ, पानीको अभाव
वर्षा नभएपछि अधिकांश किसानहरूले स्यालो ट्युबवेल र डिजल मोटरको सहारामा सिँचाइ गर्न थालेका छन्। पानीको मात्र नपुगेपछि रोपिएको धान सुक्न थालेको कटहरिया नगरपालिका–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले गुनासो गरे।
कुशवाहाले भने 'हामीले महँगोमा पानी हालेर रोपाइँ त गर्यौँ, तर पानी टिक्दैन, धान झन् झन् पहेलो हुन थालेको छ।'
मलखाद अभाव र मूल्यवृद्धिले दोहोरो मार
सिँचाइ मात्र होइन, मलखादको अभाव र चर्को मूल्यले पनि किसानहरूको दुःख दोब्बर बनेको छ। उर्वरकको सहज उपलब्धता नहुँदा खेतमा पर्याप्त मल हाल्न नसकिएको किसानहरूको गुनासो छ। 'सरकारले मल ल्याउने भन्छ, तर कहिले आउँछ थाहा छैन। बजारमा पाइए पनि महँगो, त्यो किनेर हाल्दा घाटा लाग्ने भयो' अर्का किसान तथा कटहरिया नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालले भने ।
जलवायु परिवर्तनको असर
गत वर्ष असोज महिनामा आएको बाढीले व्यापक क्षति बेहोरेका किसानहरू यस वर्ष फेरि पनि मौसम प्रतिकूलताका कारण चिन्तित बनेका छन्। जलवायु परिवर्तनको असर स्थानीय खेती प्रणालीमा स्पष्ट देखिन थालेको विश्लेषण कृषि विज्ञहरू गरिरहेका छन्।
कृषि ज्ञान केन्द्रका अनुसार, तीनदिन अघि दक्षिणी क्षेत्रमा केही वर्षा भए पनि अधिकांश क्षेत्र अझै आकाशे पानीको पर्खाइमै छन्। यस्तो अवस्थाले धान उत्पादनमा ठुलो गिरावट आउने सम्भावना उच्च रहेको कृषि ज्ञान केन्द्र गौरले चेतावनी दिएको छ।
खाद्य सङ्कटको सम्भावना, रणनीतिक तयारीको आग्रह
अहिलेकै अवस्था कायम रहेमा जिल्लामा खाद्य सङ्कटको अवस्था आउन सक्ने देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सम्भावित संकटलाई ध्यानमा राख्दै केन्द्रले धानको विकल्पमा वैकल्पिक बालीहरूको प्रवर्धन गर्न र किसानलाई आवश्यक प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराउन सरकार र सरोकारवाला निकायलाई आग्रह गरेको छ।
रौतहटका किसानहरू सिँचाइ, मलखाद र वर्षाको अभावबिच पनि जसोतसो रोपाइँमा जुटिरहेका छन्। तर हालको मौसमी र पूर्वाधार अवस्था यथावत् रहँदा उनीहरूको श्रम बाझो हुनसक्ने चिन्ता थपिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण