शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बागमती प्रदेश

कांग्रेस बागमती संसदीय दलका सचिवलाई मुख्यमन्त्रीको फोन– तपाईंले धोखा दिनुभयो

शनिबार, १० साउन २०८२, २० : ०५
शनिबार, १० साउन २०८२

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफूविरुद्धको अविश्वास प्रस्तावप्रति असन्तुष्टि जनाएका छन्।
  • मुख्यमन्त्री लामाले संसदीय दलका सचिवलाई आफूलाई धोका दिएको आरोप लगाए, किनभने उनले अविश्वासको प्रस्ताव बुझेका थिए।
  • कांग्रेसका १८ सांसदले मुख्यमन्त्री लामालाई हटाउन अविश्वास प्रस्ताव दर्ता गराए, जसलाई लिएर दलमा आन्तरिक छलफल सुरु भएको छ।

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट हटाउन दर्ता भएको अविश्वास प्रस्ताव बुझेको विषयमा मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा असन्तुष्ट देखिएका छन् ।

शुक्रबार आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको विषयमा संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई फोन गरेर मुख्यमन्त्री लामाले असन्तुष्टि पोखेका हुन् । 

उनले सचिव तामाङलाई फोनमै आफूलाई 'धोखा दिएको' बताएका थिए । मुख्यमन्त्री लामा सचिव तामाङसँग रुष्ट भएका उक्त संवादका क्रममा मुख्यमन्त्रीसँगै रहेका एक सदस्यले बताए ।

मुख्यमन्त्री लामा आफूविरुद्ध अविश्वास प्रस्ताव स्वीकार नगर्ने पक्षमा रहेका र सोहीअनुसार दलका पदाधिकारीलाई सूचना पुर्‍याएको ती सदस्यले बताए । यद्यपि काठमाडौँमा रहेका सचिव तामाङ भने मुख्यमन्त्री विरुद्धको संसदीय दलको नेताबाट हटाउने अविश्वासको प्रस्ताव बुझ्न हेटौँडा पुगेका थिए । सोही विषयलाई लिएर मुख्यमन्त्री लामाले सचिव तामाङलाई धोखा दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

‘मुख्यमन्त्रीले तामाङजीलाई फोन गरेर तपाईं किन गएको भन्नुभयो । उताबाट जवाफ के आयो मलाई थाहा भएन । त्यसपछि मुख्यमन्त्रीले फेरि तपाईं जान नहुने त्यहाँ किन गएको ? किन बुझ्नुभएको त्यो प्रस्ताव ? भन्नुभयो,’ मुख्यमन्त्री लामाको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘त्यसपछि फोनमा मधुर आवाजमा सचिव तामाङको प्रेसर आयो, अनि आउनुपर्‍यो भन्नुभयो । मुख्यमन्त्रीले प्रतिउत्तरमा तपाईंसँग गुनासो रह्यो भन्नुभयो र संवाद टुंगिएको थियो ।’ 

शुक्रबार दिउँसो २१ जनाको हस्ताक्षरसहित कांग्रेस बागमती सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा उपस्थित १८ सांसदहरूले सचिव तामाङलाई संसदीय दलको नेताबाट मुख्यमन्त्री लामालाई हटाउन अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

कांग्रेस संसदीय दलका मुख्यमन्त्री लामा दलका नेता हुन् भने भने उनले आफूनिकट सहयोगी पात्र रामकृष्ण चित्रकारलाई उपनेता, गोविन्द लम्साललाई प्रमुख सचेतक, गीता गुरुङलाई सचेतक, तामाङलाई सचिव र समिता खड्गीलाई कोषध्यक्ष नियुक्त गरेका छन् । नियुक्त गरिएमध्ये सचिव तामाङ नेता मोहनबहादुर बस्नेतनिकट हुन् भने कोषाध्यक्ष खड्गी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ निकट हुन् । सचेतक गुरुङ नेता शेखर कोइरानिकट छिन् भने प्रमुख सचेतक लम्साल सभापति शेरबहादुर देउवा र उपनेता चित्रकार नेता प्रकाशमान सिंहनिकट रहे पनि मुख्यमन्त्री लामाका विश्वास पात्र मानिन्छन् । 

उक्त विषयमा सचिव तामाङ भने आफूले दलको पदीय मर्यादामा रहेर जिम्मेवारी पूरा गरेको दाबी गर्छन् । आफूलाई कसैले पनि अविश्वास प्रस्ताव नलिन जानकारी नगरेको उनको भनाइ छ । अविश्वास प्रस्ताव दर्तापछि पनि मुख्यमन्त्री लामाले धोखा वा असन्तुष्टि व्यक्त नगरेको उनले बताए । आफ्नो पद र मर्यादाअनुसार दलले दिएको जिम्मेवारी पूरा गरेको उनको जिकिर छ । 

‘म राजनीतिमा भर्खरै प्रवेश गरेको मान्छे हो । कसको के स्वार्थ, के उद्देश्य छ मलाई थाहा भएन । म आफ्नो जिम्मेवारी अनुसारको काम गरेर आएको छु । दलको सचिवको हैसियतले आएको विषयलाई दर्ता गराउनु मेरो जिम्मेवारी थियो, जुन कांग्रेस संसदीय दलको विधानले प्रस्ट रूपमा भनेको छ । मैले सोहीअनुसार काम गरेको छु,' उनले प्रस्ट्याए, 'मेरो लामो राजनीतिक भविष्यमा कसैको पक्ष वा विपक्ष लिएर काम गर्नु छैन ।’

प्राप्त भएको प्रस्तावलाई दलमा आन्तरिक छलफलपछि छिटो प्रक्रियामा लगेर टुंग्याउने उनको भनाइ थियो । उक्त विषयमा आन्तरिक छलफल थालेको र छिट्टै यस विषयमा निर्णय लिनेगरी संसदीय दलको बैठक आह्वान गर्ने पनि उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप