बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

टोपबहादुर जेल गएपछि अर्घाखाँची दुई वर्षयता संघमा जनप्रतिनिधिविहीन, नेता–कार्यकर्ता अलमलमा

बिहीबार, १५ साउन २०८२, १४ : ५२
बिहीबार, १५ साउन २०८२

सारांश

  • अर्घाखाँची जिल्ला दुई वर्षदेखि संघीय जनप्रतिनिधिविहीन छ, किनकि टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा जेल परेका छन्।
  • रायमाझीको अनुपस्थितिमा जिल्लाका विकास आयोजनाहरूमा बजेट घटेको छ, जसले गर्दा ती अलपत्र परेका छन्।
  • रायमाझी जेल परेपछि उनका समर्थक कार्यकर्ता अन्य पार्टीमा फर्किन थालेका छन्, जसले गर्दा राजनीतिक अस्थिरता बढेको छ।

बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचनको तयारी भइरहेका बेला लुम्बिनी प्रदेशकै अर्को जिल्ला अर्घाखाँची दुई वर्षदेखि संघमा जनप्रतिनिधिविहीनताको अवस्थामा रहेको छ ।  एकमात्र संघीय निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट निर्वाचित एमालेका सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उक्त जिल्ला जनप्रतिनिधिविहीनको अवस्थामा रहेको हो। 

संघीय सांसद निलम्बनसहित दुई वर्षदेखि थुनामा रहँदा आफ्नो आवाज संसद्सम्म पुर्‍याउने माध्यम बन्द भएको गुनासो अर्घाखाँचीका स्थानीयहरूले गरिरहेका छन् ।

रायमाझी पूर्ण रूपमा दोषी ठहर नभएसम्म निर्वाचन आयोगले उपनिर्वाचन गराउन नमिल्ने तथा अहिले निलम्बनमात्रै भएकाले जिल्ला संघीय जनप्रतिनिधिविहीन बनेको हो ।

२०६४ सालबाट लगातार अर्घाखाँचीबाट निर्वाचन जितेका रायमाझी पटक–पटक मन्त्री र उपप्रधानमन्त्री हुँदा जिल्लामा धेरै विकास आयोजनाहरू सञ्चालनमा आएका थिए । तर अहिले बजेट उल्लेख्य रूपमा घटेको छ ।

नेकपा माओवादी केन्द्रका तत्कालीन शक्तिशाली नेता रायमाझी नेकपा विभाजनपछि नेकपा एमालेमा बसेका थिए । उनीसँगै माओवादी छाडेर एमालेमा गएका कार्यकर्ताहरू अहिले आफ्नो राजनीतिक भविष्यलाई लिएर अलमलमा परेको बताउँछन् । उनी थुनामा हुँदा आफूहरूलाई संरक्षण गर्ने नेताको अभाव खड्किएको समेत उनीहरूको गुनासो छ । 

एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल जिल्लामा जनप्रतिनिधि नहुँदा स्वाभाविक रूपमा जिल्लावासीका समस्या सदनसम्म नपुगेको र संघीय आयोजनाहरू सम्पन्न गर्न आवश्यक दबाब सिर्जना हुन नसक्ने बताउँछन् । 

topbahadur-rayamajhi- ----------

जनप्रतिनिधि हुँदा जिल्लाको आधिकारिक मागअनुसार बजेट र संसद् विकास कोषको रकम आउने गरेको तर अहिले त्यो प्रक्रिया रोकिएकोले समस्या परेको उनले बताए ।

  • संघीय आयोजना उस्तै संकटमा

रायमाझीले शिलान्यास गरेको अर्घाखाँची सन्धिखर्क नगरपालिका–१० स्थित अर्घा विमानस्थलमा पछिल्ला दुई आर्थिक वर्षमा बजेट विनियोजन नहुँदा यो अलपत्र परेको छ ।

२०७३ असार १३ गते शिलान्यास भएको विमानस्थलमा हाल आठ सय मिटर लामो धावनमार्ग र जग्गा कटिङको काम सम्पन्न भएको छ । तर, भवन निर्माण, पार्किङ, नाली र कालोपत्रेको काम भने बजेट अभावमा रोकिएको छ । विमानस्थल निर्माणमा हालसम्म करिब २१ करोड रुपैयाँ खर्च भइसकेको छ ।

थप बजेट नआउँदा नयाँ ठेक्का प्रक्रिया अघि बढाउन नसकिएकोले विमानस्थल अलपत्र जस्तै बनेको सन्धिखर्कका मेयर कृष्णप्रसाद श्रेष्ठले बताए ।

यो विमानस्थल अलपत्र पर्नुमा जिल्लाबाट निर्वाचित सांसद रायमाझी शरणार्थी प्रकरणमा जेल पर्नुलाई नै मुख्य कारण मानिएको छ, किनभने उनको पहलमा निर्माण सुरु भएको यो आयोजना उनकै गृह नगरमा पर्छ ।

रायमाझीकै पहलमा सुरु भएका सालझण्डी–ढोरपाटन र सन्धिखर्क–गोरुसिङ्गे सडक आयोजनाको काम पनि सुस्त गतिमा छ ।

रुपन्देहीको सालझण्डीबाट बागलुङको ढोरपाटन जोड्ने यो सडकले सबैभन्दा धेरै भू–भाग अर्घाखाँचीकै समेट्छ । गत आर्थिक वर्षमा ४५ करोड बजेट पाएको यो आयोजनामा अहिले ३८ करोड मात्रै विनियोजन भएको छ ।

Rood

आयोजनाका लेखा प्रमुख योगेश पन्थीले बहुबर्षे ठेक्का लगाउन मिल्ने यो आयोजनाले गत आर्थिक वर्षकै ७ करोड भुक्तानी बाँकी छ । अहिले विनियोजित बजेटले चलिरहेका चार वटा ठेक्कालाई भुक्तानी दिँदा दसैँसम्म रकम सकिने अवस्था छ । उनले सडकका लागि न्यून बजेट विनियोजन भएकाले निर्माण कार्यले गति लिन नसकेको स्पष्ट पारे ।

यहाँको अर्को महत्त्वपूर्ण संघीय आयोजना २८१ मेगावाटको नौमुरे जलविद्युत् आयोजनाको काम पनि बजेट अभावले प्रभावित छ । आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर विजय शर्माका अनुसार आर्थिक वर्ष यसक लागि आर्थिक वर्ष २०७९/८० मा चालुतर्फ र पुँजीगत गरी ६ करोड ६९ लाख ५३ हजार रकम विनियोजन थियो । त्यस्तै ०८०/०८१ मा ६ करोड ६३ बजेट विनियोजन भएकोमा ४ करोड २८ लाख खर्च भएको थियो । ०८१/८२ का लागि भने १६ करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो । अहिले भने मन्त्रालयमार्फत हेर्ने भएकाले कति बजेट विनियोजित भयो भन्ने यकिन नभएको इन्जिनियर शर्माले बताए ।

उनले प्रश्न गरे, ‘डेढ खर्बको नौमुरे आयोजनामा सरकारले १०–१२ करोड बजेट विनियोजित गर्दा यो कहिले पूरा हुन्छ ?’ 

अर्घाखाँची जिल्लाका अन्य संघीय आयोजनाहरू जस्तै रिडी–सुर्खेत सडक र मदन भण्डारी मार्गमा पनि बजेट कम हुँदा काम अघि बढेको छैन । रिडी–सुर्खेत सडकमा त कम बजेटका कारण ठेक्कासमेत लाग्न सकेको छैन ।

रायमाझी सदन र सरकारमा नहुँदा यी आयोजनामा बजेट कम भएको र निर्माण कार्य ढिलो भएको अर्घाखाँची, सन्धिखर्कका ४२ वर्षीय प्रेम क्षेत्रीको बुझाइ छ । 

img-20241218-wa0031-(1)_srEXFWe6Ch

एकीकृत समाजवादी अर्घाखाँचीका जिल्ला अध्यक्ष रामबहादुर चौहानले पनि रायमाझीको अनुपस्थितिमा विगतमा उनकै पहलमा आएका आयोजनाहरूमा बजेट घट्दा विकासमा समस्या भएको स्वीकार गरे ।

  • कार्यकर्ता लाखापाखा लाग्ने खतरा

रायमाझीलाई प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा २०८० वैशाख ३१ गते काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

उनी हालसम्म थुनामा छन्, तर दोषी ठहर भइसकेका छैनन् । जसका कारण उनको पद निलम्बनमा छ र यही कानुनी अलमलका कारण दुई वर्षदेखि अर्घाखाँचीमा न उपनिर्वाचन हुन सकेको छ, न त जिल्लाले सांसद पाएको छ ।

माओवादी कमान्डरदेखि पार्टीभित्र आफ्नो गुट बनाउन सफल रायमाझीले २०६४ देखि अर्घाखाँचीबाट लगातार निर्वाचन जिते र पटक–पटक मन्त्री तथा उपप्रधानमन्त्रीसमेत बने ।

तर उनी जेलमा नहुँदा निकटस्थ कार्यकर्ता लाखापाखा लाग्ने खतरा बढेको जानकारहरूको भनाइ छ । नेकपा विभाजनपछि रायमाझीलाई साथ दिँदै एमालेमा बसेका तत्कालीन राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का रायमाझी जेल परेपछि पुनः माओवादीमै फर्किसकेका छन् । 

two

जिल्लाका अन्य कार्यकर्ताहरू पनि पुरानै पार्टीमा फर्कन थालेका माओवादी अर्घाखाँचीका जिल्ला अध्यक्ष ठाकुर विकले रातोपाटीलाई बताए ।

उनका अनुसार, हिजो रायमाझीसँगै एमालेमा गएका धेरै कार्यकर्ता अहिले समस्यामा छन् । एमालेभित्र पुराना नेता–कार्यकर्ताले विश्वास नगर्ने भएपछि उनीहरू बिस्तारै माओवादीमा फर्कन थालेको विकले खुलाए ।

उनले भने, ‘तल्लो तहका केही कार्यकर्ता माओवादी फर्किसकेका छन्, २०८४ को चुनावसम्म थप कार्यकर्तालाई फर्काउने हाम्रो प्रयास रहन्छ ।’

यता, अलमलमा परेका केही कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर आकर्षित हुन थालेको स्थानीय नेताहरू बताउँछन् । कुनै समय टोपबहादुर जहाँ उभिन्थे, मत त्यहीँ खस्ने अवस्था थियो, जसका कारण उनले २०६४ को संविधानसभा निर्वाचनयता अर्घाखाँचीमा कुनै चुनाव हारेनन् । २०७९ को निर्वाचनमा रायमाझीले कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई १ हजार ७ सय ३० मतान्तरले पराजित गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप