सत्यलाई खोज्दै जाँदा
प्राणीहरूमध्येको सर्वाेत्कृष्ट प्राणी मानिस सत्यको धरातलमा उभिनुपर्छ । सत्यताको हाँगामा समाउनुपर्छ । सदा सदैव सत्यसँगै रमाउनुपर्छ उसले । अझ म त भन्छु, सत्यको पोखरीमा डुबुल्की मार्नुपर्छ मानिसले । म यसो घोत्लिन्छु, सत्यको जन्म दिन्छ कसले ? सत्य कसरी जन्मन्छ ? यसको जन्माइमा कसलाई प्रस्रव वेदना हुन्छ ? कसले स्याहारसुसार गर्छ सत्यलाई ? ऊ कहिले जवानी हुन्छ ? उसको मृत्यु कहिले हुन्छ ? सत्यको कुरा गरिरहँदा प्रश्नैप्रश्नले मेरो मानसिकता भरिन्छ ।
एकछिन पछि दिमागमा बग्रेल्ती उत्तर आउँछन् यी प्रश्नको । खै कुनै बखत सत्य थिएन र जन्मनुपर्यो ? हैन यो चिरकालदेखि थियो । सत्य त शाश्वत हो प्रकृति हो, त्यसैले सत्य सदा छ । न ऊ जन्मछ न त मर्छ । ऊ बालक भएन, त्यसैले कहिल्यै जवानी पनि भएको छैन र वृद्ध पनि हुनुपर्दैन ।
ऊ जे छ, आफैँमा सामर्थ्य छ, बलवान् छ, शक्तिशाली छ र आत्मनिर्भर छ । त्यसैले कसैको सुसारको आवश्यकता पनि परेन उसलाई । ऊ निरन्तर छ र अविरल छ । आफ्नो अस्तित्व जोगाइरहेको छ र त उसलाई कसैको आड र भरोसा चाहिएको छैन ।
सत्य अज्ञानी छैन । अन्धविश्वासमा खेल्दैन । अन्याय, अत्याचारमा उसको वास पनि हुँदैन । ऊ त ज्ञानको भण्डारहरूमा सलबलाइरहेको हुन्छ । न्याय र प्रगतिसँगै हातेमालो गर्दै नाचिरहेको हुन्छ । विश्वास, भरोसा, आस्था, सरलता र सहजतासँग मुस्कुराइरहेको हुन्छ सत्य । ऊ त निष्पक्षतासँग मितेरी गाँस्छ । शिवं र सुन्दरंलाई आफ्नै गोरेटोमा डोर्याउँछ । सत्य कोमल हृदयमा बास गर्छ । ऊ रिस, राग, शत्रु, युद्घ सबैलाई घृणा गर्छ र सबैसँग अछुतो बस्छ ।
एउटा कार्यक्रमबाट घर फर्केर कपडा समेत नफेरी सोफामा बसेर सत्यका बारेमा सोचिरहेको थिएँ । त्यसैबेला अबोध नातिनी पापा भन्दै मतिर आउँछिन् । म झसङ्ग झस्कन्छु, आफूलाई सम्हाल्छु । बाहिरबाट आएर जुत्तासमेत नफुकाली म सोफामा बसेकोे रहेछु, म वास्तविकतामा तानिन्छु । सत्यको सबै परिभाषा बिर्सेर म झट्ट जवाफ दिन्छु । पसल नै बन्द रहेछ नानु, भोलि ल्याउँछु है ।
काठमाडौँको यत्रो बजारमा कतै सबै पसल बन्द हुन्छन् ? तर पनि मैले सत्यलाई यतै कतै अन्तरकुन्तरमा घुसारँे । झुट प्रस्फुटित भयो । बाध्यता पनि होला । सधैँ बाहिरबाट घर आउँदा पापा बोकेर आउन पनि कठिन छ मलाई । परिश्रमको आर्जनले चुलो तताउन मुस्किल पर्छ,
तब सत्यलाई जबर्जस्ती बन्द नगरे के गर्नु ! हजुरबा र नातिनीको सवाल जवाफ सुनिरहेकी हजुरआमाले प्याच्च भनिदिइन्, हजुबासँग आज पैसा भएन । पैसा भएपछि ल्याइदिहाल्नुहुन्छ नि, कति कर्कर गरेकी, चुपलाग । मैले लुकाएँ भन्ठानेको सत्य तुरुन्तै फुत्त निस्कियो र बोल्यो ।
अनि मलाई लाग्यो सत्य निसहाय छैन, ऊ बलवान् छ । कस्तै संकटमा पनि ऊ आफ्नो अस्तित्व जोगाउँछ । फेरि अर्को मनले भन्यो, तैँले निसहाय नसम्झेर के भयो त । आजकाल सबैले सत्यलाई कमजोर सम्झेका मात्र होइन, निरीह नै बनाएका छन् ।
मानिस सम्पत्ति, सत्ता र शक्तिको काँध चढेपछि इमानदारिता, नैतिकता र धर्म पैतालामुनि जाँदोरहेछ । यी सबै मिलेर सत्यलाई तातेताते गर्दै डोर्याउँदा रहेछन् । हो सत्य यीसँग डोरिन मान्दैन । विद्रोह गर्न खोज्छ, तर नमानेर के भो ? सत्ता, सम्पत्ति र शक्तिका वलिष्ठ बाहुलीमा सत्य च्यापिन्छ र जता उनीहरूले लान्छन् उतै जबर्जस्ती लगिन्छ ।
उनीहरूले लगेपछि जार्नैपर्यो । नगए उनीहरूका लात्ती खाँदा सत्य तीन बल्ड्याङ पल्टिन्छ । कहिले घाइते हुन्छ त कहिले मुर्छा पर्छ । सत्यलाई पनि कहिलेकाहीँ लाग्दो हो कि घाइते हुनु, मुर्छा पर्नु भन्दा त यिनीहरूको प्यारो बाहुलीमा बेरिएर मगमग बास्ना आउने मखमली सज्जामा सजिएर ङिच्च दाँत देखाउँदै मुस्कुराएजस्तो गरी जता लग्यो त्यतै जान मजा छ ।
मेरा सोचाइका थुङ्गाहरूमा रामायण, कृष्ण चरित्र, देवी भागवत, महाभारत आदि–इत्यादि पौराणिक ग्रन्थहरूका कथाहरू झलझली आउँछन् । ती सबैमा सत्य शक्तिवान् भएजस्तो पनि लाग्छ । हो, सत्य शक्तिशाली नै भएको हो र त कौरव र पाण्डवको युद्धमा सत्यवादी पाण्डव विजय भए । हो पक्कै पनि सत्य साहसी भएर युद्घ लड्यो त धर्म, निष्ठा र न्यायको जित भयो ।
फेरि अर्को मनले भन्छ— ‘अश्वत्थामा हतः इति नरो वा कंजरो वा’ भन्दा कपटता लुकेको त छैन । त्यस बेला कतै सत्य धर्मराएजस्तो पनि लाग्छ । म कुनै निष्कर्षमा पुग्नै सक्दिनँ । धोबी र रामको वार्तामा सत्य धोबीको कपडाको खल्तीमा लुक्न गएजस्तो लाग्छ । के त्रिकालदर्शी रामलाई सबै कुरा थाहा थिएन र सीतालाई अग्नि परीक्षामा होम्नुपरेको ।
सत्य निशस्त्र छ, उसलाई आज बन्दुकले उसको नालभित्र कैद गरेको छ । त्यसैले त युद्घमा सर्वसाधारण मानिसले कतै सत्य देख्दैन तर युद्धको मात लागेको शक्तिले आफू मात्र सत्य देख्छ । हो सत्य डग्दैन र भाग्दैन पनि । नभागेपछि शक्तिले उसलाई पकेटमा राख्छ नै । जुन बेला आवश्यक पर्छ, उसै बेला सरक्क झिक्छ र सबैलाई देखाउँछ । अनि बन्दुक नै सत्य भयो र सत्य नै शक्ति भयो ।
शक्तिविहीनले सत्यलाई खल्तीमा बन्द गर्न सक्दैन । त्यसैले उसले आवश्यक पर्दा सत्य देखाउन पनि सक्दैन । अनि ऊ अपराधी, झुट, कलंकी बन्छ; दण्ड पाउँछ; जरिवाना तिर्छ अनि जिन्दगीभर दुःख झेल्छ । आखिर के भयो त ? सत्य निमुखासँग नभए पनि कतै न कतै त छ । उसको अस्तित्व हराएको छैन । फरकता यति मात्र हो, उसलाई शक्तिले अपहरण गरेर लग्यो कैद गर्यो र आफ्नै वशमा राख्यो ।
मात्र यति हो कि बस्तीहरू सत्यबाट विमुख भए । निरीह मानिसहरू सत्यको दर्शन गर्न लालायित भए ।
म फेरि झस्कन्छु । ओहो मजस्तो भुइँमान्छेले सत्यको नालीबेली लगाइरहेको ? सत्य त आफैँ परिभाषित हुन्छ । आफैँ फक्रन्छ, फुल्छ र सुगन्धित हुन्छ ।
फेरि अर्को मनले भन्छ, हुन त हो नि तर आज झुटलाई बुद्घिजीवीका क्लिष्ट शब्दहरूले बेरिन्छ र साधारण मानिसहरू कुन सत्य कुन झुट बुझ्दैनन् । असत्यलाई प्लास्टिक सर्जरी गरेर महँगा पोसाक पहिराइन्छ, अत्तर छर्किन्छ र लाली लगाएर सोकेसमा राखिन्छ । अनि कसले चिन्ने यो झुट हो भनेर । दुनियाँ त्यसैको बखानमा लाग्छ, बुद्घिजीवी मख्ख पर्छन्, आफ्नो पराक्रम देखेर ।
शक्तिविहीनले सत्यलाई खल्तीमा बन्द गर्न सक्दैन । त्यसैले उसले आवश्यक पर्दा सत्य देखाउन पनि सक्दैन । अनि ऊ अपराधी, झुट, कलंकी बन्छ; दण्ड पाउँछ; जरिवाना तिर्छ अनि जिन्दगीभर दुःख झेल्छ ।
म कविता लेख्छु, कथा लेख्छु, लेख आलेख जन्मन्छन् मबाट । यी सबैभित्रको सत्य अर्कैले परिभाषित गर्छ । त्यसभित्रको शाश्वतपनलाई अर्कैले नापिदिन्छ । खै मभित्रको सत्यलाई अरुले देख्न सक्छ ? मेरो चेतन मनले शंका गर्छ तर फेरि अर्धचेतन मनले भन्छ, मनोविज्ञान पढेका मानिस अन्तर्यामी होलान् नै, त्यसैले त उसले मभित्रको सत्य देख्यो । मलाई चित्त बुझाउन कर लाग्छ ।
अर्धचेतन मनले चित्त बुझाए पनि चेतन मन मान्दैन र भन्छ ः मभित्रको सत्य आफैँ परिभाषित हुनुपर्छ । मेरा कविता, कथा, निबन्ध वा प्रबन्ध समग्रमा भनौँ सिर्जना कसैले फुर्का गाँस्दैमा न पुरस्कारसँग बिक्री हुन सक्छन्, न त कसैले होच्याउँदैमा रद्दीको टोकरीमा फ्याकिन्छन् । सबै सिर्जनामा सत्य छ । सिर्जना आफँै बाँच्छ र समयले बचाउँछ ।
यो सत्य हो कि म यो देशको सार्वभौम नागरिक । त्यसैले देशको राजनीति नजिकबाट नियाल्न मन लाग्छ । विश्वव्यापी सत्य के हो भने राजनीतिले सबै क्षेत्रलाई डोर्याउँछ र राजनीतिक दलका नेताले
त्यसको नेतृत्व गर्छन् तर यहाँको सत्य त्यस्तो छैन ।
व्यापारी, ठेकेदार, बिचौलिया, मिटरब्याजी, ठग, चटकेजस्ता नेता बन्छन् र साँच्चैका नेतालाई आफ्नो पछि लगाउँछन् । के विश्वव्यापी सत्यलाई नेपालले चुनौती दिएको हो ? एकछिन सोचेपछि मेरो चेतन मनले भन्यो होइन, यो त क्षणिक हो । आखिर देश हाँक्ने र देश बनाउने राजनीतिक व्यक्तिले नै हो । त्यसमा पनि शुद्ध, सादगी, नैतिकवान र इमानदार नेताले नै हो ।
हैन अब म सत्यलाई शक्ति, सत्ता र सम्पत्तिले डोर्याउन दिन्नँ । उसलाई बुद्घिजीवीका क्लिष्ट शब्दहरूमा परिभाषित हुन पनि दिन्नँ । सत्यलाई व्यापारी, ठेकेदार, बिचौलिया, ठग, चटके आदि इत्यादिका बाहुलीमा बेरिन पनि दिन्नँ । अब सत्य कहिल्यै बन्दुकको नालमा कैद हुनेछैन । ऊ त अभावमा पनि बाँच्छ । ऊ धनसँग लाप्पा खेल्छ, शक्ति र सत्तासँग विद्रोह गर्छ, बन्दुकसँग युद्घ गर्छ । अब सत्य शक्तिको पासबाट फुत्किसकेको छ, ऊ बेरोकतोक उड्दै छ । उसको प्रकाश गरिब, निमुखा र भुइँमान्छेहरूसम्म फैलन थालिसकेको छ ।
सत्य अब कसैको खल्तीमा बन्द हुन सक्दैन । सत्य आखिर विश्वव्यापी छ । निरन्तर छ, अजय र अमर छ । त्यसैले अन्त्यमा जित उसैको हुन्छ, म यिनै कुराहरूमा विश्वस्त भएँ । अघि जे जे सोचँे सोचेँ, ती सबै मस्तिष्कको एक कुनामा लुकाइदिएँ । त्यसैबेला देवकीले खाना खान बोलाइन् । आखिर जिउनका लागि खाना पनि त सत्यताको एउटा पाटो त हो । म जुरुक्क उठेँ र भान्सातिर लागेँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण