आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : अन्ततः बागमतीमा मुख्यमन्त्रीले दिए राजीनामा, राजतन्त्रबारे बोले ओली

आइतबार, १८ साउन २०८२, २२ : ००
आइतबार, १८ साउन २०८२

आज २०८२ साउन १८ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा अन्ततः बागमतीमा मुख्यमन्त्रीले दिए राजीनामा, राजतन्त्रबारे बोले ओली, मर्स्याङ्दीमा खस्यो बस, ३४ उपसचिवको सरुवा, गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने प्रचण्डको भनाइ, राप्रपाका अध्यक्षलाई महामन्त्रीको पत्र, ‘कुलिङ पिरियड’बारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने लगायत छन् ।

१. अन्ततः बागमतीमा मुख्यमन्त्रीले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अन्ततः आइतबार राजीनामाको घोषणा गरेका छन् । पत्रकार सम्मेलन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । कांग्रेस संसदीय दलको निर्वाचनमा पराजित भएपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो ।

२. राजतन्त्रबारे बोले ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रबारे खुलेर आफ्नो धारणा राखेका छन् । आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा उनले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्युसँगै नेपालमा राजतन्त्र सकिएको टिप्पणी गरे । ज्ञानेन्द्र शाह असरी राजा नभएको उनको भनाइ थियो । 

३. मर्स्याङ्दीमा खस्यो बस
आइतबार तनहुँस्थित आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा एक यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । बस दुर्घटनामा घाइते भएका पाँच जनालाई अस्पताल लगिएको छ ।

४. ३४ उपसचिवको सरुवा
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । उनीहरूलाई विभिन्न मन्त्रालय र निकायमा सरुवा गरिएको हो ।

५. गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने प्रचण्डको भनाइ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा जसले गल्ती गरेको छ, उसैले आत्मालोचना गर्नुपर्ने प्रस्ट पारेका छन् । आइतबार स्थायी कमिटीको बैठक सकिएपछि बाहिरिने क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । 

६. राप्रपाका अध्यक्षलाई महामन्त्रीको पत्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आइतबार एक पत्र लेखेका छन् । लिङ्देनलाई सम्बोधन गरेर पार्टी कार्यालयमा दिइएको पत्रमा अध्यक्षको हालका गतिविधिबाट कार्यकर्ता चिन्तित र सशंकित भएको उल्लेख गरिएको छ ।

७. ‘कुलिङ पिरियड’बारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने 
‘संघीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले सोमबार छानबिन प्रतिवेदन बुझाउने भएको छ ।

८. संघीय लोकतान्त्रिक मोर्चाको जागरण अभियान
सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु भएको छ । काठमाडौँ कालिकास्थानमा ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ कार्यक्रम आयोजना गरिएको हो । मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाडौँ, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगन्जमा जनजागरण अभियान गर्न लागेको हो । 

९. नेपालमा आएका विदेशीलाई डिजिटल ट्रयाकिङ गरिने
नेपालमा घुम्न आएर सम्पर्कविहीन हुने विदेशीहरूलाई अध्यागमन विभागले ट्रयाकिङ गर्ने प्रविधि विकास गर्न लागेको छ । विदेशी पर्यटकलाई डिजिटल पहिचान गर्ने प्रविधि समेत विकास गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

१०. शल्यक्रियामार्फत सुत्केरी : रहर कि बाध्यता ?
पछिल्लो समय शल्यक्रियामार्फत सुत्केरी हुने दर बढेको छ । यस्तो प्रक्रिया रहर हो या बाध्यता भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप