बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘चुनावपछि गरौँ भनेपछि माओवादीसँग एकता रोकिएको थियो’

बिहीबार, २२ साउन २०८२, १० : १३
बिहीबार, २२ साउन २०८२

सारांश

  • नेकपा एसका उपाध्यक्ष ज्वालाले माओवादीसँगको एकता प्रक्रिया अघि नबढेको बताए।
  • २०७९ को निर्वाचनअघि एकताको प्रयास माओवादीले चुनावी तालमेलका कारण स्थगित गरेको खुलासा भयो।
  • नेता ज्वालाका अनुसार, पार्टी एकताका लागि ठोस छलफल वा वार्ता हालसम्म भएको छैन।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले चर्चा भएजस्तो माओवादी केन्द्रसँगको एकता प्रक्रिया अघि नै नबढेको बताएका छन् । 

बरु २०७९ को निर्वाचनअघि भने दुई पार्टीबिचको एकता प्रक्रिया धेरै अघि बढे पनि माओवादीले ‘चुनावपछिमात्र गरौँ’ भनेपछि रोकिएको खुलासा गरे । 

‘त्यतिवेला माओवादीले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्दैछौँ, यसले चुनाव अगाडि एउटै पार्टी बनाएर तालमेल गर्नुभन्दा अलग–अलग पार्टीको रूपमा चुनावी तालमेल गरौँ र चुनावपछि एकता गरौँ भन्ने प्रस्ताव आएपछि रोकियो,’ नेता ज्वालाको भनाइ छ । यसै विषयको सेरोफेरोमा रहेर दुई पार्टीबिच त्यसवेला र अहिले भएको भनिएको एकता प्रयासबारे ज्वालासँग रातोपाटीका लागि फणीन्द्र नेपालले गरेको गरेको कुराकानी ः

  • पछिल्लो समय नेकपा एकीकृत समाजवादी र माओवादीबिच पार्टीका अध्यक्षबिच भेटवार्ता पनि बाक्लिएको छ, एकताको चर्चा पनि छ नि ? 

– एकता चर्चा अलि बढी नै र पहिल्यैदेखि नै चलिरहेको छ । यो बिचमा दुई अध्यक्ष वा अन्य नेताबिच पनि विभिन्न प्रसङ्गमा छलफलहरू भइरहेका छन्, त्यो स्वाभाविक हो । किनकि हामी एउटै समाजवादी मोर्चामा छौँ । मोर्चाका कार्यक्रम हुन्छन्, मोर्चाका बैठक हुन्छन्, मोर्चालाई प्रभावकारी बनाउने विषय हुन्छन् । 

हामीले बृहत् वाम एकताको कुरा पार्टी स्थापनादेखि महाधिवेशनबाट समेत प्रस्तावको रूपमा पास गरेका छौँ ।

अर्कोतिर, हामी समान प्रतिपक्षी हैसियतमा पनि छौँ । प्रतिपक्षीको भूमिका पनि हामीले निभाउनुपर्ने छ । त्यस हिसाबले संसद्मा प्रतिपक्षीको भूमिकामा सरकारले गरेका गलत क्रियाकलापविरुद्ध हाम्रो भूमिका के हुनेजस्ता विषयमा छलफल हुन्छन् । त्यस क्रममा विभिन्न सन्दर्भ, पार्टी एकताका विषय, विगतका समीक्षा, चुनौतीजस्ता विषयमा पनि छलफल हुन्छन् । यो एउटा पाटो भयो । तर फर्मल्ली (औपचारिक रूपमा) पार्टी एकताको एजेन्डामा छलफल वा वार्ता भएको अथवा एजेन्डासहित पार्टी एकताका विषयमा प्रस्तावसहित छलफल भएको छैन ।

  • तर माओवादी अध्यक्ष प्रचण्डले त पटक–पटक ‘एकता हुनै लाग्यो’ भनिरहनुहुन्छ नि ? दुई दलबिच औपचारिक विषयमा प्रवेश नै नभई उहाँले किन यस्तो भन्नुभयो ? 

–त्यो उहाँको कुरा हो, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गराउनुपर्छ । अहिले राष्ट्रसामु चुनौती छन् । दक्षिणपन्थी अवसरवादले कम्युनिस्ट आन्दोलनलाई निकै क्षति पुर्‍याएको छ । त्यसकारण समाजवादको लक्ष्य भएका कम्युनिस्ट पार्टी, वामपन्थी, समाजवादी पार्टी एकताबद्ध हुनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रूपमा हामीबिच मतभिन्नता छैन । 

हामीले बृहत् वाम एकताको कुरा पार्टी स्थापनादेखि महाधिवेशनबाट समेत प्रस्तावको रूपमा पास गरेका छौँ । त्यसैले एकताका सन्दर्भमा छलफलहरू भने नभएका होइनन्, तर स्पेसिफिक (निश्चित) रूपमा दुई पार्टीबिच एकताको लागि छलफल भएको छैन । 

जसपाको त्यतिवेला ‘चुनावअघि एकताबद्ध हुन गाह्रो हुन्छ’ भन्यो । किनकि मधेस फ्याक्टरले चुनावमा असर पर्छ भन्ने उहाँहरूको कुरा थियो । ‘बरु चुनावपछि गरौँ’ भनेको थियो । 

एकताकै प्रक्रिया सुरु गर्दा वार्ता कमिटी बन्नुपर्ला, एजेन्डा बनाउनुपर्ला। ती एजेन्डामा छलफल गरेर मूल नेतृत्वका बिचमा त्यसलाई अनुमोदन गराउँदै प्रोसेसमा जानुपर्ने होला । त्यसैले त्यो खालका केही पनि काम अहिले भएका छैनन् । 

  • २०७९ को निर्वाचनअगावै एकता गर्ने भनी एक किसिमको चर्चा चलेको थियो र गठबन्धन गरेर चुनावपमा पनि जानुभयो । यसबिचमा दुवै पक्षले वार्ता समिति पनि बनाए, तर चार वर्षसम्म ठोस प्रक्रिया किन बढेन त ? 

–तपाईंले भनेको सही हो, हामीले पार्टी पुनर्गठन गरिसकेपछि खासगरी संघीय र प्रदेशको निर्वाचन अगाडि तीन पार्टीः नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपाबिच अलि बढी सहकार्य गरेर गइरहेका थियौँ । 

जसपाको त्यतिवेला ‘चुनावअघि एकताबद्ध हुन गाह्रो हुन्छ’ भन्यो । किनकि मधेस फ्याक्टरले चुनावमा असर पर्छ भन्ने उहाँहरूको कुरा थियो । ‘बरु चुनावपछि गरौँ’ भनेको थियो । 

एकता गर्नुपर्छ भन्ने दुवैको थियो । दुवैको तर्फबाट एकता संयोजन समिति पनि गठन गर्ने निर्णय गरियो ।

जसपाले त्यसो भनेपछि हामी दुई पार्टीबिच एकता गरौँ भनेर कुरा धेरै अगाडि बढेको हो । त्यतिवेला एकताको प्रक्रियासमेत सुरु भएको थियो । सोहीअनुसार हाम्रो सचिवालय बैठकले पार्टी एकता संयोजन समिति पनि बनायो । त्यसपछि वार्ता टिम पनि बन्यो । त्यो वार्ता टिमलाई डकुमेन्ट ड्राफ्ट गर्ने जिम्मा पनि दिइयो, ड्राफ्ट पनि भयो । 

त्यहाँसम्म प्रक्रिया अघि बढेको थियो, त्यो चुनावको वेला हो । त्यसपछि माओवादीले ‘कांग्रेससँग चुनावी तालमेल गर्दैछौँ’ भन्यो । यसले गर्दा चुनाव अगाडि एउटै पार्टी बनाएर  तालमेल गर्नुभन्दा अलग–अलग पार्टीको रूपमा चुनावी तालमेल गरौँ र चुनावपछि एकता गरौँ भन्ने प्रस्ताव आएपछि त्यसवेला रोकियो । एकता भनेको दुई वटाबिच हुने हो । दुई पक्ष तयार भए मात्र हुने हो । 

  • भनेपछि २०७९ को चुनावअघि नै हुन लागेको एकता माओवादीकै कारण स्थगित भएको रहेछ, हैन ? 

–एकता गर्नुपर्छ भन्ने दुवैको थियो । दुवैको तर्फबाट एकता संयोजन समिति पनि गठन गर्ने निर्णय गरियो । वार्ता कमिटी पनि बन्यो । ड्राफ्ट टिम पनि बन्यो । डकुमेन्ट ड्राफ्ट पनि भयो । तर अन्तिममा उहाँहरूबाट नै त्यस्तो प्रस्ताव आयो र स्थगित भयो । त्यो वेला मसमेत एकताका लागि प्रत्यक्ष सहभागी भएको नाताले त्यति भन्न सकिन्छ । 

वैचारिक र सैद्धान्तिक कुरा मिलेन भने त मिलेको भोलिपल्टैदेखि विवाद हुन्छ । जस्तोः अहिले पनि माओवादी केन्द्रले मार्गदर्शक सिद्धान्तको रूपमा माओवाद मान्छ ।
  • अहिलेको स्थितिचाहिँ के हो त ? 

–सैद्धान्तिक रूपमा अहिले पनि हाम्रो भनाइ एकता गर्ने हो । तर त्यो एकताको अर्थ, औचित्य के हो ? त्यो पनि हामीले जनता र कार्यकर्तासमक्ष पुष्टि गर्न सक्नुपर्छ । एकता गर्ने भए मोडालिटी के हुन्छ ? कसरी जान्छौँ ? किन एकता गर्छौ ? कसरी एकता गर्छौँ भन्ने कुरा आउनुपर्ने होला ।

त्यसैले यी कुराहरू पहिल्यै निरूपण भए मात्रै ठोस रूपमा एकताको विषयमा बढ्न सक्छ । कम्युनिस्ट आन्दोलनको एउटा दुःखद पक्ष के छ भने, एकता अलि हतारमा गर्ने । एकताको फाउन्डेसन (आधार) बलियो नबनाउने, अनि पछि त्यो एकता भङ्ग हुने उदाहरण त हामीसँग नेकपा नै छ । 

त्यसकारण एउटा निश्चित आधारमा एकताका कुरा गरौँ भन्ने हाम्रो कुरा हो, त्यो माओवादीसँग होला अथवा अर्कोसँग । 

यसमा विचार मूल कुरा हो । वैचारिक र सैद्धान्तिक कुरा मिलेन भने त मिलेको भोलिपल्टैदेखि विवाद हुन्छ । जस्तोः अहिले पनि माओवादी केन्द्रले मार्गदर्शक सिद्धान्तको रूपमा माओवाद मान्छ । पार्टीको नाम पनि माओवादी राख्या छ । यस्ता सैद्धान्तिक, वैचारिक सवालमा एकरूपता हुन जरुरी छ । 

अर्कोतिर, हाम्रो कार्यनीति, कार्यदिशा के हो भन्ने कुराको पनि टुङ्गो लाग्नुपर्ने होला । हाम्रो लक्ष्य समाजवाद हो, अबको हाम्रो कार्यनीति, कार्यदिशा समाजवाद हो, अब हामी जाने बाटो वा पुग्ने भनेको समाजवाद हो । त्यसैले समाजवादी नेपाली क्रान्तिको कार्यक्रम समाजवादी हो । समाजवादी क्रान्तिको कार्यक्रम हामीले महाधिवेशनबाटै पास गरेका छौँ । यो अवस्थामा अर्को हामी मिल्ने पार्टीको दृष्टिकोण के हो भन्ने कुरा पनि क्लियर हुनुपर्ने होला । 

  • वैचारिक सैद्धान्तिकभन्दा पनि सङ्गठनात्मक (नेता व्यवस्थापन) विषय मिल्न झन् कठिन होला नि ? 

–कम्युनिस्ट आन्दोलनको अर्को पाटो सिद्धान्त मिल्ने, विचार पनि मिल्ने, कार्यक्रम पनि मिल्ने तर सङ्गठनात्मक व्यवस्थापनमा जटिलता हो । यसमा अध्यक्ष को हुने ? कति वटा अध्यक्ष हुने ? त्यसपछि पदाधिकारी कसका कति हुने भन्ने पनि रहन्छ । यो विषय प्राविधिक तर सबैभन्दा जटिल हो ।

कोही नेताको व्यक्तिगत कुराभन्दा पनि एउटा आम प्रवृत्ति तपाईंले भनेजस्तै छ । मैले अघि पनि भनेँ, कुरा गर्दाखेरि हामी ठुल्ठुलै गर्छौँ ।

त्यसैले राजनीतिक, वैचारिक, कार्यक्रमिक र सङ्गठनात्मक सवालहरूमा स्पष्ट भएपछि बल्ल एउटै पोजिसनमा उभिने स्थिति बन्छ र त्यस आधारमा एकता गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौँ ।

  • दुवै पार्टीमा पछिल्लो समय कचमच अलि बढी नै देखिएको छ । एकता भइदिए यसलाई टार्ने र भन्ने आशय पो हो कि ?

–यो सत्य होइन । हाम्रो पार्टीमा वैचारिक, कार्यक्रमिक र कार्यदिशाको सवालमा कुनै विवाद छैन, मतभेद छैन । महाधिवेशनबाट हामी प्रस्ट रूपमा राजनीतिक कार्यदिशा तय गरेर समाजवादी क्रान्तिको कार्यक्रम तय गरेर अगाडि बढेका छौँ । कतिपय प्राविधिक विषय, इस्यु, समीक्षा र व्यवस्थापनका सन्दर्भमा बहस हुनु स्वाभाविक हो । किनभने जीवन्त पार्टीमा बहस, छलफल हुन्छ । बहस र छलफल एउटा निश्चित ठाउँमा हुनुपर्छ । निश्चित विधिअनुसार हुनुपर्छ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तले पनि त्यही भन्छ । माओवादीको कुरा तपाईंले उहाँहरूसँगै सोध्न उचित हुनेछ । 

  • आफूलाई अप्ठ्यारो परेको वेला नेताहरू पार्टी एकता गरिहालौँ भन्छन्, थोरै सहज हुनेबित्तिकै एकले अर्कालाई नगन्ने प्रवृत्ति छ । यसले विचार, सिद्धान्त र देश विकासभन्दा नेताहरूले निजी स्वार्थलाई केन्द्रमा राखेको देखिन्छ, यसो भन्न मिल्ला ? 

–कोही नेताको व्यक्तिगत कुराभन्दा पनि एउटा आम प्रवृत्ति तपाईंले भनेजस्तै छ । मैले अघि पनि भनेँ, कुरा गर्दाखेरि हामी ठुल्ठुलै गर्छौँ । सिद्धान्त, विचार, मार्क्सवाद, लेनिनवाद, राष्ट्र, जनताका कुरा गर्छौँ । यस्ता कुरा गर्नेमा कोहीभन्दा कोही कम छैनन् । जब प्राक्टिकल कुरा आउँछ, आफूसँग जोडिन्छ, आफ्नो हित हेर्छन्, स्वार्थ पूरा हुन्छ कि हुँदैन भन्ने कुरा आउँछ । यो आम प्रवृत्ति पनि हो । समग्र नेपालको राजनीति नै यस्तो छ । 

यो संकीर्णता कम्युनिस्टहरूभित्र अझ बढी छ । जतिवेला व्यक्तिको पदको कुरा आउछ, त्यसले सैद्धान्तिक, वैचारिक, आदर्श र मूल्य–मान्यताका कुरालाई निलिदिन्छ । 

भोट र सबै वामपन्थीहरू मिलाउने हो भने दुई तिहाइ पुग्छ । यति हुँदाहुँदै पनि फेरि सबैले भन्ने गरेको समाजवादमा जाने भन्ने हो ।
  • यी सबै विषय मध्यनजर गर्दा २०८४ को चुनावअघि दुई पार्टीबिच एकता सम्भव छ/छैन ? 

–यसमा ज्योतिषीले भनेजस्तै गर्न सकिँदैन । हामीले सैद्धान्तिक रूपमा राष्ट्र र जनताको हितको कुरा गर्ने हो भने कम्युनिस्ट आन्दोलन एकताबद्ध हुनुपर्छ । जति वेला कम्युनिस्टहरू मिलेका छन्, त्यति वेला लोकतान्त्रिक आन्दोलन पनि बलियो भएको छ । राष्ट्रियता, देशभक्तिको आन्दोलन पनि बलियो भएको छ । आन्दोलनहरूले सफलता पनि प्राप्त गरेका छन् । 

वामपन्थीहरू मात्रै होइन, अरू लोकतान्त्रिक शक्तिहरूलाई पनि समेटेर अघि बढ्दा ठुल्ठुला उपलब्धिहरू पनि प्राप्त गरेका छौँ । तर कम्युनिस्टहरू विभाजित भएका वेला राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र कमजोर भएका छन् । 

यतिवेला गणतन्त्रविरुद्धमा राजावादी र प्रतिगामीहरूले टाउको उठाएको पनि हामी कमजोर भएर नै हो । यस हिसाबले हेर्‍यो भने कम्युनिस्टहरू, वामपन्थीहरू मिल्नुपर्छ, किनभने नेपाल एक किसिमले वामपन्थीमय छ । नेपालको जनमत वामपन्थीको पक्षमै अत्यधिक छ । 

भोट र सबै वामपन्थीहरू मिलाउने हो भने दुई तिहाइ पुग्छ । यति हुँदाहुँदै पनि फेरि सबैले भन्ने गरेको समाजवादमा जाने भन्ने हो । समाजवाद ल्याउने तर नमिल्ने हो भने समाजवाद गीत गाउने कुराजस्तो मात्र हुन्छ ।

  • तर, तपाईंको पार्टीमा एउटा पक्ष माओवादीसित मिल्ने, अर्को पक्ष एमालेसँग मिल्ने भन्ने सुनिन्छ नि ? 

यी चर्चा बढी भएका कुरा हुन् । कोर कुरा भनेको पार्टी बनाउने हो । हामीले विद्रोहको औचित्य पुष्टि गर्दै पार्टी निर्माण र पुनर्गठन गर्‍यौँ, भनेपछि पहिला पार्टी निर्माण गर्ने हो । सिद्धान्त, विचार र कार्यक्रम सही छ भने पार्टी त्यही आधारमा बनाउन सकिन्छ । छिटपुट रूपमा यता मिल्ने कि उता मिल्ने भन्ने पनि प्रसङ्गहरू आउँछन्, त्यो अस्वाभाविक पनि नहोला ।

सैद्धान्तिक, राजनीतिक कार्यदिशा र सङ्गठनात्मक सवालमा हामी जोसँग नजिक छौँ, त्योसँग एकता हुन्छ । किनभने अहिलेको अवस्थामा ठोस रूपमा एजेन्डा बनाएर, वार्ता समिति बनाएर, बैठक गरेर एकता पक्रिया कसैसँग सुरु गरेका छैनौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप