मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
व्यक्तिवृत्त

अद्वितीय सङ्गीतकार दीपक जङ्गम

चाँदनी शाह, नारायणगोपाल र अरुणा लामाको समेत रोचक प्रसङ्ग
शनिबार, २४ साउन २०८२, १० : २२
शनिबार, २४ साउन २०८२

सारांश

  • दीपक जङ्गम र उनको सांगीतिक योगदानबारे लेखकको अनुभव र सम्बन्धको कथा प्रस्तुत गरिएको छ।
  • नारायणगोपाल, अरुणा लामा लगायतका कलाकारहरूसँगको सहकार्य र गीत रेकर्डिङका रोचक घटनाहरू समावेश छन्।
  • जङ्गमको सांगीतिक क्षमता र नेपाली संगीतमा उनको प्रभावबारे विस्तृत चर्चा गरिएको छ।

२०४२ सालको कुरा हो— त्यति बेला दीपक जङ्गम रत्न रेकर्डिङ संस्थानका अध्यक्ष तथा महाप्रबन्धक थिए । उनलार्ई भेट्न म उनको कार्यालय सिंहदरबार गएको थिएँ । त्यति बेला त्यो संस्थान रेडियो नेपालको परिसरको अलिक भित्रपट्टिको रातो घरमा थियो । 

दीपक जङ्गमको नाउँ त मैले धेरै पहिलादेखि नै सुन्दै आएको थिएँ । तर त्यस बखत मैले उनलाई पहिलोचोटि भेटेको थिएँ । त्यस घडी मसित बुलु मुकारुङ पनि थिए । त्यति बेलाको मेरो अनुमानमा उनी बुलु र मभन्दा एकाध वर्ष जेठा लाग्थे । झन्नै दौँतरी उमेरका मान्छेलाई त्यति ठुलो कुर्सीमा बसेको देख्ता मभित्र एक प्रकारको हौसला, जागरण र सचेतताको भाव उम्रेको थियो । साथै त्यस बेलाको उनको फ¥याकफुरुकका साथै हामीप्रतिको सम्मान, सद्भावना र हार्दिकताका कारण उनीसित म नतमस्तक पनि भएको थिएँ । 

त्यो वर्ष अर्थात् सन् १९८५ मा नेपालले पनि अन्तर्राष्ट्रिय युवा वर्ष मनाइरहेको थियो । त्यस अवसरमा रत्न रेकर्डिङ संस्थानले युवा जागरणको एउटा गीतको क्यासेट प्रकाशन गर्ने योजना बनाएको रहेछ । अनि मलाई पनि एउटा राष्ट्रिय गीत लेख्न दीपक जङ्गमबाट आग्रह भएको थियो । त्यति बेला म गीत लेखनमा बामे सर्दै थिएँ । त्यसैले मेरो गीत पनि रेकर्डिङ हुने कुराले म दङ्ग परेको थिएँ । अनि मेरो गीतको सङ्गीतकारका लागि मैले बुलु मुकारुङको नाउँ दिएको थिएँ र त्यो गीत जुजुकाजी रञ्जित र साथीहरूले रेडियो नेपालको स्टेसनमा गाएका थिए— 

सहभागिता, शान्ति र विकासका लागि

एकतामा जुटेका छौँ युवाहरू हामी

नेपाली युवाहरू हामी ।

मेरो गीत रेकर्डिङ भएपछि दीपक जङ्गमसित मेरो क्रमशः सम्बन्ध बढ्न थालेको थियो । पछिपछिका दिनहरूमा उनी मेरो दाजु र म उनको भाइमा आबद्ध हुन थालेका थियौँ । पूर्वस्मृतितिर फर्केर हेर्दा हाम्रो घनिष्ठता, सामीप्य र आत्मीयताका कारण नेपाली गीत–सङ्गीतको श्रीवृद्धिका लागि एउटा न एउटा इँटा पनि थपिएकै थियो भन्ने मलाई लाग्छ । साथै हामीमाझको निकटतामा पनि सशक्त रूपमा क्रमशः बढोत्तरी हुँदै आएको छ । 

२०४४ सालको कुरा हो— दीपक जङ्गमले रानी ऐश्वर्य अर्थात् कवयित्री चाँदनी शाहको रचनामा ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा’ बोलको गीत सङ्गीत गरेका थिए । अनि त्यो गीत नारायणगोपालले गाएका थिए । चाँदनी शाहलाई उक्त गीतको त्यतिखेरै दुईवटा बेग्लाबेग्लैको सङ्गीत र स्वर बुझाइएको रहेछ । गीत रेकर्डिङ भएका ती दुवै गीत रेडियो नेपालबाट बज्नुअघि मैले पनि सुन्ने अवसर पाएको थिएँ । 

चाँदनी शाहको रचनाको गीत रेकर्डिङ भएपछि त्यसै दिन म्युजिक नेपालबाट नारायणगोपाल सरासर मेरो घर घट्टेकुलो आएका थिए । त्यस बेला म्युजिक नेपाल पनि कालिकास्थान छेउबाट घट्टेकुलो झर्ने ठाउँमा भाडामा बसेको थियो । अनि मेरो घरबाट पाँच सय मिटरको दूरीमा म्युजिक नेपाल थियो । 

त्यति बेला नारायणगोपालले प्रमुख सचिवसमक्ष भनेका थिए, ‘सरकारको अर्को पनि म गीत गाउन चाहन्छु । एकपटक मलाई सरकारसित दर्शनभेटको अवसर दिनुप¥यो ।’ त्यति बेला नारायणगोपाललाई उत्तर दिने क्रममा रानीका प्रमुख सचिव बोलेका थिए— ‘सरकारले पुरुषलाई भेटिबक्सँदैन ।’

नारायणगोपालसित मेरो भेट भएपछि निकै खुसी भएर उनी मसित बोलेका थिए— ‘रानीको दुवै गीतको सङ्गीत धेरै राम्रो भएको छ; भाइ ! दीपक जङ्गमले पनि धेरै मेहनत गरे र मैले पनि गर्नु मेहनत गरेर गाएँ ।’ 

‘एउटा मान्छेको मायाले’ बोलको गीत राजदरबारबाट सीधै दीपक जङ्गमका नाउँमा आएको थियो । जङ्गमले नारायणगोपाललाई त्यस गीतको धुन सुनाएपछि नारायणगोपाल गाउन लोभिएका थिए । दुवै जनाले खुबै मेहनत गरेकै कारण त्यो गीत अत्यधिक सफल पनि भएको थियो । त्यो गीत रेडियो नेपालबाट बज्न सुरु भएपछि त्यसले निकै ख्याति आर्जन गरेको थियो । सम्भवतः रानीको त्यही गीतले गीतकार चाँदनी शाहको लोकप्रियताले झनै शिखर आरोहण गरेको थियो ।

सुरुसुरुमा चाँदनी शाहलाई जनप्रिय बनाउने काम नातिकाजी र तारादेवीले गरेकै थिए । त्यसपछि उनलाई दीपक जङ्गम र नारायणगोपालले थप उचाइमा पु¥याएका थिए । वास्तवमै जङ्गमको सङ्गीत जुनसुकै रचनाकार र गायकले भेटे भने पनि ती गीतकार र गायकले पनि धुरी चढेका नै हुन्छन् । नारायणगोपाल स्वयं पनि सङ्गीतकारै थिए; यति हुँदाहुँदै पनि उनी भन्थे— ‘दीपक जङ्गमको सङ्गीतमा मोहनी छ । चाँदनी शाहका एउटै गीतका दुवै सङ्गीतमा मैले स्वर दिएँ । ती दुवै सङ्गीत यति सरल छन् कि ती दुवै स्वर र सङ्गीतमध्ये कुन रोज्ने भनेर मलाई सोधे म दुवै रोज्छु भन्थेँ ।’

नारायणगोपालले पनि आफ्नै सङ्गीतमा रानीको गीत गाउन रहर गरेका थिए । त्यही क्रममा उनैको आग्रहमा हामी उनकै रातो सिजी होन्डा मोटरसाइकल चढेर एकाबिहानै रानीका प्रमुख स्वकीय सचिव गेहेन्द्रमान सिंहका घर त्रिपुरेश्वर पुगेका थियौँ । त्यति बेला नारायणगोपालले प्रमुख सचिवसमक्ष भनेका थिए, ‘सरकारको अर्को पनि म गीत गाउन चाहन्छु । एकपटक मलाई सरकारसित दर्शनभेटको अवसर दिनुप¥यो ।’ त्यति बेला नारायणगोपाललाई उत्तर दिने क्रममा रानीका प्रमुख सचिव बोलेका थिए— ‘सरकारले पुरुषलाई भेटिबक्सँदैन ।’ त्यस दिन प्रमुख स्वकीय सचिवको कुरा सुनेर नारायणगोपाल मौन बसेका थिए भने म पानीपानी भएको थिएँ । 

Dipak Jangum 2

रानी ऐश्वर्यको अध्यक्षतामा गठित सामाजिक सेवा राष्ट्रिय समन्यव परिषदमा कालीप्रसाद रिजाल सदस्यसचिव थिए भने त्यही परिषद्को म सूचना तथा प्रसार समितिको सदस्यसचिव थिएँ । साथै रानीको सभापतित्वमा सञ्चालित उपकार कोष प्रबन्ध समितिमा दुईजना मनोनीत सदस्यमध्ये म पनि एक जना मनोनीतै थिएँ । त्यही कारण रानीसित प्रायः हरेक आइतबार कालीप्रसाद रिजाल, म लगायत केही पुरुषले दर्शन पाउने गरेकै थियौँ । तर मेरैअघि सचिवले सेतोलाई कालो भनेपछि त्यस घडी मेरो मनमा पनि कस्तो आगो बल्यो होला ? हामी सचिवका घरबाट बाहिर निस्केपछि नारायणगोपाल मसित जङ्गेका थिए, ‘बुझ्यौ भाइ ! अब मैले तिम्री रानीको गीत गाएँ भने म कान काट्छु ।’ सचिव सिंहका कुरा मैले कालीप्रसाद रिजाल र प्रा.डा. तारानाथ शर्मालाई त्यसै दिन सुनाएको थिएँ । रानीसित दर्शनभेट गराउने सूत्रका मुखबाटै हावादारी कुरा भएको बेहोरा सुनेर उनीहरू पनि तीनछक परेका थिए । त्यसपछि जति नै कर गरे पनि नारायणगोपालले रानीको अरू गीत गाउँदै गाएनन् । 

२०४७ सालतिरको कुरा हो, अरुणा लामाले पनि चाँदनी शाहकोे गीत गाउन चाहेकी थिइन् । त्यसैले रानीको गीत गाउनेबारेको बिन्तीपत्र बोकेर उनी र म राजदरबारका एडिसी शान्तकुमार मल्लका निवास लाजिम्पाट पुगेका थियौँ । त्यसै बेला जनरल मल्लले हामीलाई भनेका थिए, ‘सरकारको गीत गाउनका लागि त नातिकाजी र तारादेवीसितै सम्पर्क राख्नुपर्ला । उहाँहरूबाहेक सरकारबाट अरूलाई आफ्ना रचना बक्सेको छ जस्तो मलाई लाग्दैन ।’ त्यस बखत मल्लका संवाद सुनेर राजतन्त्रप्रति नै मलाई नैराश्यबोध भएको थियो भने अरुणा लामाले पनि कालो अनुहार लगाएकी थिइन् । दरबारको आँखा फुटेको अवस्थामा पनि दीपक जङ्गमले भने एकपछि अर्को गरेर रानीका तीनवटा गीत पाएका थिए । अनि यो तथ्य त्यतिखेर एउटा अर्को आश्चर्यको विषय छँदै थियो । जङ्गमलाई प्राप्त रानीका अरू दुईवटा गीत नारायणगोपालले कुनै हालतमा गाउन मानेनन् । त्यसपछि ती गीत मिलन चखुँ र आनन्द कार्कीले गाएका थिए । 

अनुभवीहरूले भनेको मैले सुनेको थिएँ, वीरेन्द्रकालीन राजदरबारको विविध रबैया अप्राकृतिक नै थियो । म पनि रानीसितको सरोकारी भएपछि त्यहाँको दृश्य हेरेको हे¥यै भएको थिएँ । दरबारको कहालीलाग्दो चालामाला देखेर मैले तारानाथ शर्मासित भनेको पनि थिएँ, ‘मलाई अचम्मै लाग्छ दाइ ! रानीले हामी दुई जनालाई कसरी पो मनोनीत गरिन् ?’ वास्तवमा त्यहाँ हामीलाई काम गरेर हिँड्न महाभारत नै थियो । दरबारभित्रको त्यस्तो चाक्ली र चुक्लीको अवस्थामा पनि दीपक जङ्गम पास भएका थिए । तर मेहदी हसनका बेलामा उनलाई नमिठो चोट परेको थियो ।   

मेहदी हुसेनका बारेको कुरा के हो भने— २०४४ सालतिर चाँदनी शाहको ‘एउटा मान्छेको मायाले’ बोलको गीतलगायत अरू पाँचवटा गीत उर्दूमा अनुवाद गराउने बारेको रानीको स्वीकृति लिएर दीपक जङ्गम पाकिस्तान पुगेका थिए । अनि उनले ती गीत उर्दूका प्रसिद्ध गीतकार आलमताव ‘तस्न’मार्फत उर्दूमा अनुवाद गराएका थिए । त्यो अनुवादको पनि एउटा प्रसङ्ग मलाई भन्न मन लागेको छ । कुरा के हो भने, दीपक जङ्गमले चाँदनी शाहका गीतलाई हिन्दी भाषामा भनिदिने गर्थे र आलमताव ‘तस्न’ले उर्दू भाषामा भाव अनुवाद गरिदिन्थे । अन्त्यमा मेहदी हसन, आलमताव र जङ्गमले ती शब्दशब्दलाई फाइनल टच दिने काम गरेका थिए । ती सबै गीत मेहदी हसनले नै गाएका थिए । अनि ती सबै गीत नम्बरी सुनै पनि भएका थिए । त्यस बेला मैले रानीसमक्ष ती गीतका लागि अनुवादक, गायक र सङ्गीतकारलाई उचित पारिश्रमिक दिनका लागि बिन्ती पनि चढाएको थिएँ । त्यति बेला रानीसँगको मेरो दर्शनभेटका अवसरमा कालीप्रसाद रिजाल पनि रानीकै छेउमा थिए । मेरो बिन्ती सुनेर रानीबाट ‘मनासिब कुरा हो’ भन्ने हुकुम बक्सेको थियो । तर पछि यसबारे दरबारियामध्ये कसले भाँजो हालिदियो या केकेमा राजदरबार र जङ्गममाझ कुरा मिलेन कुन्नि ! दीपक जङ्गम, मेहदी हसन र आलमताव ‘तस्न’का हातमा आनासुकी पनि पारिश्रमिक परेको मैले थाहा पाइनँ । तर रेडियो नेपालबाट ती गीत बजेको चाहिँ मैले सुनेको थिएँ ।

मेहदी हसनले दीपक जङ्गमलाई अति नै आदर, सम्मान र माया गर्थे । रानीको गीत गाएकै कालखण्डमा मेहदी हसनले भनेका थिए, ‘दीपक जङ्गम एउटा अलौकिक सङ्गीतकार हुन्, उनका धेरै गीत गाउने मलाई रहर छ ।’ वास्तवमा नेपाली गीतसङ्गीत बुझ्नेहरू जोकोहीले पनि दीपक जङ्गमको सङ्गीतकलालाई अत्यन्तै मन पराउने गर्थे । त्यही क्रम जोडिनाले गुलाम अलीले भनेका थिए, ‘नेपालमा दीपक जङ्गमजस्ता अद्वितीय सङ्गीतकार पनि छन्, उनको सङ्गीतबाट म मोहित छु । उनको सङ्गीतमा नेपाली गीत गाउन पाउनु मेरो भाग्य हो ।’ साँच्चै हो, गुलाम अलीका स्वरमा राजा महेन्द्र अर्थात् मवीवि शाहका शब्दलाई आकाश पु¥याउने दीपक जङ्गम नै पनि अर्का एक जना कलाकार हुँदै हुन्—

गाजलु ती ठुलाठुला आँखा

तीर बनी बसे यो दिलैमा

कालो लामो परेली केश

छाल परे कलिलो मायामा । 

नेपाली गीत–सङ्गीतका क्षेत्रमा गीतकार, गायक र सङ्गीतकार अथवा भनौँ तीन विधामै अब्बल मानिएका स्रष्टा नै अम्बर गुरुङ, गोपाल योञ्जन र दीपक जङ्गम मानिए । अनि त्यस बिरालाकोटिमा दरिएका दीपक जङ्गमले सानै उमेरमा ठुलो नाउँ कमाइसकेकै थिए । त्यस्ता प्रतिभासम्पन्न कलाकारसित नजिक जान को पो लालायित हुँदैन थिए र ! उनीजस्ता बेजोडका प्रतिभासित मेरो सधैँ बस, उठ र आउजाउ भइरह्यो । उनलाई मैले सधैँ श्रद्धा, आदर र सम्मान जनाइरहेँ । उनले पनि मप्रतिको प्रेमिल भाव सधैँ दर्शाइरहे । 

दीपक जङ्गमले मेरा केही शब्दमाथि सङ्गीत भरिदिए । भनौँ उनले मलाई पनि गीतकारका रूपमा चिनाउन मद्दत गरिदिए । उनी नयाँ र पुराना जुनसुकै गीतकारका पनि गीत समाउने गर्थे । यति हुँदाहुँदै पनि उनले सङ्गीतबद्ध गरेका केही गीत जनप्रियताको नापोमाथि नै उनिएको पाइन्छ । उनले सङ्गीत गरेका गीतले फट्का हानेपछि उनी मात्र ठुला भएनन्, गीतकार र गायकको नाउँमा पनि श्रोताप्रेम गाँसिने गर्थ्यो । त्यही भाकामा गुलाम अलीको स्वरमार्फत राजा महेन्द्रका शब्द–शब्दलाई पनि जङ्गमले जनजिब्रोमा नै उनिदिए—

किनकिन तिम्रो तस्बिर मलाई निको लाग्छ

नबोलेर जति हेछ्र्यौ उति हिसी लाग्छ ।

अरुणा लामासित पनि मेरो ज्यादै घनिष्ठ सम्बन्ध थियो । उनले मेरा शब्द–रचनामा पनि गीत गाइसकेकी थिइन् । उनले मेरै रचनामा फेरिफेरि पनि गीत गाउँछु भनेकी थिइन् । अनि बरु मैले उनका लागि अरू गीतकारका गीत बटुल्न थालेँ । त्यसपछि मैले उनीसित दीपक जङ्गमको परिचय गराइदिएँ । जङ्गमको प्रतिभाको प्रशंसा गाएर त्यस बेला मैले उनीहरूमाझ एउटा बलियो फलामे पुल नै थापेको थिएँ । 

दीपक जङ्गमको एकल सङ्गीत र अरुणा लामाको एकल स्वरमा गीत रेकर्डिङ गर्ने दुवै पक्षलाई राजी गराउन म सफलै भएको थिएँ । त्यसपछि भने ती गीत कसरी पो रेकर्डिङ गर्ने भन्ने मभित्र अर्को चिन्तन पनि छँदै थियो । अनि निःशुल्क रूपमा गीत रेकर्डिङ गर्ने जोसमा ‘कान्छी दिदी बस्तै गर्नु है !’ भनेर म म्युजिक नेपालतिर हान्निएँ । भनौँ, आफ्नै जग्गामा मौजुद म्युजिक नेपाल चार सय मिटरकै दूरीमा भएकाले म घरबाट फुत्त निस्किहालेँ । अनि म्युजिक नेपालका प्रबन्ध सञ्चालक सन्तोष शर्मासित अरुणा लामाका स्वरमा गीत रेकर्डिङ गर्नेबारे मैले अनुरोध गरेको थिएँ । शर्माले पनि खुसी भएर मेरो प्रस्तावमा आफ्नो बूढीऔँला थिचेका थिए । त्यस बेला आठवटा गीत रेकर्डिङ गर्नेबारे हाम्रो सहमति भएको थियो र क्यासेटको नाउँ पनि ‘अरुणा यात्रा’ राखिएको थियो । 

नारायणगोपाल मसित जङ्गेका थिए, ‘बुझ्यौ भाइ ! अब मैले तिम्री रानीको गीत गाएँ भने म कान काट्छु ।’ सचिव सिंहका कुरा मैले कालीप्रसाद रिजाल र प्रा.डा. तारानाथ शर्मालाई त्यसै दिन सुनाएको थिएँ । रानीसित दर्शनभेट गराउने सूत्रका मुखबाटै हावादारी कुरा भएको बेहोरा सुनेर उनीहरू पनि तीनछक परेका थिए । त्यसपछि जति नै कर गरे पनि नारायणगोपालले रानीको अरू गीत गाउँदै गाएनन् । 

म्युजिक नेपालबाट खुसीको समाचार बोकेर म हतारहतार घरमा आएँ । अनि मैले अरुणा लामालाई त्यही सुखद जानकारी दिएको थिएँ । त्यस घडी उनले आँखाभरि आँसु पारेर भनेकी थिइन्, ‘यो त जादुजस्तै पो भयो त, अन्तरे भाइ !’ अनि उनी र म सँगै बसेर दीपक जङ्गमलाई पनि टेलिफोनबाटै जानकारी दिएका थियौँ । उनी पनि हाम्रा कुरा सुनेर बेजोडले रमाएका थिए । त्यति बेला जङ्गमले भनेका थिए, ‘नरेन्द्र भाइ लागेपछि म त ढुक्कै थिएँ ।’  

‘अरुणा यात्रा’का आठवटै गीत अरुणा लामाले मेरै घरमा रियाज गरेकी थिइन् । अरुणा लामालाई रियाज गराउन हरेक दिनको २ बजे दीपक जङ्गम मेरा घर आउँथे । वास्तवमा त्यो अल्बमका गीत रेकर्डिङ नभइन्जेलसम्म मेरै घरमा अरुणा लामाको स्टेसन थियो । त्यति बेला मेरा घरमा कालीप्रसाद रिजालदेखि जनरल राजेन्द्र थापासम्मको पनि नियमित आगमन भइरहने गर्थ्यो । त्यस बेला यस घरमा उनलाई आदर गर्ने प्रायः सङ्गीतका पारखीको भिड लाग्ने गर्थ्यो । त्यसैले रियाजका बेलामा नै कोठाभित्र र झ्यालमा उभिएर गीत सुन्नेहरूको ताँती नै हुन्थ्यो । 

Dipak Jangum & NR Prasai 2

‘अरुणा यात्रा’को क्यासेटमा मेरा दुईवटा गीतले ठाउँ पाएका थिए । ‘अरुणा लामा स्वर्णिम साँझ’मा अरुणा लामाले मेरो रचनाको त्यही क्यासेटमा रहेको एउटा गीत पनि गाएकी थिइन्—

विरहले रोएको रातमा

तिर्सनाले छोएको छातीमा

सधैँ नजलाऊ मलाई

मुटु दुखेको बेलामा ।

दीपक जङ्गम र मेरा माझको सम्बन्ध झनझनै गाढा हुन थालेको थियो । त्यसैै कारण मलाई उनीसित दीपक खरेलको पनि जोडी बाँध्न रहर लागेको थियो । उनीहरूलाई मिलाउन मलाई त्यति सहज छँदै थिएन तर त्यस काममा म सफल भएकै थिएँ । अन्ततः दुवैतिरको म संयोजक भएर दीपक जङ्गमको एकल सङ्गीत र दीपक खरेलको एकल स्वरमा नौवटा गीतको एउटा गीतिसिडी पनि प्रकाशनमा आएको थियो । खासमा आठवटा मात्र गति रेकर्ड गराउने उनीहरू दुई भाइको सोच र निर्णय भएको रहेछ । मैले ‘मेरो पनि एउटा गीत गाउनुपर्छ’ भन्ने कुरा पनि थिएन । आठवटा गीतमा मेरो एउटै गीत नपरेपछि दीपक खरेलका बुबा चन्द्रिकानन्द खरेलको पेट पोलेछ । अनि उनले मेरा घरमा आएर मसँग एउटा गीत मागेका थिए । त्यति बेला मैले उनलाई भनेको थिएँ, ‘आठवटा गीत रेकर्डिङ भएकै छन् । अब नथपौँ, बुबा ! भद्रगोल हुन्छ ।’ उनले मलाई भनेका थिए, ‘नरेन्द्रबाबुको गीत नराखी त एल्बम निकाल्न म मेरो छोरालाई अनुमति नै दिन्न ।’ अनि चन्द्रिकानन्द बुबाले इन्दिरासित कर, बल र जोड गरेपछि इन्दिराले मेरो गीतको डायरी नै उनलाई दिएकी थिइन् । उनीबाटै छानिएको मेरो एउटा गीत त्यस सिडीमा पनि आबद्ध भएको थियो—

बिहानीको सिरेटोमा तिमीलाई भेट्न आउँला

अब प्रिय बाँकी जीवन तिमीसँगै बिताउँला ।

नेपालका एक जना शक्तिशाली कलाकार अथवा भनौँ दीपक जङ्गमका सङ्गीतमा मेरा केही गीतहरू रेडियो र टेलिभिजनहरूबाट बज्न थाल्दा मलाई गीतकार हुनुको एउटा विशेष गौरव नै थियो । वास्तवमा ‘दीपक जङ्गम’ भन्ने नाउँ नेपालमा मात्र नभएर पाकिस्तानमा पनि चर्चाको शिखरमा चुलिएको थियो । त्यस मुलुकमा नेपालका सङ्गीतकार र रचनाकारको नाउँ मवीवि शाह, चाँदनी शाह र दीपक जङ्गम नै प्रख्यात भयो । त्यसपछि दीपक जङ्गमको समेत कुशलताका कारण हामी नेपाली सङ्गीतका क्षेत्रमा पनि अन्तर्राष्ट्रिय जगतमा प्रख्यातै भयो । यस बेहोराको जस दीपक जङ्गमलाई नै दिनुपर्छ भन्ने मेरो मान्यता भइरह्यो । त्यति मात्र होइन उनले भोजपुरी, मैथिली, पञ्जाबी, कोरियन, बङ्गाली भाषाका गीत पनि गाएका छन् । ती भाषामा उनले सङ्गीत पनि गरेकै छन् । प्रा.डा. बेनी जङ्गम नेवारकी छोरी भएका कारण समेत जोडिनाले दीपक जङ्गमले नेवारी भाषाको गीत पनि गाएका छन्, सङ्गीत नै पनि गरेका छन् । 

दीपक जङ्गमले नेपाली परिवेशमा आफ्नो नाउँलाई सङ्गीतको चुचुरोमै पु¥याएका छन् । त्यति मात्र नभएर उनी त्रिभुवन विश्वविद्यालयका सङ्गीत विषयक प्राध्यापक पनि भए । उनैबाट स्नातक र स्नातकोत्तर तहका पाठ्यक्रम समेत निर्माण भएको तथ्यले नेपाली गीत–सङ्गीतले शैक्षिक क्षेत्रमा समेत एउटा ओजस्विता कायम गरेकै छ । उनलाई गुलाम अलीले एउटा विशिष्ट कलाकार नै भनेका थिए । म पनि उनको प्रतिभाका अघि सधैँ नतमस्तक नै छु । म उनीसित नतमस्तक मात्र भएर मलाई पुग्दैन । मैले उनीप्रति शिरै पनि झुकाउनुपर्ने उनीबाट काम भएको छ । आजको दलदलमा मडारिएको मुलुकमा उनले मेरा दुईवटा जीवनीकृति ‘नेपाली सङ्गीतका शिखर’ (२०५९) र ‘आदिगायक सेतुराम’ (२०६०) स्नातक र स्नातकोत्तर तहको पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति नै पनि गराएका छन् । 

दीपक जङ्गमको जीवनमा एउटा विशेष विशेषता पनि मैले पाएको छु । उनी आर्थिक लोभदेखि धेरै टाढा छन् र सङ्गीतको मोहमा धेरै नजिक छन् । उनी सङ्गीतलाई नरम सिरानी बनाउँछन्, शब्दलाई मुटुको तरेलीमा घोल्छन् र स्वरलाई आँखा चिम्लेर छातीमा टाँस्छन् । त्यसैले उनका शब्द, स्वर र सङ्गीत लोभलाग्दा, आकर्षक र मनमोहक हुन्छन् । 

अन्त्यतिर मलाई फेरि भन्न मन लागेको एउटा कुरा छ; त्यो के हो भने— दीपक जङ्गम र बेनी जङ्गमको तोला पनि कति मिलेको छ भने अति मिलेको छ । दुवैजना दुवैका छहारी भएको मैले देख्तै आएको छु । दुवैका दुवै सारथी भएको पनि म हेर्दै आइरहेको छु । अनि दुवै एकअर्काका दौँतरी भएको पनि मैले देखिरहेकै हुन्छु । वास्तवमा नेपाली संसारमा त्यस्तो जोडी बिरलै पाइन्छ भने पनि हुन्छ । नेपाली लोक–सङ्गीतका विषयमा विद्यावारिधि गरेकी डा. बेनी जङ्गम त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्, लेखक हुन् र संस्कृतिविद् नै पनि हुन् । हरेक कुराको जोडघटाउबाट मेरा हातमा लागेको योग हेरिरहँदा मलाई फेरि यति भन्न मन लागेको छ, यी एक जोर व्यक्तित्वको पराक्रमले मभित्र गहिरो छाप परेको छ । साँच्चै भन्ने हो भने यी प्राध्यापक दम्पती नेपाली आमाका सुयोग्य सन्तति हुन्, गहना हुन् र रत्न नै हुन् ।

समकालीन युगका महान् सङ्गीतकार दीपक जङ्गमको योगदानलाई जति सलाम गरे पनि केही फरक पर्दैन । उनी हाम्रा सङ्गीतका एउटा अर्को शिखर हुन्, उनी हाम्रो कानकानमा गुन्जने नशा हुन् र उनी हाम्रो मगजमा तरङ्ग मच्चाउने सशक्त ध्वनि हुन् । यति मात्र पनि भनेर पुग्दैन भने ‘दीपक जङ्गम नेपाली साङ्गीतिक आकाशका एउटा बलियो नक्षत्र हुन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप