बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको नयाँ भवन निर्माण सम्पन्न, २७ गतेबाट सञ्चालन हुने

आइतबार, २५ साउन २०८२, २० : ०४
आइतबार, २५ साउन २०८२

सारांश

  • बागमती प्रदेशसभाको नयाँ भवन निर्माण ५ वर्षमा सम्पन्न भएको छ।
  • भवन साउन २७ गतेबाट सञ्चालनमा आउने भएको छ, र बैठक नयाँ भवनमा बस्नेछ।
  • भवन निर्माणमा ढिलाइ हुदाँ ५ करोड २९ लाख रुपैयाँ खर्च भएको छ।

मकवानपुर । बागमती प्रदेशसभाको नयाँ भवन निर्माण सम्पन्न भएको छ । करिब ५ वर्षको अवधिमा प्रदेशसभाको प्रिफ्यावको भवन निर्माण सम्पन्न भएको हो ।१८ महिनामा सम्पन्न गर्नुपर्ने उक्त भवन निर्माण व्यवसायीको ढिला सुस्तीका कारण ५ वर्ष सम्म लागेको थियो ।

२ चरणमा ठेक्का लगाएर उक्त भवनको काम सम्पन्न गरिएको हो । निर्माण सम्पन्न भएसँगै उक्त भवन साउन २७ गतेबाट सञ्चालनमा ल्याइने भएको छ ।प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले साउन २७ गते बस्ने प्रदेशसभाको बैठक नयाँ भवनमा सञ्चालन हुने जानकारी दिए ।

उनले भवनको भित्री सम्पूर्ण काम सकिएको र माइक जडान र जेनेरेटर जडानका काम चलिरहेकोले २७ गतेबाट चल्ने बैठक नयाँ भवनबाटै सञ्चालन गर्ने तयारी भएको बताए ।

‘सभा हलको भित्री सम्पूर्ण काम सकिएको छ । खाली माइक र जेनेरेटरको जडानलाई अन्तिमरुप दिन बाँकी छ । यो पनि सोमबारसम्म सकिन्छ,’ उनले भने, ‘२७ गते बस्ने प्रदेश सभा बैठक नयाँ भवनबाटै चल्छ ।’

१० मङ्सिर २०७७ मा शिलान्यास गरिएको २५० जना अट्ने सो सभा हल इपीएस स्यान्डबिच प्रविधिबाट निर्माण हुने गरी सहरी विकास तथा भवन कार्यालय हेटौँडाले २०७७ कात्तिकमा ठेक्का आह्वान गरेको थियो । अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले १८ महिनामा काम सक्ने भने पनि ५ वर्षमा तयार पारेको हो । सम्झौता अनुसार निर्माण कम्पनीले आगामी २०७९ वैशाख २१ गतेभित्र सभा हल बनाइ सक्नुपर्ने थियो । तर, कम्पनीले कोरोना महामारी, सामान नपाएको भन्दै काममा आनाकानी गर्दा निर्माण ढिला भएको हो ।

सभा हल निर्माणका लागि सहरी विकास तथा भवन कार्यालय हेटौँडाले ६ करोड १० लाख रुपैयाँ लागत अनुमान गरेको थियो भने घटाघट विधि अनुसार ४ करोड ९३ लाख रुपैयाँमा निर्माण गर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कार्यमा ढिलाइ हुँदा सो भवनको लागि ५ करोड २९ लाख रुपैयाँ खर्च भएको सहरी विकास तथा भवन कार्यालयका प्रमुख इन्जिनियर सुबोध अधिकारीले जानकारी दिए ।

उक्त भवनको पहिलो चरणमा संरचनाको काम सम्पन्न भएपनि फर्निचर, फिर्निसिङ लगायतको काम भने भएको थिए । उक्त कार्यका लागि कार्यालय पुनः ४ करोड ९६ लाख रुपैयाँ लागत अनुमान सहित ठेक्का आह्वान गरेको थियो ।

३ करोड ५३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त कार्यको काम सम्पन्न भई सञ्चालनको तयारी गरिएको हो । उक्त भवनको फर्निचर, फर्निसिङमा ३ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ ।

तत्कालीन समयमा क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको थियो । हालसम्म सोही भवनबाट प्रदेशसभाको काम कारबाही सञ्चालन भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप