बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
उपनिर्वाचन

रुपन्देही–३ : फरक शैलीमा रास्वपा, बोहोरा परिवारबाटै उम्मेदवार खोज्दै राप्रपा

उम्मेदवार टुङ्ग्याउन दलहरू सक्रिय, नेताहरूको बाक्लो आउजाउ
बिहीबार, २९ साउन २०८२, ०७ : ०९
बिहीबार, २९ साउन २०८२

सारांश

  • रुपन्देही- ३ मा उपनिर्वाचनको माहोल बढेको छ, राजनीतिक दलहरूले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएका छन्।
  • रास्वपाले विद्युतीय मतदान र अन्य मापदण्डबाट उम्मेदवार छनोट गर्ने भएको छ, भने एमाले र अन्य दलहरूले पनि आन्तरिक तयारी गरिरहेका छन्।
  • उपनिर्वाचनलाई लक्षित गरी विभिन्न दलका नेताहरूको भैरहवा आउजाउ बाक्लिएको छ।

बुटवल । रुपन्देही– ३ मा उपनिर्वाचनको माहोल बढ्न थालेको छ । दलहरूले उम्मेदवार छनोट लागि आन्तरिक र खुला रूपमा प्रक्रिया अगाडि बढाइरहेका छन् । राप्रपा सांसद दीपक बोहराको निधनपछि यहाँ कात्तिक १७ गने हुने उपनिर्वाचन हुँदैछ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक रूपमै आवेदन मागेर उम्मेदवार छनोटको नौलो तरिका अपनाएको छ भने सत्तारुढ दल नेकपा एमालेको पार्टीभित्र आकाङ्क्षीहरू बढेकाले बैठक आह्वान गरेर नाम सङ्कलन गरेको छ । अन्य पार्टीहरूले पनि उम्मेदवार छनोटमा तीव्र आन्तरिक गृहकार्य बढाइरहेका छन् । रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका र एक चरणको छलफलसमेत सम्मपन्न भइसकेको पार्टीले जनाएको छ । 

भदौको दोस्रो साताभित्र उम्मेदवार टुङ्ग्याउने तयारी गरेको रास्वपाले छनोटको मापदण्डअन्तर्गत विद्युतीय मतदानबाट ५० प्रतिशत (पार्टीभित्रका सदस्यहरूले मतदान गर्नेगरी) र नेतृत्व, शैक्षिक योग्यता र समावेशिताजस्ता आधारबाट बाँकी ५० प्रतिशत अंकभार तोकेको छ । 

रास्वपा लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले ९ वटा आवेदनमध्ये एउटालाई टिकट दिएर बाँकी ८ जनालाई भने निर्वाचन प्रसार प्रचारमा लगाउने प्रतिबद्धता गराउने रातोपाटीलाई बताए । 

एमालेले पनि आकाङ्क्षीहरूको नाम सिफारिस गर्न जिल्ला कमिटी बैठकबाट पदाधिकारीलाई  जिम्मा लगाएको पार्टी रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरले बताए ।

गैरेका अनुसार खिमलाल भट्टराई, शशि पौडेल, यज्ञजित शाह र  हरि अधिकारीले उम्मेदवार बन्ने इच्छा जनाएका छन् । र यिनै चार वटा नाम सिफारिस गरी प्रदेश र केन्द्रमा पठाउने जिम्मा जिल्लाका पदाधिकारीहरूलाई दिइएको उनको भनाइ छ । 

र एमाले जिल्ला कमिटीलाई भदौ १५ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्नुपर्ने समयसीमा पनि तोकिएको छ । 

यता संघीय लोकतान्त्रिक मोर्चाबाट अलग भइसकेको जनमत पार्टीले पनि इच्छुक उम्मेदवारको विवरण बुझ्ने काम भइरहेकाले चाँडै सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ । पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले केन्द्रीय सचिवालयमा सबै विवरण पुगेकाले छिट्टै उम्मेदवारको नाम तय गर्ने बताए । 

यसैगरी संघीय लोकतान्त्रिक मोर्चाका ६ घटकमध्ये पाँच वटाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट साझा उम्मेदवार बनाउँदै छ । नाउपाका संरक्षक रेशम चौधरीले डाक्टर उपाधि पाएका (विद्यावारिधि)लाई उम्मेदवार बनाउनुपर्ने मोर्चाको केही दिनअघि बसेको बैठकमा प्रस्ताव गरेका थिए । 

तर चर्चामा आएका केही नामलाई भने नाउपाले गोप्य राखेको छ । 

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले पनि बोहरा परिवारभित्रैकाले टिकट पाउने सम्भावना धेरै रहेको बताए । र सोहीअनुसार मिलेर आउन पार्टीले आग्रह गरेको उनको भनाइ छ ।

यसैगरी राप्रपाले ६ जनाको नाम सिफारिस गरे पनि स्वर्गीय दीपक बोहरा परिवारभित्रबाटै उम्मेदवार खोजेको छ । बोहराका परिवारका तीनमध्ये एक जनालाई उम्मेदवार बनाउनेगरी पार्टी जिल्ला कमिटीले आन्तरिक तयारी थालेको छ । 

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले पनि बोहरा परिवारभित्रैकाले टिकट पाउने सम्भावना धेरै रहेको बताए । र सोहीअनुसार मिलेर आउन पार्टीले आग्रह गरेको उनको भनाइ छ । स्वर्गीय बोहराका गौरव र प्रज्वल गरी दुई छोराका साथै सोही परिवारभित्रबाटै स्वाति थापा पनि उम्मेदवारको लाइनमा छिन् । 

यता नेकपा माओवादी, एककृत समाजवादी, विप्लवलगायतले उम्मेदवार छनोटमा केही छलफल गरे पनि आन्तरिक रूपमा तीव्र प्रतिस्पर्धा भएको देखिँदैन । 

माओवादी रुपन्देहीका अध्यक्ष निर्मल जिसीका अनुसार पार्टीभित्र पूर्वमन्त्रीदेखि युवा नेताहरू उम्मेदवार बन्ने सक्ने क्षमताका भएकाले आन्तरिक रूपमा ठुलो प्रतिस्पर्धा छैन । 

एकीकृत समाजवादीले भने कुन उम्मेदवार मैदान लैजाँदा पार्टीको प्रभाव पर्छ भन्नेबारे अनौपचारिक छलफल भएको बताएको छ । 

यहाँ राष्ट्रिय जनमोर्चाले भने बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले उम्मेदवारी नै नदिने भएको छ । 

अघिल्लो निर्वाचन र अवस्था 

रुपन्देही–३ मा एक लाख ३९ हजार ७६४ मतदाता छन् । राप्रपाका बोहराले यहाँबाट २०७९ सालको निर्वाचनमा जित निकाल्दा पार्टीले समानुपातिकतर्फ नौ हजार १८३ मत ल्याएको थियो । यद्यपि यहाँबाट सबैभन्दा धेरै समानुपातिक मत ल्याउने पार्टी नेपाली कांगेस हो । उसले २० हजार २७८ मत ल्याउँदा एमालेले १६ हजार ९८६ मत ल्याएको थियो । यहाँबाट रास्वपाको भने १४ हजार १५४ मत आएको थियो ।

त्यस्तै नाउपाले ६ हजार र जनता समाजवादी पार्टी (जसपा) ले पाँच हजार मत ल्याएका थिए । लोसपाले पनि पाँच हजार, जनमतले तीन हजार ७ सय, माओवादी केन्द्रले दुई हजार ६ सय, जनमुक्ति पार्टीले एक हजार ९ सय, हाम्रो नेपाली पार्टी (लौरो) ले एक हजार ३ सय ४७ र नेकपा एकीकृत समाजवादीले ७ सय ८१ समानुपातिक मत पाएका थिए ।

केन्द्रीय नेताहरूको आउजाउ

उपनिर्वाचनलाई लक्षित गरेर केन्द्रीय नेताहरूको भैरहवा आउजाउ बाक्लिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार रुपन्देही–३ का कार्यकर्तालाई  सम्बोधन गर्दै पार्टीलाई निर्वाचन लागिसकेको र जसले टिकट पाए पनि जित्ने वातावरण तयार गर्न निर्देशन दिए ।

केही दिनअघि नेसपा (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई पनि दुई दिन भैरहवा दुई बसे । उनले त्यस क्रममा नयाँ दलहरूसँग मिलेर एउटै उम्मेदवार बनाएर जान प्रदेशस्तरीय नेताहरूसँग छलफल गरेका थिए । उनले सकभर अर्को दललाई समर्थन गरेर जाने आशय देखाएका कार्यकर्ताहरूको बुझाइ छ । 

यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा यहाँ कसलाई उम्मेदवार बनाउन सकिन्छ भन्नेबारे बुझ्न आए । कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले पार्टीलाई उम्मेदवार छनोटमा समस्या नभए पनि तत्काल नाम बाहिर नल्याउने बताए । 

त्यस्तै रास्वपाका केन्द्रीय नेताहरू साउन ३० गते भैरहवा आउने तयारी छ । पार्टीको प्रशिक्षणसँगै उपनिर्वाचनमा केन्द्रित हुन कार्यवाहक अध्यक्ष डीपी अर्याल, उपाध्यक्ष डा स्वार्मिण वाग्ले, पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठलगायत नेताहरू आउन लागेका हुन् । 

मधेसवादी दलका केही नेताहरू भने भदौ पहिलो साता भैरहवा आउने जिल्लास्तरका नेताहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप