राजाले दिएको खाम फिर्ता गर्न जब भुवनलाल प्रधान दरबार पुगे...
२०१२ भदौ १२ गते इन्डोनेसियाको बाङदुङमा अफ्रो एसियाली सम्मेलनको आयोजना भएको थियो । त्यस सम्मेलनमा चीनका प्रधानमन्त्री चाउ एन लाई, भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू, इन्डोनेसियाका राष्ट्रपति सुकार्नो, घानाका राष्ट्रपति एनोक्रोमा, इजिप्टका राष्ट्रपति अब्दुल नासेर, युगोस्लोभियाका राष्ट्रपति जोसेफ ब्रज टिटो र नेपालका तर्फबाट मेजर जर्नल सोहङजंग थापासहित २९ देशबाट प्रतिनिधित्व भएको थियो ।
त्यस भेलाले पाचँवटा बुँदा स्वीकार गरेको थियो : (१) एक–अर्काको मामलामा हस्तक्षेप नगर्ने । (२) एक–अर्काको स्वतन्त्रता, सार्वभौकिमता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने । (३) एक–अर्काको भौगोलिक क्षेत्रमा आक्रमण नगर्ने । (४) आर्थिक सांस्कृतिक सहयोग आदानप्रदान गर्ने । (५) शान्तिपूर्ण सहअस्तिव स्वीकार गर्ने ।
यसलाई नै पञ्चशीलको सिद्धान्त भनेर मानिएको छ ।
त्यसपछि २०१७ सालमा आयोजना भएको सम्मेलनलाई श्री ५ महेन्द्रबाट सम्बोधन भएको थियो र सो सम्बोधनले संसारलाई नै नेपालको परिचय प्रदान गरेको थियो । त्यसपछि अफ्रो एसियाली जनएकता समिति नामबाट नेपालमा पनि संगठन गरिएको थियो ।
२०१७ पुस १ गते राजा महेन्द्रबाट नेपालको राज्यसत्ता आफ्नो हातमा लिई केही दिनपछि सातजना सदस्य भएको मन्त्रीमन्डल गठन गरिएको थियो । सो सात सदस्य मन्त्रीमण्डलमा पाटन सहर निवासी बडा विद्वान् राष्ट्रवादी, देशभक्त, इमानदार व्यक्तित्व भुवनलाल प्रधान पनि एक सदस्य हुनुहुन्थ्यो । उहाँ पूर्वमन्त्री भएपछि अफ्रो एसियाली जनएकता समिति नेपालको अध्यक्ष हुनुभयो र त्यस समितिमा म पनि एक सदस्य थिएँ ।
सदस्यको हैसियतले अध्यक्षज्यूसँग बैठकमा बस्नु, सामूहिक र व्यक्तिगत भेटघाट हुनु, छलफल र कुराकानी हुनु वा भइरहनु स्वाभाविकै थियो । एकपटक म बबरमहलनेरकाे उहाँको घरमा पसेँ । ठुलो आँगनको वरिपरि रहेको फूलबारी, लतावृक्ष र फलफूलका गाछीले घरलाई शीतल र रमणीय बनाएको थियो । अझ टायलको छानो, काठका दलिन, बिम र अन्य सामानसँगै कच्ची इँटाको दिवाल भएको घर त्यसै पनि सुन्दर र रमाइलो थियो । म घरभित्र छिरेँ र अध्यक्षज्यूलाई आफ्नै पाराले खोजेँ, उहाँ घरभित्रबाट बैठक कोठामा पस्नुभयो । ठिङ्ग उभिइरहेको मलाई एउटा कुर्सी हातले देखाई बस्न इसारा गर्दै आफू भने अर्को कुर्सीमा बस्नुभयो ।
बैठक कोठामा चारवटा काठका पुराना कुर्सी बिचमा एउटा त्यस्तै टेबल अनि लामा–लामा दुइटा काठका पुरानै बेन्च मेरा यी आँखाले झलझली हेरिरहे । माथि काठको बिममा तेर्सिएका दलिनहरू, भित्तो सेतो कमेराले पोतिएको र ठाउँ–ठाउँमा फुटेर लामा–लामा चिरा परेको भए पनि सिमेन्टीले पोतिएको उहाँको बैठक यस्तै थियो । त्यसै बेलामा मन्त्राणीज्यू (उहाँकी श्रीमती) ले पुराना डिजाइनका दुई कप सानो किस्तीमा राखी दुवै हातले बोकेर बैठक कोठामा छिर्नुभयो । मतर्फ यसो हँसिलो अनुहार पारी ‘नमस्ते’ भन्दै दुईजनाको अगाडि चिया राखिदिनुभयो । मैले पनि उठेर उहाँलाई सम्मान साथ नमस्कार फर्काएँ ।
‘अध्यक्षज्यू ! हजुर त मन्त्री भइसकेको मान्छे, घर र बैठक त ऐतिहासिक नै छ नि ?’
श्री ५ ले भन्नुभयो, ‘म झुक्किएको होइन । मैले यो रुपैयाँ तिमीहरूलाई नै दिएको हुँ । अनि मन्त्री तिम्रो त आफ्नो घर पनि छैन । यसो पाटनको गल्लीमा डेरा गरी बसेका होइनौ र ? जाउ, लैजाउ यो पैसाले तिमीले आफूलाई बस्ने घर किन्नु ।’
‘यो घर ऐतिहासिक नै हो, देवराज अधिकारी जी !’ होँचो होँचो कदको मान्छे; सेतो दौरा–सुरुवाल, भादगाउँले टोपी र स्थानीय मिजारले सिलाइको काला रङका छालाका जुत्तामा सजिएका अध्यक्षज्यूले मलाई यसो सेता दाँत देखाउँदै भन्नुभयो ।
उहाँ भन्न थाल्नुभयो—
श्री ५ महेन्द्रबाट २०१७ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि डा. तुलसी गिरीसहित हामी सातजनालाई मन्त्री बनाइएको थियो । मन्त्रीमण्डलको बैठक आवश्यकता अनुसार बस्ने गर्थ्यो । केही बैठकपछि फेरि बैठक बस्यो । हामी सबै सदस्य श्री ५ महेन्द्रको अध्यक्षतामा आ–आफ्नै स्थानमा बस्यौँ । बैठकमा विषय सुरु हुनुअगावै श्री ५ महेन्द्रले आफ्नो झोलाबाट कागजका पुडियाहरू निकाल्दै हामी सबैका अगाडिपट्टि फुत्तफुत्त राखिदिइबक्सियो । हामी सबैले ती आ–आफ्नो भागको पुडिया टिपेर गोजीतर्फ हाल्दै गर्दा श्री ५ ले भन्नुभयो— ‘तिमी हामीहरू देश बनाउन, जनताको सेवा गर्न निस्वार्थ रूपले अगाडि सरेका हौ । हाम्रा पनि निजी समस्या थुपै्र हुन्छन् र छन् पनि तर ती समस्या पर्दैमा तिमीहरूले आत्तिनुपर्दैन, जे जस्तो पर्छ मलाई प्रस्टसँग भन्नु, मैले तिमीहरूलाई जे सहयोग गर्नुपर्छ गर्छु तर तिमीहरूले आइन्दा कुनै पनि देशवासीलाई दुःख नदिनु, पीर नदिनु है ।’
हामी सातजनामध्ये ६ जनाले राम्रोसँग ताली पड्कायौँ, अनुहार उज्यालो पार्दै उत्साहित पनि भयौँ तर हामीमध्ये एकजना साथीले चैँ यसो ताली बजाएझैँ गर्नुभयो, आफ्नो अनुहार अँध्यारो पार्दै यसो घोस्से मुन्टो लगाउनुभयो ।
बैठकको कारबाही सुरु भयो, विभिन्न विषयमा निर्णयपछि बैठक अन्त्य भयो । हामी सबै घर लाग्यौँ । म घर पुगेँ, कोट खोलेर राखेँ, श्री ५ बाट बक्सेको कागजको पुडिया यसो गोजीबाट झिकेँ, यसो खोलेर हेरेँ, त्यसमा त रुपैयाँको गड्डी पो रहेछ । मैले सोचेँ, श्री ५ ले बिर्सिबक्सेछ, के कागज दिन लाग्नुभएको थियो कुन्नि ! यो पैसाको मुठो पो आएछ, पुर्याइदिइहाल्नुपर्यो । म त्यो रुपैयाँ श्री ५ लाई फर्काउन तुरुन्तै दरबारतर्फ लागेँ । दरबारभित्र छिरेर सरासर राजाको सामुन्ने पुगेँ, ‘सरकार यहाँ त पैसाको मुठो पो रहेछ ! सरकार अलमलिबक्सेछ, मलाई कुन कागज दिन लाग्या यस्तो पैसाको मुठो पो परेछ । फिर्ता गर्न आएको ।’
मैले पैसाको मुठो दुवै हातमा लिई श्री ५ तर्फ फर्काएँ ।
श्री ५ ले भन्नुभयो, ‘म झुक्किएको होइन । मैले यो रुपैयाँ तिमीहरूलाई नै दिएको हुँ । अनि मन्त्री तिम्रो त आफ्नो घर पनि छैन । यसो पाटनको गल्लीमा डेरा गरी बसेका होइनौ र ? जाउ, लैजाउ यो पैसाले तिमीले आफूलाई बस्ने घर किन्नु ।’
म पैसाको मुठो लिई खुसी हुँदै घरतर्फ लागेँ ।
मैले घर किनेँ, नियम अनुसार मेरो नाममा नामसारी पनि भयो । त्यसपछिको मन्त्रीमण्डलको बैठकमा उपस्थित पनि भएँ । मसँग घर कारोबार गर्दा पाँच हजार चार सय रुपैयाँ उभ्रिएको थियो । मैले घरबाट लिएरै गएको थिएँ, सो बैठकमा मैले श्री ५ लाई भनेँ, ‘सरकार मैले बबरमहलनेर घर किनेँ, पास पनि भयो । काम पनि सकियो । यति रुपैयाँ उभ्रिएको छ सरकार फिर्ता गर्न ल्याएको हो, बुझिपाउँ सरकार ।’
त्यसपछि राजाबाट मलाई हुकुम भयो, ‘त्यसो होइन । तिमी देशको मन्त्री हौ । देश–विदेशका विभिन्न व्यक्ति र विशिष्ट व्यक्ति तिमीसँग भेट्न छलफल गर्न निर्देशन पनि लिन आउँछन् । तिमीलाई एउटा बैठक कोठा चाहिन्छ । अतिथिलाई स्वागत गर्न त्यहाँ कुर्सी, टेबुल, बेन्च र झ्यालमा पर्दा पनि चाहिन्छ । अझ उनीहरूलाई स्वागत–सम्मान गर्न चिया पनि खुवाउनुपर्ने हुन्छ । त्यसका निम्ति कप र प्लेट पनि चाहिन्छ । त्यो पनि तिमीले व्यवस्था गर्नुपर्ला, ती सबै सामान किन्न र बनाउन यो रुपैयाँ तिमीलाई चाहिन्छ । देशको काम गर्नु । देश र आफ्नो पनि इज्जत राखेर काम गर्नु ।’
यसरी श्री ५ बाट मलाई बक्सेको यो घर र त्यसबेलै मैले किनेका यी कुर्सी, टेबल, बेन्च र चियाका कप, प्लेटहरू हुन् । यति भनेर अध्यक्ष भुवनलाल प्रधान मुसुक्क हाँस्नुभयो ।
(१५ साउन २०८२, काठमाडौँ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण