सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

बैंक खाताको दुरुपयोग र सुरक्षित भुक्तानी

सोमबार, ०२ भदौ २०८२, ११ : ५०
सोमबार, ०२ भदौ २०८२

नेपालमा हिजोआज बैंकसम्बन्धी समस्या दिनानुदिन बढ्दै गइरहेका छन् । सर्वसाधारणले खाइनखाई मेहनत गरी गरेको बचत रकम केही असावधानीका कारण गुमाउनुपर्ने र फिर्ता पाउन धेरै दुःख पाउने अवस्था देखिएको छ । अनुसन्धानबाट संलग्न व्यक्ति पत्ता लगाउन र कानुनी दायरामा ल्याउन समेत समस्या पर्ने देखिन आएको छ । 

बैंक र बैंकका ग्राहकले सामान्य किसिमका सुरक्षा उपाय अपनाउने हो भने यो समस्याबाट धेरै हदसम्म सुरक्षित रहन सकिन्छ । विशेष गरी बैंकिङ शिक्षाको अभाव, चेक, एटीएम कार्ड र डिजिटल भुक्तानीको सुरक्षाको विषयमा जानकारी नहुँदा आम व्यक्तिले दुःख पाइरहेका छन् । यदाकदा बैंक तथा वित्तीय संस्थाले सामान्य प्रक्रिया समेत नपुर्‍याई असावधानी साथ कार्य गर्दा सर्वसाधारण हैरानीमा परेको पाइन्छ ।
विशेषतः निम्न अवस्थामा समस्या निम्तिन सक्छन् । 

१) गलत विवरणले खाता खोल्ने ।

२) खाता खोल्दा पूर्ण विवरण उल्लेख नहुने र ग्राहकको फोटो, तीनपुस्ते समेत नहुने । 

३) एक व्यक्तिको नागरिकता प्रयोग गरी अर्कै व्यक्तिले कारोबार गर्ने ।

४) एक व्यक्तिको खाताको चेक, एटीएम र डिजिटल पेमेन्टको सिस्टम अर्कै व्यक्तिले कब्जामा लिई चलाउने ।

५) गलत व्यक्तिले मेल एड्रेस ह्याक गरी गरी ओपीटी प्राप्त गरी खाता कब्जा गर्ने ।

६) डिजिटल प्लेटफर्म प्रयोग गरी अनधिकृत रकम ट्रान्सफर गर्ने ।

७) चेक र भौचरबाट हुने कारोबारबाहेक अन्य कारोबारमा व्यक्ति उपस्थित नहुने हुँदा बैंक र वित्तीय संस्थाले यकिन गर्न नसक्ने । 

८) खोलिएको खाता र केवाईसी अपडेटमा लापरबाही हुँदा समस्या परेको अवस्थामा छिटो–छरितो सेवा नपाउने र अनुसन्धान प्रभावित हुने । 

९) प्राकृतिक व्यक्तिबाहेक संघ, संस्था, कम्पनीका नाममा खुलेका खातामा उल्लिखित सञ्चालकको विवरण र खाता अध्यावधिक नहुने । 

१०) बिदाको दिन र रातिको समयमा (बेलुका ५ बजेदेखि बिहान १० सम्म) खातावालालाई केही समस्या परेमा वा खातामा अनधिकृत पहुँच पुगेमा ग्राहकको खाता रोक्का गर्न नसकिने । 

हाम्रो देशमा अझै पनि चेकबुकमा ल्याप्चे लगाएर खाताको रकम निकाल्न सकिने व्यवस्था छ । कतिपयको त चेक समेत बैंक कर्मचारीले भरेर रकम निकालिदिनुपर्छ । अर्कोतर्फ डिजिटल पेमेन्टका नाममा लाखौँको कारोबार एकै क्लिकमा सम्पन्न हुने व्यवस्था पनि छ, तर बैंकहरूको बैंकिङ शिक्षा भने प्रायः शून्य छ । 

सर्वसाधारणलाई चेक भनेको पैसा हो, चेकमा हस्ताक्षर नमिले पनि खातामा भुक्तानीका लागि पर्याप्त रकम नहुँदा चेक अनादर हुन्छ, खाली चेक कसैलाई दिनुहुँदैन, ओपीटी सेयर गर्नु हुँदैन, खाली चेकमा सही गरेर राख्न वा विश्वासमा परेर दिनुहुँदैन, ६ महिनाभन्दा बढी अवधिको चेक बैंकमा चल्दैन भन्नेजस्ता सामान्य कुरा पनि जानकारी नहुन सक्छ । 

एटीएमको पासवर्ड सुरक्षित राख्नुपर्छ । एटीएम कार्ड हराएमा, मोबाइल हराएमा, चेकबुक हराएमा, तुरुन्त बैंकमा खबर गरी कारोबार रोक्का गर्नुपर्छ, रकम नभएको खाताको चेक काटी दिँदा चेक नसाटिएमा चेक अनादर हुन्छ र मुद्दा लाग्छ भन्नेसम्मको सामान्य जानकारी समेत नभएको पाइन्छ । यस्तो परिस्थितिमा बैंकका खातावाला महानुभाव झनै ठगिने अवस्था विद्यमान रहन्छ । 

बैंक वित्तीय संस्था र त्यसमा कार्यरत कर्मचारीले सामान्य सावधानी अपनाउँदा र सामान्य शिक्षा दिँदा समेत सर्वसाधारण ठगिनबाट धेरै हदसम्म जोगिन सक्ने अवस्था रहन्छ । केवाईसी अपडेट र शंकास्पद कारोबार भेरिफिकेसनमा बैंक तथा वित्तीय संस्थाको कम चासो भएको समेत पाउँछौँ । कुनै घटना घटिसकेपश्चात् प्रहरी कारबाहीको चक्कर लगाएर समय र स्रोतको खर्च गर्नुभन्दा सक्युरिटी सिस्टमलाई बलियो बनाई घटना हुन नदिनेतर्फ ध्यान दिनु नै बुद्धिमानी हुन आउँछ । 

कुनै कुनै डिजिटल भुक्तानीका सेवा प्रदायक संस्थामार्फत हुने कारोबार बढी असुरक्षित र सिस्टम ह्याक गरी रकम अनधिकृत ट्रान्सफर भएको पाइएको हुँदा नियमनकारी निकायले अझ कडाइका साथ नियमन र अनुगमन समेत गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले ग्राहक संख्या बढाउने नाममा असावधानीपूर्वक कार्य गर्दा समेत बेलाबखतमा समस्या पर्न गएको देखिन्छ । अनलाइन सपिङ र डिजिटल भुक्तानीको असावधानीपूर्वक प्रयोग पनि समस्याको कारण बन्न सक्छ ।

अब कुरा गरौँ, कसरी अनधिकृत कारोबार र सर्वसाधारणको खाताबाट रकम गायब हुने कार्य रोक्न सकिन्छ ? अनुसन्धान गरी कसरी सुरक्षित रकम फिर्ता ल्याई अपराध गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सकिन्छ ? यसका लागि सामान्यतः केही सजगता अपनाउने हो भने धेरै हदसम्म सर्वसाधारण नागरिकको धन–सम्पत्ति सुरक्षित गर्न सकिने देखिन्छ । सुरक्षाका उपाय निम्न छ । 

१) बैङ्क खाता खोल्दा र केवाईसी अपडेट गर्दा सक्कल कागजात माग गर्ने र सो कागजात परीक्षण (तुलनाका लागि) अर्को कागजात पनि माग गर्ने । दुईवटा कागजात हेरी यकिन गर्ने । आवश्यक कागजातमा नागरिकता, विवाहदर्ता, जन्मदर्ता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र, फोटो टाँसिएको अन्य परिचयपत्र खुल्ने कागजात हुन सक्छन् । 

२) स्पष्ट देखिने (ओभरल्याप नभएको वा डबल इम्प्रेसन नभएको) औँठाछाप लिने (कर्मचारी स्वयंले) आफ्नै आँखा अगाडि लिने । 

३) विवरण लिने ठाउँमा सीसीटीभी क्यामेरा फोकस गरिराख्ने र ग्राहकको अनुहार एआई जडित क्यामरामा पर्ने गरी सेटिङ अरेन्जमेन्ट गर्ने, यसको रेकर्ड रहने व्यवस्था गर्ने । 

४) अनलाइन खोलिएका खाताको रकम ‘फिजिकल भेरिफिकेसन’ नहुँदासम्म क्यास आउट नहुने व्यवस्था गर्ने । 

५) ग्राहकको केवाईसी फारम भर्दा अनिवार्य रूपमा सम्पूर्ण विवरण भर्न लगाउने र सम्भव भएसम्मका विवरण भेरिफिकेसन गर्ने ।

६) मोबाइल नम्बरको अनिवार्य भेरिफिकेसन एनटीसीका लागि (स्टार ९२२ ह्यास) र एनसेलका लागि (स्टार ९९६६ ह्यास) बाट गर्न सकिन्छ । 

७) मोबाइल नम्बरमा रजिस्ट्रेसन भएको नाम र खातावालाको नाम एउटै हुनुपर्ने, एटीएम कार्ड, क्रेडिट कार्ड अन्य सेवा डेलिभरी गर्दा बायोमेट्रिक भेरिफिकेसन गरेर मात्र दिने । 

८) शंकास्पद कारोबार भएको अवस्थामा तुरुन्त एटीएम कार्ड वा एकाउन्ट सस्पेन्स गरी ग्राहकलाई खबर गर्ने ।

९) चेक प्रयोग नहुने अनलाइन र एटीएम कार्डबाट मात्र कारोबार गर्ने ग्राहकलाई क्रस चेक गर्ने ।

१०) बैङ्किङ शिक्षा कार्यक्रम लागु गर्ने, खाता खोल्दाकै बखतमा ग्राहकलाई चेक, एटीएम, डिजिटल अनलाइन कारोबारका बारेमा शिक्षा प्रदान गर्नुपर्ने ।

११) नियमित रुपमा केवाइसी अपडेट गर्नुपर्ने ।

१२) अनिवार्य रूपमा प्रक्रिया अनुरुप कार्य गर्नुपर्ने ।

१३) नेपालबाट जारी भएका एटीएम, क्रेडिट कार्ड र डेबिट कार्ड विदेशमा एउटै एटीएम काउन्टरबाट धेरैवटा कार्डमार्फत एकै समयमा भुक्तानी माग हुँदा खातावालाको भेरिफिकेसन गर्ने र शंकास्पद कारोबार रोक्का गर्ने ।

१४) खाता खोल्ने, केवाईसी अपडेट गर्ने र भुक्तानी ट्रान्सफर कार्यमा संलग्न कर्मचारीलाई जिम्मेवार गराउने र स्क्रिनिङ गरेर मात्र जिम्मेवारी दिने ।
लेखक नेपाल प्रहरीका डीएसपी हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

द्वारिकाप्रसाद घिमिरे
द्वारिकाप्रसाद घिमिरे
लेखकबाट थप