शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनपीएलमा अवैध विज्ञापन : क्यानलाई चेतावनी, दुई एजेन्सी निलम्बित

सोमबार, ०२ भदौ २०८२, २१ : १४
सोमबार, ०२ भदौ २०८२

सारांश

  • विज्ञापन बोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन जुवाको प्रवर्द्धन गर्ने विज्ञापन प्रसारण गरेको भन्दै क्यानलाई सचेत गराएको छ।
  • बोर्डले दुई एजेन्सीलाई जरिवानासहित तीन महिनाका लागि निलम्बन गरेको छ, जसले अवैध विज्ञापन प्रसारण गरेका थिए।
  • क्लिन फिड नीति उल्लंघन भएको भन्दै एनपीएल प्रसारणको सम्झौता सुरुदेखि नै विवादमा परेको थियो।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अनलाइन जुवाको प्रवर्द्धन गर्ने लगायतका अवैध विज्ञापन प्रसारण गरेको भन्दै विज्ञापन बोर्डले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई सचेत गराएको छ । यस्तै दुई वटा एजेन्सीलाई जरिवानासहित तीन महिनाका लागि निलम्बन गरिएको छ ।

बोर्डले आइतबार एक सूचना जारी गर्दै गत २०८१ साल मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन भएको एनपीएलका खेलहरूमा देखिएका विज्ञापन सम्बन्धमा कारबाहीको निर्णय सार्वजनिक गरेको हो ।

ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनीमार्फत स्टार स्पोट्र्स च्यानलबाट खेल प्रसारण हुँदा जुवा खेलाउने साइटहरूका विज्ञापन खेलाडीको टी–सर्ट र मैदानमा राखिएको पाइएको थियो। साथै, खेलमा बेटिङसमेत गराइएको भनी बोर्डमा उजुरी परेको थियो ।

सोही उजुरीमाथि अनुसन्धान गर्दा क्यानले बोर्डलाई दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गरिएको छ । बोर्डले ’विज्ञापन (नियमन गर्ने) ऐन, २०७६’ तथा अन्य प्रचलित नियम विपरीत भविष्यमा कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न क्यानलाई सचेत गराएको छ । निर्देशनको बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्नबाट रोक लगाइने चेतावनीसमेत दिइएको छ ।

यसैगरी प्रतियोगिताको विज्ञापन कारोबारमा संलग्न ललितपुरको ग्रान्ड डिजिटल लजिक प्रा. लि. र काठमाडौंको टिसिएम स्पोट्र्स एन्ड मार्केटिङ प्रा. लि.लाई पनि बोर्डले कारबाही गरेको छ । 

बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न भएको तथा प्रचलित कानुन विपरीतका विज्ञापन प्रदर्शन गराएको भन्दै दुवै एजेन्सीलाई दश/दश हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको छ ।

नेपालमा २०७७ सालदेखि लागू भएको क्लिन फिड नीतिअनुसार विदेशी च्यानलहरूले नेपालमा विज्ञापनरहित सामग्री प्रसारण गर्नुपर्ने प्रावधान छ ।एनपीएल प्रसारणको सम्झौताले यो नीतिको उल्लङ्घन गरेको भन्दै सुरुदेखि नै विवाद उत्पन्न भएको थियो ।

531795490_1531487771344490_7411696406086252635_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप