कांग्रेस–एमालेले उपसभामुख हटाउने प्रक्रिया किन सुरु गरे ?
सारांश
- नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन्।
- उपसभामुख रानाले अमेरिकामा भिसाका लागि दूतावासलाई पत्र लेखेको विषयमा विवाद भएको थियो।
- संवैधानिक परिषद्मा बहुमत पुर्याउन र रिक्त पदपूर्ति गर्न कांग्रेस-एमालेले उपसभामुख हटाउन खोजेका हुन्।
काठमाडौँ । सरकारको नेतृत्व गर्दै आएको नेकपा एमाले र सत्ता साझेदार दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।
उपसभामुख रानाले साढे दुई वर्ष अगाडि लेखेको पत्रलाई आधार बनाएर उनीहरूले संविधानको धारा ९१ को उपधारा ६ (ग) अनुसार उपसभामुखलाई हटाउन खोजेका हुन् ।
उपसभामुख राना मगरले सन् २०२३ फेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य ६ जना जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ता मिति मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।
उपसभामुख रानाले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङको भिसा अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई पत्रमार्फत अनुरोध गरेकी थिइन् । पत्रमा सबैका लागि कार्यक्रम महत्त्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको उल्लेख थियो ।
तर, त्यो पत्रमा सभामुख रानाले उल्लेख गरेका व्यक्तिहरू सम्बन्धित कार्यक्रममा जान लागेको पुष्टि नभएपछि दूतावासले अन्तर्वार्ताको समय दिएको थिएन । त्यसपछि राना विवादमा तानिएकी थिइन् ।
उपसभामुख रानाले रातो पासपोर्ट प्रयोग गर्न पाउने भएकाले निःशुल्क भिसा प्राप्त गर्छिन् । उपसभामुखलाई कुनै आधिकारिक भ्रमणको निम्तो आएको अवस्थामा उनलाई संघीय संसद् सचिवालयले भ्रमणको प्रबन्ध मिलाउनेदेखि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने गर्दछ । यस्तो अवस्थामा उनले अरुका लागि उपसभामुखको लेटरहेड किन दुरुपयोग गरिन् भन्ने प्रश्न त्यतिबेलै उठेको थियो ।
त्यही विषयमा रानाले पदअनुकूल आचरण नगरेको आरोप कांग्रेस–एमालेको छ । एक वर्ष अगाडि पनि कांग्रेस–एमालेले रानालाई हटाउन प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।
त्यो बाहेक उपसभामुख रानालाई हटाउन कांग्रेस–एमाले तम्तयार हुनुको अर्को कारण पनि छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ । राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसदसमेत हुन् । रास्वपा अहिले विपक्षी कित्तामा भएकाले उनी पनि संवैधानिक परिषदमा विपक्षमै हुने भइन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संवैधानिक परिषद्मा प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेता पदेन सदस्य हुन्छन् ।
परिषद्मा अहिलेको समीकरण अनुसार सत्ता पक्षलाई बहुमत नभएका कारण उपसभामुखलाई हटाएर आफू अनुकूलको बनाउने सत्ता पक्षको तयारी छ ।
अहिले परिषद्मा सत्ता पक्षमा प्रधानमन्त्री र प्रतिनिधि सभाका सभामुखमात्रै छन् । प्रधान न्यायाधीश तटस्थ हुने भइहाले । प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख विपक्षमा भएकाले संवैधानिक निकायमा लामो समयदेखि रहेका रिक्त पदपूर्तिका लागि सिफारिस गर्न परिषद्ले सकिरहेको छैन ।
सरकारले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ ल्याएर रिक्त पदहरूमा सिफारिस गर्ने तयारी थियो ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको विधेयक संघीय संसद् सचिवालयमै फिर्ता पठाएपछि कांग्रेस–एमाले उपसभामुख हटाउने खेलमा लागेको स्रोत बताउँछ ।
राष्ट्रपतिले फर्काएको विधेयकमा बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था थियो । त्यो व्यवस्थामा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरिदिएनन् । सदनबाट विधेयक पुनः शीतलनिवास पठाए पनि प्रधानमन्त्रीलाई निर्णय गर्न अप्ठ्यारो हुने भएपछि उपसभामुख हटाउने निष्कर्षमा सत्ता गठबन्धन पुगेको एक नेता बताउँछन् ।
‘खासगरी संवैधानिक परिषद्मा परेको अप्ठ्यारो फुकाउनका लागि यो प्रयास गरिएको हो,’ कांग्रेसका ती नेताले रातोपाटीसँग भने, ‘विभिन्न संवैधानिक निकायमा पदाधिकारी रिक्त छन् । पद पूर्तिका लागि सिफारिस गर्न बहुमत जुटाउन पर्यो । यही अवस्थामा बहुमत भएन । त्यसैले अर्को स्टेपमा त जानै पर्यो ।’
अहिले निर्वाचन आयोगसहितका केही संवैधानिक आयोगमा पदाधिकारी रिक्त छन् । उपसभामुख रानाविरुद्ध पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव दर्ता गर्न कांग्रेस–एमालेका सांसदले अहिले हस्ताक्षर संकलन गरिरहेका छन् ।
हस्ताक्षर गरेर सिंहदरबारस्थित संसदीय दलका कार्यालयबाट बाहिरिँदै गरेका कांग्रेस सांसद दुर्लभ थापाले उपसभामुख इन्दिरा रानालाई हटाउन आवश्यकता परेको प्रतिक्रिया सञ्चारकर्मीहरूलाई दिए । सांसद थापाले भने, ‘अहिले उपसभामुख रानालाई आवश्यकता पर्यो । हटाउन सुरु गर्याैं । हस्ताक्षर गर्न दलले निर्देशन दियो । हस्ताक्षर गर्यौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण