नरसंहार मच्चिएको घडीमा पत्रकारको भूमिका के हो ?
सारांश
- इजरायली सेनाका प्रवक्ताले अल जजिराका पत्रकार अनास अल-शरीफलाई लक्षित गरे, जसले गाजामा भइरहेको नरसंहार र भोकमरीको दस्तावेजीकरण गरेका थिए।
- पत्रकार अल-शरीफ र अन्य चार जना अल जजिराका पत्रकारको इजरायली हवाई आक्रमणमा मृत्यु भयो, जसले पत्रकारहरूको सुरक्षामाथि प्रश्न उठायो।
- लेखमा पत्रकारिताको भूमिका, एडवर्ड सइदका विचार र प्यालेस्टिनी पत्रकारको कथालाई जोड दिइएको छ, जसले इजरायली आक्रमणको प्रतिरोध गरिरहेका छन्।
भिडियोका पछिल्ला शृङ्खलाहरूमा इजरायली सेनाका अरबी भाषी प्रवक्ता अभिचय अद्रायी अल–जजिराको तर्फबाट उत्तरी गाजामा कार्यरत पत्रकार अनास अल–शरीफविरुद्ध अनवरत हमलामा उत्रिए । गत जुलाईमा रिपोर्टिङकै क्रममा अल–शिफा अस्पतालको प्राङ्गणमा आफ्नै अगाडि भोकले ढलेकी महिलाको दर्दनाक अवस्था देखेर अल–शरीफ धुरुधुरु रुन थाले ।
केहीबेरमा अस्पताल परिसरमा लासहरू बोकेको एम्बुलेन्स आइपुग्यो । त्यसमा एक बोरा पिठोका लागि लामबद्ध भएका बखत इजरायली सैनिकको गोलीले मारिएका दर्जन हाराहारी मानिसका लास थिए । यी विभत्स दृश्यसामु रोइरहेका पत्रकार अल–शरीफलाई अद्रायीले ‘गोहीको आशु’ खसालेको भनिदिए । अल–शरीफले युद्धविरामको चित्कार गर्दा अद्रायीले ‘बौद्धिक आतंकवादको प्रवक्ता’ बनेको आरोप लगाए ।
अल–शरीफले गाजाबाट गरिरहेको रिपोर्टिङ हेर्ने सबैलाई उनले गरेको काम साहसी र अद्भुत छ भन्ने राम्रोसँग थाहा छ । उनले बल प्रयोग मार्फत गाजामा भइरहेको नरसंहार र इजरायल सिर्जित भोकमरीलाई दृढतापूर्वक दस्तावेजीकरण गरेको तथा संसारसामु देखाएको इजरायली सरकारलाई सैह्य भएन । उनलाई दोषी ठान्यो । इजरायलले आफ्नो गल्ती लुकाउन अमेरिकी र युरोपेली सहयोगमा गरेको ढाकछोप पर्याप्त थिएन ।
तिनीहरू नराम्रो प्रचार नहोस् भन्ने चाहन्थे । इजरायलले गाजामा पत्रकारहरूलाई मार्नु अघि बदनाम गर्ने गरेको इतिहास छ । यही बुझेरै पत्रकारहरूको सुरक्षामा केन्द्रित संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्टसले गाजामा सक्रिय पत्रकार अल–शरीफको सुरक्षाका लागि आग्रह गरेको थियो । तर, अगस्ट १० मा अल–शिफा अस्पताल नजिकैको पालमा बसिरहेका पत्रकारलाई लक्षित गरी इजरायलले हवाई आक्रमण गर्दा उनी र अल जजिराका अन्य चार पत्रकार मारिन पुगे ।
प्रख्यात लेखक एडवर्ड सईदका शब्द सापटी लिएर भन्ने हो भने पत्रकारहरू सच्चा बौद्धिक हुन् । खासगरी अहिलेको जस्तो आफ्नै मुलुकमा फासीवादले नरसंहार मच्चाइरहेको समयमा । यो भनाइ आज पनि त्यति नै सान्दर्भिक छ । सईद बितेको २२ वर्ष भइसक्यो, तर उनले हामीलाई छोडेर गएका विभिन्न चिन्तन र तर्कना बाँकी नै छन् ।
उनले निर्वासनमा बस्नु पर्दा, भाषा र प्रतिनिधित्वको मामिलामा असाध्यै किनारामा पारिँदाको अवस्थाका गहन चिन्तन दिएर गएका छन् । यतिमात्रै नभएर उनले हिंसा, अन्योल तथा विपत्तिले गाँजेको घडीमा बौद्धिकहरूको भूमिका के हुन्छ भन्नेबारे पनि महत्त्वपूर्ण खोज गरेका छन् । उनका धारणाहरू शान्तिबारे उदारवादीहरूको साँघुरो बुझाई विरुद्धसमेत छन् ।
जब मान्छेको शरीर नष्ट गर्न लागेकाहरू सँग–सँगै अक्षर पनि नष्ट गर्न लाग्छन्, त्यस्तो बखत बौद्धिकहरूको भूमिका के हुन्छ ?
सन् १९९४ मा आएको उनको महत्त्वपूर्ण कृति ‘रिप्रेजेन्टेसन अफ द इन्टेलेक्चुअल’ मा सईदले बौद्धिकको परिभाषा गर्दै भनेका छन्– बौद्धिक भनेको आममानिसका लागि विविध सन्देश निर्माण गर्ने, दृष्टिकोण, दर्शन वा विचारको प्रतिनिधित्व गर्ने, त्यसलाई मूर्त रूप दिने, सहज रूपमा अभिव्यक्त गर्ने मानसिक क्षमता भएको व्यक्ति हो ।’ जसलाई उनले ‘प्रतिनिधित्व गर्ने कलाको पेसा’ भनेका छन् ।
सईदका अनुसार बौद्धिक हुनु भनेको जनताको सरोकारका कठिन प्रश्नहरू उठाउने तथा आम रूपमा विद्यमान विश्वासहरू सिर्जना गर्ने वा बलियो बनाउनुको सट्टा त्यस विरुद्ध चुनौती दिने साहस हुनु हो । कुनै पनि बौद्धिक सरकार वा व्यापारिक निगमद्वारा सहजै नियन्त्रणमा आउने हुनु हुँदैन ।
उनीहरूको मुख्य कर्तव्य भनेकै सामान्यतया बेवास्ता गरिएका मानिस तथा मुद्दाका लागि बोल्नु हो । बौद्धिकहरूको विश्वव्यापी सिद्धान्त नै प्रत्येक मान्छे स्वतन्त्रता र न्यायको हकदार हुन्छ भन्ने छ । र, यदि यस्तो मापदन्डको उल्लंघन कहीँ कतै भएको छ भने हिम्मतसाथ त्यसको विरोध गर्नुपर्छ र बोल्नुपर्छ ।
सईद सधैँ विभिन्न बयान तथा तथ्यहरू रेकर्ड गरेर राख्नुपर्नेमा जोड दिन्थे । उनले लेखेका छन, ‘मानिसले आफ्नो इतिहास आफैँ सिर्जना गर्नैपर्छ ।’ आजका दिनमा यो भनाइ प्यालेस्टिनी जनताको हकमा सबैभन्दा धेरै मेल खान्छ । सईद आफैँ पनि प्यालेस्टाइनका थिए । उनी प्यालेस्टिनीहरूको अस्तित्वको अभिलेखले उनीहरूलाई चुप लगाउने र तह लगाउने इजरायली प्रयासको प्रतिरोध गर्छ भन्ने ठान्थे ।
साँच्चिकै, इजरायल राज्यको निर्माण भएदेखि नै प्यालेस्टिनीहरूलाई अधिकार र आकाङ्क्षाको हकदार सम्पूर्ण अन्य मानिसका रूपमा नलिएर इजरायलले पन्छाउदै जान सकिने काँडाको रूपमा प्रस्तुत गर्ने गरिएको छ । सईदका अनुसार आफ्नै प्यालेस्टिनीहरूलाई आफ्नो आवश्यकता, चाहना वा मुक्तिको आकाङ्क्षा व्यक्त गर्न नदिएर आफ्नै इतिहासको विध्वंसमा सहभागी हुनुपर्ने अपेक्षा गर्ने गरिएको छ ।
जुन बेला सईदले बौद्धिकहरूबारे ‘प्रतिनिधित्वको कलाका लागि पेसा’ भनेर लेख्दै थिए, सायद उनले प्यालेस्टिनी पत्रकारलाई हेरेर लेखेका हुन सक्छन् । ‘चाहे त्यो बोल्ने होस्, लेख्ने होस्, पढाउने होस् वा टेलिभिजनमा देखिने नै किन नहोस्’ उनी लेख्छन्, ‘त्यो पेसा सार्वजनिक रूपमा परिचित हुने हदसम्म नै महत्त्वपूर्ण छ र, यसमा प्रतिबद्धता र जोखिम तथा साहस र खतरा सबै समाविष्ट छ ।’
अल–शरीफजस्तै मेरो काकाको छोरी शरीन अबु अक्लेह पनि पत्रकार थिइन् । उनी पनि प्यालेस्टिनीमाथि भएका मानव अधिकार उल्लङ्घनका भयावह शृङ्खलातिर विश्वको ध्यान तान्न अविराम लागिपरेकी थिइन् । उनले सइदले भनेझैँ आफ्ना गतिविधिहरू संग्रहित गर्ने गर्थिन् । यसो गरेकै कारण सन् २०२२ को मे ११ मा उनलाई इजरायली फौजले जेनिन भन्ने ठाउँमा गोली हानेर मार्यो ।
सन् २००० देखि २०२२ सम्म इजरायलले करिब २६ जना पत्रकार मार्यो । तीन सयभन्दा धेरै पत्रकार घाइते भए । यी सबैको हत्याभित्र शरीन अबु अक्लेहको हत्या झनै विशेष थियो । हत्याको समयमा शरीन प्रस्ट बुझिने गरी लेखिएको प्रेसको ‘भेष्ट’ तथा ‘हेल्मेट’ सहित काममा संलग्न थिइन् । उनी त्यसबेला चिर–परिचित तथा उच्चस्तरको पत्रकार बनिसकेकी थिइन् । यस्तो हत्या इजरायल आफैँले तयार गरेको मापदन्ड अनुसार पनि घृणित थियो ।
पश्चिमा समाजले नाम र पहिचानविहीन बनाएका, अनुहारविहीन संख्यामात्रै ठानिएका तथा ‘आतंककारी’ वा ‘लडाकु’ को उपमा पाएका मान्छेहरूसँग उनी कुरा गर्थिन् ।
मलाई विश्वास छ, शरीनको हत्या जानाजान भएको थियो । मेरो विचारमा उनको हत्याको पछाडि तीन वटा कारण छन् । पहिलो उनी प्यालेस्टिनीहरूको कथा उनीहरूकै बोलीमा भन्दै थिइन् । त्यसले प्यालेस्टिनी अस्तित्वको रेकर्ड तयार हुँदै गरिरहेको थियो । दोस्रो, उनले प्यालेस्टिनी लगायत अन्य अरेबियालीहरूलाई उनीहरूका अप्ठेरा दिनहरूमा आशाको उज्यालो र चैनको स्वास दिलाउँदै थिइन् । र तेस्रो, उनी विभिन्न स्थान र समयमा फैलिएर रहेका प्यालेस्टिनीहरूको एकता र निरन्तरताको प्रतिनिधित्व गर्दै थिइन् ।
आफ्नो तीन दशकको रिपोर्टिङमा शरीनले प्यालेस्टाइन र त्यहाँका मानिसको कथा तयार गरेकी थिइन् । इजरायलले कब्जा गरेको भूभागका मान्छेका जिन्दगीका कथालाई उनले निरन्तर दस्तावेजीकरण गरेकी थिइन्, जसमा हृदयविदारक घटना थिए । हिरासत, हत्या, घरहरू जबर्जस्ती भत्काउने काम तथा जथाभावी बम पड्काउने अभियानहरू दस्तावेजीकरण भएका थिए । उनले यी सबै काम घटना भएकै परिवेशमा बसेर गरेकी थिइन् ।
पश्चिमा समाजले नाम र पहिचानविहीन बनाएका, अनुहारविहीन संख्यामात्रै ठानिएका तथा ‘आतंककारी’ वा ‘लडाकु’ को उपमा पाएका मान्छेहरूसँग उनी कुरा गर्थिन् । असान्दर्भिक भनिएका मसिना सन्दर्भ पनि भेला गरेर तथा त्यसलाई उधिनेर प्यालेस्टिनीको जीवनसँग जोड्थिन् । उनी आफैँ यस्ता वृत्तान्तहरूसँगै बाँचेकी थिइन् । साथै तिनीहरूलाई जीवन दिने काम गरिन् ।
उनको हत्यापछि धेरै मानिसले उनीहरूका लागि शरीन के थिइन् भन्नेबारे अनगिन्ती कथा सुनाए । जीवनमा एक पटक उनलाई भेटेकाहरू, उनलाई राम्रोसँग चिनेकाहरू तथा उनलाई टेलिभिजनमा मात्र देखेकाहरू सबैले उनका बारेमा वर्णन गरे । सबैले उनको अनुपस्थितिमा आफू अत्यधिक दुःखी भएको उल्लेख गरे ।
उनले अन्तरक्रिया गरेका प्रत्येक व्यक्तिलाई उनले आफ्नो पीडा कसैले अनुभव गरेको तथा सुनिदिएको महसुस गराउने उनको क्षमताबारे चर्चा गरे । जतिसुकै जोखिमपूर्ण हुँदाहुँदै पनि उनले सत्य बोलिरहिन् । पीडाको बिचमा बाँचिरहेका मानिसहरूको जीवन साथै उनीहरूका थप भोगाइका क्षणहरू दस्तावेजीकरण गरिन् ।
प्यालेस्टाइनभर तथा अझ खासगरी गाजामा पत्रकारहरूले यस्तै गर्ने गरेका छन् । तमाम अवरोधका बाबजुद तिनीहरूले क्रुरता, हिंसा र विखण्डनद्वारा परिभाषित समयमा सहनशीलता, प्रतिरोध, जोखिम र प्रेमका कथा भेला पारेका छन् । बारुदको छायामा सुन्दर जीवन जोगाइरहेका आम समुदायको रेकर्ड सिर्जना गरेका छन् ।
गत २२ महिनामा सबै थोक पुनर्लेखन भएको छ । प्यालेस्टिनी पत्रकारहरू आज पनि आशा र पुनर्मिलनका कथा त जसोतसो लेखिरहेकै छन्, तर निरन्तर पीडा नै क्रुर यथार्थ बन्न पुगेको छ । आफू र आफ्ना परिवारहरूलाई कुनै पनि समयमा निशानामा पारिन्छ भन्ने थाहा हुँदाहुँदै पत्रकारहरू निरन्तर दमनका बिच पनि साहस र इमानदारीका साथ रिपोर्टिङ गरिरहेकै छन् ।
दुर्भाग्य नै भन्नुपर्छ, शरीनको हत्यापछि प्यालेस्टिनी पत्रकारहरू विरुद्धको आक्रमणको शिलशिला रोकिएन । पछिल्ला ६ सय ६२ दिनमा मात्रै इजरायलले गाजामा २ सय ३३ जना पत्रकार मारिदियो । आजको दिनमा पनि जताततै खसालिएका बम पड्किरहेकै छन् । जातीय सफायाको योजना निरन्तर लागु भइरहेकै छ । भोकमरीलाई युद्धको हतियार बनाइएको छ ।
यसैबिच पत्रकारहरूको एउटा समूह गाजामा भोक हड्तालमा बसेको छ । उनीहरू यसै पनि दुब्लाएर दुई वर्ष अघिको तस्बिरसँग तुलना गरेर हेर्दा चिन्न नसकिने भएका छन् ।
गत जुलाई २४ मा एजेन्से फ्रान्स–प्रेसे (एएफपी), द एसोसियटेड प्रेस, बीबीसी तथा रोयटर्सले संयुक्त रूपमा एउटा विज्ञप्ति निकाले, जसमा गाजामा रहेका पत्रकारहरू र उनीहरूका परिवारहरू अन्य समुदायसँगै भोकमरीमा परेकोबारे चासो देखाइएको छ । एएफपी अन्तर्गत ‘सोसाइटी अफ जर्नालिस्ट’ ले आफ्ना पत्रकारहरू द्वन्द्वमा मारिएको तथा हामीमध्ये कसैले पनि आफ्ना सहकर्मीहरू भोकले मरेको सोच्नसमेत नसक्ने भनेको थियो ।
यसैबिच पत्रकारहरूको एउटा समूह गाजामा भोक हड्तालमा बसेको छ । उनीहरू यसै पनि दुब्लाएर दुई वर्ष अघिको तस्बिरसँग तुलना गरेर हेर्दा चिन्न नसकिने भएका छन । उनीहरू गाजाका हरेक बालबालिकाले खाना र पानी नपाउन्जेल हड्तालमै बस्ने भनिरहेका छन् । यद्यपि ती भोका पत्रकारहरू हवाई हमला हुनासाथ क्यामेरा बोकेर घटास्थलमा दौडिरहेका छन् । हमलामा बाँच्न सफल मान्छेको उद्धार गरिरहेका छन् ।
क्षति र अपराधको दस्तावेजीकरण गरिरहेका छन् । अल–शरीफको हत्या भएको त्यो हृदयविदारक दिन जब उनी अल–शिफा अस्पताल अगाडि रुन थाले । उनको वरिपरि भएका भोका मानिसहरू उनलाई सान्त्वना र प्रोत्साहन दिइरहेको सुनिन्थ्यो । उनीहरू भन्दै थिए– ‘तिमीहरू बोल्न नछोड है ! जारी राख ! तिमी त हाम्रो आवाज हौ !’
- निर्मम प्रश्न यस्तै समयमा उठ्छ !
जब मान्छेको शरीर नष्ट गर्न लागेकाहरू सँग–सँगै अक्षर पनि नष्ट गर्न लाग्छन्, त्यस्तो बखत बौद्धिकहरूको भूमिका के हुन्छ ? नरसंहारको समयमा हरेक कुराको नयाँ र विशिष्ट महत्त्व हुन्छ । प्यालेस्टाइनका लेखक, पत्रकार तथा कविहरूले अस्तित्व संकटको घडी सामना गर्दै जीवनको महत्त्व र अर्थ सिर्जना गरेर देखाएका छन् ।
प्यालेस्टाइनका शिक्षाकर्मी, कलाकार, स्वास्थ्यकर्मी, उद्धारकर्ता तथा नागरिक रक्षकहरूले यो काम गरेका छन् । उनीहरू पत्रकार सम्मेलन गर्छन्, अन्तर्वार्ता लिन्छन्, साथै जतिसुकै जोखिमका बाबजुद पनि घेराबन्दीमा पारिएका अस्पतालमा मानिसलाई बस्न आग्रह गर्छन् । आजका दिनमा तिनीहरूको उपस्थिति नै त्यहाँ चलिरहेको भयावहताको दसी बनेको छ ।
चारैतिर आतङ्क र विनाशको सामना गरिरहेका प्यालेस्टिनीहरूले आफ्नो भाषाको प्रयोग गर्दै अस्तित्व र प्रतिनिधित्वमा जोड दिइरहेका छन् । गाजामै रहेका प्यालेस्टिनी लेखक अला अलकाईसीले हालै भोकमरीको सामना गर्नुपर्दा बढिरहेको कठिनाइका बाबजुद पनि आफ्ना अनुभवहरू दस्तावेजीकरण गर्नुको महत्त्वबारे लेखेकी छन्– ‘मैले सोचेको सबै कुरा बिस्तारै मबाट खोसिदै गएको छ । यसको अर्थ मैले बिर्सिदैछु भन्ने होइन, बरु क्षयीकरण हुँदै गइरहेको छ । तथापि म किमार्थ रोकिने छैन । म बोल्छु । म लेख्छु । म हार्दिनँ । हामी चुप लागेर बस्यौँ भने त्यो त झनै ठुलो हार हुनेछ । टुटेको वा अनिश्चित जस्तो भए पनि हामीले आजको समयको बयान दिनै पर्छ । मैले आजका दिन गर्न सक्ने यत्ति हो । यो आवाजलाई दबाएर आफैँभित्र राखियो भने भोलिका दिनमा भोकले यसको नामोनिसान मेटाइदिन सक्छ ।’
सईद आजका दिनमा आफ्ना मानिसको नरसंहारको निन्दा गर्न हामीमाझ छैनन्, तर उनले हामीलाई गम्भीर गुरु बचन छाडेर गएका छन्– बौद्धिकहरूले सामना गर्नुपर्ने छनोटको मुख्य परीक्षा के हो भने उनीहरू कसको पक्षमा उभिने हो ?
विजेता तथा शासकहरूको स्थायित्वको पक्षमा उभिने वा अप्ठेरो बाटो रोजेर त्यस्तो स्थायित्वलाई उत्पीडितहरू, अधिनस्थहरू, इतिहासमा बिर्सिएका आवाज र मान्छेहरू तथा पूर्ण रूपमा मेटिने जोखिममा रहेकाहरूको अस्तित्वका लागि पनि खतराको रूपमा हेर्दै त्यसको विपक्षमा उभिने हो ?
निःसन्देह यही छनोटले तपाईं बौद्धिक हो वा होइन भन्ने तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण