शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: शिक्षा विधेयक पारितदेखि सरुवामा मनपरीसम्म

शुक्रबार, ०६ भदौ २०८२, ०० : ००
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गरिन्, जसमा एमालेका नेताहरूको उपस्थिति रह्यो।
  • सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध विश्वासको मत लिनुपर्ने माग गर्दै रिट दर्ता गरियो।
  • नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने घोषणा गरियो।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ ।

१. विद्याको सक्रियता

पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले बिहीबार नयाँ बानेश्वरको थापागाउँस्थित लाखेचौर मार्गमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरिन् ।
जुन कार्यक्रममा भण्डारीमात्रै होइन, नेकपा एमालेका १९ पदाधिकारीमध्ये ३ जना उपाध्यक्षहरू सहभागी भए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त सम्बोधन नै गरे भने अर्का दुईजना एमाले उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे अतिथिका रूपमा सहभागी भएपनि सम्बोधन भने गरेनन् । जुन उपस्थितिले  पोखरेल, ज्ञवाली र पाण्डे विद्याको पक्षमा रहेको स्पष्ट सन्देश दिएको छ ।

२. ओलीविरुद्ध रिट दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । 
अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा यस्तो रिट निवेदन दर्ता गरेका हुन् ।
जनता समाजवादी पार्टी, नेपालले ३२ असार, २०८२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्दै समर्थन फिर्ता लिएको थियो ।

३. सरुवामा मनपरी

सरकारले पछिल्लो दुई हप्तामा ९२ जना सहसचिवको सरुवा गरेको छ, जसले निजामती प्रशासनमा ठुलो तरंग पैदा गरेको छ । 
साउन २५ मा मन्त्रिपरिषद्ले ७२ जना र भदौ ४ मा मन्त्रालयस्तरबा २० जना सहसचिवको सरुवालाई ‘नियमित प्रक्रिया’ भनिए पनि यो सरुवा शृंखलाले राम्रो काम गरेर परिणाम देखाउनेलाई दण्डित गर्ने, विवादित तथा शक्तिकेन्द्र धाउनेलाई पुरस्कृत गरेको सहसचिवहरू नै बताउने गर्छन् । र यसले समग्र प्रशासनलाई अस्थिर बनाइरहेको उनीहरूको आरोप छ ।

४. शिक्षा विधेयक पारित

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो ।

५. सहकारी ठगी प्रकरण 

मोरङको उमा गौरी सहकारी संस्थामा भएको २२ करोडभन्दा बढीको ठगी प्रकरणमा जिल्ला अदालतको आदेशलाई उल्टाउँदै उच्च अदालत विराटनगरले सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित चार जना प्रतिवादीसँग १–१ करोड रुपैयाँ धरौटी माग गरेको छ ।

उच्च अदालतका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो । जिल्ला अदालत मोरङले १० लाख धरौटीमा छाड्न दिएको आदेशलाई बदर गर्दै उच्च अदालतले एमाले सांसदकी पत्नीसमेत रहेकी कोइरालासँग १ करोड धरौटी माग गरेको हो ।

६. मिटरब्याज प्रकरण

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर–५ घर भएर सुकेधारा बस्ने कविराज कटुवाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । ३४ वर्षीय कटुवाल थोरै लगानी गरेर धेरै रकम असुल्ने ‘मिटरब्याज’ धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका हुन्।

भदौ ३ मा साँझ प्रहरीले उनलाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरेर ललितपुर ल्याएको हो । चार वर्षअघि बौद्धमा रेडिमेड कपडा र जुत्ताको व्यापार गर्ने युवकसँग उनको चिनजान हुन्छ । प्रधानमन्त्री, गृहमन्त्री र राज्यको उच्च ओहदाका भीआईपीहरूसँग फोटो खिचेर फेसबुकमा पोस्ट गर्ने कटुवालसँग ती युवकले व्यापार चलाउन केही रकम खाँचो परेको सुनाउँछन् । ब्याज तिनुपर्ने सर्तमा कटुवालले उनलाई २०८० वैशाखमा पटक–पटक गरेर १ करोड ४० लाख रुपैयाँ ऋण दिए । त्यही ऋणले ती युवक सडकमा आएका छन् । पीडिकले मिटरब्याज उठाउन ८ वटा खाता प्रयोग गरेको पाइएको छ । 

७. एनपीएलदोस्रो संस्करणको मिति घोषणा

नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ । एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने छ ।

८. लिपुलेक विवाद

हालै दुई छिमेकी मुलुक भारत र चीनले लिपुलेकलाई साझा व्यापारिक केन्द्र बनाउने सम्झौता गरेपछि नेपालमा यसले तरङ्ग ल्याएको छ । 
लिपुलेक यस्तो क्षेत्र हो, जसलाई नेपाल र भारत दुवैले आफ्नो भनी दाबी गरिरहेका छन् । नेपालले नक्सामा लिपुलेकलाई समावेश गरेको छ भने भारतले पनि यो भूभाग समेटेर नक्सा जारी गरेको छ । 
लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सम्झौतालाई लिएर नेपालले आफ्नो असहमति जनाइसकेको छ भने भारतले पनि यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ । तर चीनले भने पछिल्लो विवादबारे केही बोलेको छैन ।  

९. अध्यागमनको एक्सन

अध्यागमन विभागले शङ्कास्पद क्रियाकलापमा संलग्न इन्डोनेसियाका तीन जना नागरिकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका मध्ये एक जनाले पर्यटक र दुई जनाको अध्ययन भिसा रहेको छ । गृह मन्त्रालयका अनुसार सन् २०२४ मा नेपाल प्रवेश गरेकी इन्डोनेसियाकी एक महिलाले अध्ययन भिसा लिएर नेपालमा उक्त भिसाको उद्देश्य विपरीत ललितपुरको धोबिघाटमा बसेर मुस्लिम धर्मको प्रचार प्रसार गरेको पाइएको छ ।

१०. संसद बैठक

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले नेपालको महाकाली नदी पूर्वका भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौता गर्ने विषय स्वीकार्य नभएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभामा आकस्मिक, सुन्य र विशेष समयमा बोल्दै दलका नेताहरूले भने, ‘हाम्रो भूमि भारत र चीनले उपभोग गर्ने विषय स्वीकार्य छैन ।’ 

११. अग्निपरीक्षामा विजय बराल

हालका दिनसम्म सबैभन्दा बढी कमाइ गर्ने नेपाली फिल्मको शीर्ष कलाकारको कीर्तिमान छ उनीसँग । हिजो सहायक पात्र बनेर मुख्य पात्रलाई सघाउँथे, आज ‘हिरो’को रुपमा सिंगो फिल्म बोकेर हिँड्ने परिचय बनाएका छन् उनले ।

१२. नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ । बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९.२२ अङ्क घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप