कम्युनिस्ट पार्टीमा मुख्य नेतृत्व परिवर्तनका कुरा वाहियात बकबास
बुर्जुवा पार्टीहरूको लक्ष्य, उद्देश्य यथास्थितिमा रम्नु हो । विद्यमान प्रतिक्रियावादी व्यवस्था परिवर्तनका योजनासँग उनीहरूको कुनै साइनो–सम्बन्ध हुँदैन । बढीसे बढी उनीहरूको योजना विद्यमान प्रतिक्रियावादी व्यवस्थाको दायराभित्रै रहेर मुठीभर मान्छेहरूको अवस्था परिवर्तन गर्नु हो । अझ प्रस्टसँग भन्नुपर्दा बुर्जुवा पार्टीहरू विद्यमान प्रतिक्रियावादी व्यवस्थाको रक्षाकवच हुन् । किनकि तिनको जन्म नै त्यस राज्य व्यवस्थाको रक्षाका निम्ति भएको हो । त्यसैले विद्यमान प्रतिक्रियावादी व्यवस्था परिवर्तन गरेर देश, जनता र समाजको अवस्थामा आमूल परिवर्तन गर्नका लागि ती पार्टीसँग कुनै लक्ष्य, उद्देश्य, सपना र योजना हुँदैनन् ।
जब यस प्रकारका लक्ष्य, उद्देश्य, सपना, योजना हुँदैनन् तब स्वाभाविकै रूपले ती पार्टीहरूमा आमूल परिवर्तनकारी चिन्तन, सोच, विचार, दृष्टिकोण, समर्पण, त्याग, बलिदानको कुनै आवश्यकता नै हुँदैन । जहाँ यी चिजहरूको आवश्यकता हुँदैन, त्यहाँ पार्टी र मुख्य नेतृत्व एउटा सामान्य कुरा हुन्छ । अर्थात् अब अगाडि आमूल परिवर्तनका निम्ति ठुल्ठुला त्याग र बलिदानपूर्ण ढङ्गले गर्नुपर्ने काम नै केही छैन भने त्यहाँ पार्टी र पार्टीका अन्य नेता तथा कार्यकर्ताजस्तै मुख्य नेतृत्व पनि सामान्य चिज बन्नु अनौठो कुरा होइन ।
त्यसकारण ती पार्टीमा मुख्य नेतृत्व परिवर्तनका कुरा सामान्य मानिन्छन् । त्यहाँ (ती पार्टीहरूमा) नेतृत्वमा पुग्नुलाई सुख, सुविधा, ऐस, आराम र विभिन्न व्यक्तिगत अवसर प्राप्तिको माध्यमका रूपमा हेरिन्छ । बुर्जुवा पार्टीहरूको धरातलमा उभिएर हेर्दा यो अस्वाभाविक पनि होइन । किनकि मुठीभर व्यक्तिहरूको हकहितको संरक्षण गर्ने प्रतिक्रियावादी व्यवस्था परिवर्तन गरेर त्यसमार्फत देश र आम जनताको अवस्था परिवर्तन गर्ने कुनै सपना र योजना छैन भने त्यो स्थितिमा व्यक्तिले आफ्नो व्यक्तिगत अवस्था परिवर्तनको अवसर खोज्नु बिल्कुल स्वाभाविक हो । त्यसैले ती पार्टीमा भागबन्डाका निम्ति, आलोपालोका निम्ति नै मुख्य नेतृत्व परिवर्तनका मुद्दा उठ्ने गर्छन् । कहिलेकाहीँ त्यहाँ उमेर हदका कुरा र ‘रिटायर्ड लाइफ’का कुरा पनि उठ्ने गर्छन् । नीतिगत रूपमै बुर्जुवा पार्टीका नेता–कार्यकर्ताले सामन्तवादको अन्त्य र पुँजीवादको स्थापनापश्चात् अब यहाँदेखि अघि जाने ठाउँ नै छैन, सबै प्राप्त भइसक्यो भन्ने ठान्छन् । अब खाउँ, लाउँ, रमाउँ र मोजमस्ती गरौँ, त्यसका निम्ति हरेक ठाउँमा भागबन्डा गरौँ, हरेक ठाउँमा आलोपालो गरौँ भन्ने मान्यता राख्छन्, सोहीअनुरूप गर्छन् । त्यसो गरिएन वा भएन भने त्यहाँ नोकरशाहीको जन्म हुन्छ र निरङ्कुशता लादिन्छ या अराजकता पैदा हुन्छ तथा भाँडभैलो मच्चिन्छ । कम्युनिस्ट पार्टीमा त्यस्तो हुँदैन र हुनु पनि हुँदैन ।
कुनै कम्युनिस्ट पार्टी र कुनै कम्युनिस्ट नेता तथा कार्यकर्ताले पार्टीभित्र त्यस प्रकारको कुरा अर्थात् नेतृत्वको भागबन्डाको कुरा, आलोपालोका कुरा, उमेर हदका कुरा र ‘रिटायर्ड लाइफ’को कुरा गर्छ भने अब सोच्नुपर्छ कि उक्त पार्टी र व्यक्ति असली कम्युनिस्ट हो वा होइन ? किनकि कम्युनिस्ट पार्टीको लक्ष्य, उद्देश्य भनेको विद्यमान प्रतिक्रियावादी व्यवस्थालाई ध्वस्त पारेर त्यसको ठाउँमा वैज्ञानिक समाजवाद र साम्यवाद स्थापना गर्नु हो । के कुरा सत्य हो भने विद्यमान प्रतिक्रियावादी व्यवस्थालाई ध्वंस गरेर त्यसको ठाउँमा वैज्ञानिक समाजवाद र साम्यवाद स्थापना गर्नु सामान्य कुरा होइन । यसका निम्ति सामान्य सङ्गठन, सामान्य आन्दोलन र सामान्य नेता तथा कार्यकर्ताले हुँदैन । यसका निम्ति जनतासँग जोडिएको जुझारु र अनुशासित सङ्गठन, सशक्त आन्दोलन र विशेष धातुले बनेका नेता तथा कार्यकर्ताका साथै ठुल्ठूला त्याग, बलिदान र समर्पण आवश्यक हुन्छ । त्यसका निम्ति मान्छेले एक होइन, कैयौँ पुस्ताको आयु बराबरको समय लगानी गर्नुपर्छ । जस्तोसुकै त्याग र बलिदान गरेरै पनि, जस्तोसुकै प्रतिकूल परिस्थितिको सामना गरेरै पनि, जतिसुकै समय खर्चेरै पनि आफ्नो लक्ष्य, उद्देश्य प्राप्त गर्न निरन्तर अघि बढ्नु कम्युनिस्ट पार्टी र त्यसका असल नेता तथा कार्यकर्ताको कर्तव्य हो ।
कम्युनिस्ट पार्टीको सदस्यले पुँजीवादी, प्रतिक्रियावादी राज्यव्यवस्था अन्तर्गतका पनि सत्ता र शक्तिको दुरुपयोग गरेर अनावश्यक तडकभडक र मोजमस्ती गर्नु पार्टी र आन्दोलनप्रति गद्दारी हो ।
कम्युनिस्ट आन्दोलन भनेको संसारभर वैज्ञानिक साम्यवादको स्थापना नहुँदासम्म कहिल्यै नरोकिने, कहिल्यै नझुक्ने, कहिल्यै नथाक्ने, कहिल्यै नसुस्ताउने र कहिल्यै नअस्ताउने आन्दोलन हो । अवश्य पनि त्यस प्रकारको आन्दोलनको नेतृत्व गर्ने सङ्गठन अर्थात् कम्युनिस्ट पार्टीको मुख्य नेतृत्व व्यक्ति होइन, त्यो त एक संस्था हो । त्यो संस्था एकाएक आकाशबाट फ्वात्त खसेको र धर्तीबाट फुत्त निक्लिएको चिज होइन; त्यो त हजारौँ, लाखौँ नेता तथा कार्यकर्ताको अत्यन्तै लामो समयदेखिको अथक परिश्रम, मिहिनेत, त्याग र बलिदानबाट निर्मित एक महत्त्वपूर्ण संस्था हो । तसर्थ त्यसको परिवर्तन टोपी परिवर्तन गरेजस्तो सामान्य कुरा हुन सक्दैन । पार्टी र क्रान्तिले आवश्यकता महसुस गरुन्जेल उक्त नेतृत्वले निरन्तरता पाइरहन्छ, पाइरहनुपर्छ ।
यसको मतलब कम्युनिस्ट पार्टीमा मुख्य नेतृत्व अपरिवर्तनीय हुन्छ भनी बुझ्नु पनि सही हुँदैन । पार्टी र क्रान्तिको आवश्यकतामा कम्युनिस्ट पार्टीको मुख्य नेतृत्व परिवर्तन भइरहन्छ । मुख्य नेतृत्वको मृत्यु भएमा; दुस्मनको कब्जामा परेमा; उमेर, बिमार या कुनै कारणले अत्यन्तै अशक्त भएमा; आफ्नो वर्गप्रतिको निष्ठा र आस्थामा ह्रास आएमा; पार्टीको लक्ष्य तथा उद्देश्यप्रतिको इमानदारीमा शङ्का देखिएमा; सिद्धान्तप्रति दृढ नरहेमा; विचार र दृष्टिकोणमा विचलन देखिएमा; आवश्यक तथा पर्याप्त क्षमता, क्रियाशीलता, कुशलता र गतिशीलता नदेखिएमा वा सिङ्गो पार्टी र मुख्य नेतृत्वकै विशेष पहलमा हरेक दृष्टिकोणले झनै सक्षम र झनै सुयोग्य उत्तराधिकारी निर्माण भइसकेको अवस्थामा कम्युनिस्ट पार्टीमा मुख्य नेतृत्व परिवर्तन गर्न सकिन्छ ।
विद्यमान मुख्य नेतृत्व जनताका बिच हुँदाहुँदै, शारीरिक रूपमा तन्दुरुस्त रहँदारहँदै, आफ्नो वर्गप्रति प्रतिबद्ध हुँदाहुँदै, लक्ष्य र उद्देश्यप्रति इमानदार हुँदाहुँदै, सिद्धान्तमा दृढ हुँदाहुँदै, क्षमता, क्रियाशीलता, कुशलता र गतिशीलता राम्रो हुँदाहुँदै अथवा पार्टी र मुख्य नेतृत्वको संरक्षकत्वमा सुयोग्य उत्तराधिकारी निर्माण नभइरहेको अवस्थामा कसैको तुच्छ चाहना पूरा गर्नका निम्ति, कसैसँग भागबन्डाका निम्ति, कसैको आलोपालोका निम्ति र कसैको ‘रिटायर्ड लाइफ’का निम्ति कम्युनिस्ट पार्टीमा मुख्य नेतृत्व परिवर्तन हुँदैन, हुनु पनि सक्दैन ! यस्तो अवस्थामा अनायास नेतृत्व परिवर्तनको बारेमा बहस चलाउनु र मुख्य नेतृत्व परिवर्तनको दुस्साहस गर्नु भनेको कम्युनिस्ट पार्टीलाई अस्थिरताको भुमरीतिर धकेल्नु हो, बर्बाद गर्नु हो ।
कम्युनिस्ट पार्टीको सदस्यले पुँजीवादी, प्रतिक्रियावादी राज्यव्यवस्था अन्तर्गतका पनि सत्ता र शक्तिको दुरुपयोग गरेर अनावश्यक तडकभडक र मोजमस्ती गर्नु पार्टी र आन्दोलनप्रति गद्दारी हो । त्यसका अलावा प्रतिक्रियावादी सत्ताको सरकारमा सहभागी हुँदैमा वा आफ्नो देशमा नयाँ जनवाद, समाजवाद स्थापना गरेर मात्र सन्तुष्टि लिनु पनि कम्युनिस्ट पार्टीको सदस्यका निम्ति नैतिक रूपमा राम्रो होइन । किनकि कम्युनिस्ट पार्टीको सदस्यको काम संसारभरको सर्वहारा वर्गको मुक्तिका निम्ति समर्पित हुनु हो ।
त्यसकारण पार्टी सदस्यता प्राप्त गरेदेखि संसारमा वैज्ञानिक साम्यवाद स्थापना नहुँदासम्म आन्दोलनमा निरन्तर सक्रिय सहभागी हुनु कम्युनिस्ट पार्टीको हरेक सदस्यको कर्तव्य हो । वैज्ञानिक साम्यवादमा कुनै पनि सरकारी वा गैरसरकारी निकाय, सङ्घ, संस्था, राजनीतिक पार्टी र राज्यसत्ता अनावश्यक हुन्छन् । त्यसकारण वैज्ञानिक साम्यवादको स्थापनापश्चात् कम्युनिस्ट पार्टीसहित कुनै पनि राजनीतिक पार्टी मात्र होइन, जनतामाथि शासन गर्ने राज्यसत्ताका कुनै पनि अङ्ग स्वतः विघटन हुन्छन् । हो, त्यतिबेला मात्र एउटा असल कम्युनिस्ट सन्तुष्ट हुन सक्छ किनकि त्यतिबेला राज्यसत्ताको नामबाट वा अन्य कुनै पनि व्यक्ति, संस्था वा निकायको नामबाट मान्छेले मान्छेमाथि गर्ने विभेद, अन्याय, अत्याचार, शोषण र दमन संसारबाटै अन्त्य भइसकेको हुन्छ ।
हजारौँ, लाखौँ नेता तथा कार्यकर्ताको अत्यन्तै लामो समयदेखिको अथक परिश्रम, मिहिनेत, त्याग र बलिदानबाट निर्मित एक महत्त्वपूर्ण संस्था हो, कम्युनिस्ट पार्टीको नेतृत्व । तसर्थ त्यसको परिवर्तन टोपी परिवर्तन गरेजस्तो सामान्य कुरा हुन सक्दैन । पार्टी र क्रान्तिले आवश्यकता महसुस गरुन्जेल उक्त नेतृत्वले निरन्तरता पाइरहन्छ, पाइरहनुपर्छ ।
तसर्थ निरन्तर अनन्तसम्म चल्ने आन्दोलनको नेतृत्व गर्ने सङ्गठन अर्थात् कम्युनिस्ट पार्टीमा मुख्य नेतृत्व परिवर्तनको विषय कसैको व्यक्तिगत चाहनाको चिज होइन । कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वमा कसैले चाहँदैमा आउने र कसैले चाहँदैमा छाड्ने र जाने स्थिति हुँदैन । त्यहाँ सिङ्गो पार्टी र क्रान्तिको आवश्यकतामा मुख्य नेतृत्वमा आउने, छाड्ने र जाने काम हुन्छ । कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वमा को कति समयका निम्ति आउने र रहने, कुन उमेरदेखि कुन उमेरसम्म मुख्य नेतृत्वमा रहने भन्ने प्रश्न मुख्य होइन; कति समय, कसको नेतृत्व पार्टी र क्रान्तिलाई आवश्यक छ ? यो प्रश्न मुख्य हो । किनकि संसारमा क्रान्ति सम्पन्न भएका, क्रान्ति सम्पन्नोन्मुख रहेका र क्रान्तिका निम्ति निरन्तर अघि बढिरहेका सबै कम्युनिस्ट पार्टीहरूतिर हामीले फर्केर हेर्यौँ भने त्यही देख्छौँ ।
लेनिन, स्टालिन, माओ र किम इल सुङ क्रान्तिको आँधीबेरीका बिच पार्टी र क्रान्तिको आवश्यकतामा पार्टीको मुख्य नेतृत्वमा आए । उनीहरूले आफ्नो देशमा समाजवादी र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति मुख्य भूमिका निर्वाह गरे र आफू अशक्त नहुन्जेल नेतृत्वमा रहिरहे । त्यो उनीहरूको व्यक्तिगत रहरको विषय मात्र पनि थिएन, त्यो त तत्कालीन सोभियत सङ्घ, कोरिया र चिनियाँ क्रान्तिको रक्षाका निम्ति र विश्वक्रान्तिको पहलका निम्ति आवश्यकता थियो । नेपालको वा विश्वका अन्य सबै मुलुकका वास्तविक कम्युनिस्ट पार्टीहरू र तिनका मुख्य नेतृत्वहरूको हकमा पनि यही कुरा सत्य हो । आफ्नो देशका क्रान्ति सम्पन्न गर्नका निम्ति, सम्पन्न भएको क्रान्तिको रक्षा गर्नका निम्ति र संसारभरका उत्पीडित जनताहरूको मुक्तिका खातिर विश्व क्रान्तिमा महत्त्वपूर्ण योगदान दिनका निम्ति क्रान्तिका कैयौँ भट्टीमा खारिएर स्पात बनेर आएका सुयोग्य, सक्षम, सबल र अनुभवी नेतृत्व पार्टीमा निरन्तर आवश्यक रहिरहन्छ । त्यस प्रकारका मुख्य नेतृत्वका बारेमा उठेका परिवर्तनका कुरा वाहियात बकबास सिवाय अरू केही हुन सक्दैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण