सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

तिजको दर र माइतीको आँगन

मङ्गलबार, १० भदौ २०८२, १७ : २२
मङ्गलबार, १० भदौ २०८२

‘ए दुलही, बाहिर आउ त । यहाँ को आउनुभएको रहेछ ?’ मनमनमा सोच्दै, ‘को आउनुभएको होला र ?’ भित्रबाट दुलही ढोकाबाट बाहिर निस्किन खोज्छिन्, ‘भाइ आयो होला । मेरो भाइ । मलाई लिन आयो होला, तिज खान ।’

पिठ्युँमा भिरेको कालो झोला यसो बिसाउन खोज्दै सञ्जय आँगनबाट पेटीमा उक्ली दलानमा पस्दै छन् । बाहिरपट्टिको दलान, बैठक हो यो, उत्तर–दक्षिण पारेर राखेको काठको खाट । त्यसमाथि पुरानै आकारको दरी, अनि त्यसमाथि पुरानो चिनियाँ गलैँचा ओछ्याइएको । दक्षिणपट्टि सिरानमा लामो बाकस, उमेर अनुसार यसो ढल्कनुपर्ने । घरबेटी बा त्यसैमा ढल्कनुभएको, पाहुनालाई स्वागत गर्न यसो मुन्टो उठाउँदै जिउ पनि उठाउन खोज्दै हुनुहुन्छ । दलानमा ठुलो सुकुल बिछ्याइएको । त्यसमाथि चारपाटे राडी टम्म ओछ्याइएको । बाँकी रहेको भुइँ दलान हरियो गोबरले बिहानै लिपेको तर अहिलेसम्म आलै देखिने । राडीको ओछ्यानमा घरपट्टि आमै आफैँ ढसमस्स बसिरहनुभएको ।
‘बाबु, यता बसौँ,’ भन्दै घरपट्टि बा आफू बसेको खाटतिर पाहुनालाई बस्न इसारा गर्छन् । उता घरपट्टि आमै चाहिँ आफू बसेको राडीमै पाहुनालाई बस्न इसारा गर्छिन् । दुवैको तँछाडमछाड भइरहेका बेला सञ्जयले घरपट्टि बाआमातर्फ दुवै हात जोडेर पालैपालो नमस्कार गर्छन् । अनि ढोकाको पिँढीबाट बाहिरपट्टि उभिएर भाइलाई, आफ्नो सानो भाइलाई हेर्दै मुसुमुसु हाँसिरहेकी दिदी, आफ्नी दिदी सीतालाई आफ्नो निधार उनको गोडामा राखी थपक्क ढोगिदिन्छन् ।

भोलिपल्ट बिहान सबेरै खाना खाइवरी दिदीका सासूससुरासँग बिदावारी भई आफ्नी दिदी सीतालाई साथै लिएर सञ्जय घरतर्फ फर्किए ।

सानो चिटिक्क परेको थुन्सेमाथि यसो रातो मजेत्रोले ढाकेर, नाम्लाको सहाराले पिठ्युँमा बोकी तल्लाघरे माइली काकी पनि साथमा पछिपछि हिँडिरहेकी छन् । दिदीभाइका रमाइला कुरा सुन्दै उनी दङ्ग परिरहेकी छन् । कुराको रमाइलोले उकाली–ओराली बाटो काटेको थाहै भएन । ‘आज बेलुका त सीता नानीको माइतीघर पुगिन्छ । कस्तो होला है उनको माइतीघर ? घरमा को–को होलान् है ?’ यस्तै के–के मनमा कुरा खेलाउँदै पाइला चालिरहेकी हुन्छिन् ।

‘माइत भनेको आमाको काख, तिज भनेको निराहार व्रत लिने दिन र हरितालिका भनेको माता पार्वतीलाई जङ्गलमा लगी व्रत लिन सहयोग गरेको हो ।’


 

आफ्नो घरबाट माइतीतर्फ हिँडिरहेकी सीता अघिसम्म घरमा बुहारी भएर खुम्चिएर बसेकी थिइन् । अब घाम नअस्ताउँदै माइतीघर पुग्ने । छिटोछिटो हिँडेर माइतीघर पुगी आमाको काखमा लुटुपुटु गर्ने इच्छाले सीताको तन यतै बाटामा भए पनि मनचाहिँ माइतीघरमै खेलिरहेको हुन्छ । ‘भाइ, अनि फुपूलाई लिन को गयो नि ?’

‘बुबा आफैँ जानुभएको छ । तिमीहरूकी दिदीबहिनी, तिमीहरू नै लिन जाऊ । म बुढो मान्छे, आफ्नी बहिनी लिन म आफैँ जान्छु भन्नुहुन्थ्यो । हिजो बेलुकै आइपुग्नुभयो होला ।’
‘अनि दिदीलाई लिनचाहिँ ?’

‘दाजु सदरमुकाममा बैठक पनि छ भन्नुहुन्थ्यो । फर्किंदा मै लिएर आउँला नि भन्नुभएको छ । आउँदा रात–साँझ गरेर भए पनि दिदीलाई लिएर आइपुग्नुहोला ।’ दिदीभाइको यस्तै कुराले बाटो काटिँदै छ ।

‘भाउजुचाहिँ कहिले जानुभो नि माइत ?’

‘यी, मैले नै पुर्‍याएर आएकी अस्ति नै । उनका दिदीबहिनीहरू पनि छिटै भेला हुने गरेका छन् अरे ! आमैले, ‘जा माइली, तँ पुर्‍याएर आइज’ भन्नुभएको थियो । अनि गएकी थिएँ ।’ थुन्से बोक्ने माइली दिदीले पनि बाटो काट्दा आफ्नो मुख चोखाइन् ।

सीताको ठुलो निधार । निधारको बिचमा ठुलो रातो टीका । सर्लक्क पारेर कोरेको लामो कपालको टुप्पो पछाडि पिठ्युँमा झुन्डिएको । रातो धागोमा सुनौलो फूलको थुँगो लर्बर गर्दै खेलिरहेको, चौबन्दी चोलो, हरियो रङको रातोमा सुनौला पारी भएको सारी, छातीमा चिटिक्क परेको तिलहरी पहेँलो पोतेको गच्छामा झुन्डिएको, दुवै नाडीमा राता र हरिया रङका चुराहरू सजिएका, दुवै नारीमा सुनका बाहाँ पनि टल्किरहेका, शिरको सिउँदोमा रातो सिँदुर झलमल झल्किरहेको । घरबाट यसरी नै झलमल सिँगारिएर तिजको दर खान खुरुखुरु हिँडिरहेकी छन् । माइत हिँडेकी सीताका मृगका जस्ता आँखा छन् । काँक्राका बियाँजस्ता ओठ टल्किरहेका छन् । सर्पजस्तै सलक्क परेको जिउ छ भने डम्म परेको उनको जाँघले उनलाई अझ सुन्दरी बनाएको छ । आज माइतीतर्फ हाँस्दै पैदल हिँड्दा त यति सुन्दर देखिन्छिन् भने पोहोर साल बेहुली भएर रुँदैरुँदै माइतीघरबाट बिदा भई पोइको घरतर्फ जान डोलीमा चढ्दा कति सुन्दरी देखिन्थिन् होला ! यिनका यी ठुल्ठुला गालामा तरतरी बगेका दुई ठुल्ठुला नदीहरू देख्दा देख्नेहरू कति भावुक भएका थिए होलान् ।

घाम नअस्ताउँदै दिदीभाइ र कटवाल माइली दिदी घरको आँगनमा पुगे । दुईपट्टि ठुल्ठुला घर । बिचमा ढुङ्गा छापेको ठुलो आँगन । यसपट्टि ठुलो फूलबारीको बिचमा तुलसीको मोठ, यतापट्टि मकैको ठुलो थाँग्रो, यसको पछाडि गाईवस्तु बाँध्ने र घाँस–दाउरा थन्क्याउने गोठ । सुलुसुलु दौड्दै आएर घरमै हुर्किएको कुकुरले सीता दिदीका दुवै पाउमा सुँघेर लुटपुटिरहेको रमाइलो वातावरणमा अलमलिरहेकी सीताले आमाले आफ्नी कान्छी छोरी सीतालाई झ्याप्पै अँगालो मारेको उनले थाहै पाइनन् । अँ, बल्ल सीता माइत आइपुगिन् ! दुवैका आँखाबाट बर्बरी खुसीका आँसु बगिरहेका छन्, वाक्य दुवैतर्फबाट खुल्न सकेको छैन । घरमा खुसीको सीमा छैन । दर खान आएकी सीताको शरीरलाई उनकी आमाले छोड्नै सकेकी छैनन् । त्यसबेला सीता जन्मेको बेला आमाको शरीरबाट छुट्टिएर अलग अस्तित्वमा आउन जति कष्ट भएको थियो, आज फेरि माइतीघरमा आई आमासँग भएको खुसीको अङ्कमालबाट छुट्टिन पनि त्यस्तै अप्ठेरो भएको छ ।

माइतीघर प्रवेश, ढोगभेट, खानपान र खुसियाली वातावरणले झमक्क साँझ परेको थाहै भएन ।

खानपिनपश्चात् सबैजना बैठक कोठामा भेला भए । बिजुलीबत्ती आजकाल सबै क्षेत्रमा पुगेकै छ, भित्तामा टाँसिएको टेलिभिजनमा विभिन्न कार्यक्रम देख्न पाइरहेकै छन् । यस्तैमा एभिन्युज टेलिभिजनको कार्यक्रममा प्रस्तोता सुशील पाण्डेले प्रश्न सोधिरहनुभएको हुन्छ । कार्यक्रममा भाग लिन आउनुभएका सहभागी जवाफ दिइरहनुभएको हुन्छ ।

प्रश्न १) माइती भनेको के हो ?
प्रश्न २) तिज भनेको के हो ?
प्रश्न ३) हरितालिका भनेको के हो ?

काठमाडौँ नगरपालिका वडा नं. ३२ स्थित हिमालय इन्जिनियरिङ कलेजका संस्थापक एवं प्रमुख व्यवस्थापक संगीता सिलवाल ऐर जवाफ दिनुहुन्छ, ‘माइत भनेको आमाको काख, तिज भनेको निराहार व्रत लिने दिन र हरितालिका भनेको माता पार्वतीलाई जङ्गलमा लगी व्रत लिन सहयोग गरेको हो ।’

काठमाडौँ पेप्सिकोला निवासी अधिवक्ता लीला धमलाले आफ्नो पालोमा जवाफ दिनुहुन्छ, ‘माइती भनेको जन्मघर र बालापनको याद हो र तिज भनेको नेपाली नारीहरूको प्रमुख पर्व हो र यसकी स्रष्टा सत्ययुगकी माता पार्वती हुनुहुन्छ ।’

पालो पर्खिएर बस्नुभएकी काठमाडौँ कोटेश्वर निवासी रेखा विष्ट भन्नुहुन्छ, ‘माइती भनेको आफ्नो कर्मघरबाट हिँड्दै गर्दा जस्तोसुकै कष्टकर बाटोलाई पनि सजिलो मान्दै खुसीसाथ जुन घरमा पुग्दा सबैभन्दा बढी आनन्द हुन्छ, त्यही माइती हो । तृतीयाका दिनभरि पानी पनि नपिई व्रत बस्नुपर्ने हुँदा द्वितीयाका दिन राति दरिलो गरी खानुपर्ने भएको हुँदा दर तिजको महत्त्वपूर्ण पक्ष हो ।’

काठमाडौँ गैरीघाट निवासी सक्षम गृहिणी रमला शर्मा अगाडि सर्दै भन्नुहुन्छ, ‘माइती भनेको जन्मदेखि मरणसम्मको अवधिभर सदा मानसपटलमा खेलिरहने एउटा यस्तो घर हो, जसले संस्कार, आदर्श र मान्यताका पाठहरू सिकाउँछ । तिज भनेको वर्षदिनभरि भोगेका दुःख–पीडा साटासाट गर्ने माध्यम हो । हरितालिका भनेको धार्मिक मान्यतामा आधारित नारी जातिले प्राप्त गर्ने अनुशासन र मर्यादाको मार्ग हो ।’

अन्तमा, मोरङ विराटनगर निवासी धर्माचार्य, वरिष्ठ कथावाचक पण्डित कृष्णप्रसाद गुरागाईं आफ्नो धोतीको फेर यसो मिलाउँदै भन्नुहुन्छ, ‘भाद्र शुक्ल द्वितीयाका दिन आरम्भ भई पञ्चमीका दिन सम्पन्न हुने नेपाली नारीहरूको सबैभन्दा ठुलो पर्व र उत्सव हो । द्वितीयाका दिन दरका रूपमा गरिष्ठ खाद्य पदार्थ खाई सुरु भएको व्रत भोलिपल्ट तृतीयाका दिन निराहार बस्नुपर्छ । तृतीया संस्कृत शब्द हो भने यसलाई नेपाली भाषामा हामीले तिज भन्ने गरेका छौँ । निराहार बस्नु तिजको मुख्य कर्म र अनुष्ठान पनि हो । भोलिपल्ट नदी, पोखरी वा पवित्र जलाशयमा गई स्नान गरी भगवान् शिवजीको पूजा गरी, मान्यजनको दर्शन गरी उहाँहरूले प्रसाद भोजन गरिसकेपछि मात्रै अन्तमा व्रतालुले भोजन गर्नुपर्छ । त्यसको भोलिपल्ट पञ्चमीका दिन आफूले ३६५ दिन नै जानी वा नजानी गरेका दुष्कर्मको प्रायश्चितका निम्ति विशेष स्नान गरी सप्तऋषिको पूजा गर्नुपर्छ र नारीहरूको एक वर्षमा गरिने हरितालिका तिज पर्वको समापन हुन्छ ।’
मितिः– २०८२/०५/१०
स्थान : काठमाडौँ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवराज अधिकारी
देवराज अधिकारी
लेखकबाट थप