पाठेघर र सृष्टिको मन्दिर
सृष्टि आफैँमा एक अनुपम रहस्य हो । त्यो रहस्यको मूलमा छ पाठेघर । यही पाठेघर हो, जसले जीवनलाई निरन्तरता दिएको छ, जहाँ जीवन अङ्कुराउँछ, बढ्छ, फक्रिन्छ र तातेताते गर्दै यो धर्तीमा उभिएर आफ्नो पहिलो पाइला चाल्छ ।
यस पाठेघरबाट हरेक महिना बग्ने रगत जसलाई हामी महिनावारी भन्छौँ, जुन कुनै अपवित्रताको सङ्केत होइन, बरु सृष्टिको निरन्तरताको सुन्दर र जैविक चक्र हो । विडम्बना के छ भने समाजले यही पवित्र रगतलाई ‘अशुद्ध’, ‘‘पापी’ र ‘छुवाछुत’का रूपमा चित्रित गर्दै आएको छ र दुर्भाग्यवश अझै पनि गरिरहेको छ ।
हिमालका चिसा हिमतालदेखि पहाडका खोँच हुँदै तराईका समथर फाँट हुँदै बग्ने त्यो रगत जब गङ्गासँग मिसिएर समुद्रसम्म पुग्छ, त्यो रगत कसरी कुनै साधारण रगत हुन सक्छ ? त्यो रगत त सृष्टिको नवकिरणलाई आफूभित्र बोकेर बगिरहेको जीवनको मूलधारा हो ।
महिनावारीको रगत सृष्टिको चक्रको अभिन्न अङ्ग हो । यही प्रक्रिया हो, जसले महिलालाई सन्तान उत्पादन गर्ने क्षमता दिएको छ । यही रगत नै भविष्यको जीवनको आधार हो । यो रगत नहुने हो भने सृष्टिका आँखा सधैँका लागि बन्द हुने थिएनन् र ? नयाँ जीवनको उदय, नव बिहानीको प्रतीक्षा, मानव अस्तित्व नै सबथोक अर्थहीन हुने थिएन र ?
विडम्बना के छ भने यही रगत बोकेकी किशोरी र महिलालाई आज पनि समाजले हेपेको छ, अपमान गरेको छ । महिनावारी हुनु कुनै अपराध होइन, न त यो लाज मान्नुपर्ने कुरा नै हो । यो त प्रकृतिको अनुपम देन हो, जसलाई विज्ञानले समेत पुष्टि गरिसकेको छ । यति पवित्र प्रक्रियालाई समाजले शताब्दियौँदेखि ‘अशुद्ध’ र ‘पाप’का रूपमा चित्रित गर्दै आयो र आइरहेको छ । पाठेघर बोकेको शरीरले महिनावारी अनुभव गरेबापत ‘पापिनी’को तक्मा उपहारको रूपमा पाउनुपर्छ भने सृष्टिकर्तामाथिको त्योभन्दा ठुलो अन्याय अरू के हुन सक्छ ?
यस पाठेघरबाट हरेक महिना बग्ने रगत जसलाई हामी महिनावारी भन्छौँ, जुन कुनै अपवित्रताको सङ्केत होइन, बरु सृष्टिको निरन्तरताको सुन्दर र जैविक चक्र हो । विडम्बना के छ भने समाजले यही पवित्र रगतलाई ‘अशुद्ध’, ‘‘पापी’ र ‘छुवाछुत’का रूपमा चित्रित गर्दै आएको छ र दुर्भाग्यवश अझै पनि गरिरहेको छ ।
के यस्तो भेदभावपूर्ण सोच कुनै दयालु सृष्टिकर्ताले बनाएको हो त ? निश्चय नै होइन । यो त मानव समाजले, खासगरी पितृसत्तात्मक सोचले महिलालाई नियन्त्रणमा राख्ने उद्देश्यले सिर्जना गरेको गहिरो षड्यन्त्र हो । जसलाई अबका चेतनशील पुस्ताले चुनौती दिनैपर्छ ।
हामीले प्रश्न गर्नैपर्छ, आफू जन्मिने प्रक्रियामा संलग्न रगतलाई सम्मान गर्न नसक्नेहरूले के साँच्चै मानवताको सम्मान गर्न सक्छन् ? त्यसैले आजको आवश्यकता हो, नयाँ पुस्तालाई यस्ता कुरीतिबाट मुक्त गराउने ।
महिनावारीको रगत जसले जीवन सिर्जना गर्छ, त्यो अशुद्ध हुनै सक्दैन । हामीले हाम्रा आमा, बहिनी, छोरीहरूप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्छ र भन्नैपर्छ महिनावारी कुनै लाज होइन, यो त गर्वको कुरा हो । यो विषयलाई लुकाएर, यसप्रतिको घृणा फैलाएर हामीले विज्ञान, मानवता र सभ्यताको विरोध गरिरहेका छौँ । अब हामीले यसलाई खुलेर बुझ्न, बुझाउन र यसको सामान्यीकरण गर्नुपर्ने समय आइसकेको छ ।
यसका लागि विद्यालयदेखि घरसम्म, धर्मस्थलदेखि राज्यसम्म महिनावारीप्रतिको हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ । किशोरीलाई आत्मसम्मानसहित महिनावारीको सामना गर्न सिकाउनुपर्छ । त्यस्तै केटाहरूलाई पनि यस्ता विषयमा शिक्षित गराइनुपर्छ, ताकि उनीहरू संवेदनशील बनुन्, न कि हाँसो वा घृणाको पात्र बनाउन् । यसका लागि वैज्ञानिक दृष्टिकोण, खुला संवाद र शिक्षा नै सबैभन्दा बलियो हतियार हुन् ।
अन्ततः पाठेघर भनेको सृष्टिको मन्दिर हो । महिनावारी त्यसै मन्दिरबाट सिञ्चित पवित्र जलधारा हो, जहाँबाट जीवनको मूलधारा अविरल बगिरह्यो बगिरहेछ र बगिरहनेछ । त्यसैले यसलाई अशुद्ध ठहर्याउनु भनेको सृष्टिलाई अपमान गर्नु हो ।
त्यसैले अब हामी सबै मिलेर नयाँ चेतनाको इतिहास रच्न जरुरी छ, जहाँ महिनावारी कुनै अपमान नभई सम्मानको विषय बनोस् । हो महिनावारीलाई मर्यादित बनाएर मात्र हामीले साँचो अर्थमा सभ्य, समाज र विज्ञानमैत्री समाजको परिकल्पना गर्न सक्छौँ ।
विदुर नुवाकोट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन
-
द भ्वाइस अफ हिन्द रजाब : युद्धभूमिमा फुलेको एउटा फूल
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण