बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

माओवादीको अभियानमा महासचिवसम्मका नेता मात्रै समेटिए

व्यवस्थापनमा सहज होस् भन्ने हिसाबले अभियान टोली सानो र चुस्त बनाइयो: गुरुङ
बिहीबार, १२ भदौ २०८२, १२ : २९
बिहीबार, १२ भदौ २०८२

सारांश

  • माओवादी केन्द्रले भदौ २१ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्ने भएको छ।
  • अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले लमजुङबाट अभियान सुरु गर्नेछ, जसमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव रहनेछन्।
  • अभियानमा नेता व्यवस्थापनलाई ध्यान दिँदै टोली सानो बनाइएको छ, तर यसले पार्टी भित्रको अन्तरसंघर्षलाई पनि संकेत गर्दछ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ २१ गतेदेखि सुरु गर्दैछ । साउन १६–१९ गतेसम्म बसेको पार्टीको स्थायी समिति बैठकले जनतासँग माओवादी जनजागरण अभियानको बाँकी रहेका जिल्लाहरूमा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको थियो ।

महासचिव देवप्रसाद गुरुङले बुधबार पठाएको सर्कुलर अनुसार अभियानमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोली भदौ २१ गते लमजुङमा बास बस्नेछन् । यस पटक अध्यक्ष प्रचण्डले नेतृत्व गर्ने टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र महासचिव मात्रै रहने उल्लेख छ ।

यसअघिका अभियानमा उपमहासचिव माथिका पदाधिकारी सहभागी हुने सर्कुलर जारी भएको थियो । भदौ ३ गते केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको पदाधिकारी बैठकले महासचिवसम्म सहभागी हुने निर्णय गरेको महासचिव गुरुङले जिकिर गरे । अभियानको क्रममा नेताहरूको व्यवस्थापन र कार्यविभाजनमा सहज होस् भन्ने हिसाबले अभियान टोली सानो र चुस्त बनाइएको उनले स्पष्ट पारे ।

‘तराई–मधेस हुलाकी मार्ग केन्द्रित अभियानको पहिलो चरणमा मात्र उपमहासचिवसम्म सहभागी भएको छ । मधेसदेखिको अभियानमा महासचिवसम्म सहभागी भएका छन्’, रातोपाटीसँग उनले भने, ‘अभियान टोली ठुलो हुँदा नेताहरूको व्यवस्थापन र जिम्मेवारीमा समस्या देखिएकाले पदाधिकारी बैठकले सानो र चुस्त बनाउने निर्णय गरेबमोजिम उपमहासचिव सहभागी नगराइएको हो ।’

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच अन्तरसंघर्ष बढेको बेला अभियानमा महासचिवसम्म सहभागी हुने सर्कुलर जारी भएकोमा आशंका जन्मिएको छ । यद्यपि पार्टीभित्रको अन्तरविरोधका कारण अभियान टोली सानो नबनाइएको गुरुङले जिकिर गरे ।

माओवादीको पहिलो चरणको अभियान फागुन १२ गतेदेखि झापाको सबैभन्दा होचो स्थान कचनकवलबाट सुरु भएर वैशाख १७ गते कञ्चनपुरको महेन्द्रनगर पुगेर सम्पन्न भएको थियो ।

यसैगरी दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान जेठ २ गते बैतडीको पाटनबाट सुरु भएर जेठ १० गते पोखरा आएर स्थगित भएको थियो । जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म पुनः सुचारु गर्ने निर्णय गरेको थियो । तर मौसमी प्रतिकुलताका कारण देखाउँदै स्थगित गरेको थियो ।

महासचिव गुरुङले मौसमी प्रतिकुलता भए फेरि पनि अभियान स्थगित हुन सक्ने बताए । विश्वकै सबैभन्दा अग्लो ठाउँ सोलुखुम्बु पुगेर सम्पन्न हुने अभियान भदौ २२ गते लमजुङ, २३ गते गोरखा, २४ गते धादिङ र २५ गते नुवाकोटमा कार्यक्रम सकेर टोली काठमाडौँ फर्किनेछ । बाँकी जिल्लाहरूमा पछि कार्यक्रम चय गरिने गुरुङले जानकारी दिए । कार्यक्रमको ढाँचा सबै जिल्लाहरूमा एक–एक सार्वजनिक संवादको कार्यक्रम र एक–एक आन्तरिक सङ्गठनात्मक तथा प्रशिक्षणमूलक कार्यक्रम गर्नेछ । सार्वजनिक कार्यक्रम आयोजना गर्दा मौसमलाई ध्यानमा राखेर ठुला हलहरूको समेत प्रबन्ध गर्ने र त्यस्ता कार्यक्रमहरूमा सर्वपक्षीय प्रतिनिधिमूलक सहभागितालाई जोड दिने सर्कुलरमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप