के नेपाली जनताको नियति निरन्तर आन्दोलन हो ?
प्राचीन नेपाल एउटा अवस्था थियो, भुरे टाकुरे एउटा चरणको अर्को अवस्था । जब एकीकृत नेपाल सुरु भयो, त्यसपछिका निरंकुश तन्त्रहरूले एउटा अवस्था सिर्जना गरेका थिए । पञ्चायती व्यवस्था पनि हामीले खेपेका थियौँ । यस्तै संवैधानिक राजतन्त्रको अन्त्य गर्दै फेरि हामी संघीय लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा आयौँ ।
यो लामो संघर्षपछि हामीलाई प्राप्त भएको एउटा उपलब्धि थियो । जनताको अपेक्षा, आशा, भरोसा जे थियो, आज फेरि त्यो कतै खलबलिएको हो कि ? त्यो आशा भरोसा गुम्न थालेको हो कि ? र त्यसले जनतामा फेरि निराशा पैदा भइरहेको छ कि भन्ने ठाउँमा हामी पुगेका छौँ ।
यो किन भयो ? नेपाली जनताको नियति निरन्तर आन्दोलन हो ? वा आन्दोलनबाट प्राप्त उपलब्धिहरूको उपभोग गर्ने हो ? नेपाली जनताले यति गर्दा उपभोग गर्नुपर्ने कुरा, पाउनुपर्ने कुरा, प्राप्त गरिसकेका छन कि छैन भन्दा हामी कम्युनिस्ट पार्टीहरू वा विभिन्न गठबन्धन बनाउँदै सरकारमा जाने हामी राजनीतिक पार्टीका नेताहरूका सामु यो गम्भीर प्रश्न खडा भएका छन् । त्यसको उत्तर हामी सबैले मिलेर खोज्नु छ । कहाँ समस्या भयो ? कहाँ त्रुटि भयो ? के कारणले आज भनेजस्तो परिणाम जनताले प्राप्त गरिरहेको छैन भन्ने कुरा महत्त्वपूर्ण हो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र र हामीले भनेका समावेशी लोकतन्त्र, यो समावेशी लोकतन्त्र कसको भयो ? भन्ने प्रश्न नै हो आज । हामीले भनेका थियौँ– त्यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको लोकतन्त्र भन्नुपर्छ । जनताको लोकतन्त्र बन्ने र बनाउने कुरामा हामी कहाँ चुक्यौँ चुक्यौँ हामी । त्रुटि कहाँ भयो ? आज जनताको लोकतन्त्र रहेछ कि छैन भनेर किसानको कोणबाट तपाईँहरूले हेर्नुभयो भने किसानले आज समयमा मल बिउ पाइराखेका छैनन् । सिँचाइ पाइराखेका छैनन् । आवश्यक ऋण पाइराखेको छैन । उसले आफ्नो उत्पादनको मूल्य पाइराखेका छैनन् । कतिपय किसानहरूले माइतीघरमा आन्दोलन गर्नुपरेको छ, उत्पादित वस्तुको मूल्य छैन । यदि यो जनताको लोकतन्त्र भइदिएको भए ती कुराहरूलाई सम्बोधन गर्नुपथ्र्यो । ती कुराहरूलाई लोकतन्त्रले प्राथमिकतामा राख्नुपथ्र्यो, आज त्यो देखिँदैन ।
यता शिक्षाको क्षेत्रबाट हामीले हेरौँ । लोकतन्त्रभित्र शिक्षा राज्यको प्रमुख भूमिकामा, राज्यको लगानीमा सबैले समान खालको शिक्षा प्राप्त गर्ने, एकै खालको अर्थात् समान खालको शिक्षा प्राप्त गर्ने अधिकार जनतालाई हुन्छ । राज्यले त्यो अवसर दिनुपथ्र्यो । सबै विद्यालयको स्तर त्यस्तो हुनुपथ्र्यो । र यही पढेर विद्यार्थीहरू विश्वजगत्मा, विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बन्नुपथ्र्यो । आज त्यो कोणबाट हेर्यौँ भने त्यहाँ पनि लोकतन्त्र जनताको देखिँदैन ।
आज स्वास्थ्यको क्षेत्रबाट हेरौँ । यो लोकतन्त्रमा बिरामी परिसकेपछि बाँच्ने सुनिश्चितता, उपचारको सुनिश्चितता हुनुपथ्र्यो । तर आज जोसँग दुई–चार लाखको सम्पत्ति पनि हुँदैन, एउटा अस्पतालमा जाँदा पचासौँ लाखको बिल भन्ने अवस्था छ । मान्छेको बाँच्ने अधिकारको कुरा नभएर सम्पत्ति हुनेले मात्र बाँच्न सक्ने कुरा भइरहेको छ ।
यसैगरी श्रम र उत्पादनका क्षेत्रबाट हेराँै । श्रमिकहरूलाई प्राथमिकता दिएर, उत्पादनमा प्राथमिकता दिएर हामीले आज देशलाई सम्पन्न बनाउने दिशातिर जानुपथ्र्यो । यताबाट पनि देखिँदैन । दलाल पुँजीवादले सबैतिर कब्जा गरेको छ । कमिसनतन्त्र व्यापक छ । भ्रष्टाचार व्यापक छ । भ्रष्टाचारमुक्त हुनुपथ्र्यो आजको समाज, आजको लोकतन्त्र, त्यस्तो हुन सकिरहेको छैन ।
संविधानमा उल्लेख भएका थुप्रै मौलिक अधिकार छन् । स्वास्थ्य, शिक्षा, रोजगारदेखि, खाद्यसम्बन्धी, आवासको अधिकार, छुवाछुत, विभेदविरुद्ध अधिकार, समानताको अधिकार, महिलाको अधिकार, सबै तमाम कुराहरू, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, अल्पसंख्यक, सबैका अधिकारहरूको सन्दर्भमा एकदमै हामीले स्पष्ट भाषामा हामीले लेखेका छौँ । एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा आज संविधान छ । यो ऐतिहासिक एउटा प्रक्रियामा हामीले प्राप्त गरेको ठुलो त्याग र बलिदानबाट प्राप्त गरेको उपलब्धि हो । यो उपलब्धिमा आधारित संविधानको कार्यान्वयन र त्यसको उपभोग जनताले पाउनुपर्ने लेख्न त लेखियो, भन्न त त्यही त्यही कुरा भनिरहेका छौँ । कतै जनतालाई ठगेका छौँ कि ? भ्रम छरिरहेका छौँ कि ? त्यो आज प्राप्त भइरहेको छैन । त्यस्ता तमाम प्रश्नहरू छन् ।
ती तमाम प्रश्नहरूमा आज किन यसो भयो ? हामीले हेर्दा पहिलो कुरा के देखियो भने राजनीतिक पार्टीहरू यी मुद्दाहरूप्रति जिम्मेवार भएर, यी वैचारिक र राजनीतिक रूपले स्पष्ट भएर, यिनलाई कार्यान्वयन गर्न सक्ने क्षमता हुनुपथ्र्यो । त्यसको वैचारिक नीति, अर्थनीति, त्यसको सङ्घीय संरचना र नीति, त्यसको सामाजिक नीति, सांस्कृतिक नीति स्पष्ट हुनुपथ्र्यो । तर यी स्पष्ट छैनन्, धेरै अस्पष्ट र अन्योलग्रस्त रहनु त्यसको मुख्य कारण हो । त्यसले गर्दा हामी अलमलमा छौँ ।
गरिबीको अन्त्य कसरी गर्ने भन्ने योजना आज पार्टीसँग हुनुपर्छ र सरकारसँग पनि । दोस्रो कुरा, पार्टीमा यो बहस हुनुपर्छ । उपेक्षित वर्ग समुदायको अधिकारलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारे पार्टीमा गम्भीर बहस हुनुपथ्र्यो । संविधान बनाउँदा, लेख्दा त हामीले बहस गरेकै हो । त्यही बहस गरेको कारण यो संविधान लेखिएको हो । तर त्यसलाई कार्यान्वयन गर्ने बहस हामीले कहिल्यै गरेका छैनौँ, पार्टीहरूले कहिल्यै गरेका छैनौँ ।
बजेट बनाउने बेलामा संसद्मा एक, दुई वा तीन दिन मात्रै छलफल हुन्छ । त्यो छलफल पनि अलि फरक प्रकृतिको हुन्छ । तर आज यसका पछाडिको मूल कारण पार्टीलाई पार्टीजस्तो बनाउन हामीले सकेनौँ । पार्टीभित्रको लोकतन्त्रलाई स्थापित गर्ने, कसरी अगाडि बढाउने कुरामा हाम्रो ठुलो समस्याका कारण आज भनेजस्तो जनशक्ति, क्षमता, एजेन्डाहरूमा बहस, विज्ञ मान्छेहरू त्यहाँ पुग्न सकिरहेका छैनन् । पार्टीमा मलाई यो मनपर्छ, मेरो जयजयकार कसले गर्छ ? त्यही मान्छे मैले मेरो पार्टीमा राख्छु भन्दा त्यहाँनेर हामी चुकेका छौँ ।
पार्टी केका लागि बनाउने ? पार्टी हाम्रा लागि वा जनताका लागि ? पार्टी कसका लागि ? पार्टी आज पार्टीमा रहनेहरूका लागि र हाम्रो लागि जस्तो भएको छ । जनताका लागि छैन । पार्टी हाम्रो लागि हो भने हामी किन बनाउँछौँ ? पार्टी त जनता र लक्षित वर्गको लागि हुनुपर्ने । जसका लागि हामीले संघर्ष, त्याग र बलिदान गर्यौँ भनेका छौँ । जनताका लागि पार्टी बनाउने भनेर आफ्नै वृत्तमा सीमित भई पार्टीमा बस्नेहरूले त्यसको लाभ लिइरहेका छौँ । त्यसले आज जनता दिशाविहीन भएका छन् ।
शासनलाई सेवाका रूपमा बदल्नुपथ्र्यो हामीले । शासन आज सेवाका रूपमा बदलिएको छैन । पार्टीका सबै नीति, कार्यक्रम र योजना जनताकेन्द्रित हुनुपथ्र्यो, तर त्यसो गर्न सकिरहेका छैनौँ । किनभने किसानको मर्म कहाँ छ ? हामीलाई थाहै छैन । आज शैक्षिक र अशैक्षिक बेरोजगार श्रमिकहरूको अवस्था के छ ? त्यसप्रति गम्भीरता चाहिँ छैन । मैले अघि भनेका विषयहरूको बारेमा हरेक पार्टीमा स्पष्ट नीति नै छैन । यस्तो देखिएको छ आज ।
आज समग्र क्षेत्रमा जनसहभागिता आवश्यक पथ्र्यो । चाहे विकास निर्माणको कुरा होस्, राजनीतिक प्रक्रियाको कुरा होस्, चाहे त्यसको कार्यान्वयन र परिणाम ल्याउने कुरा होस्, जनसहभागिता आवश्यक पथ्र्यो । त्यो पनि हुन सकिरहेको छैन । सुशासन र पारदर्शिताको कुरा त भाषणको विषय त भनिएको थियो । यथार्थ व्यवहारको कुरामा आइपुग्दा पारदर्शिता देखिँदैन । सुशासन देखिँदैन । यो परिस्थिति पार्टीहरूले आफ्नो क्षमता वृद्धि गर्न नसक्दा, आजको चुनौती सामना गर्न सक्ने हैसियत प्राप्त गर्न नसक्दा र सरकारी संरचना र संयन्त्रहरूलाई जनअनुकूल परिचालन र सञ्चालन गर्न सक्ने क्षमता हासिल नगर्नुको परिणाम हो ।
आज ब्युरोक्रेसीको अगाडि नतमस्तक हुन्छन् । मन्त्रीहरू, प्रधानमन्त्रीहरू वा राज्यका संयन्त्रहरूले पार्टीले त्यसलाई चलाउनुपर्ने हो । तर तिनलाई पार्टीले चलाइरहेको छैन, तिनले पार्टी चलाइरहेको छ । त्यसको अवस्थाका पछाडि हामीले यी समस्याहरू भोगिरहेका छौँ । त्यसकारण यी समस्याहरू जो छन्, आज लोकतन्त्र कसको ? जनताको लोकतन्त्र बनाउने कुरा कसको ? पार्टीकै हो ।
पार्टीले जनताको लोकतन्त्र बनाउन नसक्दा लोकतन्त्र दलाल पुँजीपतिको बन्यो । पार्टी दलालको वा आफ्ना व्यक्तिगत स्वार्थ सिद्ध गर्नेहरूको भयो । लोकतन्त्र जनताको बन्न सकेन । आजको बहस जनताको लोकतन्त्र कसरी बनाउने र यो संविधानको कार्यान्वयन कसरी गर्ने भन्ने प्रश्न आज महत्त्वपूर्ण छ ।
अब नेपाली अर्थतन्त्रको थोरै कुरा गरौँ । हाम्रा लाखौँ बेरोजगार युवा आज (४०–५० लाख) मध्यपूर्वमा हुनुहुन्छ । हाम्रो खेत बाँझै छ । हाम्रो पानीको प्रयोग भएको छैन । हाम्रो खानी खनिएको छैन । हाम्रो जंगल प्रयोग भएको छैन । हाम्रा प्राकृतिक सम्पदाहरूको उपभोग गर्न सकिरहेका छैनौँ । हामीले यो देशमा प्रतिस्पर्धात्मक र तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गरेर त्यसमा केन्द्रित भएर हामीले कामलाई अगाडि बढाउनुपथ्र्यो ।
विशाल भारत र विशाल चीनको बिचमा हामी छौँ । उनीहरूले गरिरहेकै काममा उनीहरूसँग प्रतिस्पर्धा गर्न हामीलाई सम्भव छैन । उनीहरूको ठुलो अर्थतन्त्रको अगाडि, ठुलो क्षेत्रको अगाडि यो सम्भव छैन । तर हामीसँग यस्ता सम्भावना छन्, जो उनीहरूसँग प्रतिस्पर्धै नगरी तुलनात्मक लाभ भइरहेका क्षेत्रहरू छन् । ती तुलनात्मक लाभ भइरहेका क्षेत्रमा हामीले आफ्नो ध्यान केन्द्रित गरेर आर्थिक विकासको मूल आधार त्यसलाई बनाउन सम्भव थियो र छ । यो बनाउने कुरामा हाम्रा ठुला पार्टीहरूमा योबारे स्पष्ट छैनन् । यही पार्टी सरकारमा जाने हो, सरकारमा गएपछि गर्ने कुरा अलमलमै हो । यहाँनेर समस्या देखिएको छ ।
र आजको समस्या समाधानका लागि आर्थिक प्रणालीको पुनर्संरचना आजको आवश्यकता हो । अहिलेसम्म चलेको, अहिले राजस्व उठाउने, तलब खाने तरिकाले देशको अर्थतन्त्र चल्दैन । हाम्रो समृद्धि चल्दैन । त्यो तलब खानेभन्दा अरू ऋण तिर्ने पैसा पनि हामीसँग जुट्दैन भने हामी जनताका तमाम समस्याहरूको समाधान कसरी गर्छौँ ? त्यो सम्भव छैन ।
त्यसकारण आर्थिक प्रणालीको पुनर्संरचना आजको आवश्यकता हो । आर्थिक प्रणालीको पुनर्संरचना गरेर हाम्रा साधन स्रोतहरूमाथि जनताको स्वामित्व, राज्यको स्वामित्व, त्यसको उपभोग, त्यसमा आर्थिक समृद्धि र विकास, रोजगारी वृद्धि गर्ने, एउटा बृहत् खाका हामीसँग हुनुपथ्र्यो । त्यो नभएर कसकसले निर्देशन दिन्छन्, कसकसले के भन्छन् र हिजोदेखि के थियो त्यसकै नक्कल गरेर, लोकतन्त्रपछिको सरकार पनि त्यसकै पछि–पछि लागेपछि, हिजोकै पञ्चायतकालीन योजनाको पछि–पछि लागेर, केवल नक्कल गर्दै अगाडि बढेपछि यो त सम्भव हुने कुरा नै थिएन । सम्भव के हुन्थ्यो ? अब दलाल पुँजीवादीहरूले कब्जा गर्थे, कब्जा गरेका छन् । उनीहरूले परिचालन गरेका छन् । स्रोत साधन आज त्यहाँ केन्द्रित छ । जनताको हातमा छैन । त्यसैले किसानले मल पाउँदैनन् । त्यसैले किसानले उचित मूल्य पाउँदैनन् । वस्तुको मूल्य पाउँदैनन् । श्रमको मूल्य पाउँदैनन् । त्यसैले आर्थिक प्रणालीको पुनर्संरचना आजको विषय हो, यो बृहत् रूपमा बहस गर्नुपर्ने विषय हो ।
- के हुन् हाम्रा सम्भावना ?
यही जिल्लाका (रुपन्देही) सम्भावना के हुन् ? एयरपोर्ट बनेका छन्, होटलहरू ठुल्ठुला बनेका छन् तर खाली खाली छन् । अनि हाम्रो दूरदर्शिता कस्तो छ ? हामीले के गर्यौँ त ? यहाँको सम्भावनामा के गर्दा यहाँ बढीभन्दा बढी पर्यटक आउन सक्छन् । के गर्दा बढी भन्दा बढी मान्छे आउन सक्छन् ? त्यस्तो विकल्प, त्यस्तो पूर्वाधार हामीले के बनायौँ त भन्दा छैन । होटल व्यवसायीहरूसँग कुरा गर्यो भने त्यही भन्नुहुन्छ । एयरपोर्ट बनाएका छौँ, प्लेन उडाउन सक्दैनौँ । प्लेन उडाउने त एउटा कुरा भयो । त्योबाहेक पनि हामीले गर्न सक्ने धेरै कुराहरू यहाँ छन् तर हामी गरिरहेका छैनौँ । यत्रो लुम्बिनी यहाँ छ, त्यसको मार्केटिङ विस्तृत रूपमा हामीले गर्न सकिरहेका छैनौँ । त्यो अर्थमा पुनर्संरचना गरेर यसको मार्केटिङ गर्ने बृहत् योजना बन्नुपर्छ । आज लाखौँ लाख बुद्धिस्टहरूलाई नेपाल आउने रहर छ । र उनीहरू यहाँ आउने भनेको हाम्रो अर्थतन्त्रको वृद्धि गर्ने हो, विकास गर्ने कुरा हो ।
यो समग्र एउटा उदाहरण हो । मैले अघि भनेजस्ता धेरै क्षेत्रहरू छन् । धेरै पक्षहरू छन् । ती पक्षहरूको बारेमा समग्र अर्थतन्त्रको पुनर्संरचनाबारे आम बहस नगरिकन सम्भव छैन । र त्यसबाट निष्कर्ष निकालेर यहाँका आम व्यवसायीहरूसँग, यहाँका आम जनतासँग र आम किसानसँग के गर्दा हामीले बढी उत्पादन गर्न सक्छौँ ? के गर्दा हामी आत्मनिर्भर हुन सक्छौँ ? भनेर यहाँ बहस गर्नुपर्छ । बहस कुनै सिंहदरबारको संसद्मा एक वा दुई दिन गरेर मात्र काम चल्दैन ।
अब कसरी अगाडि बढ्ने ? छलफलका निष्कर्षका आधारमा अगाडि बढ्नुपर्छ भन्ने मान्यतामा आधारित हुनुपर्छजस्तो लाग्छ । र अब कम्युनिस्ट पार्टीको पुनर्संरचना गर्न, पुनर्गठन गर्न हाम्रा अग्रजहरूलाई, हाम्रा आदरणीय नेतृत्वहरूलाई इतिहासमा उहाँहरूले खेलेका भूमिकाहरूप्रति नतमस्तक हुँदै, त्यो भूमिकालाई स्थापित गर्दै, उहाँहरूलाई सम्मान गर्दै आज नयाँ पुस्ताले त्यो पुनर्गठन गर्ने अभियान सुरु गर्नुपर्छ ।
जनताको बिचमा बहस गरेर आर्थिक प्रणालीको पुनर्संरचना कसरी गर्ने भन्ने कुरामा हामीले ध्यान पुर्याउन सक्यौँ भने हामी यी कुरा समाधान गर्ने ठाउँमा पुग्छौँ । यही सम्भावना भएको, हाम्रो साधन स्रोतहरू पर्याप्त भएको, श्रम शक्ति सस्तो भएको मुलुक हामी, आज त्यसको सही उपयोग गर्न सक्ने, यसप्रतिको पार्टीभित्र र पार्टीहरूका बिचमा बहस, सरकारभित्र बहस भइरहेको छैन ।
बनिबनाउ कुरामा, सरकारभित्र, पार्टीभित्र खासखास व्यक्तिहरूको गुटको रूपमा पार्टीहरू बने र यसै तरिकाले अगाडि जाने प्रक्रियाबाट आज समस्याहरू पैदा भएका छन् । पार्टी लोकतान्त्रिक नभएर देश लोकतान्त्रिक हुँदैन । सरकार लोकतान्त्रिक हुँदैन, समाज लोकतान्त्रिक हुँदैन । त्यसकारण आज हामीले समाजका समुदाय र स्थानीय जनताका विचारहरूलाई, अनुभवहरूलाई, शिक्षालाई, हाम्रो परम्पराबाट पनि विकसित भएका धेरै कुराहरू छन्, हाम्रो आर्थिक प्रणालीहरू पनि छन्, हाम्रा सामाजिक मान्यताहरू पनि छन्, हाम्रो सामुदायिक पक्षहरू पनि छन् । यी सबैलाई केन्द्रित गरेर हामीले नयाँ एउटा आर्थिक प्रणाली बनाउनुपर्ने आजको आवश्यकता हो । यसबाट हामी समृद्धिको बाटोतिर जान सक्छौँ, लैजान सक्छौँ ।
- कहाँ चुक्यौँ हामी ?
हामीले संविधान निर्माण गर्दासम्म नेपालमा राजनीतिक ध्रुवीकरण एकदमै ठुलो छ । वामपन्थी पार्टीहरू, प्रजातान्त्रिक पार्टीहरू भनेर ठुलो ध्रुवीकरण छ । राजनीतिक रूपमा ध्रुवीकरण छ । जब देशमा सङ्कट आउँछ, संघर्ष आउँछ र कुनै नयाँ निर्णय गर्नुपर्छ, फेरि सहकार्य छ । हाम्रो समाज विचित्रको छ । ध्रुवीकरण पनि छ ।
कम्युनिस्ट र कांग्रेस भनेर ध्रुवीकरण पनि छ । वामपन्थी र लोकतन्त्रवादी भनेर ध्रुवीकरण पनि छ । तर फेरि संघर्षको क्रममा हेर्यौँ भने ०५२ सालमा सुरु भएको जनयुद्ध, ०६३ को संघर्षमा आइपुग्दा, संविधान बनाउने कुरामा आइपुग्दा सहकार्यबाट बनाइएको छ । जहाँ सहकार्य भएको छ, उपलब्धि हासिल भएको छ । जहाँ सहकार्य गर्दैन, त्यहाँ एकले अर्कालाई सराप्ने, खुट्टा तान्ने, पछार्ने मात्रै काम भएको छ ।
त्यसकारण आज हाम्रो अगाडि दुइटा कार्यभार छन् । वैचारिक, राजनीतिक र उद्देश्य मिल्नेहरू बिचको एउटा एकता, ध्रुवीकरण, अझ यसलाई भन्दा पुनर्गठन, पुनर्निर्माण र पुनर्संरचना गर्न आवश्यक छ । पुनर्संरचना गर्दा रेट्रोफिटिङ भनेको होइन । रेट्रोफिटिङ भनेको चाहिँ यहाँ अलिअलि चर्किएकोलाई मर्मत गर्ने कुरा हो । पुनर्संरचना भनेको यसको ठाउँमा अरू ठुलो तागतले घर बनाउने हो, अझ बलियो, अझ दूरगामी प्रभाव पार्ने, आजको आवश्यकतामा बनाउने कुरा हो ।
त्यो पुनर्संरचना आजको मुख्य कुरा हो । कम्युनिस्ट पार्टीको पुनर्संरचना अनिवार्य भइसक्यो । पुनर्संरचनाका लागि त्याग गर्नुपर्नेले त्याग गर्ने, जिम्मा लिनुपर्नेले जिम्मा लिने र एउटा नयाँ खोज, नयाँ दृष्टिकोणसहित थालनी भएर हिजो मैले के गरेँ त्यसको अर्थ छैन आज । हिजो गरेको इतिहासको महत्त्व त छ । तर इतिहास सुनाएर आज भात पाक्दैन । आज वर्तमानका समस्या के हुन् ? आज हाम्रो नयाँ पुस्ताले चाहेको कुरा के हो ? आज विभिन्न पुस्ता भन्छ, विभिन्न डेन्की, चेन्जी, डेल्टा, केल्टा पुस्ताहरू भन्ने के–के छन्, ती मलाई थाहा छैन । ती पुस्ताहरूको सपना के हो ? आज युवा पुस्ताको चाहना के हो ? आज देशको अवस्था के हो ? देशको आवश्यकता के हो ? भन्ने हिसाबमा आजको आवश्यकतालाई पूर्ति गर्ने स्तरबाट हामीले कम्युनिस्ट आन्दोलनको पुनर्गठन, कम्युनिस्ट आन्दोलनको पुनर्संरचना आवश्यक छ । पहिले पुनर्गठनहरू भइसकेका छन् । अब कम्युनिस्ट आन्दोलनको पुनर्गठन आवश्यक छ । पुष्पलालले पहिलो पुनर्गठनको नेतृत्व गर्नुभएको थियो । दोस्रो पुनर्गठन प्रचण्डले गर्नुभएको थियो । अब तेस्रो पुनर्गठनको आवश्यकता सानो र साँघुरो घेरामा सीमित हुने होइन । एउटा बृहत् राष्ट्रिय हुनुपर्छ ।
हामीले संविधान घोषणापछि नेकपा बनायौँ । एउटा यस्तो ऊर्जा थियो, यस्तो जोश थियो । सिद्धान्तमा कति मिल्या थियो, एउटा पाटो मिल्या थिएन होला । सापेक्षिक रूपमा त मिलेकै पनि थियो । मिलाउन सक्ने ठाउँ पनि थियो । तर आम कार्यकर्ता र जनतामा उत्साह आएर झण्डै दुई तिहाइको बहुमत प्राप्त भयो । अझ धेरै अरू पार्टीहरू त्यसमा ल्याउन बाँकी थिए । त्यतिवेला दुइटा पार्टी मात्रै मिल्ने अवस्था सिर्जना भएको थियो । तर त्यो निहित सत्ता स्वार्थका कारण सबै उत्साहमाथि चिसो पानी खनाइयो । कसको कति दोष थियो ? म भन्न चाहन्नँ । इतिहासले मूल्याङ्कन गर्ला । म त्यहाँ व्यक्ति विशेषमा जान चाहन्नँ । तर उत्साहमा चिसोपानी खन्नाइयो ।
र त्यसबाट कम्युनिस्ट आन्दोलनले एउटा नयाँ उचाइ प्राप्त गरिरहेको बेलामा त्यसलाई विघटनको प्रक्रिया सुरु गरियो । त्यसपछि छाएको निराशा आज तलतिर गइरहेको छ । त्यसले निराशा पैदा गर्यो । केही होला कि भन्ने आशा थियो । संविधान घोषणा भएको थियो । संविधानपछिको नयाँ निर्वाचन थियो । कम्युनिस्ट पार्टीले समाजवादका आधार तयार गर्ने एउटा अवसर प्राप्त गरेको थियो । जनताको साथ थियो । तर त्यो कुरा हुन सकेन । पार्टीभित्रको लोकतान्त्रिक समस्याका कारणले । पार्टीभित्र क्षमता वृद्धि गर्न नसकेको कारणले । पार्टीमा वैचारिक स्पष्टता कायम गर्न नसकेको कारणले । सुशासन र जनताप्रतिको प्रतिबद्धतामा कमी रह्यो । आज त्यसकै प्रतिफल अनेकौँ नयाँ नयाँ पक्षहरू पैदा भइरहेका छन् । त्यो निराशाले पैदा भएको हो । त्यो निराशाले जन्म दिएको हो । त्यसको जन्मदाता र जिम्मेवार भने नेकपा हो, नेकपाको नेतृत्वमा बसेका हामी हौँ । आज यो कुरा स्वीकार गर्नुपर्छ । यो व्यक्ति विशेषको सन्दर्भमा होइन । किन एउटा ऐतिहासिक प्रक्रियालाई अगाडि बढाउन र टिकाउन हामीले सकेनौँ भन्दा व्यक्तिगत हित, स्वार्थमा गयौँ । समाजवादको कुरा गर्ने अनि व्यक्तिकेन्द्रित स्वार्थमा अल्झिएर समग्र आन्दोलन धाराशायी बनाउने यो कम्युनिस्टभित्र रहेको महारोग हो । यो रोगको कारण आज समस्या परेको कुरा पनि म यहाँ भन्न चाहन्छु ।
- पार्टी कसका लागि ?
अर्को बाटो, हामीले फेरि २०७९ सालमा आएर चुनाव गर्यौँ । विभिन्न गठबन्धन आदि इत्यादि । त्यही पनि एउटा अवसर प्राप्त थियो । नेतृत्वका लागि पनि अवसर प्राप्त थियो । त्यो नेतृत्वले पाउने अवसरमा केही काम गर्न थालनी पनि भएको थियो । तर आफ्नै बुद्धिले के गर्यो गठबन्धनले ? आफ्नै रणनीतिमा अल्झिएर, कहिले गठबन्धन बदल्ने, कहिले फेरि नयाँ गठबन्धन बनाउने अभियानमा लाग्नुको कारणले आज एउटा यस्तो ठाउँमा पुग्यौँ, जसले गर्दा जनताका एजेन्डाहरू सम्बोधन गर्ने कुनै सम्भावना नै छैन । एकपछि अर्को विभिन्न काण्डै–काण्डहरू हामीले हेरिरहेका छौँ, देखिरहेका छौँ । यो अवस्थामा पुगेको छ । त्यसको जिम्मेवार पनि हामी हौँ । त्यसकारण आज राजनीतिक अस्थिरता संसदीय संख्याका कारण आएको होइन । अरू धेरै देशहरूमा, धनी देशहरूमा हेर्यौँ भने संख्या पुगेको छैन, सरकार चलिरहेको छ । विकास भइरहेको छ, तर हाम्रो देशमा संख्याले होइन, मानसिकता छ । हाम्रो सोच्ने तरिका अस्थिर छ । अस्थिर मानसिकताका कारण आज देशमा राजनीतिक अस्थिरता छ ।
विकास र समृद्धिको अभियान चलाएर जानुपर्ने, लाखौँ लाख जनतालाई साथमा लिएर उत्पादन र नयाँ निर्माणको अभियान, औद्योगीकरणमा लाग्नुपर्ने बेला आज सरकारले सामान्य कामकाजमै अल्झिएको छ । अनि कसरी हुन्छ ? त्यसकारण अब पार्टी केका लागि बनाउने भन्ने अर्को प्रश्न छ ।
पार्टी केका लागि बनाउने ? पार्टी हाम्रा लागि वा जनताका लागि ? पार्टी कसका लागि ? पार्टी आज पार्टीमा रहनेहरूका लागि र हाम्रो लागि जस्तो भएको छ । जनताका लागि छैन । पार्टी हाम्रो लागि हो भने हामी किन बनाउँछौँ ? पार्टी त जनता र लक्षित वर्गको लागि हुनुपर्ने । जसका लागि हामीले संघर्ष, त्याग र बलिदान गर्यौँ भनेका छौँ । जनताका लागि पार्टी बनाउने भनेर आफ्नै वृत्तमा सीमित भई पार्टीमा बस्नेहरूले त्यसको लाभ लिइरहेका छौँ । त्यसले आज जनता दिशाविहीन भएका छन् ।
आज जनताको चाहना के हो ?आवश्यकता के हो ? त्यसलाई सम्बोधन गर्ने गरी पार्टी बन्नुपथ्र्यो । दलाल पुँजीवाद भाषण गरेर परास्त हुँदैन, त्यसलाई परास्त गर्न त हामीले आफ्नो अर्थतन्त्र निर्माण गर्नुपर्छ । जराबाट अर्थतन्त्र निर्माण गर्नुपर्छ । प्रगतिशील अर्थतन्त्र निर्माण गर्नुपर्छ । सामाजिक न्यायमा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्छ । आत्मनिर्भरतामा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्छ । हाम्रा स्रोत साधनको सही पहिचान र प्रयोग गरेर त्यसलाई आम जनताको स्वामित्वसहित अगाडि बढाउन सक्ने क्षमता हासिल गर्नुपर्छ । यो निर्माण गर्दै जाँदा मात्रै दलाल पुँजीपति वर्ग र पुँजीवाद परास्त हुने हो, अन्यथा हुँदैन ।
भाषणमा त दलाल पुँजीवादविरुद्ध संघर्षको कुरा गर्छौँ । सारमा समग्र राजनीति आज एउटै घेरामा घुमिरहेको छ, भ्रमजालमा परेको छ । त्यसबाट मुक्त गर्ने साहस आजको आवश्यकता हो । त्यसका लागि हाम्रा उत्पादनका, अघि मैले चर्चा गरिएका हाम्रा मौलिकता, हाम्रा विशेषता, हाम्रा सम्भावनाहरूमा हामी तलैबाट सुरु गर्नुपर्ने हुन्छ । यतातिर गएर मात्रै हामी दलाल पुँजीवादलाई परास्त गर्न सक्छौँ र जनताको आत्मनिर्भर अर्थतन्त्र हामी निर्माण गर्न सक्छौँ । सामाजिक अर्थतन्त्र निर्माण गरेर मात्रै समाजवादतिरको बाटोमा अगाडि बढ्न सक्छौँ ।
हामी समाजवादको कुरा गर्ने र यहाँ उदारवाद र नवउदारवादको पक्षमा काम गर्ने ? यहाँ त समाजवादको पक्षमा कुरा छ, तर कार्यक्रम र योजना उदारवाद र नवउदारवादमा आधारित छन् । आज नवउदारवाद र उदारवादले समाजवादलाई अगाडि बढाउँदैन । त्यो त समाजवादविरुद्ध अर्थात् फरक आर्थिक प्रणाली हो । समाजवादी आर्थिक प्रणाली फरक कुरा हो । समाजवादले श्रमिक, राष्ट्रिय पुँजी, विकास, औद्योगिकीकरण आत्मनिर्भरताको पक्षमा अर्थतन्त्र निर्माण गर्छ । उदारवादी र नवउदारवादी अर्थतन्त्रले सीमित वर्गहरूको हितपोषण र त्यसलाई बढावा दिने खोज्छ, यो अर्को कुरा हो ।
- त्यसो भए के गर्ने त ?
अब यसका लागि पहिले त जनताको बिचमा एजेन्डाहरू तयार गर्नुपर्छ । एजेन्डाहरूमा राष्ट्रिय सहमति आज आवश्यक छ । देशलाई कसरी अगाडि बढाउने, अर्थतन्त्रको पुनर्संरचना कसरी गर्ने ? आज यसमा आर्थिक एजेन्डा, सामाजिक एजेन्डा, सामाजिक न्यायका एजेन्डा, शैक्षिक एजेन्डा र स्वास्थ्य क्षेत्रका एजेन्डाहरू तयार गर्नुपर्छ ।
स्वास्थ्य क्षेत्रलाई कसरी जनताको पहुँचसम्म पुर्याउने ? कसरी सबैले समान शिक्षा प्राप्त गर्न सक्छन्, विज्ञान प्रविधि यो देशमा कसरी प्रयोग गर्ने ? हाम्रा स्रोत साधनको कसरी प्रयोग गर्ने ? आज न्यायालय र न्यायको कुरा, अदालतको कुराहरू छन् । राष्ट्रिय सुरक्षाका, राष्ट्रियताका, भूगोल, अखण्डतामाथि हस्तक्षेप भइरहेका छन् ।
दुईटा छिमेकी देश मिलेर हाम्रो भूगोलमाथि उनीहरूले आफ्नो निर्णय थोपरिरहेका छन्, यस्तो अवस्थामा हामीलाई यसमा एउटा राष्ट्रिय सहमति चाहिएको छ । राष्ट्रिय सहमति गरेर यी एजेन्डामा जाँदा मात्रै देशमा परिणाम आउँछ । यतातिरबाट हामीले सोच्नुपर्छ । यी नै कुराहरू हुन् जस्तो लाग्छ ।
अब कसरी अगाडि बढ्ने ? छलफलका निष्कर्षका आधारमा अगाडि बढ्नुपर्छ भन्ने मान्यतामा आधारित हुनुपर्छजस्तो लाग्छ । र अब कम्युनिस्ट पार्टीको पुनर्संरचना गर्न, पुनर्गठन गर्न हाम्रा अग्रजहरूलाई, हाम्रा आदरणीय नेतृत्वहरूलाई इतिहासमा उहाँहरूले खेलेका भूमिकाहरूप्रति नतमस्तक हुँदै, त्यो भूमिकालाई स्थापित गर्दै, उहाँहरूलाई सम्मान गर्दै आज नयाँ पुस्ताले त्यो पुनर्गठन गर्ने अभियान सुरु गर्नुपर्छ ।
त्यसो गरियो भने मात्रै यो अगाडि बढ्न सक्छ । अन्यथा यो विगतमा जस्तै स्वार्थमा टकराएर समाप्त हुनेछ । मैले भनेँ, नेकपाको कुरा इगो टकराएर त्यहाँ विघटन भएको थियो । अब इगो नटकराउने गरी नयाँ पुस्ताले अथवा पछिल्लो पुस्ताले उहाँहरूलाई गाली, श्राप गर्ने होइन । उहाँहरूलाई धारे हात लाउने होइन । उहाँहरूको भूमिकालाई स्थापित गर्ने, सम्मान गर्ने । तर उहाँहरूले गरेका गल्तीहरूबाट सिक्ने । ती गल्तीहरूबाट सिकेर स्वच्छ प्रतिस्पर्धा गर्ने र पार्टीलाई लोकतान्त्रीकरण गर्ने, पार्टीको जनवादीकरण गर्ने, पार्टीलाई वैचारिक रूपमा विकास गर्न, समग्र जनताको सहभागितामा बहस र छलफल गर्ने र विचार, कार्यदिशा, कार्यनीति, योजना, सङ्गठन, विधि जनताको नियन्त्रणमा, जनअनुकूल निर्माण गर्ने । आफ्नो लागि पार्टी होइन, जनताको लागि पार्टी बनाउने प्रतिबद्धताका साथ अगाडि बढ्यौँ भने पार्टी पुनर्गठन गर्न, यो नयाँ एउटा अभियानलाई अर्को ठाउँमा पुर्याउन सम्भव छ ।
- वाम एकताको आवश्यकता
त्यसकारण अहिले दर्जनौँ संख्यामा रहेका कम्युनिस्ट र समाजवादी आन्दोलनका सङ्गठनहरू, वामपन्थी समाजवादी आन्दोलनका सङ्गठनहरूलाई एक ठाउँमा ल्याउने एउटा प्रयास गर्न जरुरी छ । यो पहल गर्नुपर्छ । दोस्रो कुरा, त्यो समाजवादी आन्दोलन, प्रगतिशील समाजवादी अथवा वामपन्थी समाजवादी, कम्युनिस्ट समाजवादी आन्दोलनलाई केन्द्रीकरण गरेर, फरक विचार र सार भएकाहरूबिच पनि संयुक्त मोर्चा र सहकार्य गर्दै देशलाई आत्मनिर्भर, विकासको दिशातिर अघि लैजाने कुरा आजको आवश्यकता हो ।
यति गर्न आज स्पष्ट एउटा विचार आवश्यक छ । त्यो वैचारिक स्पष्टता आवश्यक छ । मार्गचित्र निर्माण गरेर यहाँ पुग्न साधन चाहियो र ती साधन कसरी प्रयोग गर्ने भन्ने स्पष्ट हुनुपर्छ । हामी यति सेकेन्ड, यति मिनेटमा पल्लो ठाउँमा पुग्छौँ भन्ने एउटा कार्ययोजना चाहियो । त्यो निर्माण गर्नुपर्छ । त्यो आम पङ्क्तिसँगको छलफल, परामर्श, सल्लाहबाट निर्माण गर्न सकिन्छ ।
आज युवाहरू देशमा नबसेर विदेश गइरहेका छन् । उनीहरूलाई देशमै बसेर देशमै रोजगारी गरेर, देशमै शिक्षित भएर, देशमै लगानी गरेर, देशमै समृद्ध भएर अरूलाई पनि समृद्ध बनाउने अभियान निर्माण गर्न सक्नुपर्छ ।
सामाजिक विभेदहरू अहिले पनि विद्यमान छन् । ती विभेदहरू अन्त्य गरेर एउटा समतामूलक समाज निर्माण गर्ने, सामाजिक न्याय स्थापना गर्ने कुराका लागि यो काम गर्ने हो । आज देशमा भ्रष्टाचार र कमिसनतन्त्र, दलालीतन्त्र छ, त्यसलाई नियन्त्रण गरेर एउटा स्वच्छ, प्रतिस्पर्धात्मक तरिकाले सरकार, सत्ता सञ्चालन हुने अवस्था सिर्जना गर्नुपर्छ । जनताको नियन्त्रणमा रहेको त्यस्तो सत्ता र सरकार सञ्चालन गर्न यो चाहिन्छ । त्यसैले पार्टी आफ्ना लागि बनाउने होइन, देशका लागि हो । पार्टी राष्ट्रका लागि हो, पार्टी जनताका लागि हो । आम पङ्क्तिबाट यो बहसले नयाँ टिम पैदा गर्छ । नयाँ बहसले र नयाँ विचार पैदा गर्छ । त्यसले नयाँ एउटा संरचना तयार गर्छ । त्यसले एउटा नयाँ योजना तयार गर्छ र त्यसले एउटा नयाँ ढङ्गले देशलाई अगाडि लैजान सक्छ ।
हामीले अहिलेसम्म गरेका अनुभवको आधारमा, हाम्रा सिकाइको आधारमा यो आजको आवश्यकता भन्ने मलाई लाग्छ । त्यसरी हामी अगाडि जानुपर्छ र देश निर्माण गर्ने, देशलाई समृद्ध बनाउने सम्भावना छ र हामीले गर्नुपर्छ । त्यो गर्न मात्रै पनि पार्टी बनाउनुपर्छ । त्यसका लागि आम जनतालाई अपिल गर्दै साथमा लिँदै यो प्रक्रियामा सामेल गराउनुपर्छ । एउटा सदस्य र नागरिकको हैसियतले सामेल हुने आँट हामी सबैले गर्नुपर्छ र जनतालाई भ्रम दिएर, उदारवादको नीति अपनाएर र अलमलमा पार्नेहरूले समाजवादको नारा दिएर हुँदैन ।
यहाँको उत्पीडन, वर्गीय आधार, समस्याहरूका आधारमा, विविधताका हिसाबले हेर्दाँ हामीलाई समाजवादको एउटा प्रगतिशील कार्यक्रम र नीति–योजना चाहिएको छ । त्यसकारणले त्यसको एउटा नयाँ केन्द्र बनोस् । त्यसको एउटा नयाँ अभियान बनोस् । त्यसको एउटा नयाँ नेतृत्वको टिम पैदा होस् र यो देश अगाडि बढोस् ।
त्यसकारणले यो बहसलाई हामीले निरन्तर अगाडि बढाउँदै जाने क्रममा त्यो ठाउँसम्म हामीले पुर्याउनुपर्छ भन्ने मान्यता राखेर भोलि नयाँ पङ्क्तिले त्यसलाई अझ सफलतापूर्वक अगाडि बढाउन सकोस् । हामीले त्यसको आधार तयार गर्नुपर्छ ।
(माओवादी केन्द्रका नेता जनार्दन शर्माले बुटवलमा बिहीबार आयोजित ‘वर्तमान राजनीतिक सङ्कट र निकास’ विषयक अन्तरक्रियाका क्रममा राखेको धारणाको सम्पादिन सार)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण