बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेतन्याहूद्वारा बेल्जियमका प्रधानमन्त्रीलाई ‘कमजोर’ नेताको आरोप

बिहीबार, १९ भदौ २०८२, ०० : ४९
बिहीबार, १९ भदौ २०८२

सारांश

  • इजरायली प्रधानमन्त्री नेतन्याहूले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने निर्णयको निन्दा गर्दै बेल्जियमका प्रधानमन्त्रीलाई 'कमजोर नेता' भने।
  • बेल्जियमले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने निर्णय गरेपछि नेतन्याहूले यस्तो प्रतिक्रिया दिएका हुन्।
  • गाजामा मानवीय त्रासदी र इजरायलको कारबाहीका कारण संयुक्त राष्ट्रसंघले अनिकालको घोषणा गरेको छ।

जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने निर्णयको निन्दा गर्दै आफ्ना बेल्जियमका समकक्षीलाई ‘कमजोर नेता’ को संज्ञा दिएका छन् ।

“इजरायलसँगको सहकार्यलाई बलिदान दिएर इस्लामिक आतङ्कवादलाई खुसी पार्न चाहने बेल्जियमका प्रधानमन्त्री (बार्ट) डे वेभर एक ‘कमजोर नेता’ साबित हुनुभएको छ । उनले बेल्जियमलाई खानुअघि गोहीलाई खुवाउन चाहनुहुन्छ,” नेतन्याहूको कार्यालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमा लेखेको छ।

अस्ट्रेलिया, क्यानडा र फ्रान्सले पनि प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने निर्णयको घोषणा गरेपछि बेल्जियमले यसै महिना संयुक्त राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेको छ ।

बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रिभोटले ‘एक्स’ मा एक पोस्ट गर्दै गाजामा भइरहेको मानवीय त्रासदीलाई ध्यानमा राख्दै यो निर्णय गरिएको बताएका छन् । 

इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोटरिचले प्यालेस्टिनी राज्यलाई मान्यता दिने अन्तर्राष्ट्रिय कदमपछि कब्जा गरिएको पश्चिम किनाराको केही भागलाई गाभिनुपर्ने बताएका छन् । 

गाजामा आफ्नो करिब दुई वर्ष लामो अभियान अन्त्य गर्न देश तथा विदेशमा बढ्दो दबाबका बावजुद इजरायलले हालै गाजा सहर कब्जा गर्ने आधार तयार पार्दै अभियानलाई तीव्र बनाएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा अनिकालको घोषणा गरेको छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणका कारण एक हजार २१९ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ६३ हजार ७४६ प्यालेस्टिनीको मृत्यु भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप