सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

राजा महेन्द्रले इरानलाई दिनका लागि तयार गरिएको ‘गुलाब र गुराँस’

बिहीबार, १९ भदौ २०८२, १७ : २७
बिहीबार, १९ भदौ २०८२

‘गुलाब र गुँरास’ यो एउटा पुस्तकको नाम हो । यो पुस्तक २०२८ असोजको दोस्रो सातामा छापिएको थियो । शताब्दी पुरुषको सम्मान वा उपाधि पाएर १०४ वर्षको उमेरमा यो धर्तीबाट बिदा भएका सत्यमोहन जोशी (१९७७ वैशाख ३०–२०७९ असोज ३०) ले यो पुस्तक लेख्नुभएको थियो । 

उहाँले मित्रराष्ट्र भारतमा भएको नेपाली राजदूतावासमा सांस्कृतिक सहचर भई काम गर्नुभएको थियो । पछि नेपाल कला परिषद्को अध्यक्ष भई लामो समय देशको सेवा गर्नुभयो । उहाँ नेपालको इतिहासविद्; धर्म, संस्कृति, संस्कार र परम्पराविद् पनि हुनुहुन्थ्यो । उहाँले यी विषयवस्तुलाई नेपाल भूमि र नेपाली जनतामा मात्र होइन, विश्वसमक्ष समेत छर्लङ्ग उज्यालो हुने गरी प्रचार–प्रसार गर्नुभएको थियो । उहाँ नेपालको धर्म–संस्कारका साथै संस्कृतिविद्को उपाधिले समेत विभूषित हुनुहुन्थ्यो । 

उहाँले लेख्नुभएको यो पुस्तक यस धर्तीमा टुसुटुसु उम्रेका बिरुवाबाट फुलेको फूलहरूको नाम हो । यो धर्तीलाई वैदिक धर्मशास्त्रले सातवटा द्वीपमा विभाजित गरी व्याख्या गरेको छ । यता हाल विज्ञानवादी दर्शनले पनि यस धर्तीलाई सात महादेशमा विभाजन गरेको छ । 

पहिलो महादेशलाई एसिया महादेश भनिन्छ भने अनि अर्को अफ्रिका हुँदै युरोप अमेरिका, ल्याटिन अमेरिका, अस्ट्रेलिया, एन्टार्टिका नामले प्रख्यात छन् । यी सात महादेशमध्ये पश्चिम एसियामा इरान भन्ने एउटा ठुलो राज्य छ । यसको राजधानी तेहरान हो । यो देशमा इस्लाम समुदायका मानिसको बाहुल्य रहे पनि अन्य समुदायको पनि उपस्थिति देखिन्छ । यद्यपि यो देशको शासन इस्लाम समुदायले नै गरिरहेका छन् । यो देशमा इस्लाम धर्ममा पनि सुन्नी समुदायबाट रेजा पहल्वी शाहले पहल्वी सत्ता स्थापना गरेका थिए । उनकै छोरा महमद रेजा पहल्वी साह इरानका राजा थिए । 

इरानका यी राजाले आफ्नो देश इरानमा राज्य सत्ता स्थापना भएको २५००औँ वर्ष उत्सव मनाउने तयारी विक्रम संवत् २०२८ सालमा गरे । उक्त महोत्सव असोज २६ बाट सुरु भई ३० गतेसम्म मनाइने कार्यक्रम थियो । सो समारोहमा संसारका विभिन्न देशका राजा–महाराजा र राष्ट्रप्रमुखहरूलाई निमन्त्रणा गरिएको थियो । हामीले आजकाल आयोजना गरिने जस्तासुकै साना वा ठुला कार्यक्रममा पनि सभापति र प्रमुख अतिथिको आसनको व्यवस्था गरिएको हुन्छ । त्यहाँ आसन ग्रहण गराइन्छ । त्यो सभामा पनि इरानका राजा आफैँ सभापति थिए भने प्रमुख अतिथिको आसन ग्रहणका लागि नेपाल अधिराज्यका श्री ५ महाराजधिराज महेन्द्रवीरविक्रम शाहदेवलाई निमन्त्रणा पठाइएको थियो । नेपालका तर्फबाट निमन्त्रणा स्वीकार गरियो । 

विश्व दुई भागमा विभाजित थियो । एकातर्फ साम्राज्यवादी शक्तिहरूको नेतृत्व अमेरिकाले गरेको थियो भने अर्काेतर्फ नयाँ उदीयमान समाजवादी शक्तिहरूको नेतृत्व सोभियत संघले गरेको थियो । अमेरिका आफ्ना काला घोडा नाटो संगठनको नामबाट संसारका कुना–कन्दरामा कुदाइरहेको थियो भने विश्व समाजवादी शक्तिको नेता सोभियत संघ विश्व शान्ति, भाइचारा र समृद्धिका गुच्छाहरू बाँडिरहेको थियो । नेपालजस्तो हाम्रो मुलुकले यी दुवै शक्तिको पक्ष र विपक्षमा नलागी असंलग्नताको सिद्धान्त र मार्गचित्र तयार पार्दै अगाडि बढ्नुपरेको थियो । यो असंलग्न आन्दोलनका चिन्तक र संस्थापक मध्येका एक नेपालका राजा महेन्द्र पनि होइबक्सन्थ्यो । यसरी उदय भएको मौसुफको व्यक्तित्वबाट प्रभावित भई विश्व रङ्गमञ्चमा नेपालका राजालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिनु असंलग्न आन्दोलनको सार्थकता पनि देखिने र नेपालको गौरवपूर्ण इतिहासमा नयाँ पन्ना थपिने निश्चित नै थियो । त्यो निम्ताले हामी नेपाली गौरवान्वित भएका थियौँ । त्यस बेला नेपाल सरकारमा प्रधानमन्त्री कीर्तिनिधि विष्ट हुनुहुन्थ्यो ।

संसारका सबैभन्दा उच्च स्थानमा नेपाल भूमि स्थापित छ । सूर्यनारायण सबभन्दा पहिले नेपाल हुँदै मात्र संसारमा प्रवेश गर्नुहुन्छ । हिमाल, पहाड र तराई नेपालको भूगोल हो । यस देशमा उच्च र होचा पहाड प्रशस्त छन् । जडीबुटी औषधि, खनिज पदार्थ, खाद्यपदार्थ जलाशय यी सबै जीवन उपयोगी वस्तु नेपालको आफ्नै भूमिमा प्रशस्तै छन् । 
पूर्वमा मेची नदी हुँदै क्रमशः कन्काइ कोसी, कमला, बागमती नारायणी भेरी राप्ती कर्णाली र महाकालीजस्ता अनगिन्ती साना–ठुला नदीहरू हिमालय पर्वतबाट निस्कँदै निर्मल जल प्रवाह गर्दै दक्षिणतर्फ बगिरहेका छन् । इरानका साहले आफ्नो देशमा राज्य स्थापना भएको पच्चिस सय वर्ष उत्सव मनाइरहेका बेला सो समारोहमा प्रमुख अतिथिको आसन ग्रहण गर्नका निम्ति नेपालका राजाले यात्रा सुरु गरिरहेका बेला आफ्नो देशमा गोपालवंशी राजाले राज्य स्थापना गरेको सम्झना भएको हुनुपर्छ ।

राजा महेन्द्रबाट आफ्नै प्रकारबाट सत्यमोहन जोशीलाई बोलाउन पठाइबक्सियो । महेन्द्र र जोशीको भेटघाट भयो । जोशीले राजाज्ञा शिरोपर गर्दै त्यस्तो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट राजाको बाहुलीबाट उपहार प्रदान गरिने वस्तु आफूले तयार गर्ने वचनबद्धता राजामा जाहेर गरे ।

त्यसपछि महिषपालपछि किरातवंशी राजाहरूले ३१ पुस्तासम्म हजार वर्षसम्म नेपालमा राज्य गरेका थिए । अनि मात्र लिच्छविकालीन राज्य व्यवस्था नेपालमा सुरु भयो । त्यसकालमा धर्म, संस्कार, संस्कृति, कला–कौशल, संगीत, ज्ञान–विज्ञानसँगै राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिमा गरिएको कूटनीतिक क्रियाकलापले नेपाललाई स्वर्णयुगमा स्थापित गरेको थियो । यिनै लिच्छवि राजाको सन्तानबिच एकअर्कामा युद्धकौशल खेल्ने कार्यक्रममा मल्लयुद्ध पनि एक प्रकारको खेल थियो । यस्तै मल्लयुद्धमा विजेता कुनै एक व्यक्ति नै राजा भए । मल्लयुद्धमा विजय भएका हुनाले उनका राज्यकालदेखि नै मल्लराज्य स्थापित भएको भन्ने कुरा नेपालका इतिहासविद् महेश्वरमानजी भन्नुहुन्छ । 

मल्लकालपछि शाहवंशीय राजाले राज्य गर्न थाले । शाह वंशीय राजामा दशौँ पुस्ताका राजा श्री ५ महेन्द्र थिए । यसरी नेपालमा राजसंस्था स्थापना भएको सुरुको मिति स्पष्ट किटान गर्न नसके पनि हजारौँ हजार वर्ष हो भन्न सकिन्छ र नेपाल नै संसारको राज्य सत्ता स्थापना भएको देश हो भन्ने कुरा सबैले स्वीकार गर्नुपर्छ । 

श्री ५ महेन्द्र प्रमुख अतिथिको आसन गर्नका लागि इरान प्रस्थान गर्नुहुने नै भयो । राजाले आफू प्रमुख अतिथिको हैसियतले त्यस समारोहका आयोजकलाई उपहार के लगिदिने भन्ने प्रश्न खडा भयो । राज दरबारमा छलफल भयो । राजाले प्रधानमन्त्रीलाई टुंगो लगाउने जिम्मा त दिए, तर उनले सकेनन् । धेरै दिनपछि त्यो बैठकमा संस्कृतिविद्, इतिहासकार, कला र साहित्यविज्ञ सत्यमोहन जोशीका बारेमा चर्चा भयो । प्रधानमन्त्रीले जोशीजीलाई बोलाउन पठाए तर उनी आएनन् । अब प्रधानमन्त्री आफैँ उनलाई भेट्न गए, कुरा चल्यो । जोशीजीले यसबारे आफूले केही सहयोग गर्न नसक्ने बताए । 

सबै कुरा राजालाई जानकारी भयो । राजा महेन्द्रबाट आफ्नै प्रकारबाट सत्यमोहन जोशीलाई बोलाउन पठाइबक्सियो । महेन्द्र र जोशीको भेटघाट भयो । जोशीले राजाज्ञा शिरोपर गर्दै त्यस्तो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट राजाको बाहुलीबाट उपहार प्रदान गरिने वस्तु आफूले तयार गर्ने वचनबद्धता राजामा जाहेर गरे । 

नेपाली माटोमा उम्रेको नेपाली जनताको राष्ट्रिय फूल लालीगुँरास र इस्लाम धर्मावलम्बीले मानेको उनीहरूको राष्ट्रिय फूल गुलाबलाई जोडेर पुस्तक तयार गरियो । यसरी लालीगुराँसको उच्च राष्ट्रिय महत्त्वले नेपाली जनताको प्रतिनिधित्व भएको मानियो भने गुलाबको फूलको महानताको व्याख्या भएको पुस्तक गुलाब र गुराँस नामक पुस्तक तयार भयो । यसलाई अन्तर्राष्ट्रिय भाषामा रोडोडेनड्रोम र रोज भनिन्छ । यही पुस्तक त्यस्तो अन्तर्राष्ट्रिय समारोहका प्रमुख अतिथि नेपाल अधिराज्यका महाराजधिराज महेन्द्रवीरविक्रम शाहदेवबाट इरानका राजा मोहमद रेजा पहल्वी साहलाई २०२८ असोज २६ गतेका दिन उपहार प्रदान गरिबक्सेको थियो । 
काठमाडौँ २०८२ भाद्र १८
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवराज अधिकारी
देवराज अधिकारी
लेखकबाट थप