२७ घण्टा लामो जेनजी आन्दोलन नियन्त्रण बाहिर पुगेसँगै केपी ओली नेतृत्वको सत्ता ढलेको छ । आन्दोलनकारी व्यापक तोडफोड र आगजनीमा उत्रिएकै बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङ, वरिष्ठ चिकित्सक सन्तुक रुइत र जेनजी आन्दोलनले समेत संयमताका लागि अपिल गरेका छन् ।
मिति- २३ भदौ २०८२ । स्थान- देशभर । कर्ता- जेनजी पुस्ता । कार्य- भ्रष्टाचार, बेथिति, नेपो किड र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध प्रदर्शन । नतिजा- २७ घण्टा नबित्दै झण्डै दुई तिहाइ बहुमतको सर्वशक्तिमान प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य ।
नेपाली जेनजीले एउटा अद्वितीय इतिहास रचेका छन्, संसारमा दुर्लभ घटना नेपाली राजनीतिमा सम्भव बनेको छ ।
सोमबार जेनजीले प्रदर्शन प्रारम्भ हुनेबेलासम्म ‘केटाकेटी आए गुलेली खेलाए...’ ठानिरहेको ओली सरकार प्रदर्शनकारी नयाँ बानेश्वर क्षेत्रमा पुगेपछि तिलमिलायो । संयम राख्न नसकेर निहत्था जेनजी प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली बर्सायो । त्यहाँ कम्तीमा १७ जना युवाले अनाहकमा अमूल्य जीवन गुमाए । बाबुआमाको काख रित्तियो, बुढेसकालको सहारा सकियो । यो घटनाको नैतिक जिम्मेवारी लिँदै साँझपख रमेश लेखकले गृहमन्त्री पदबाट राजीनामा दिए ।
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी प्रदर्शनकारीलाई अपिल गर्ने भएका छन् । सेनापतिले प्रदर्शनकारीलाई अपिल गर्न लागेको सेनाका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि मुख्यसचिव एकनारायण अर्याल र ३ सुरक्षा प्रमुखहरूले बक्तव्य जारी गर्दै संयमित हुन आग्रह गरेका थिए ।
काठमाडौँ । जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेको छ । सोमबार भ्रष्टाचार र बेथितिको विरोध तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरिएको प्रदर्शनका क्रममा १९ जनाको हत्या भएपछि मंगलबार सडकमा उत्रिएका जेनजीको आन्दोलन नियन्त्रणबाहिर पुगेपछि बाध्य भएर ओलीले राजीनामा दिएका हुन् ।
जेनजीको आन्दोलनका क्रममा संसद भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत र सिंहदरबारमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन् । यस्तै विभिन्न राजनीतिक दलको कार्यालय, नेताका घरहरू, प्रहरी चौकी समेत तोडफोड भएका छन् ।
तोडफोडपछि वरिष्ठ चिकित्सक सन्दुक रुइत, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङसहित सेनाले समेत संयम अपनाउन अपिल गरेको छ ।
काठमाडौँ । जेनजी आन्दोलनकारीले मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रका सबै मन्त्रालयहरूमा आगजनी गरेका छन् । आन्दोलनकारीहरू सिंहदरबार भित्र पसेर आगजनी गरेका हुन् ।
आगजनीबाट प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सवै मन्त्रालयमा आगो लागिरहेको छ । सिंहदरबारमा लागेको आगोबाट धुवाको मुस्लो निस्केको छ ।
यसअघि संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अदालत, प्रहरी कार्यालय, नेताका घर, राजनीतिक पार्टीका कार्यालय पनि जलेर ध्वस्त भएका छन् । यसअघि नेताका घर, राजनीतिक पार्टीका कार्यालय पनि जलेर ध्वस्त भएका छन् ।
काठमाडौँ । जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौँको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ । प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् ।
आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । कोटेश्वर प्रभागमा कार्यरत ३ जना प्रहरीहरू हताहती भएको सूचना आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मंगलबार जेनजी आन्दोलनको चपेटामा पर्दा ठुलो क्षति भएको छ। बिहानैदेखि सुरु भएको आन्दोलनले दिउँसो १२ बजेपछि उग्र रूप लिँदा राजनीतिक दलका कार्यालय, सरकारी भवन र नेताका निवासहरूमा व्यापक तोडफोड र आगजनी भएको छ।
राजधानीको शान्ति भंग गर्दै आन्दोलनकारीले दर्जनौँ स्थानमा क्षति पुर्याएका छन्। जेनजी आन्दोलनकारीले मुख्यतया राजनीतिक दलका कार्यालयहरूलाई निशाना बनाए ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा तोडफोड गरी आगजनी गरिएको छ। यसैगरी, वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा पनि तोडफोड भएको छ।
काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । उनले पदबाट राजीनामा दिएको केही समयपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोड भएको थियो ।
त्यसअघि नै ओली बालुवाटार छाडेर राजधानीकै बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी ब्यारेकमा गएको खुलेको छ ।
सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट उनी पत्नीसहित शिवपुरी गएका हुन् । उनलाई त्यहाँ सेनाको ब्यारेकमा राखिएको सुरक्षा स्रोतले जनाएको छ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्।
मंगलबार जारी अपिलमा उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गरेका छन्।
राष्ट्रपतिले भनेका छन्, 'प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।'
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार विघटन भइसकेको अवस्थामा आन्दोलनरत जेनजीलाई संयम रहन आग्रह गरेका छन् । मंगलबार विप्लवले जारी गरेको भिडियो सन्देशमार्फत उनले संयम रहन आग्रह गरेका हुन् । आन्दोलनरत जनता बाटनै नेतृत्व दिनेगरी सोच्नुपर्ने बताएका छन् ।
‘जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्याएको छ । दुई दशकको बेथिति, भ्रष्टाचार, लुटपाट, असमानता, दलालीले यो परिणाम ल्याउन अनिवार्य थियो । भ्रष्ट नेता, दल, सरकारले सजाय भोग्नै पर्ने थियो’, उनले भनेका छन्, ‘सरकार विघटन भइसकेको अवस्थामा जेनजीले संयमतापूर्वक सम्वादमा भाग लिनोस् । अब देशलाई संसदभित्रबाट होइन आन्दोलनरत जनताको बिचबाट नेतृत्व दिन सोच्नुपर्दछ । यो काम पनि नयाँ पुस्ताबाट नै गर्ने हो ।’
काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै संयमता अपनाउन सबैमा अपिल गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जारी गरेको अपिलमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको छ।
आन्दोलनका क्रममा घाइते भएका विरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सेनाले विद्यमान अवस्थालाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।
काठमाडौं । देशभर जेनजी आन्दोलनमा भएको सरकारी दमनपछि उत्पन्न परिस्थितिप्रति दु:ख व्यक्त गर्दै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले संयमता अपनाउन आग्रह गरेका छन्।
उनले मंगलबार जारी अपिलमार्फत निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति नगर्न आग्रह गर्दै दीर्घकालीन सुधार र सकारात्मक परिवर्तनतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले भनेका छन्, 'प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा अब संयमित हुने समय आएको छ। सार्वजनिक सम्पत्ति तपाईं हाम्रै करबाट निर्माण भएको हो र पुनर्निर्माणमा पनि हाम्रै पैसा खर्च हुने भएकाले यसलाई जोगाउन सबैलाई अनुरोध गर्दछु।'
काठमाडौं । जेनजी आन्दोलनले आन्दोलनमा सहभागी सबैलाई संयमता अपनाउन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरेको छ। आन्दोलनले जारी गरेको अपिल पत्रमा आन्दोलनकारीहरूको योगदानप्रति आभार व्यक्त गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
अपिल पत्रमा भनिएको छ, 'हाम्रो आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकेको छ। प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट स्वीकृत भएको छ। यसले नयाँ राजनीतिक निकासको बाटो खोलेको छ।'
जेनजी आन्दोलनले अब देश नयाँ नेतृत्वतर्फ गएको दाबी गर्दै आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन आह्वान गरेको छ। सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति भएको भन्दै त्यसमा क्षति पुर्याउन नहुने प्रष्ट पारिएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक आह्वान गर्दै बालेनले भनेका छन्, ‘ प्लिज जेनजी, देश तपाईँहरूकै हातमा हो । तपाईँहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।
काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न प्रदर्शनकारीहरूलाई विशेष अपिल गरेका छन्।
मंगलबार उनले आन्दोलनरत युवा–विद्यार्थीहरूको साहस र दृढताले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य पारेको भन्दै यो उपलब्धिलाई थप सशक्त बनाउन संयमित रूपमा अघि बढ्न आग्रह गरेका हुन्।
डा. रुइतले भने, 'सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं।'