कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबार दिनभर के–के भयो ?
सारांश
- कोशी प्रदेशका विभिन्न सहरमा जेनजीको प्रदर्शनका क्रममा आगजनी र तोडफोड भयो।
- प्रदर्शनकारीहरूले प्रदेश सभा, सरकारी कार्यालय, र बैंकहरूमा आगजनी गरे र लुटपाट मच्चाए।
- विराटनगरमा माओवादी नेताको घर र विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुग्यो।
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर लगायत प्रदेशभरका सहरमा जेनजीको प्रदर्शनले मंगलबार दिनभर तनावग्रस्त बन्यो । राजधानी विराटनगरमा बिहान १० बजेदेखि नै ठाउँठाउँबाट प्रदर्शन सुरु भएको थियो ।
युवाहरूको प्रदर्शन मध्याह्नतिर कोशी प्रदेश सभा अगाडि केन्द्रित भएको थियो । जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यु तोड्दै युवाहरू अगाडि बढेका थिए । त्यसक्रममा कोशी प्रदेश सभाबाट पूर्वतिर देवकोटा चोक र पश्चिमतिर अस्पताल चोकमा जम्मा भएका प्रदर्शनकारीसँग प्रहरीको पटकपटक झडप भयो ।
दिउँसो दुई बज्नु अगाडि नै प्रदर्शनकारीले कोशी प्रदेश सभा अगाडिको सडक कब्जा गरे । प्रहरीसँगको एकैछिनको घम्साघम्सीपछि उनीहरू प्रदेश सभा भवनभित्र प्रवेश गरे । त्यसपछि उनीहरू आलोपालो सभामुखको कुर्सीमा बसे । केहीबेरमै प्रदेश सभा परिसरमा आगो दन्कियो । सुरक्षाका लागि बसेका सुरक्षाकर्मीहरू आगलागीको साक्षीमात्रै बने, केही गर्न सकेनन् ।
त्यसपछि प्रदर्शनकारीहरू उच्च अदालत विराटनगर, मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयमा पुगेर आगजनी र तोडफोड गरे । त्यसपछि उनीहरू विराटनगरको रोडशेष चोक दक्षिणमा रहेको कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगो लगाए । विराटनगरको मुख्य बजार ट्राफिक चोकमा रहेको आन्तरिक राजस्व कार्यालयका दर्जनभन्दा बढी सरकारी तथा निजी कार तथा गाडीहरू जलाएर प्रदर्शनकारीहरूले राजस्व कार्यालयको भवनमा पनि आगो लगाइदिए ।
प्रदर्शनकै क्रममा विराटनगर–३ मा रहेको प्रदेश प्रमुखको कार्यालयमा आगजनी भयो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका ९ वटा गाडीसहित भवनको पहिलो तलामा आगो लगाइयो । उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सवारी साधन जलाएर प्रदर्शनकारीले भवनमा पनि आगजनी गरे । उनीहरूले विराटनगर महानगरपालिकाको तल्लो तलाका साथै प्रदर्शनकारीले प्रमुख जिल्ला अधिकारीको सरकारी निवासमा पनि आगो लगाए । उनीहरूले प्रदेशकै पर्यटन, वन तथा वातावरण मन्त्रायमा पनि आगजनी गरे ।
विराटनगरको ट्राफिक चोकमै रहेको राष्ट्रिय वाणिज्य बैंकको भवन तोडफोड गरेका प्रदर्शनकारीले मंगलबार बेलुका भने भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाए । उनीहरूले भवनमा ढुंगामुढा गरे । सुपरमार्केटमा भएका खाद्यान्न, लत्ताकपडादेखि मोबाइल र मदिरासमेत लुटपाट भएको छ ।
यस्तै डिभिजन वन कार्यालय मोरङ, सडक डिभिजन कार्यालय, विराटनगर, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय लगायत दर्जनौँ भवनहरूमा आगजनी भएको छ ।
मोरङमै अधिकांश पालिकाका भवनहरूमा आगजनी भएको छ । कानेपोखरी–५ मा रहेको पालिकाको भवनमा आगो लगाइएको छ । अध्यक्ष, उपाध्यक्ष चढ्ने गाडीमा आगो लगाइएको छ । विराटनगरमा माओवादी नेता शिवकुमार मण्डलको घर र जीवन आचार्यको घरमा आगजनी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने
-
विश्वकपकै बिचमा मोरोक्कोका कप्तान हाकिमी संकटमा, बलात्कारको मुद्दा खेप्नुपर्ने
-
चिकित्सकको क्षमतामाथि टिप्पणीको विरोध, आत्मालोचना गर्न वीर–ट्रमाका करार चिकित्सकको माग
-
गृह मन्त्रालयमा ‘हेलो गृह’ कल सेन्टर स्थापना
-
वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु
-
फासीवादी मनोविज्ञानमाथि राजेन्द्र महर्जनको नयाँ पुस्तक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण