बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मानसिक स्वास्थ्य

अशान्त माहोलमा मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने ?

बिहीबार, २६ भदौ २०८२, १७ : ५२
बिहीबार, २६ भदौ २०८२

काठमाडौँ । जेनजी आन्दोलनपछि नेपाली राजनीतिले अर्कै मोड लिएको छ । प्रदर्शन हिंसात्मक बन्दा राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, थुपै सरकारी कार्यालय, प्रहरी कार्यालय, नेताका घर, निजी घर व्यापारिक केन्द्रमाथि आगजनी र तोडफोड भयो । आन्दोलनका क्रममा कम्तीमा ३४ जनाले ज्यान गुमाए भने एक हजार भन्दा घाइते भए । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

यो सब घटनापछि आम नागरिकमा बेचैनी, छटपटी, अनिद्रा, निराशाजस्ता मानसिक तनाव बढेको छ । यस्तो विषम परिस्थितिमा मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने ?

मानसिक अस्पताल पाटनका निर्देशक समेत रहेका मानसिकरोग विशेषज्ञ डा. अनन्त अधिकारी देशमा भएका पछिल्लो घटनाक्रमले सर्वसाधारणको मानसिक स्वास्थ्यमा ठुलो असर पारेको बताउँछन् । 

‘पछिल्ला तीन दिनयता धेरै मानिसले निद्रा नलाग्ने, तनावमा रहने र बेचैनी महसुस गरेको गुनासो गरिरहेका छन्,’ उनी भन्छन् । 

ठुलो घटना भएपछि त्यो कुरा बारम्बार मनमा आइरहन्छ । अझ विकसित घटनाक्रमबारे विभिन्न कोणबाट गरिएका कुरा सुन्दा दिमागमा थप तनाव बढेको छ । 

‘दिमाग थाकेपछि व्यक्तिमा चिडचिडापन बढ्ने (इरिटेबल), भावनात्मक रूपमा आफूलाई नियन्त्रण गर्न नसक्ने र समग्रमा आफूलाई सम्हाल्न नसक्ने अवस्था समेत आउन सक्छ,’ पाटन अस्पतालका निर्देशक तथा मानसिकरोग विशेषज्ञ डा. रवि शाक्य भन्छन् । 

हाल विकसित अप्रत्यासित घटनाक्रम र सामाजिक सञ्जालमा प्रवाहित सूचनाको तीव्र चापले सर्वसाधारणको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ । यस समयमा चौबीसै घण्टा न्तिमा खलल पुर्‍याउने उनले बताए । 

डा. शाक्य भन्छन्, ‘यस्तो निरन्तर गलत वा भ्रमपूर्ण सूचनाको प्रवाहले मानिसलाई थकित बनाउँछ । भ्रमित पार्छ, भावनात्मक रूपमा विक्षिप्त (इमोसनल ब्रेकडाउन) बनाउँछ । कहिलेकाहीँ त यसले पूर्ण रूपमा मानसिक रोगका लक्षणहरू समेत देखा पर्न सक्छ,’ डा. शाक्य भन्छन् । 

संकटका बेला मानिसमा ‘एक्युट स्ट्रेस रियाक्सन’ देखिनु स्वाभाविक हो । तत्काल उत्पन्न हुने तनावको प्रतिक्रियाले व्यक्तिमा मानसिक र शारीरिक दुवै प्रकारका असर पर्ने डा. अधिकारी बताउँछन् । तनाव, अनिश्चितता, बेचैनी, डर, त्रास, निद्रा नलाग्ने, मुटुको धड्कन बढ्ने, जिउ दुख्ने, पोल्ने र श्वास फेर्न गाह्रो भएको महसुस हुने लक्षण यस्तो अवस्थामा देखिन्छ । 

विशेषगरी पहिलेदेखि नै मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिमा यी लक्षण झन् बढी बल्झिन सक्छन् । सुरक्षाको अभाव र राज्यको उपस्थिति नभएको महसुस हुँदा यो तनाव झन् बढ्ने डा. अधिकारी बताउँछन् ।

आगजनी, हिंसा वा अन्य डरलाग्दा दृश्यहरू मस्तिष्कमा लामो समयसम्म बस्न सक्छन् । त्यसैले अहिले नै आफ्नो मानसिक स्वास्थ्यलाई सबल राख्न र उचित कदम चाल्न जरुरी डा. अधिकारी बताउँछन् । 

‘शारीरिक र मानसिक स्वास्थ्य दुवै बलियो भए मात्रै वर्तमान चुनौतीहरूको सामना गर्न सक्छौं । उज्वल भविष्यको परिकल्पना गर्न सक्छौं,’ उनी भन्छन् । 

सूचनाको अत्यधिक खपत र जोखिम 

रोगको महामारी आउँदा होस् वा प्राकृतिक विपद् वा ठुला आन्दोलन । यस्ता घटना देख्दा सुन्दा मानिस आत्तिन्छ । त्यसले तनाव, चिन्ता, निराशा निम्त्याउँछ । 

यस्तो बेला मिडियाको भूमिका महत्त्वपूर्ण हुने डा. शाक्य बताउँछन् । ‘भड्काउ, उत्तेजित, सनसनीपूर्ण र नकारात्मक खबर तथा भिडियोहरू हेर्दा मनमा त्रास र बेचैनी बढाउँछ । त्यसैले विश्वसनीय र तथ्यपरक समाचार माध्यमलाई मात्र प्राथमिकता दिनुपर्छ,’ डा. शाक्य भन्छन् । 

सोसल मिडिया, टेलिभिजन वा अन्य ग्याजेटमा लगातार नहेरेर बेलाबेलामा विश्राम लिई मस्तिष्कलाई आराम दिनुपर्छ । 

‘हजारौं खालका सूचनाहरू आउने हुँदा त्यसले मानसिक रूपमा विचलित बनाउन सक्छ । त्यसैले आफूलाई आवश्यक र महत्वपूर्ण जानकारी मात्र हेर्नुपर्छ,’ डा. शाक्य भन्छन् । 

सकारात्मक बनौँ 

व्यक्तिगत, पारिवारिक, सामाजिक, देशको अवस्था जस्तो भएपनि पहिला स्वयं व्यक्ति स्थिर र सकारात्मक रहन जरुरी हुन्छ । डा. अधिकारी भन्छन्, ‘यस्तो बेला मानसिक रूपमा स्थिर रहनु र आशावादी सोच राख्नु अपरिहार्य छ । भोलिको दिन अवश्य फरक र राम्रो हुनेछ भन्ने विश्वासले मनमा सकारात्मक ऊर्जा भर्न मद्दत गर्छ ।’ 

आत्ममूल्याङ्कन गर्दै आत्मबल बढाएर आफ्नो जीवनको महत्त्वबारे मनन गरी आफू, आफ्नो परिवार, समाज र देशलाई प्राथमिकतामा राख्न उनी सुझाउँछन् । 

‘आफू एक्लो छैन भन्ने महसुस गर्दा आत्मबल बलियो हुन्छ । अरू धेरै मानिस पनि यही समस्याबाट गुज्रिरहेका छन् भन्ने कुरा स्मरण गर्नुपर्छ,’ उनी भन्छन् । यस्तै नियमित समयमा पौष्टिक खाना खाने, पर्याप्त पानी पिउने, शरीरलाई आराम दिने गर्नुपर्छ । शारीरिक स्वास्थ्यले मानसिक स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने भएकाले सन्तुलित जीवनशैली अपनाउन डा. शाक्य सुझाउँछन् । 

निरन्तर सूचना र तनावबाट केही समयका लागि ‘ब्रेक’ लिनु पनि जरुरी छ । आफ्ना भावना र मनका कुरा विश्वासिलो व्यक्तिसँग खुलेर व्यक्त गर्नुपर्छ । मानसिक तथा शारीरिक स्वास्थ्यका लागि पर्याप्त मात्रामा सुत्नु अनिवार्य छ ।

यस समयमा आफ्नो नजिकका प्रियजनहरूसँग सम्पर्कमा बस्ने परिवारका सदस्यहरूसँग सँगै बस्ने, कुराकानी गर्ने र भावना बाँड्ने, यदि टाढा भए भर्चुअल माध्यमबाट जोडिएर बस्नाले एक्लो छैन भन्ने भावना जागृत गराई आत्मबल बढाउन सहयोग गर्छ । 

यस्तो बेला तनाव कम गर्ने बहानामा लागु पदार्थ वा मदिरा सेवन गर्ने जोखिम बढी हुनसक्ने भएकाले यस्ता कुराबाट टाढा रहनुपर्ने डा. अधिकारी बताउँछन् । अलि गाह्रो महसुस भएमा अस्पताल गएर मनोचिकित्सकसँग परामर्श लिनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप