शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य मन्त्रालय

ध्वस्त भयो स्वास्थ्य मन्त्रालय, अब कहाँबाट काम गर्ने ?

सामान स्थानान्तरण पनि असम्भव
आइतबार, २९ भदौ २०८२, १८ : २६
आइतबार, २९ भदौ २०८२

सारांश

  • भदौ २४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन आगलागीबाट पूर्ण रूपमा ध्वस्त भयो।
  • आगलागीबाट फर्निचर, कागजपत्र, कम्प्युटर र सवारीसाधन जलेर नष्ट भए, कर्मचारी अन्योलमा परे।
  • तत्कालका लागि मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालन हुने, मन्त्रीका लागि कोठा तयार।

काठमाडौँ । भदौ २४ गते रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पूर्ण रूपमा ध्वस्त भयो ।  

जेनजी आन्दोलन उग्र बनेपछि जलेर खरानी भएको भवन आइतबार बिहान ११ बजे पुग्दा कर्मचारीहरू एकोहोरो नियालिरहेका थिए । स्वास्थ्य मन्त्रालयको भवन अगाडि र पछाडि भरिभराउ कर्मचारीहरू ुअब काम कसरी सुरु गर्ने, के गर्नेु भनिरहेका थिए । 

स्वास्थ्य मन्त्रालयको  भवन चारतले छ । त्यहाँ रहेका फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरभित्र रहेका सवारीसाधन पूर्ण रूपमा जलेर खरानी भएका छन् । पूर्ण रूपमा ध्वस्त भएको भवन परिसरको भुइँभरि सिसाहरू थिए । कर्मचारीहरू आइतबार कार्यालय त उपस्थित भए, तर के गर्ने, कसो गर्नेमा अन्योल थिए । 

health-ministry

मन्त्रालयको भवनमा रहेका सबै कोठाका सरसामान जलेका छन् । भवनका कुनै पनि सामान आगलागीबाट जोगिएका छैनन् । सामानहरू स्थानान्तरण गर्न पनि सम्भव नभएको स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा सुनाउँछन् ।

सिंहदरबारबाहिर रहेको एक मात्र स्वास्थ्य मन्त्रालयमा एकै दिनको आन्दोलनले पूर्ण रूपमा ध्वस्त भयो । स्वास्थ्य मन्त्रालयसँगै रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्९एनएचआरसी० को भवनमा पनि आंशिक क्षति पुगेको छ, तर आगलागीबाट भने जोगिएको छ । त्यहाँका तीन वटा सवारीसाधन भने जलेर नष्ट भएका छन् । 

तत्काललाई परिषद्बाट काम

तत्कालका लागि स्वास्थ्य मन्त्रालय अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट सञ्चालन हुने भएको छ । मन्त्रालयको भवनको पछाडीपट्टि रहेको परिषद्को नयाँ भवनबाट सोमबारदेखि आंशिक रूपमा कार्य सञ्चालन गर्नेगरी मन्त्रालयले तयारी गरेको सचिव देवकोटाले जानकारी दिए । 

health-ministry2

परिषद्को नयाँ भवनको निर्माण कार्य पनि अन्तिम चरणमा छ । साथै सचिव देवकोटाले सिंहदरबारमा ठाउँ पाए मन्त्रालयलाई त्यतै सार्नुपर्ने बताए । 

देशले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाइसकेको छ । मन्त्रिमण्डल विस्तारको तयारी हुँदै छ । स्वास्थ्यमन्त्री नियुक्त भएपछि कार्यकक्षका लागि मन्त्रालयसँग ठाउँसमेत छैन । परिषद्मा मन्त्री बस्ने एउटा कोठा पनि तयार गरिएको सचिव देवकोटाले बताए । 

health-ministry4

‘मन्त्रीका लागि त्यही रहेको एउटा कोठा तयार गरेका छौँ । तत्काललाई  त्यहाँ काम गर्ने, पछि सिंहदरबारभित्र ठाउँका लागि पहल गरिरहेका छौँ,' उनले भने, ‘हामी कर्मचारीहरूले त एउटा हलमा बसेर काम गरौँला । मन्त्रीका लागि त्यहीँ रहेको एउटा कोठा तयार गरेका छौँ ।’

अस्थायी व्यवस्थापनका ठाउँ खोजिरहेका सचिव देवकोटाले भवन नहुँदा मन्त्रालयका काम कारबाहीमा प्रत्यक्ष असर पार्ने बताए ।  क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम भने भइरहेको उनको भनाइ थियो । 
मन्त्रालयले हालसम्म घाइतेको उपचारमा केन्द्रित भएर काम गरिहेको र अस्पताललाई आवश्यक सामग्री दिने र घाइतेहरूको अपडेट लिने काम पनि भइरहेको उनले बताए । 

health-ministry3

मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको पनि उनले सुनाए ।  इमेलमा रहेका कागजपत्रहरूलाई प्रिन्ट गरेर आवश्यकताअनुसार काम गर्ने तयारीमा मन्त्रालय छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप