जेन–जी आन्दोलनले दिएको सन्देश
यही भदौ २३ र २४ गते नेपालमा अत्यन्तै दुःखद् घटना भयो । जीवनको अभिन्न अङ्ग बनेको अभिव्यक्तिको सहज माध्यम सामाजिक सञ्जाललाई सरकारले बन्द गरेपछि त्यसको विरोधमा र भ्रष्टाचारको विरोधमा नयाँ पुस्ता (जेन–जी, सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्ता) सडकमा उत्रियो । पहिलो दिन प्रहरीले दमन गर्दा सडकमै १९ जनाले ज्यान गुमाउनुपर्यो । २४ भदौमा दमनको विरोधमा उठेको आन्दोलनले सरकार नै ढाल्यो । यस आन्दोलनका क्रममा ७३ जनाले ज्यान गुमाए भने सयौँ घाइते छन् । सार्वजनिक र निजी सम्पत्तिको क्षति पनि निकै भयो ।
नेपालीको महान् चाड विजयादशमीको सँघारमा घटेको यो अत्यन्तै दुःखद, मर्मस्पर्शी, हृदयविदारक, पीडादायी घटनाले सबै नेपालीको मन छियाछिया भएको छ ।
आन्दोलनरत युवाले न कुनै पद मागेका थिए, न कुर्सी र सत्ता नै । उनीहरूका माग यिनै थिए— सामाजिक सञ्जालमाथि प्रतिबन्ध हटोस्; चरम भ्रष्टाचारको अन्त्य होस्; न्याय, शान्ति, समानता, सुशासन कायम होस् । के यी माग गलत थिए ? यी उनीहरूका मात्र माग थिएनन् । ६ शताब्दी अगाडिदेखि न्यायप्रेमी नेपाली जनताले विभिन्न समयमा आन्दोलनमार्फत राख्दै आएका माग थिए । यसैका लागि नेपाली आमाका होनहार कलिला छोराछोरीको ज्यान लिन जरुरी थिएन, यो राज्यको अकर्मण्यता थियो ।
यो अवस्था नेपालमा आउनेवाला नै थियो, किनकि ६ दशक लामो बलिदानी आन्दोलन र सङ्घर्षका बाबजुद पनि जनताले गाँस–बास–कपास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत आवश्यकताका लागि सदैव तड्पिरहनुपरेको अवस्था विद्यमान छ । विगतमा भएका चाहे २००७ सालको होस्, चाहे ०१७ सालको होस्, चाहे ०४६ सालको होस्, चाहे ०६२/६३ को होस् वा माओवादीको १० वर्षे जनयुद्ध होस्— यी सबै न्याय, समानता र स्वतन्त्रताका लागि लडिएका आन्दोलनमा हजारौँ नेपालीले सहादत प्राप्त गरे । हजारौँ अङ्गभङ्ग भए । हजारौँलाई बेपत्ता पारियो । हजारौँ आमाका काख रित्तिए । हजारौँ चेलीका सिन्दुर पुछिए । हजारौँ बालबच्चा टुहुरा भए । हजारौँका आशाका दियो निभे ।
हजारौँ नेपाल आमाका छोराछोरीलाई सहिद बनाएर कुर्सी, पद, पैसा, सत्ता प्राप्त गर्नेले अर्बौं–खर्बौं मूल्य पर्ने गगनचुम्बी महल जोडे । उनीहरु करोेडौँको चिल्ला गाडीका मालिक बने भने अर्कातिर सहिदका परिवार सधैँ अभाव र गरिबीमा तड्पिरहे । भर्याङ बनेर कुर्सीमा पुर्याउने जो बाँचेका थिए, उनीहरू कतार, साउदीजस्ता अरबका खाडीको चर्को घाममा पसिना बगाइरहेछन् । कैयौँले जेलका कालकोठरीमा क्रूर यातना भोगिरहेका छन् । कैयौँ लास बनेर बाकसमा आइरहेका छन् । त्यसैगरी रोजगारीका लागि बिदेसिएका कैयौँ चेलीबेटी चरम यौन शोषणको सिकार भएर नारकीय जीवन बिताइरहेका छन् । कैयौँ चेलीले जेलमा निर्मम यातना भोगिरहेका छन्, जीवनको भिख मागिरहेका छन् ।
आन्दोलनरत युवाले न कुनै पद मागेका थिए, न कुर्सी र सत्ता नै । उनीहरूका माग यिनै थिए— सामाजिक सञ्जालमाथि प्रतिबन्ध हटोस्; चरम भ्रष्टाचारको अन्त्य होस्; न्याय, शान्ति, समानता, सुशासन कायम होस् । के यी माग गलत थिए ?
यो अवस्थामा कसले ल्यायो ? तिनै आन्दोलनमा होमिएका न्यायप्रेमी जनतालाई बलिको बोको बनाएर कुर्सीमा पदासीन नेताले होइन ? मन्त्री, प्रधानमन्त्री, सभासद् भएका नेताले होइन न्याय, समानता, स्वतन्त्रता, सुशासनका मिठा सपना देखाएर जनताको रगतमा होली खेली जनताकै सपनामाथि कुठाराघात गर्ने ?
स्विटजरल्यान्ड बन्न सक्ने स्रोत–साधनको अत्यन्तै धनी हाम्रो देश आज सबैभन्दा गरिब देशको कोटीमा दर्ज हुन पुगेको छ । देश चलाउने, देश हाँक्ने नेताले कहिले पनि यो देश र जनतालाई सुखी र समृद्ध बनाउन चाहेनन् । केवल आफू अकुत सम्पत्तिको मालिक बन्न खोजे । असीमित प्राकृतिक स्रोत–साधनको सदुपयोग गरी देशमा उद्योगधन्दा स्थापना गर्न सकिन्छ; रोजगारी सिर्जना गर्न सकिन्छ; यसको गर्नुको सट्टा सबै सिर्जनशील युवायुवतीलाई विदेश पठाएर उनीहरूको कमाइबाट आएको रेमिटेन्सबाट देश चलाउन उद्यत भए । बिदेसिनु कति कठिन छ, उनीहरूलाई के थाहा ! अन्तर्राष्ट्रिय विमानस्थलमा गएर हेरेपछि थाहा हुन्छ । बिदेसिनेको आँखामा आँसु, पठाउने आफन्तको आँखामा आँसु, चाहे अमेरिकी मुलुकमा जाने होस्, चाहे युरोपियन मुलुकमा जाने होस्, चाहे अस्ट्रेलिया जाने होस् वा खाडी मुलुकमा जाने होउन्, सबैका आँखामा आँसु टिल्पिलाइरहेको हुन्छ । यसबाट के पुष्टि हुन्छ भने जो–कोही युवायुवती खुसीले, रहरले बिदेसिएका छैनन् । बाबु आमाले खुसीले पठाएका छैनन् । बिदेसिनु बाध्यता भएको छ । विदेश पठाउनु रहर होइन बाध्यता भएको छ । यो अवस्थाको अन्त्य कहिल्यै हुन सकेन— देशमा जतिपटक, जति ठुलो परिवर्तन किन नहोस् ।
परिणामतः देश हाँक्ने, राज्य सञ्चालन गर्नेहरूप्रति आम युवायुवतीको वितृष्णा पैदा हुन थाल्यो; आक्रोश बढ्न थाल्यो । नेताहरूलाई नेपाली जनताले पटकपटक सच्चिने मौका दिएका थिए । उनीहरू कहिल्यै सच्चिन चाहेनन्; पद, कुर्सी, सत्ता सधैँभरि आफ्नै बाउको पेवा ठाने । सच्चिनु त परै जाओस्, उल्टै अकुत कमाउने चाहनामा भ्रष्टाचारमा मुछिन थाले । केवल आफू बन्नेतिर; आफन्त, नातागोता बनाउनतिर नेताहरूको ध्यान जान थाल्यो । देश र जनता भाँडमा जाओस् मतलब रहेन । परिणामस्वरूप अहिलेको घटनाले जन्म लियो । भयावह स्थितिको सिर्जना भयो । उनीहरूले नसोचेको भयो ।
सहनुको पनि सीमा हुन्छ, सीमा नाघेपछि विस्फोट हुन्छ । यतिवेला विस्फोट भएको छ— नेताले बुद्धि नपुर्याएका कारण, नसच्चिएका कारण । उनीहरूको घमण्ड, अहंपनका कारण देशले ठुलो क्षति बेहोर्नुपरेको छ । धनजनको ठुलो क्षति भएको छ । थुप्रै सांस्कृतिक, धार्मिक, पुरातात्त्विक सम्पदा पृथ्वीको गर्भमा विलीन हुन पुगेका छन् । यो वा त्यो जुनसुकै मानेमा भए पनि सम्पदाको नष्ट नहुनुपर्ने थियो, भयो । यो नेपालको दुर्भाग्य हो । सबैलाई चाहिने देशका पहिचान नमास्दा उत्तम हुने थियो । अब त्यसको पुनर्निर्माण गर्न अर्बौं बजेट लाग्नेछ । विकास बजेटको कटौती हुनेछ । मारमा जनता पने छन्, यसको जिम्मेवार को हुने ?
फेरि पनि देश हाम्रो हो । हजारौँ सहिदहरूको रक्तरञ्जित बलिदानबाट संरक्षित यो देशलाई बचाइराख्ने जिम्मा, अभिभारा, दायित्व हामी नेपालीकै काँधमा छ । भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवरजस्ता वीर योद्धाले बचाएर राखेको यो देश हामीले बचाए मात्र बच्न सक्छ । देश रहे हामी रहन्छौँ, तसर्थ यसलाई बचाउने, फलाउने–फुलाउने जिम्मा हाम्रै भएकाले सबैले संयमित भई यो देशलाई नयाँ शिराबाट व्यवस्थित गरौँ । सबैको भलो होस् । सबैको जय होस् । सुन्दर, शान्त, विशाल नेपाल कायम रहिरहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण