शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वीरेन्द्रनगरका वडा कार्यालयहरू ध्वस्त, कसरी भइरहेको छ सेवा प्रवाह ?

आइतबार, ०५ असोज २०८२, १५ : ३१
आइतबार, ०५ असोज २०८२

सुर्खेत । भदौ २४ गतेको आन्दोलनका क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भएको तोडफोड र आगजनीले व्यापक भौतिक र आर्थिक क्षति पुर्‍याएको छ ।

नगरपालिकाकै भवनमा पनि तोडफोड हुनुका साथै महत्त्वपूर्ण शाखामा आगजनी गरिएको थियो । यस्तै, नगरपालिकाका २, ३, ४, ५, ६, १० र ११ गरी ७ वटा वडा कार्यालयहरू पूर्ण रूपमा जलेर ध्वस्त भएका छन् । त्यहाँ अहिले सरसफाइबाहेक गर्ने कामबाहेक अरू कुनै पनि सेवा प्रवाह हुन सक्ने अवस्था छैन । 

नगरप्रमुख मोहनमाया ढकालका अनुसार यी कार्यालयहरूमा कुनै पनि अभिलेखहरू सुरक्षित छैनन्, सबै जलेर खरानी भएका छन् । यस्तै वडा कार्यालय १, ७, ८, ९ र १२ मा आंशिक क्षति पुगेको छ । आंशिक क्षति पुगे पनि त्यहाँबाट सेवा दिन सक्ने अवस्था भने छैन । 

नगरप्रमुख मोहनमाया ढकाल वडा कार्यालयहरूको अवस्था निकै दयनीय रहेको बताउँछिन् । 

‘प्रत्येक वडामा धेरै क्षति भयो, वडा कार्यालयहरू संरचनागत रूपमा पूरै ध्वस्त भएका छन्, कागजातहरू, त्यहाँभित्रका सामग्रीहरू, कोठाहरू सबै ध्वस्त भएको छ,’ उनले रातोपाटीसँग भनिन्, ‘क्षति भएका संरचनाहरूलाई मर्मतसम्भार गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ वा सकिँदैन भन्ने विषयमा इन्जिनियरिङ टोलीले यकिन विवरण निकाल्दै छ ।’

नगरपालिकाको अवस्थामा पनि केही पूर्वाधार र केही नक्सासाहरूमा क्षति पुगेको छ । महत्त्वपूर्ण शाखा; जस्तोः नक्सा शाखा, पूर्वाधार शाखा लगायतमा आगजनी र तोडफोड पनि भएको उनले बताइन् । यद्यपि, प्रहरी र नगरपालिकाको संयुक्त प्रयासमा महत्त्वपूर्ण डकुमेन्टहरू बचाउन भने सफल भएको उनको भनाइ छ । 

आन्दोलनले पुर्‍याएको क्षतिका बाबजुद नगरपालिकाले आइतबारदेखि सेवा प्रवाह सुरु गरेको छ । समग्रमा करिब १० करोड बराबरको क्षति भएको आकलन नगरपालिकाले गरेको छ । 

कसरी हुँदै छ सेवा प्रवाह ?

वडा कार्यालयहरू पूर्ण रूपमा ध्वस्त भएपछि त्यहाँबाट प्रवाह हुने सेवा अब नगरपालिकाबाटै प्रदान गरिने छ । आइतबारदेखि सम्पूर्ण वडाका कर्मचारीहरूले नगरपालिकामै बसेर सेवा सुचारु गरेका छन् ।
‘जनतालाई सेवाबाट वञ्चित गर्न मिल्दैन,’ नगरप्रमुख ढकालले भनिन्, ‘सेवालाई राम्रो र व्यवस्थित नै गर्नुपर्छ भनेर हामी आजैबाट सेवा सुरु गरिसक्यौँ ।’ 

वडा कार्यालयहरूमा भएको क्षतिका कारण वडा नम्बर १ देखि १२ सम्मका सबै सेवा हाललाई नगरपालिकाको मूल भवनबाटै सञ्चालन गरिएको उनले जानकारी दिइन् । त्यसका लागि नगरपालिका र जिल्ला समन्वय समितिका केही कोठाहरू भाडामा लिएर व्यवस्थापन गरिएको छ ।

आन्दोलनले पूर्वाधार र नक्सालगायत महत्त्वपूर्ण अभिलेखहरूमा पनि क्षति पुगेको र यसको विस्तृत अध्ययन र मर्मतसम्भारका लागि तत्काल कदम चालिने उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप