१२ बजे १२ समाचारः प्राधिकरणबाट हटाइए हितेन्द्रदेव, ९ सदस्यीय मन्त्रिपरिषद् विस्तार
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गरिन्, जसमा ५ जना नयाँ मन्त्री नियुक्त भए।
- सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्यो।
- जेनजी आन्दोलनका क्रममा कांग्रेसका ३६ नेताको घर जलाइएको र सरकारले घटनाको अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. मन्त्रिपरिषद् विस्तार
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गरेकी छन् । आइतबार पाँच जना मन्त्री नियुक्त भएका हुन् । योसँगै मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।
२. हितेन्द्रदेवलाई हटाएर मनोजलाई प्राधिकरणको जिम्मेवारी
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जिम्मेवारीबाट हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
३. प्रचण्डले अघि सारे पार्टी पुनर्गठनसहितका ४ प्रस्ताव
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठनसहितका ४ प्रस्ताव अघि सारेका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनले आफ्नो प्रस्ताव राखेका हुन् ।
४. जेनजी आन्दोलनः कांग्रेसका ३६ नेताको घर जल्यो
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ३६ केन्द्रीय नेताको घर आन्दोलनकारीले जलाइदिएका छन् । कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार क्षतिको तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
५. पुस्तान्तरणमा दलहरूको अलमल
प्रमुख राजनीतिक दलहरू नेतृत्व पुस्तान्तरण वा परिवर्तनको सवालमा अझै अलमल गरिरहेका देखिन्छन् । जेनजी आन्दोलनले मुलुकमा उथलपुथल ल्याए पनि दलहरू पूर्ववत् अवस्थामै अगाडि बढ्ने तयारीमा देखिन्छन् ।
६. गुप्तचर प्रमुखमा कार्की
राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।
७. जेनजी आन्दोलनबारे अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन
सरकारले जेनजी आन्दोलनबारे अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषदको बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको हो ।
८. मधेसमा सत्ता संकट: जनमतको दबाब, गठबन्धन दलहरूको अनौठो खेल
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनमत पार्टीले सोधेको स्पष्टीकरणको जवाफ केन्द्रीय कार्यालयमा पठाएका छन् ।
पार्टीको मधेस प्रदेश कमिटीले मुख्यमन्त्री सिंहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस केन्द्रीय कार्यालयमा पठाएको थियो । पार्टीले दुई दिनभित्र जवाफसहित स्पष्टीकरण मागेको थियो । पार्टीका मधेस प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवका अनुसार मुख्यमन्त्री सिंहले आइतबार पार्टी केन्द्रीय कार्यालयमा स्पष्टीकरणको जवाफ पठाएका जानकारी दिए ।
९. प्रधानमन्त्रीका रूपमा कार्कीको १० दिन, के–के भयो काम ?
जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार बिस्थापित भएसँगै प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले कार्यभार सम्हालेको १० दिन बितेको छ । यो बिचमा सरकारले के–के गर्यो भन्नेबारे रातोपाटीले विवरण तयार पारेको छ ।
१०. ओली र लेखकलाई कारबाही गर्न माग
मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ । जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी जिम्मेवार नेताहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने समाजको भनाइ छ ।
११. दसैँ व्यापार:
हिन्दु धर्मावलम्बीको मुख्य पर्व दसैँ भोलिदेखि सुरु हुँदैछ । नवरात्रिको पहिलो दिन सोमबार घटस्थापना हो । घटस्थापनाको दिनदेखि विधिवत् रूपमा दसैँ भित्रिएको मानिन्छ ।
दसैँलाई कतिपयले नयाँ र राम्रा लुगा लगाउने, मिठो खाने पर्वका रूपमा पनि लिन्छन् । त्यसैले दसैँका लागि किनमेल गर्नेहरूको घुइँचो बजारमा हुने गर्दछ । व्यापारी–व्यवसायीहरूले पनि दसैँलाई कारोबारको मुख्य सिजन मानेर सामान मगाउने र विक्री गर्ने गर्दछन् ।
१२. कारागारबाट फरार कैदीले गरे पत्नीको हत्या
नक्खु कारागारबाट भागेका एक कैदीले पत्नीको हत्या गरेका छन् । जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते भागेर पनौती नगरापलिका–१२ कलाँतीस्थित घर आइपुगेका सन्तबहादुर तामाङले पत्नीको हत्या गरेका त्यहाँका वडाध्यक्ष जयराम केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण