सामूहिक राजीनामाको मागसहित नारायणकाजीलाई कार्यवाहक नेतृत्व दिन जनार्दन शर्माको प्रस्ताव
सारांश
- माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीको महाधिवेशनसम्म वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई नेतृत्व दिन प्रस्ताव गरेका छन्।
- शर्माले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणबारे दस्तावेज पेश गर्दै नयाँ पुस्ताको नेतृत्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
- शर्माको प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था, भ्रष्टाचारमुक्त पार्टी बनाउन स्वतन्त्र छानबिन आयोग गठनजस्ता विषय समावेश छन्।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले महाधिवेशनसम्म पार्टीको संयोजन गर्ने कार्यवाहक नेतृत्व वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई दिनुपर्ने प्रस्ताव गरेका छन् । यस्तै उनले त्यसअघि सबै नेताहरुले सामूहिक राजीनामा दिनुपर्ने पनि माग गरेका छन् ।
आइतबार पार्टी कार्यालयमा बसेको जेनजी विद्रोहपछिको पहिलो पदाधिकारी बैठकमा शर्माले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणबारे व्यापक दस्तावेज पेस गर्दै नयाँ पुस्ताको नेतृत्व सुनिश्चित गर्न अबको बाटो तय गर्नुपर्नेमा जोड दिएका हुन् ।
शर्माको प्रस्ताव उदृत गर्दै एक नेताले भने, 'जेनजी आन्दोलनले भ्रष्ट राजनीति, नेतातन्त्र, दलाली तन्त्र र कमिसन तन्त्रलाई मात्रै होइन, परिवारवाद र वैभवशाली जीवनशैलीको संस्कृतिलाई पनि कठोर प्रहार गरेको छ। यसमा हामी स्वयं जिम्मेवार छौं, आत्मआलोचना र जनतामाझ पश्चाताप गर्नुपर्छ ।'
उनले आन्दोलनलाई समस्या मात्रै नभई समाधानको बाटो खोल्ने अवसरका रूपमा लिनुपर्ने धारणा राख्दै पार्टीको सोच, व्यवहार, नीति, संरचना र नेतृत्व प्रणाली आमूल परिवर्तन नगरी अघि बढ्न नसक्ने औंल्याए।
बैठकमा प्रस्तुत शर्माको प्रस्तावमा संविधान मुर्छित, संसद् विघटन, राष्ट्रियता र सार्वभौमिकतामाथि खतरासहित वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर मूल्यांकन गरिएको छ। उनले निर्वाचन सम्पन्न गर्न मद्दत गर्ने, विगतका भ्रष्टाचार र घटनाबारे छानबिन आयोग गठन गर्नुपर्ने मागसमेत राखेका छन् ।
शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पदाधिकारीले राजीनामा दिँदै महाधिवेशनसम्म कार्यभार नारायणकाजीलाई दिनुपर्ने र त्यसपछि नयाँ पुस्ताको नेतृत्वलाई सुनिश्चित गर्ने प्रस्ताव पेस गरेका हुन् ।
उनको प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, महिला, दलित, अल्पसंख्यक र उत्पीडित समुदायको नेतृत्व विकास, सहिद परिवार र अपाङ्ग योद्धाको व्यवस्थापन, पुनर्निर्माणमा स्वयंसेवक परिचालन र भ्रष्टाचारमुक्त पार्टी बनाउन स्वतन्त्र छानबिन आयोग गठनजस्ता विषय समावेश छन् ।
शर्माले निष्कर्षमा भनेका छन्, 'अब पार्टीलाई चौथो पुनर्गठन जरुरी छ । वामपन्थी जनमत, उत्पीडित समुदाय, बौद्धिक वर्ग र प्रविधिमा अब्बल नयाँ पुस्तालाई आधार बनाएर कम्युनिस्ट आन्दोलनलाई नयाँ ढाँचामा अगाडि बढाउनुपर्छ ।'
बैठकमा अन्य पदाधिकारीहरूले पनि शर्माको प्रस्तावमाथि छलफल सुरु गरेका छन् । जसमा धेरैजसो नेताहरूले जेनजी आन्दोलनको मर्मअनुसार अघि बढ्नुपर्नेमा जोड दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण