बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

बहुदलदेखि जेनजीसम्म नेपाली राजनीतिको प्रवृत्ति

मङ्गलबार, ०७ असोज २०८२, १३ : ३४
मङ्गलबार, ०७ असोज २०८२

पञ्चायती निरंकुशता र त्यसको अन्त्य गर्न २०४६ सालको जनआन्दोलन ऐतिहासिक रह्यो । सडकमा उत्रिएका राजनीतिक दल, विद्यार्थी, मजदुर, किसान, कर्मचारी, बुद्धिजीवी र सर्वसाधारणको बलिदानबाट बहुदलीय व्यवस्था पुनर्स्थापित भयो । 

जनताको मनमा ठुला सपना थिए- ‘स्वतन्त्रता र समानताको आधारमा नयाँ नेपाल बन्नेछ ।

भ्रष्टाचार, अन्याय, बेथिति र असमानता अन्त्य हुनेछ । गाउँगाउँमा नि:शुल्क शिक्षा, नि:शुल्क स्वास्थ्य, हरेक घरमा रोजगारी र विकास पुग्नेछ ।‘

तर आन्दोलनको सफलतापछि बनेका सरकारले जनताका इच्छा-आकांक्षा विपरीत आफूखुसी जनतामाथि उल्टो शासन लाद्न सुरु गरे । नेताहरूले जनतालाई बिर्सन थाले । आन्दोलनमा रक्तपात गर्ने, जेल जाने, कुटाइ खाने जनता सडकमै छोडिए, नेताहरू भने सत्ता र सुविधाको भागबण्डामा व्यस्त भए ।

बहुदलको लाचारीपन,  सत्तामोह र असफलताका कारण २०४६ सालपछि दलहरूले मुलुकलाई सही बाटोमा लैजान सकेनन् । लगातारको सरकारको अस्थिरता, नेताहरूबिचको किचलो, व्यक्तिगत स्वार्थ र भ्रष्टाचारले जनता निराश हुन थाले ।

जनजीविका, सुशासन, समानता, रोजगारी र विकासका सवालमा उनीहरू असफल भए । यी सबै कारणले नयाँ विकल्पको खोजीमा जनता भौतारिएकै हुन् । पुराना दलहरु कहिल्यै सुध्रिँदैनन् भन्ने निष्कर्ष निकालेका छन् । जनता नयाँ सोच भएका र इमान्दार राजनीतिज्ञ खोज्न थालेका छन् । 

विकासका काम अघि बढेनन् । भ्रष्टाचार र घोटालाले राजनीति दुर्गन्धित भयो । समाजमा धनी–गरिब, सहर–गाउँबीचको असमानता बढ्दै गयो । यही असन्तुष्टि र असमानताबाट २०५२ सालमा प्रचण्डको नेतृत्वमा माओवादी जनयुद्ध सुरु भयो । जनयुद्धले १० वर्षभित्र देशमा हलचल मात्र ल्याएन, नेपाली जनमानसमा नयाँ नेपालको सपना पनि दियो । 

जनयुद्धमा हजारौँले ज्यान गुमाए, लाखौँ विस्थापित भए । माओवादीले नेपाली जनतामा नयाँ सपना, नयाँ विचार, नयाँ कार्यक्रम दिएको थियो । पुस्तौँदेखि राज गरेर बसेको एकात्मक राजतन्त्र अन्त्य हुन्छ । संघीयतासहितको गणतन्त्र नेपाल बन्छ । शोषण, दमन असमानता र अन्याय अन्त्य हुन्छ । जातीय विभदको अन्त्य हुन्छ भन्ने जनतामा आशा थियो । जनयुद्धले उत्कर्ष रुप लिँदै थियो । 

फलस्वरुप, तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीको नेतृत्वमा भएको २०६२/६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गर्‍यो ।  
२०७२ मा जारी भएको संविधानले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्‍यो । 

संविधान जारी भएपछि पक्कै नयाँ नेपाल बन्ला भन्ने विश्वासमा रहेका जनतामाथि सत्ताको जोडघटाउमा लागेका दलहरुले घात गरे । मिलिजुली सरकार अनि घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै तीन जना नेता प्रधानमन्त्री बनिरहने चक्र चल्यो । मन्त्री पनि आफ्नै नजिकका पटक-पटक टेस्टेडहरुलाई नै बनाइयो । 

सुधार ल्याउने कुरा छाडौँ, नैतिकहीन बनेर देशलाई कंगाल बनाउने खेलमा लिप्त भए । फलस्वरुप भ्रष्टाचारका ठुला-ठुला घोटाला सार्वजनिक भए, जनताबिच उदाङ्गो भए । विकासका नाममा टुक्रे योजना बन्न छाडेनन् । जनताका आधारभूत समस्यालाई ख्याल गरिएन, उपभोक्ता समितिको नाममा भ्रष्टाचार थप मौलायो ।

नेताहरु चुनावका बेला मात्रै गाउँगाउँ धाउने तर जितेपछि जनतालाई बिर्सिने प्रवृत्ति बढ्यो ।

शिक्षा, स्वास्थ्यमा तीव्र निजीकरण, रोजगारीको अभाव, खानेपानी, सडकको अवस्था बेहाल,  देशमा बढ्दो भ्रष्टाचार सबै कुराले जनतामा चरम निराशा ल्यायो । त्यो आक्रोशले कहिले विस्फोटको रुप लिन्छ भन्ने मात्रै प्रतीक्षा थियो । 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जनता यही आक्रोश विस्फोट भएको हो । सरकारको अकर्मण्यताका कारण भदौ २३ गते थुप्रै युवाले आन्दोलनमा गोली लागेर ज्यान गुमाउनुपर्‍यो । त्यसको प्रतिक्रिया स्वरुप भोलिपल्ट आन्दोलन उग्र बन्न जाँदा सार्वजनिक र निजी सम्पत्तिमा ठुलो क्षति भयो ।  

जेनजी आन्दोलनले कसैलाई स्थापित गर्‍यो भने कसैलाई विस्थापित । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । यो सरकारलाई फागुन २१ मा चुनाव गराउनुपर्ने मुख्य म्यान्डेट छ ।

२०४६ सालदेखि आजसम्मको यात्रा हेर्दा नेपालका राजनीतिक दलहरुले केही उपलब्धि त हासिल गरेका छन्, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संविधानको घोषणा । 

तर जनजीविका, सुशासन, समानता, रोजगारी र विकासका सवालमा उनीहरू असफल भए । यी सबै कारणले नयाँ विकल्पको खोजीमा जनता भौतारिएकै हुन् । पुराना दलहरु कहिल्यै सुध्रिँदैनन् भन्ने निष्कर्ष निकालेका छन् । जनता नयाँ सोच भएका र इमान्दार राजनीतिज्ञ खोज्न थालेका छन् । 

अब साँच्चै जनता र देशका लागि काम गर्ने हुटहुटी भएको नेता र पार्टी चिन्न आवश्यक छ । २०७९ सालको चुनावबाट वैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सभापतिमाथिका मुद्दा मामिला लगायत विभिन्न कारणले असफलताको बाटोतर्फ गएको देखिन्छ । संक्रमणकालीन अवस्थामा मुलुकलाई देशी-विदेशी शक्तिको क्रीडास्थल बनाउनबाट बचाउनु अहिलेको मुख्य आवश्यकता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नारायण बिक्रम चन्द
नारायण बिक्रम चन्द
लेखकबाट थप