प्रहरीद्वारा कारागारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी
सारांश
- प्रहरीले 'जेनजी' आन्दोलनको क्रममा भागेका कैदीबन्दीको उच्च निगरानी गरिरहेको छ।
- फरार कैदीबन्दीमध्ये केही आपराधिक मानसिकताका व्यक्तिहरू गाउँमा बदला लिन सक्ने भएकाले प्रहरी चनाखो छ।
- प्रहरीले फरार कैदीबन्दीबारे सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।
काठमाडौँ । प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिमा रहेका कारागारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ ।
‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र छ हजार अझै फरार रहेकाले दसैँ, तिहार, छठलगायतका चाडपर्वको समयमा सुरक्षाका मामलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनले भने, “भागेका कैदीहरूमा कोही चोरडाकाहरू पनि छन् । कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भावना लिन सक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौँ । सुरक्षाका मामलामा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ ।”
त्यसैगरी प्रवक्ता घिमिरेले गाउँमा बदलाको भावना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएको र उनीहरूले सम्भावित घटना घटाउन सक्ने भएकाले त्यसतर्फ प्रहरी सचेत रहेको बताए ।
उनले भने, “भागेकामध्येबाट पनि केही कैदीहरू सम्बन्धित जिल्लाका प्रहरीको सम्पर्कमा रहेका र केही हाम्रो सम्पर्कमा रहेका छन् । जो आपराधिक मानसिकताका छन्, उनीहरूले गाउँमा बदलाको भावना लिन सक्ने भएकाले प्रहरी निकै चनाखो अवस्थामा रहेको छ ।”
भागेका कैदीबन्दीहरूको खोजी अभियान जारी रहेकाले कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिनसमेत उनले आग्रह गरे । भागेका कैदीबन्दीको प्रहरीले उच्च निगरानी राखेकाले उनीहरू गलत गतिविधिमा संलग्न भएमा जुनसुकै समयमा पनि पक्राउ पर्ने घिमिरेले बताए ।
उता कारागार व्यवस्थापन विभागले ‘जेनजी’ युवाहरूको प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कने आग्रह गरेको छ । भागेका कतिपय कैदीबन्दीलाई भारत भाग्न लागिरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेर फिर्ता गरेका छन् भने कतिपय नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका तथा कतिपय कैदीहरू आफैँ फिर्ता भएर कारागार आएका प्रवक्ता घिमिरेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण