आशिका तामाङको सेवाभाव : ए कान्छा ! बाबु ! कस्तो छ ?
यतिबेला सामाजिक सञ्जालमा सामाजिक अभियन्ता आशिका तामाङको निकै चर्चा चलेको छ । ‘ए कान्छा ! ए बाबु ! तिमीलाई कस्तो छ ? के खाँचो छ ?’ भन्दै अस्पतालमा जेन–जी आन्दोलनका घाइतेलाई भेटी राहत स्वरूप आवश्यक सामग्री लत्ता–कपडा, खानेकुरा र रकम समेत उपलब्ध गराएर आशिका तामाङले वास्तवमै महान् पुण्यको कर्म गरिरहेकी छन् ।
एक कल फोन गरेको भरमा वा सामाजिक सञ्जालमार्फत जानकारी पाएको भरमा घाइतेहरुलाई सरसामानसहित २० हजारदेखि एक लाख रुपैयाँसम्म उपलब्ध गराउनु चानचुने कुरा होइन । एउटा महिला अगुवा भएर सबैसँग हार–गुहार गर्दै त्यति धेरै जिन्सी र नगद सङ्कलन गर्नु पक्कै पनि सहज काम थिएन । यो उनीभित्र रहेको अब्बल सामाजिक सेवाभावको परिणाम हो । यहाँ थुप्रै च्याउझैँ उम्रिएका सङ्घ–संस्था नभएका होइनन् । खोइ त उनीहरूले यो पहल, हिम्मत गर्ने आँट गरेका ? के यो आशिका तामाङको मात्र जिम्मेवारी हो ? अरूको चासोको विषय किन बन्न सकेन त ?
आशिका तामाङले चाहेको भए घाइतेको फोन नउठाउन पनि सक्थिन्, बेवास्ता गर्न पनि सक्थिन्, तर उनले त्यसो गरिनन् । आफूप्रति रहेको घाइतेहरूको विश्वास, भरोसा, आशालाई उनले गुम्न दिइनन्; मर्न दिइनन् । यो उनको महानता थियो, मानवता थियो ।
घाइतेले आशा र भरोसा गर्ने भए अरूसँग पनि गर्ने थिए होला, तर गरेनन् । किनकि अरूप्रति उनीहरूको विश्वास थिएन । सायद विगतका सामाजिक कार्य देखेर पनि होला, उनीप्रति घाइतेहरूको विश्वास जागेको । कहिल्यै नदेखेका र चिनजानै नभएका घाइते बिरामीलाई अस्पतालमा गएर उनले आफ्नै सहोदर भाइ–बहिनीहरूलाई जसरी माया र प्रेम भावले ‘कान्छा, कान्छी’ भनेर सम्बोधन गरिन् । उनको यस्तो कार्यले बिरामीलाई राहत र आफ्नोपनको महसुस भएको थियो । उनलाई अगाडि देख्दा कति बिरामी र बिरामीका परिवार भावुक हुन पुगेका थिए । उनलाई छाँद हालेर रोइरहेका थिए । उनले घाइते बिरामीलाई अस्पतालमा गएर दसैँको टीका लगाइदिनसम्म भ्याएकी थिइन् । यो उनको बिरामीप्रतिको अगाध माया, स्नेह र दयाभाव थियो ।
अर्को कुरा उनले राज्यको अस्तव्यस्तता, अकर्मण्यता, बेथिति, विसङ्गति, विकृतिका विरुद्धमा सामाजिक अभियन्ताको रूपमा आवाज उठाउँदै आइरहेकी थिइन्; यसमा कडै खालका कदम समेत चालिरहेकी थिइन् । उनी देशको यो अवस्थाको अन्त्य चाहन्छिन् वा देशको परिवर्तन चाहन्छिन् । त्यसैले पनि उनले देशमा व्याप्त चरम भ्रष्टाचारको अन्त्य, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने र देशमा शान्ति, सुशासन कायम हुनुपर्ने माग राखी सडकमा उत्रिएका जेन–जी पुस्ताको आन्दोलनलाई समर्थन गर्दै आन्दोलनकै दौरानमा पनि आन्दोलनकारीलाई पानी पिलाउने, घाइतेलाई अस्पतालमा पुर्याउनेजस्ता कार्य गरेकी थिइन् । उनको मानवीय, प्रशंसनीय सामाजिक कार्यप्रति सबैले खुला दिलले धन्यवाद दिनैपर्छ ।
बेथिति, अस्तव्यस्तता, विकृति, विसङ्गति विरुद्धका आशिकाका क्रियाकलापलाई नजिकबाट नियालिरहेको यो लेखकलाई सुरुमा लागिरहेको थियो कि उनले आफ्ना सही कदमलाई आक्रामक शैलीमा नभई अलि नरम वा कूटनीतिक शैलीबाट चाल्दा सुनमा सुगन्ध हुने थियो । उनले चालेका कदम गलत थिएनन् । संस्कारहीन बन्दै गइरहेको समाजलाई सुसंस्कृत बनाउने कदम थिए ती; अस्तव्यस्त भइरहेको, मनलागीतन्त्र चलिरहेको अवस्थालाई व्यवस्थित बनाउने कदम थियो । उनले राज्यले गर्नुपर्ने काम गरेकी थिइन्, जुन स्वागतयोग्य थियो । अति आवश्यक कदम थिए ती तर शैली फरक हुनुपर्थ्यो भन्ने हो । हुन त हामी यति थेत्तरो र अटेरी भइसकेका छौँ कि नरम पाराले, सानो स्वरले, सभ्य किसिमले भनेको वा सम्झाएको टेर्दै टेर्दैनौँ; मान्दै मान्दैनौँ ।
कहिल्यै नदेखेका र चिनजानै नभएका घाइते बिरामीलाई अस्पतालमा गएर उनले आफ्नै सहोदर भाइ–बहिनीहरूलाई जसरी माया र प्रेम भावले ‘कान्छा, कान्छी’ भनेर सम्बोधन गरिन् । उनको यस्तो कार्यले बिरामीलाई राहत र आफ्नोपनको महसुस भएको थियो ।
एउटा उखान छ, ‘लातको भूत बातले मान्दैन ।’ हो, वास्तवमै हामी त्यस्तै भइसकेका छौँ । कुन काम गर्न हुन्छ र कुन काम गर्न हुँदैन भन्ने हामीलाई थाहा छ तर पनि गरिरहेका हुन्छौँ । हामीलाई थाहा छ, जहाँ पायो त्यहीँ दिसा–पिसाब गर्न हुँदैन भन्ने तर पनि गरिरहेका हुन्छौँ । हामीलाई थाहा छ, जहाँ पायो त्यहीँ फोहोर फाल्न हुँदैन भन्ने तर पनि फालिरहेका हुन्छौँ । हामीलाई थाहा छ, जहाँ पायो त्यहीँ कुकुरलाई दिसा–पिसाब गराउनुहुँदैन भन्ने तर पनि गराइरहेका हुन्छौँ । किनकि हामी जे गरे पनि हुन्छ कसैले देख्दैन, कसैले केही गर्दैन भन्ने मानसिकताबाट गुज्रिरहेका छौँ । जसले गर्दा हामी संस्कारहीनताको पराकाष्ठामा पुगेका छौँ । यही संस्कारहीनताको पराकाष्ठामा पुगेको समाजलाई सुसंस्कृत, सभ्य, सुन्दर र परिष्कृत बनाउने अभियानमा लागेकी छन्, आशिका तामाङ ।
कदम सही चालिएको भए पनि शैलीका कारण उनले अलि बाक्लै चुनौती बेहोर्नुपर्यो, कस्टडीमा समेत बस्नुपर्यो । कतिले उनलाई गालीगलौज गरे, कतिले स्याबासी दिए । उनको कदमलाई कतिले रुचाए, कतिले रुचाएनन् । यद्यपि राम्रो सोचका साथ गरिएका राम्रो कामको परिणाम अन्ततः राम्रै हात लाग्छ । यो सार्वभौम सत्य हो । राम्रो कामको सुरुवात कसै न कसैले गर्नैपर्यो । समाजमा परिवर्तन ल्याउन सकिन्छ । सबै चुपचाप बस्ने हो भने, हात बाँधेर मौन भएर बस्ने हो भने समाज कहिल्यै परिवर्तन हुन सक्दैन; सधैँभरि यथास्थितिमा जकडिएर बसिरहन्छ ।
समाजमा केही मानिस यस्ता हुन्छन् जो समाजका लागि आफू केही गर्दैनन्, अरूले गरेको राम्रो कामको पनि बिस्टा खुस्किने गरी विरोध गर्छन् । हुन त त्यस्ता प्रवृत्तिका मानिसले राम्रो काम गर्नेलाई पनि विरोध गर्छन्, नराम्रो काम गर्नेलाई मात्रै होइन । किनकि उनीहरूको काम नै चोक वा चौतारामा बसेर विरोध गर्नु हो । उसलाई अरूको विरोध नगरी खाएको खाना नै पच्दैन, निद्रा लाग्दैन । यतिबेला यति महान् मानवीय कार्य गरिरहेकी आशिका तामाङलाई पनि आफूलाई तथाकथित सामाजिक अभियन्ता ठान्ने केही मनुवाले विरोध गरेको पाइन्छ । विरोध गर्नु उनीहरूको स्वभाव हो, कर्म हो, यसलाई यसै गरी बुझ्दा उचित होला ।
अन्त्यमा जसले जति विरोध गरे पनि आशिका तामाङको मानवीय सामाजिक सेवाभावको कर्मले निरन्तरता पाइरहोस् । विरोध गर्ने आदत भएकाको सद्बुद्धि पलाओस् र सकारात्मक सोचले मन–मस्तिष्कमा घर गरोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण