सुडानको अल–फासेरमा आरएसएफको ड्रोन आक्रमण : ३० जनाको मृत्यु
सारांश
- पश्चिमी सुडानको अल-फासेरमा आरएसएफको ड्रोन हमलामा कम्तिमा ३० जनाको मृत्यु भएको छ।
- आरएसएफले विस्थापित नागरिक बसोबास गरिरहेको केन्द्रमा आक्रमण गरेको थियो, जसलाई स्थानीयले नरसंहारको संज्ञा दिएका छन्।
- अल-फासेर १८ महिनादेखि घेराबन्दीमा छ र खाद्यान्न अभावका कारण यहाँका बासिन्दाहरूले कठिन परिस्थिति भोगिरहेका छन्।
पोर्ट सुडान । पश्चिमी सुडानको घेराबन्दीमा परेको सहर अल–फासेरमा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा गरिएको ड्रोन आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय कार्यकर्ता समूहले जनाएको छ ।
एल–फासेर प्रतिरोध समितिका अनुसार आरएसएफले विश्वविद्यालयको मैदानभित्र रहेको दार अल–अर्काम विस्थापन केन्द्रमा लक्षित हमला गरेको हो । उक्त केन्द्रमा युद्धबाट विस्थापित सयौँ नागरिक आश्रय लिएर बसेका थिए । समितिले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई ‘नरसंहार’ को संज्ञा दिँदै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेपका लागि आग्रह गरेको छ ।
समितिका कार्यकर्ताहरूका अनुसार धेरै शवहरू अझै भूमिगत आश्रयमा फसेका छन् । उनीहरूले भनेका छन्, ‘एल–फासेर अहिले भोकमरी र हिंसाको कारण खुला मूर्दाघरमा परिणत भएको छ ।’
स्थानीय प्रतिरोध समितिहरू सुडानमा नागरिक सहायता समन्वय गर्ने र युद्ध अपराध तथा अत्याचारका घटनाहरू अभिलेख गर्ने स्वयंसेवी समूह हुन् । आरएसएफ र सुडानको नियमित सेनाबिचको युद्ध सन् २०२३ को अप्रिलदेखि जारी छ ।
यस भीषण द्वन्द्वले दशौँ हजार मानिसको ज्यान लिएको छ, लाखौँ नागरिकलाई विस्थापन गरेको छ र करिब दुई करोड ५० लाख सुडानी नागरिकलाई तीव्र भोकमरीको जोखिममा पुर्याएको छ ।
अल–फासेर अहिले डार्फरको विशाल क्षेत्रमा आरएसएफको नियन्त्रणबाट अझै पनि स्वतन्त्र रहेको अन्तिम राज्य राजधानी बनेको छ । आरएसएफ पश्चिम सुडानमा आफ्नो शक्ति सुदृढ गर्न प्रयत्नशील रहेकाले यो क्षेत्र अहिले युद्धको नयाँ रणनीतिक मोर्चा बनेको छ ।
अहिले यो सहर आरएसएफद्वारा करिब १८ महिनादेखि घेराबन्दीमा छ । यहाँका करिब चार लाख नागरिक अत्यन्त कठिन परिस्थितिमा बाँचेका छन् । खाद्यान्न र आवश्यक वस्तुहरूको आपूर्ति पूर्ण रूपमा बन्द छ ।
स्थानीय बासिन्दाहरूका अनुसार पशु खाद्य समेत सकिँदै गएको छ र अहिले एक झोलामा अन्न किन्न सयौँ अमेरिकी डलर खर्च गर्नुपर्ने अवस्था आएको छ । भोजनको अभावका कारण अधिकांश सूप भान्साहरू पनि बन्द हुँदा भोक र रोगको सङ्कट अझ गहिरो बनाएको छ ।
मानवअधिकार कार्यकर्ताहरूले अन्तर्राष्ट्रिय समुदाय र मानवीय संस्थाहरूलाई तुरुन्तै राहत तथा उद्धारको पहुँच सुनिश्चित गर्न आग्रह गरेका छन् । अन्यथा अल–फासेरमा व्यापक नागरिक संहार हुने खतरा बढ्दै गएको उनीहरूको चेतावनी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण