१० बजे १० समाचार : सार्वजनिक भए देउवा, सर्वोच्चमा रिटको चाङ
आज २०८२ असोज २८ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- सर्वोच्चमा रिट
सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको रिट पेस भएको छ । अदालतमा मंगलबार ५ वटा रिट पेस भएको हो । वर्तमान सरकार काम चलाऊ भएको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु नगराउनु भन्दै रिट पेस भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।
भदौ २३ मा जेनजी आन्दोलनमा दमन गर्नेलाई फौजदारी अनुसन्धानमा ल्याएर कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा १४ वटा रिट पेस भएका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका छन् ।
- मधेसमा नयाँ सरकार
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
- बन्यो ‘जनस्वराज’ पार्टी
जनमत पार्टीबाट विभाजन भएर गठन भएको जनस्वराज पार्टी दर्ता भएको जानकारी निर्वाचन आयोगले सो पार्टीलाई गराएको छ। दीपक साहको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सहित जनस्वराज पार्टी दर्ता भएको आयोगले जनाएको हो।
जनमतबाट विभाजन भएर जनस्वराज पार्टी गठन भएपछि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले निर्वाचन आयोगमाथि आक्रोश पाखेका छन् ।
- जेनजी र निर्वाचन
अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेको छ । सरकारले निर्वाचनकेन्द्रित भइसकेको पनि बताइसकेको छ, प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचनको वातावरण लागिपरेका छन् ।
- न्यायालयको जग
नेपालको न्यायपालिकाको इतिहासमा प्रधान न्यायालयको पहिलो प्रधान न्यायाधीश हरिप्रसाद प्रधानलाई मानिँदै आएको छ । राणा शासनको अन्त्यपछि २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएपछि त्योभन्दा अघि (राणा शासनकालमा) न्यायको माथिल्लो निकायको रूपमा रहेको मामिला निक्सारी खारेज गरिएको थियो ।
- विपिनको शव नेपाल ल्याइँदै
हमासको आक्रमणबाट मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले मंगलबार इजरायलका परराष्ट्र मन्त्रालयका महानिर्देशक बार तालसँग टेलिफोन वार्ता गरेका छन् । सो वार्ताको क्रममा महानिर्देशक बारले हमासको कब्जामा रहेको जोशीको निधन भएको र उनको शव पहिचान भइसकेको जानकारी गराउँदै जोशीको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
- कांग्रेसमा कार्यवाहक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले स्वास्थ्यका कारण देखाएर उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको घोषणा गरे ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै सङ्कलन गरिएको हस्ताक्षर बुधबार कार्यवाहक सभापतिलाई बुझाइने भएको छ।
- स्क्रब टाइफस
स्क्रब टाइफसका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१ का गजेन्द्र केसी र दार्मा गाउँपालिका–३ का ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय, सल्यानले जनाएको छ ।
- गलत नजीर
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर एक जेनजी समूहले लिएको छ । जेनजी समूहले सित्तैमा १० प्रतिशत सेयर पाउनुपर्ने भन्दै एक महिना दुई दिन आयोजना बन्द गरेको थियो ।
- कर्णालीका कर्मचारीमाथि भेदभाव
कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा कर्मचारीहरूको व्यवस्थापन संघीयताको मर्मविपरीत भइरहेको छ । राजनीतिक नेतृत्वले संघका कर्मचारीहरूलाई काखी च्याप्ने तर, आफ्नै प्रदेशका कर्मचारीहरूलाई पाखा लगाउने प्रवृत्ति देखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण