बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गुल्मीका ५१ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा

बुधबार, २९ असोज २०८२, २३ : ३०
बुधबार, २९ असोज २०८२

सारांश

  • गुल्मी जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमप्रतिको आकर्षण बढ्दै गएको छ, जहाँ ५१.६५ प्रतिशत नागरिक यसको पहुँचमा पुगेका छन्।
  • २०७८ सालको जनगणनाअनुसार, जिल्लामा एक लाख २७ हजार तीन सय ५५ जनाले स्वास्थ्य बिमा गराएका छन्, जसमा महिला र पुरुषको संख्या उल्लेख्य छ।
  • स्वास्थ्य बिमा बोर्डका अनुसार, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विभिन्न रोग लागेका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ।

तम्घास ।  सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रमको सुरुआत गरिएको थियो । 

जिल्लाका ५१.६५ प्रतिशत नागरिकमा स्वास्थ्य बिमा पहुँचमा पुगेको छ । २०७८ सालको जनगणनाअनुसार जिल्लामा कूल दुई लाख ४६ हजार आठ सय ३६ जनसङ्ख्या रहेकोमा एक लाख २७ हजार तीन सय ५५ जनाले स्वास्थ्य बिमा गराएका छन् । जसमा महिला ६५ हजार छ सय ६६ र पुरुष ६१ हजार छ सय ८९ जना रहेका छन् । 

सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका २४ हजार पाँच सय ४१ जनाले स्वास्थ्य बिमा गराएका छन् । त्यसैगरी चन्द्रकोटका छ हजार चार सय, छत्रकोटका १२ हजार दुई सय ६३, धुर्कोटका १० हजार तीन सय पाँच, गुल्मी दरबारका १० हजार दुई सय १०, इस्माका सात हजार तीन सय ५० नागरिकले स्वास्थ्य बिमा गराएका छन् । 

त्यसैगरी कालीगण्डकीका छ हजार सात सय तीन, मदानेका तीन हजार छ सय ७६, मालिकाका आठ हजार एक सय ९९, मुसीकोटका सात हजार आठ सय ४१, रुरुक्षेत्रका १४ हजार ८५ तथा सत्यवतीका १५ हजार सात सय ८२ नागरिकले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड गुल्मीका प्रमुख सुवास घिमिरेले जानकारी दिए । 

जिल्लामा हालसम्म शुल्क लाग्ने साधारण समूहतर्फ २१ हजार ३३ परिवारका एक हजार पाँच सय २४ परिवार र ५० प्रतिशत छूटमा आठ सय ८३ महिला स्वास्थ्य स्वयंसेविकाका परिवारका चार हजार छ सय दुई जनाले स्वास्थ्य बिमा गराएका छन् । सरकारले ज्येष्ठ नागरिक, अपाङ्ग एवं विभिन्न रोग लागेकाहरूको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा पनि गराइदिएको छ । जसमा १७ हजार सात सय १२ ज्येष्ठ नागरिक निःशुल्क बिमाको पहुँचमा आएका छन् । 

‘क’ वर्गका अपाङ्गतर्फ सात सय ९३ परिवारका तीन हजार नौ सय ९९ जना, एचआइभी एड्स सङ्क्रमित एक सय ६६ परिवारका चार सय ८२ जना, कुष्ठरोगीका तीन परिवारका १२ जना तथा एमडीआर टिबीका छ परिवारका २५ जनाको पनि निःशुल्क स्वास्थ्य बिमा गराइएको स्वास्थ्य बिमा बोर्ड गुल्मीका प्रमुख घिमिरेले बताए । गुल्मीमा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो । सरकारले तीन हजार पाँच सयमा एक परिवारका पाँच सदस्यसम्मको बिमा गर्दछ । जसमा एक लाख बराबरको औषधि–उपचार निःशुल्क प्राप्त गर्दछन् । 

त्यसैगरी परिवार सङ्ख्या पाँचभन्दा बढी भएमा प्रतिव्यक्ति रु सात सयका दरले प्रथम बिमा शुल्कमा थपिँदै जाने र सो रकमले रु २० हजार उपचार खर्च प्राप्त हुने स्वास्थ्य बिमा बोर्डले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप