शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी प्रदर्शन

टीओबी समूहका लिडर तेन्जिङको जन्मदर्ता र नागरिकता शंकास्पद

फन्डिङ गर्नेको कनेक्सन खोज्दै प्रहरी
बिहीबार, ३० असोज २०८२, १६ : ०८
बिहीबार, ३० असोज २०८२

सारांश

  • प्रहरीले ‘टीओबी’ टिसर्ट लगाएर पेस्तोल देखाउने युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
  • तेन्जिङ दावा लामाको जन्मदर्ता र नागरिकता शंकास्पद देखिएपछि प्रहरीले छानबिन गरिरहेको छ।
  • प्रहरीले लामालाई अभद्र व्यवहारको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ, र टीओबी समूहको सम्बन्ध खोजिरहेको छ।

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह भनिएका ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोक्ने युवकलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । बौद्ध बस्दै आएका तेन्जिङ दावा लामा असोज २६ मा पक्राउ परेका हुन् ।

तेन्जिङ समूहका बुलेट बाइक चढ्ने युवाहरू भदौ २३ र २४ मा भएको प्रदर्शनमा काठमाडौँको बिजुलीबजारस्थित पुलबाट प्रदर्शनमा सहभागी भएको भिडियो फुजेटमा देखिन्छ । उनीहरू सबैको ज्याकेटमा ‘टीओबी’ लेखिएको थियो । ‘टीओबी’को अर्थ ‘तिब्बतियन ओरिजनल ब्लड’ हो ।

पेस्तोल कम्मरमा भिरेको भिडियो फुजेटमा देखिएपछि पक्राउ परेका तेन्जिङको जन्मदर्ता र नागरिकता नै शंकास्पद देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले नागरिकता र जन्मदर्ता यकिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र वडा कार्यालयसँग विवरण मागेको छ ।

तेन्जिङले काठमाडौँ महानगरपालिका–६, बौद्धमा २०६३ चैत १० मा जन्मदर्ता गरेको विवरण सार्वजनिक भएको छ । तर, त्यसदिन शनिबार भएको हुनाले कसरी जन्मदर्ता भयो भन्नेबारे प्रश्न उठेको छ । विवरण यकिन गर्न वडा कार्यालयमा पत्राचार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।

थापाले भने, ‘वडा कार्यालयबाट विवरण आएपछि थप अनुसन्धान अघि बढाउँछौँ ।’

तेन्जिङले २०७९ असार २४ मा लिएको नागरिकताबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । नागरिकताको विवरण यकिन गर्न जिल्ला प्रशासन कार्यालयसँग विवरण माग गरिएको एसएसपी थापाले बताए ।

२०५३ मा काठमाडौँ महानगरपालिका वडा नम्बर–६ बौद्धमा जन्मेको बताउने तेन्जिङले बुवाको मृत्यु भएको र आमा भारतको कुशीनगरमा बस्ने गरेको प्रहरीसँग बताएका छन् । आफ्नो एउटी बहिनी भएको उनले बताएका छन् । तर, अनुसन्धान अधिकृतहरूले बहिनीलाई सम्पर्कमा ल्याउनु भन्दा उनले ल्याउन सकेका छैनन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले भने, ‘उहाँको यकिन पहिचान नै खुलेको छैन । परिवारका सदस्य कोही पनि सम्पर्कमा आउनुभएको छैन ।’

प्रहरीले बौद्धस्थित उनको डेराबाट बरामद गरेको पेस्तोल नक्कली भएको थाहा भएको छ । तेन्जिङले ‘टीओबी’ बाइकर्स समूह भएको र आफूहरू तिब्बतियन मूलको नेपाली भएको बताएका छन् । प्रहरीको बयानमा उनले भनेका छन्, ‘म आधा तिब्बतियन हुँ ।’

प्रहरीले फ्रि–तिब्बत मुभमेन्टमा संलग्नहरूसँग तेन्जिङको कनेक्सन खोजिरहेको छ । टीओबीलाई फन्डिङ गर्ने समूहबारे अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।

नागरिकतामा उनको हजुरबुवाको नाम तेन्जिङ लामा र बुबा कृष्ण बहादुर लामा उल्लेख छ । तेन्जिङको बुबाले पनि काठमाडौँबाट नागरिकता लिएको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

बौद्धमा डेरामा बस्ने तेन्जिङ ट्याटु आर्टिस्ट र गायक पनि हुन् । टीओबीको लोगो उनले नै डिजाइन गरेको थाहा भएको छ । टीओबीमा ५०–६० जनाको बाइकर्स संलग्न छन् ।

उनलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । बिजुलीबजार पुलमा अर्का एक जना युवकले दिएको पेस्तोल तेन्जिङले कम्मरमा भिरेर बाइक चलाउँदै हिँडेको भिडियो सामाजिक सञ्जालमा देखिन्छ । भिडियो जेनजी प्रदर्शनभन्दा अगाडिको पुष्टि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप