बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ११ राजदूतको जागिर चट, शीतल निवासमा जेनजीलाई राष्ट्रपतिको स्वागत

बिहीबार, ३० असोज २०८२, २२ : ००
बिहीबार, ३० असोज २०८२

काठमाडौँ । आज मिति २०८२ साल असोज महिनाको ३० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

१. राजदूत फिर्ता

सरकारले पूर्ववर्ती सरकारले नियुक्त गरेका विभिन्न देशका ११ राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, संयुक्त अधिराज्यलगायतका नेपाली आवासीय राजदूत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता  समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

२. जेनजीलाई शीतलनिवासमा स्वागत

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजी अभियन्ताहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शीतल निवासमा अन्तरिम सरकारसहित जेनजी अभियन्ताहरूसँगको छलफलमा यस्तो आग्रह गरेका हुन् ।

३. २९ दलसँग आयोगको छलफल

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

बिहीबार सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दलहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबिच छलफल भएको हो ।

४. एमाले

पार्टी निर्देशन र अनुशासनविपरीत कसैले बोले या कुनै गतिविधि गरे नेकपा एमालेले कडा कारबाही गर्छ । तर जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टीभित्रै कमजोर सुनिन थालेको छ । कमजोर यसअर्थमा कि, उनको चेतावनी बाबजुद  केन्द्रीय सदस्यहरूले उनैलाई गल्ती स्विकारेर नेतृत्व छाड्न र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खुलाउन दबाब दिन थालेका छन् ।

५. बक्यौता

डेडिकेटेड तथा ट्रंक लाइनबाट बिजुली प्रयोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न थालेका छन् ।

किस्ता तिर्ने उद्योगहरूमा सम्राट् सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिज छन् ।

यी तीनवटै उद्योगले पहिले किस्ताबन्दीको सुविधा लिएर बक्यौता तिर्न थालेका थिए तर २८ किस्ता सुविधा लिएर केही रकम तिरेपछि गत वैशाखदेखि किस्ता तिर्न छोडेका थिए ।

६. कांग्रेस बैठक

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ ।  असोज २८ मा प्रारम्भ भएको बैठक बिहीबार भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो ।

 बैठकको प्रारम्भमा कार्यवाहक सभापति  खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराए भने भने महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

७. रविबारे आदेश

बिगोबमोजिम रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको मागमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ ।

 

८. सडकको कुरा

गत असारमा चीनतर्फबाट आएको बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड करिब साढे तीन महिनापछि सञ्चालनमा आएको छ ।

९. सेयर र सुन

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा १८.४० अंकको गिरावट आएको छ। कारोबार बन्द हुँदा नेप्से सूचक २४८७.१७ विन्दुमा पुगेको छ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य थप बढ्दै तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो।  यो मूल्य हालसम्मकै उच्च हो ।

१०. जेनजीको परकम्प

जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह भनिएका ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोक्ने युवकलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । बौद्ध बस्दै आएका तेन्जिङ दावा लामा असोज २६ मा पक्राउ परेका हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप