आधुनिक निबन्ध र नेपाली निबन्धको प्रवृत्ति
सारांश
- निबन्ध विधाको बारेमा जानकारी दिइएको छ, यसको संरचना, शैली र विषयवस्तुको वर्गीकरणबारे चर्चा गरिएको छ।
- निबन्धका आधारभूत तत्वहरू, जस्तै वैयक्तिकता, आत्माभिव्यक्ति र विचारको महत्त्वलाई प्रकाश पारिएको छ।
- विभिन्न निबन्धकारहरूको शैली र योगदान, जस्तै देवकोटा, लामिछाने र अर्यालको विशिष्टता उल्लेख गरिएको छ।
निबन्धका प्रारम्भिक कुरा
साहित्य सिर्जनाका अन्य विधा जस्तै निबन्ध पनि एक विधा हो । यो गद्यपरक र गैरआख्यानमूलक हुन्छ । यो विवरणात्मक, विश्लेषणात्मक वा निजात्मक हुनसक्छ । यो बहुआयामिक हुन्छ, विषयवस्तुको सीमामा सीमित छैन । निबन्धमा स्रष्टाले स्वतन्त्रताको अत्यधिक उपयोग गर्छ र निजत्वलाई विस्तार गर्दछ । निबन्धमा भावनाहरू स्वच्छन्द दौड मारेर मनमजेरीबाट अक्षरसम्म आइपुग्छन् ।
यसो भन्दैमा यसको संरचना हुँदैन भन्न खोजिएको होइन । यसका निश्चित संरचना, सिद्धान्त, विधि र विचारहरू छन् । तर संरचनाले भावनालाई छेक्यो भने निबन्ध निर्बन्ध दौडिँदैन । त्यसैले निबन्धमा संरचना र सिद्धान्तभन्दा शैली प्रधान हुन्छ । मनका झोक्कालाई मनैदेखि उठाउन सकेपछि मात्र तिनमा अपनत्व र अन्तर्बोध हुन्छ ।
निबन्ध भावनाको निर्बाध प्रवाह हो । वैयक्तिकता, निजात्मकता, आत्माभिव्यञ्जना, बौद्धिकता, विचार प्रधानता निबन्धका आधार तत्त्व हुन् । निबन्धमा भावको सघनता हुनैपर्छ, संवेदना र अनुभूतिको सहजता हुनैपर्छ । अभिव्यक्तिमा सङ्गति र सुुष्पष्टता हुनैपर्छ । अन्यथा निबन्धले जीवन पाउँदैन ।
माइकल डे मोन्तेनले भने झै निबन्धमार्फत निबन्धकार नै स्वाभाविक रूपमा पोखिएको हुन्छ । उनले भनेका थिए– मेरो इच्छा के हुन्छ भने म आफ्ना निबन्धमा बिना आडम्वर सहज र साधारण तरिकाले रूपान्तरित होऊँ । त्यसमा कुनै किसिमको बाकपटुता वा कृत्रिम कलात्मकता नहोस् । मेरा निबन्धको विषय म नै हुँ ।’
आफूलाई व्यक्त गर्न मोन्तेन अरू कुरालाई उद्धृत गर्न पछि पर्दैनन् । फ्रान्सिस बेकन संक्षिप्त, सूत्रात्मक, सूक्तिबद्ध र बिम्बात्मक अभिव्यक्तिका साथ निबन्ध लेख्छन् । नारी अन्तरचेतकी विशिष्ट साधक भर्जिनिया उल्फ निबन्धमार्फत अन्तर्दृष्टि र संवेगहरू पोखेर मुक्तिमार्गको खोजी गर्छिन् । लक्ष्मीप्रसाद देवकोटा एउटा विषय विम्बमा टेकेर भावको अथाह यात्रा गर्छन् र केन्द्रस्थलमा आएर विलीन हुन्छन् ।
यस विधाको सुरुवात सन् १५८० मा माइकल डे मोन्तेनले आफ्ना चिन्तनप्रधान लेख लेख्ने प्रयासका साथ गरे पनि प्राकृतिक दार्शनिक रचनाहरू यसभन्दा धेरै अघि दार्शनिक प्लेटो र अरस्तुले गरिसकेका थिए । प्लेटोले गुरु सुकरातका वाणी र वार्ताहरू सङ्ग्रह गरी प्रकाशमा ल्याएका थिए । निबन्धका प्रथम प्रतिष्ठा मोन्तेनले निबन्धलाई प्रयास भनेका थिए र त्यसमा उनका आफ्नै विचार, दृष्टिकोण र अनुभवलाई छरितो प्रस्तुतिमा राखिएको थियो ।
निबन्धले विधाको स्थान पाएपछि संक्षिप्त वा एक बसाइमा पढी सकिने, विचार र प्रस्तुतिको अन्वित भएको छरितो गद्य गैरआख्यान रचनालाई निबन्ध भन्न थालियो ।
शिल्पशैली, संरचना र प्रवृत्तिका आधारमा निबन्ध वर्णनात्मक, संरचनात्मक, भावात्मक र निजात्मक हुन सक्छन् । विषयवस्तुको आधारमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक, कल्पनात्मक आदिमा वर्गीकरण गर्न सकिन्छ ।
काव्यका अरू विधाभन्दा निबन्ध सरल रूपमा समयचेतको अभिव्यक्ति दिने सामर्थ्य राख्दछ । प्रस्तुतिका हिसाबमा पनि विवरणात्मक, निजात्मक, कवितात्मक, बिम्बात्मक शैलीमा मनका भावहरू पोख्ने छुट निबन्धकारमा बढी नै हुन्छ । भनिएला, कलाका सबै माध्यममा सर्जक आफू नै केन्द्रस्थलमा रहन्छ र आफैलाई अभिव्यञ्जन गर्छ । हो, तर निबन्धमा त्यसको ग्राह्यता र स्वाभाविकता अधिक हुन्छ ।
निबन्ध एउटा विषयकेन्द्रित रचना हो । एउटा विषयवस्तु भित्र निबन्ध तरङ्गित हुन्छ, विश्लेषित हुन्छ र भावधारामा पर पुगेर विषयवस्तुको केन्द्रीयतामा फर्किन्छ । स्वैरकल्पना र भावनामा तैरिन, बहकिन सक्छ वा संरचित विषयमा कलाशिल्पमा प्रस्तुति हुनसक्छ । छरिएर रहेका विचारलाई एकै ठाउँमा पजुल्याएर, सिलसिला मिलाएर प्रस्तुति गरिने भएकाले नै निबन्ध भनिएको हो ।
शिल्पशैली, संरचना र प्रवृत्तिका आधारमा निबन्ध वर्णनात्मक, संरचनात्मक, भावात्मक र निजात्मक हुन सक्छन् । विषबस्तुको आधारमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक, कल्पनात्मक आदिमा वर्गीकरण गर्न सकिन्छ । लेखाइको परिवेश, औचित्य, पाठक वा लेखाइको उपभोक्ता, कलाशिल्प र भावभङ्गीमा निबन्धहरू एकअर्काबाट भिन्न हुन्छन् । नियात्रा, जीवनी, वृत्तान्त, लेख र कथाहीन प्रस्तुति सबैलाई निबन्ध भनेर निबन्धको परिभाषालाई विस्तार गर्ने र अर्थवत्तालाई भने सङ्कुचन गर्ने प्रवृत्ति पनि छ ।
भर्जिनिया उल्फ निबन्ध यसरी विटुलिन नहुने भनाइ राख्छिन् । कतिपय विद्वानहरू आख्यान निरपेक्ष लेख निबन्ध हो भन्न रुचाउँछन् । यसले पनि निबन्धको अर्थवत्ता र परिभाषालाई सही आङ्कलन गर्दैन । वैयक्तिकता, निजात्मकता, आत्माभिव्यञ्जना, बौद्धिकता, विचार प्रधानता निबन्धका आधार तत्त्व हुन् । निबन्धमा भावको सघनता हुनैपर्छ, साथै संवेदना र अनुभूतिको सहजता रहनैपर्छ । अन्यथा निबन्धले जीवन पाउँदैन ।
निबन्ध कस्तो हुनुपर्छ भन्न सकिँदैन । भने पनि सही नहुन सक्छ । किनकि परिवेश, भावभङ्गी, कलाविधान र प्रस्तुति संरचनाले निबन्धलाई एकअर्काको स्वरूपबाट अलग्याएको हुन्छ । उसो भए परिवेश, भावभङ्गी, कलाशिल्प र प्रस्तुति संरचना नै निबन्धका गुण हुने भए भन्न सकिन्छ । कुनै विषयलाई केन्द्रस्थ बनाएर यी चार कुराले निबन्धलाई समृद्ध बनाउने गर्दछ ।
निबन्ध सललल्ल बग्नु पर्छ, पर्वतबाट समथरतिर बगेको खोला जस्तै । मनका भावहरू अक्षरमा तैरिएर सललल्ल बग्ने पर्छ । बिम्ब, उपमा—उपमेयका योजनले निबन्धलाई सलल्ल बग्ने बनाइन्छ । निबन्धकार शब्द, भाव र माधुर्यमा नाच्छन् । देवकोटा, भैरव अर्याल, शङ्कर लामिछानेका निबन्धहरू यसरी नै बगेका छन् । सरल भाषामा बगाइको वेग श्लील र प्रवाह बेजोड हुन्छ ।
अनपेक्षित शब्दभार, वाक्यविन्यास र कथानकले बहावमा बाँध लगाउनु हुन्न । त्यसो गरिए निबन्धको खास चरित्र नै मर्न गई अरू नै केही वा प्रबन्ध बन्न सक्छ । तर प्रस्तुति, बिम्ब, भाव सदृश्यता, कलाशिल्प र विधि–विधानमा निबन्धकारहरू कला स्वायत्तताको औधी नै उपयोग गर्छन् । निजात्मक र भाव प्रधान निबन्धमा यो स्वायत्तता अरू विस्तृत हुन्छ ।
तर सफल निबन्धकार आफ्नै प्रस्तुति संरचना र बिम्बविधानमा बेजोड सिर्जना गर्छन् । देवकोटाको निबन्ध यसको उदाहरण हुन । निबन्धकार देवकोटाले कला स्वायत्तताको यति उपयोग गरे कि त्यसले निबन्ध विधामा छुट्टै धार नै कायम गर्यो । भावको शयर गर्दा सदृश्यता खिच्नसक्ने खुबी पनि छ देवकोटामा । उपमा र प्रतीक योजनमा भावलाई बुई चढाएर निबन्धमार्फत ब्रह्माण्डको यात्रा गर्न उनी माहिर छन् ।
आधुनिक समयमा निबन्धलाई माइकल डे मोन्तेन, फ्रान्सिस बेकन, जर्ज अर्वेल, टि एस इलियट, बट्र्रेण्ड रस्सेल, एडगर एलन पो, अलेक्जेण्डर पुस्किन, जुएन डिडोन, भर्जिनिया उल्फ, डेभिड फोस्टर, राल्फ वाल्दो इमर्सन, लक्ष्मीप्रसाद देवकोटा, अमिताभ घोष, अरुन्धती रोय, शशि थरुरहरूले धेरथोर योगदान पुर्याएका छन् ।
त्यति मात्र होइन, उनको सिर्जना ब्रह्माण्ड पनि मौलिक छ । त्यसैले फिलिप लार्किनको ‘द प्लीजर प्रिन्सीपल’, पल ग्राहमको ‘एज आफ दी एस्से’, नोम चोम्स्कीको ‘द रेस्पोन्सिविलटी अफ इन्टेलेक्चुएल्स’, जोएन डिडिअनको ‘गुडवाई टु अल’ र बट्र्रन रस्सेल्सको ‘रस्सेल्स बेस्ट’ जस्ता उत्कृष्ट रुचाइएका निबन्ध भन्दा देवकोटाका निबन्धहरूले धेरै उचाइ र आयतन लिएका छन् ।
- बदलिँदो प्रवृत्तिमा निबन्ध र विशिष्ट निबन्धकार
विचार र विषयमा रहने विस्तृतता, वैयक्तिक भावना प्रस्तुतिमा स्वतन्त्रता र वैचारिक घनत्वसाथको प्रस्तुतिका कारण निबन्धले पाठकका मन जित्ने गर्दछ । निबन्ध विधाको विकास हुनुअघि अहिले निबन्ध भनिएका जस्ता आलेखहरू विचार, चिन्तन र दर्शनले ओतप्रोत हुन्थे । पूर्वीय दर्शन केन्द्र नालन्द र पश्चिमी दर्शन केन्द्र एथेन्समा ज्ञान केन्द्र स्थापित थिए ।
एथेन्स ज्ञान केन्द्रमा प्लेटो र आरस्तुका विचारहरू विमर्श भएर राज्यकलाका सिद्धान्तहरू विकास भएका थिए । प्लेटोका गुरु सुकरातले ज्ञानको ढोका खोलेका थिए, उनका प्रवचन तथा वार्ताहरूलाई प्लेटोले आकारमा ल्याए । प्लेटोले वास्तविक ज्ञान इन्द्रियबाट होइन, तर्क र आत्मबाट प्राप्त हुन्छ भनेर अमूर्त चिन्तनको सुरु गरे । तर उनका शिष्य आरस्तुले विमति काल्पनिक आधारमा होइन अनुभव र इन्द्रियको महसुस ज्ञानका आधार माने ।
प्लेटो र आरस्तुको विचारले प्रख्याति पायो, बौद्धिक विमति र विमर्शले ज्ञान निर्माण गर्दै गए । आरस्तुको शिक्षाले मेशोडोनियाका अलेक्जेण्डर विश्व सम्राट् बनेका थिए । उनले राजपाठ भनेको राजनीति मात्र होइन, युद्धकलाबाट विजय हासिल गर्नु मात्र होइन, भाषण कला, शासन कला, जनताप्रतिको अभिभावकत्व सबै हो भनेर सिकाएका थिए । अलेक्जेण्डरलाई होमरको ओडिसी र इलियस महाकाव्य पढाएर शिक्षाको सुरु गरिएको थियो ।
पूर्वीय संस्कृतिमा वैदिक तथा उत्तरवैदिककालमा गुरुकुलमा यसरी नै विद्या दिइन्थ्यो । निबन्धको आदि आधार पहिल्याउन चिन्तन र विद्याका तिनै अनुष्ठानमा पुग्नुपर्छ ।
आधुनिक समयमा निबन्धलाई माइकल डे मोन्तेन, फ्रान्सिस बेकन, जर्ज अर्वेल, टि एस इलियट, बट्र्रेण्ड रस्सेल, चार्ल्स ल्याम्व, हेनरी डेभिड थोरो, विलियम हेजलिट, एडगर एलन पो, अलेक्जेण्डर पुस्किन, पीवी शेली, मेरी शेली, जुएन डिडोन, भर्जिनिया उल्फ, डेभिड फोस्टर वालेस, जाइदी स्मीथ, राल्फ वाल्दो इमर्सन, लक्ष्मीप्रसाद देवकोटा, अमिताभ घोष, अरुन्धती रोय, चेतन भगत, शशि थरुरहरूले धेरथोर योगदान पुर्याएका छन् ।
विभिन्न निबन्धकारले आफ्ना प्रयोगका आधारमा निबन्धलाई अर्थ्याएका छन्, प्रयोगको आधारमा अर्थ लगाउने काम पनि भएको छ । टिएस इलियटले ‘परम्परा र वैयक्तिक प्राज्ञ’ मा साहित्यिक दृष्टिकोणसहित निबन्ध रचना गरेका छन् । उनी व्यक्तिगत प्रतिभालाई साहित्यिक परम्पराको परिप्रेक्ष्यमा लिइदा मात्र त्यो मूल्यवान् हुन्छ भन्ने मान्यता राख्दछन् ।
महान् कवि विगतका प्रतिलिपि कोर्दैनन्, त्यसलाई समाहित गर्न नयाँ सिर्जना गर्दछन् । इलियट वैयक्तिक प्राज्ञको भूमिकालाई तीन सन्दर्भमा रहेर उल्लेख गर्दछन् । पहिलो, निर्वैयक्तीकरण हो, जस अनुसार रचनामा व्यक्ति आफै रचित हुनुहुन्न । दोस्रो हो उत्प्रेरक संरचना, व्यक्तिको मस्तिष्क उत्प्रेरक संरचनामा रहेर काम गर्दा, जसरी रासायनिक प्रक्रियामा क्याटालिक एजेन्टले गर्दछ । भावावेश, अनुभव, शब्द, आकृतिलाईलाई मिलाएर अन्तिम प्रतिक्रिया (रचना) उत्पादन गर्ने मस्तिष्क उत्प्रेरक हो ।
र तेस्रो हो, कार्यसमर्पण, जस अनुसार स्रष्टा आफ्नो स्वार्थ वा आग्रह अभिव्यक्ति गर्न होइन, कलामा आत्मसमर्तिप हुनुपर्दछ । वैयक्तिक प्राज्ञ यी तीन कुराको परिणाम हो ।
निबन्धले पाठकीय मनलाई स्पर्श गरेर मस्तिष्कमा धक्का हान्नु पर्छ । निबन्धमा प्रवेश गर्दा दिमागमा एक प्रकारको वैचारिक तर बयेलीयुक्त तरङ्ग सिर्जना गर्नुपर्छ । त्यसपछि प्रवाहको वेगसँगै विचारको घनत्वमा गहिरिनु पर्छ ।
इलियटका अर्थमा प्रतिभा त्यत्तिकै आउँदैन, त्यसलाई परम्परा र परिवेशले एउटा सिलसिलामा ल्याएको । विगतसँग निरन्तर संवाद गर्दै व्यक्तिगत अनुभव र अनुभूतिलाई प्रतिभाले वस्तुगत प्रतिनिधित्वमा रूपान्तरण गर्दछ । सामाजिक मनका साझा सामुदायिक भावना र चेतनाका मालीका रूपमा रही स्रष्टा साझा भावनाको विस्तार गर्दछ । इलियटको विचार निबन्धको विषय त हुँदै हो, यो नै पश्चात्य समालोचनाको सिद्धान्तको आधार पनि बन्न गयो, जसरी आचार्य आरस्तु, अगस्त्य वशिष्ठ मुनिहरूको विचार समाज व्यवस्थाको मानक बनेको थियो ।
व्यक्ति निरपेक्ष होइन, न उसका प्रतिभा नै । यो इतिहासको चेत हो, जसले प्रतिभालाई आफ्नो पुस्तामा मात्र होइन, पुस्तैनी नातामा राख्न प्रभाव पार्छ, प्रतिभा इतिहास र वर्तमानबिच गतिशील सम्बन्धमा हुन्छ ।
इलियटको वैयक्तिक प्राज्ञको सिद्धान्त उनको नैबन्धिक धारणा हो, प्रामाणिक वस्तुता होइन । उनले निर्वेयक्तिकताको सिद्धान्तमा स्रष्टाले आफूलाई कविताबाट मुक्त गराउनु पर्छ भनेका छन् । तर के ‘कन्टिन्युएस सेल्फ सेक्रिफाइस’ वा ‘सेल्फ सरेण्डर’ गरेर कविता लेख्न सम्भव छ ? बरु कवि (सर्जक) कविता (सिर्जना) मा विलीन भएर स्वछन्दमा उडान भर्छ ।
त्यो कवितामा मुक्त (सेल्फ सरेण्डर) होइन, कवि नै कविता बनेको हो । व्यक्तीकरण भएको हो । निरन्तर समर्पणका विषयमा इलियट रासायनिक प्रक्रियाको दृष्टान्त प्रस्तुत गर्दछन् । रासायनिक प्रक्रियामा अक्सिजन र सल्फरडाइअक्साइडबिच कार्य भएर सल्फ्युरिक एसिड उत्पादन हुन्छ तर उत्प्रेरक प्लाटिनियम परिवर्तन हुँदैन । सल्फर र अक्सिजनका रूपमा अनुभव, संवेग, आकृति, अनुभूतिहरू रहन्छन्, सल्फ्युरिक एसिड चाहिँ रचनाका रूपमा देखिन्छ ।
इलियट स्वच्छन्दतावादी सिद्धान्तको पूर्णतः विपरीत छन् । विलियम वर्डस्वर्थ, दवकोटा, भर्जिनिया उल्फा लगायत रोमान्टिक रचनाकार भन्दा उनी पूर्णतः भिन्न छन् । उनका अनुसार कविता भावना र अनुभूतिको टर्निङ प्वाइन्ट होइन, भावनाबाट मुक्ति (स्केप फ्रम इमोशन) हो । त्यहाँ कवि व्यक्तित्वको कुनै प्रभाव हुँदैन ।
कविको वैयक्तिक जीवनभन्दा पर रहेर सिर्जना हुन्छ भनेर अभिव्यञ्जनावादी, रोमान्टिकहरू विश्वास गर्दैनन् । जस्तो विलियम वर्डस्वर्थका लागि कविता भनेको प्रभावशाली अनुभूतिहरूको निरन्तर प्रवाह हो । इलियटका लागि कविता भनेको भावनाको अभिव्यक्ति होइन, त्यहाँबाट मुक्ति हो । उनका तर्कको मतैक्य र मान्यता जे जस्ता भए पनि कवि बस्तुगत र निर्वैयक्तिक हुनुपर्छ भन्ने निष्कर्ष उनले निबन्धमार्फत स्थापित गरेका छन् ।
तर निबन्ध समयचेतसँग प्रवाहित हुन्छ, निबन्धकार समयलाई बोकेर निबन्ध रचना गर्दछन् । १९औँ शताब्दी रोमान्टिक थियो । अर्थात् १९औँ शताब्दी रोमान्टिकहरूको थियो । यही समय राल्फ वाल्दोक इमर्सन, चार्ल्स लिम्व जस्ता स्वछन्दतावादी निबन्धकारहरू देखिए । इमर्सनको अन्त निर्भरता (सेल्फ रिलयन्स) ले व्यक्तिवाद र निजत्वको खुलेर वकालत गरी पाठकहरूलाई अरुका इच्छालाई अन्धाधुन्ध पछ्याउन भन्दा आफ्नै अन्तज्ञानलाई पछ्याएर खुसी हुन प्रोत्साहन गर्न पुग्यो ।
उनी आरस्तुदेखि नेपोलियन बोनापर्टसम्मका ज्ञानमूलक उत्साही उद्धरणहरू लिएर तिनीहरूको सफलता र मौलिकता अनुकरण होइन आफ्नै मौलिकता र नवीनता देखाउन अन्तस्प्रेरण गर्दछन् । उनका अर्थमा आत्म निर्भरता सिर्जनाको सुरुवात हो । इमर्सनको स्वछन्दतावादी निबन्धीय प्रयोगले चार कुरा बताउन पुग्यो–
पहिलो व्यक्तिवाद वा वैयक्तिक आनन्द, दोस्रो, तर्क भन्दा भावना, तेस्रो, परम्परामाथि विद्रोह र चौथो, प्रकृतिलाई महत्त्व । यसर्थ स्वच्छन्दतावादीहरूका लागि आत्मानन्द वा सेल्फग्लोरी निबन्धानन्द हो । देवकोटा पनि यही धारमा छन् ।
नेपाली निबन्ध विधाका सबैजसो सर्जकहरू तीन धार तथा प्रवृत्तिबाट धेरथोर प्रभावित छन् । केही निबन्धकार देवकोटासँग नजिक छन्, केही लामिछाने वा भैरव अर्यालसँग । व्यङ्ग्यकार केशवराज पिडाली, युवराज मैनाली भैरव अर्यालका धारमा छन्, माधव घिमिरे, मनुजवावु मिश्र, श्रीबाबु कार्कीहरूले देवकोटीय धार पछ्याउन खोजिरहेका छन्
चाल्र्स ल्याम्व, हेनरी डेभिड थोरो, विलियम हैजलिट, पीवी शेली, मेरी शेली, अलेक्जेण्डर पुस्किन, एड्गर एलन पो लगायतका पश्चिमी निबन्धकार इमर्सनकै निबन्धान्द र निबन्धीय धारमा स्वच्छन्द बयेलिएका छन् । बहुमुखी प्रतिभाका खानी बट्र्रेण्ड रस्सेल अर्का स्वछन्दतावादी निबन्धकार थिए । तर उनको स्वछन्दतामा तर्क र दर्शनको प्रवाह थियो ।
स्वछन्दतावादीहरू भावनाको वयेलीबाटै तर्कको खोजी गरेर आत्मिक ज्ञानलाई साझा बनाउँछन् । मानिस अज्ञानी जन्मन्छ तर मूर्ख होइन, शिक्षाले उसलाई मूर्ख बनाइ दिन्छ भन्ने रस्सेल स्वच्छन्दतावादी चिन्तक, मानवतावादी दार्शनिक र शान्तिका पक्षपाती थिए । आयामिक निबन्धकार भए पनि उनका निबन्धको प्रधान विषय मानवीय आदर्श थियो, जुन निजत्व र प्रकृतिमा पाइन्छ ।
स्वतन्त्र मानिसको आराधना, आलस्यको प्रशंसामा, म किन क्रिस्चियन होइन लगायत उनका सयौ निबन्धको स्वच्छन्दताले मानवीय सत्कार्य खोज्छ । उनका निबन्ध बौद्धिक छन्, दार्शनिक छन्, त्यहाँ स्पष्ट तार्किक अन्वीति छ, बौद्धिकताभित्र व्यङ्ग्य छ, अभिव्यक्तिको दृढता छ, विवेचना र विश्लेषण छ । मानवीय मूल्यको समर्थन र अन्धविश्वासको विरोध छ ।
समकालीन अङ्ग्रेजी निबन्धमा सर्वाधिक रुचाइएका जर्ज अर्वेल अङ्ग्रेजी संस्कृति र अङ्ग्रेजीपनको गहन विश्लेषण गर्दछन् । उनी सांस्कृतिक मौलिकतामा रमाएर त्यसैको संवर्द्धन गर्दछन् । समाज र राजनीतिमाथि गहिरिएर चिन्तन गर्ने निबन्धीय प्रवृत्ति उनमा छ । उनका निबन्धमा रूपक, उपमा प्रयोग गर्दैनन् ।
लामा वाक्य संरचना प्रयोग नगरी छोटा वाक्य, छटाइकटाइ–कुँदाइबाट शिल्प स्निग्ध शब्द, मीठो र प्रत्यक्ष अभिव्यक्ति उनका निबन्धका विशेषता थिए । यसले आधुनिक निबन्धमा निक्खर भाषा, छरितो संरचना र गहिरो विचारको संयोजन आवश्यक छ भन्ने देखाएको छ ।
व्यक्तिको परिवेश, भोगाइ, व्यक्तित्व निर्माण, लैङ्गिकचेतले निबन्धलाई प्रभाव पार्दछ । यसको ज्वलन्त उदाहरण फ्रान्ज काफ्काको बाल्यकाल, उनलाई उनका पिता हर्मन काफ्काले दिएको मानसिक सजाय, शिक्षा, वकालतले उनलाई यति बढी नकारात्मक प्रभाव पर्यो कि उनले जीवनभर नगरेको अपराध बोधमा मनमनै गुम्सिन बाध्य भए ।
बुबा उनका लागि ईश्वर, राक्षस, अद्भुत शासकका रूपमा थिए । उनको प्रमुख कृतिहरू ‘दी मेटामर्फसिस’, ‘दी ट्रायल’, ‘दी जज’, ‘इन दी पेनाल कोलोनी’, ‘दी हङ्गर आर्टिष्ट’ हरूमा निस्सार जिन्दगी र व्यर्थ भोगाइका उत्कृष्ट अभिव्यक्ति बनेका छन् । त्यस्तै दृष्टान्त भर्जिनिया उल्फा हुन् । उनका निबन्धहरूमा लैङ्गिकचेत, नारी अस्मिबोध र एकान्तवोध छन् ।
‘अ रुम अफ वन्स वन’ मा एकजोडी पुरुषको जस्तै महिलाको पनि आफ्नै कोठा भएको भए नारी स्वतन्त्र आनन्दमा हुने थिइन भनी कोठालाई सुविधा, स्वतन्त्रता र सम्पत्तिको विम्ब बनाइ नारी मुक्तिको खोजी गरेकी छन् । नारी स्वतन्त्रतालाई समाजले स्वीकृति दिएको छैन । ‘तिमी चाहन्छौ भने तिम्रो पुस्तकालय बन्द गर्न सक्छौ तर दिमाग, ढोका झ्यालमा ताला चाबी लगाए पनि खुल्ला र स्वतन्त्र रहन्छ ।’
अन्तरमनको भावना र आफ्नै अनुभूतिलाई अक्षरमा उतार्दै महिला र पुरुष सत्ताबिचको असमानताको मिहिन चित्र उतार्नु उल्फको निबन्धीय विशेषता हो । स्वच्छन्दतावादी आधुनिक निबन्धमा उनको छुट्टै योगदान रह्यो । केही लेखिका नारीमुक्तिको अभियन्ता बन्न सक्छिन्, नारी चेतको स्रष्टा पनि बन्न सक्छिन् तर आफै साहित्य र अभियान बन्ने थोरै स्रष्टामा उल्फा पर्छिन् ।
जुआन डिडोन अर्का सशक्त आधुनिक निबन्ध स्रष्टा हुन् । आफू बाँचिरहेको जीवन र आफूलाई बुझ्न डिडोनको आत्मसम्मानः यसको शक्ति र स्रोत जीवनको अर्थ खोज्न आफैलाई आदर गर्नुपर्ने औँल्याइमा छ । विचार र विचारमार्फत आन्दोलनको सुरुवात निबन्धले गर्दछ । निबन्ध विचार, तर्क, भावना र दृष्टिकोणका प्रयोगशाला हुन् ।
वैयक्तिक भावनाको प्रत्यावत्र्तनमार्फत डिडोनले आन्दोलनका बिउ रोपेकी थिएन । उनका निबन्धले नारीवादको छुट्टै बहस सुरु गरेको थियो । विचारका साथ आनन्द दिने, विचारले विनिर्माणको बहस चलाउने शक्ति जुआन डिडोनका निबन्धमा छ । उनी भर्जिनिया उल्फकै नारी चेतको धारमा निबन्ध लेख्छिन् ।
भारतीय नारी निबन्धकारहरू भर्जिनिया उल्फा र जुआन डिडोनका प्रवृत्ति चेतमा देखिन्छन् । अरुन्धती रोय, चित्रा बनर्जी देवकरुणी, गायत्री चक्रवर्ती स्पीवाक, अनिता नायक, अनिता देशाई, किरन देशाई, उर्वसी बुटालिया, सुधा मुर्थी, झुम्पा लेहरीहरू यही धारमा छन् । तर उनीहरूका कतिपय निबन्धहरू अभिकान्ताका निक्खर स्वर बनेकाले निबन्धीय लिकबाट पर गई प्रबन्धीय आलेख पनि बनेका छन् ।
विश्वाव्यापीकरण र मानवीय गतिशीलताको परिणामस्वरुप विकास भएको डायस्पोरिक पीडामा लेखिएका आख्यानहरू निबन्धका सीमा काटेका छन् । सबै प्रकारका गैरआख्यान आलेख निबन्ध होइनन्, तर भनिएका छन् । निबन्ध र प्रबन्धका अवयव र अन्तर्यमा भिन्नता छ । निबन्धले पाठकीय मनलाई स्पर्श गरेर मष्तिष्कमा धक्का हान्नु पर्छ । निबन्धमा प्रवेश गर्दा दिमागमा एक प्रकारको वैचारिक तर वयेलीयुक्त तरङ्ग सिर्जना गर्नुपर्छ ।
त्यसपछि प्रवाहको वेगसँगै विचारको घनत्वमा गहिरिनु पर्छ । पढिसकेपछि पनि मनलाई अनुभूति, मष्तिष्कलाई उर्जा र दृष्टिलाई सपाट दृश्यको पर्दा खोलिदिनु पर्छ । त्यसैले निबन्धमा साहित्यिक अशुद्धताका लागि कुनै ठाउँ रहनु हुन्न । दृष्टि, विचार, सङ्क्षेत्र र प्रवाहका आधारमा निबन्ध शुद्ध हुनुपर्छ । पानीजस्तै शुद्ध ।
पानीमा अरू तत्व मिलाए पनि पानी चाँहि त्यही हो तर त्यो बिटुलिन्छ । अनि मात्र शुद्धता, पवित्रता र पहिचानमा मौलिकता रहन्छ । प्रख्यात निबन्धकार भर्जिनिया उल्फले भनेकी थिइन– पानी जस्तै शुद्ध, मदिरा जस्तै शुद्ध । तर त्यो निरसता, मृतकता र बाह्य पदार्थको भण्डारणबाट मुक्त हुनुपर्छ । एउटा गैरनिबन्धीय आलेखले झट्का त दिनसक्छ तर निबन्धलाई डुबाउँछ ।
यी विश्लेषण र दृष्टान्तका आधारमा आधुनिक निबन्धको चरित्र यस प्रकार उल्लेख गर्न सकिन्छः
- आधुनिक निबन्ध भिक्टोरियन समयका झैँ जटिल, लामो र क्लिष्ट हुँदैनन् ।
- प्रबन्धकीय संरचनाशैलीबाट पृथक् हुन्छ ।
- विधागत शुद्धतामा रहन्छ ।
- इण्डिभिजुयालिटी वा वैयक्तिक स्वतन्त्रतामा, स्वच्छन्दतामा रहन्छ ।
- आयामिक विषयमा रहन्छ ।
- विचार, भाव र प्रस्तुतिको सिलसिलाबद्ध आवृत्तिमा रहन्छ ।
- भावनात्मक प्रतिविम्बिनप्रति चोखो रहन्छ ।
- मानवीय चिन्तनको ढोका खोल्छ र पाठकहरूलाई परमस्वानन्दमा पुग्ने ढोका खोलिदिन्छ ।
आधुनिक नेपाली निबन्ध
नेपाली निबन्धको विकास र प्रवृत्ति विश्लेषण गर्दा प्रमुख रूपमा तीन धार देख्न सकिन्छ । पहिलो, निजात्मक भावधारा वा प्रवृत्ति, जसको नेतृत्व महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका छन् । दोस्रो धार, अमूर्त चिन्तन धारा हो, जसको नेतृत्व निबन्धकार शंकर लामिछानेले गरेका छन् भने तेस्रो धार, व्यङ्ग्यात्मक धार हो, जसको नेतृत्व भैरव अर्यालले गरेका छन् । अन्य निवन्धकारहरू यी तीन प्रवृत्तिलाई धेरथोर वा मिश्रित रूपमा पछ्याइरहेका छन् ।
निबन्धकार देवकोटा भावको बयेलीमा स्वतन्त्र बग्छन् । प्रकृति र जीवनलाई औधी खेलाउँछन् । उनका लागि सानो विषयवस्तु पनि फराकिलो प्रस्तुतिभूमि बन्छ । उनले रोजेको निजात्मक आत्मपरक शैलीले भावना अभिव्यक्तिलाई सजिलै स्वीकृति दिन्छ, जसले ती भावना पाठकका आफ्नै झैँ लाग्छन् ।
कल्पना, विम्व र व्यङ्ग्यको त्रिवेणी हुन्छ देवकोटामा । ‘छोटो किस्सा’‘हामीलाई कवितामा के चाहिन्छ’‘दाडिमको रुखनेर’ लगायतका निबन्ध देवकोटीय धारका अनुपम दृष्टान्त हुन् । देवकोटाको गद्यकारिता कवितात्मक छ, उनका निबन्ध प्रस्तुति कवितात्मक शिल्पमा कुँदिएका छन् । धेरैजसो निबन्धहरू निबन्ध शैलीमा लेखिएका कविता हुन् । त्यसैले तिनीहरू अतुलनीयजस्ता लाग्छन् ।
उनकै भनाइमा उनका लागि कल्पना भन्दा दर्शन अरू छैन । कल्पनाको भावमा डुबेर शब्दसँग खेल्ने अतुलनीय प्रतिभाका कारण जे जस्ता विषयमा पनि उनी ज्ञानको ब्रह्माण्डलाई निबन्धमा घोप्टाउन सक्छन् । ज्ञान भावनाको स्पर्शले सहजै उठाउन सक्छ भन्ने तथ्य उनका निबन्ध हुन् ।
देवकोटाका निबन्ध विचारको गहिराई, भावको वयेली, उन्मुक्त भावोन्मेषको बहाव र निजत्वको आनन्दमा वेगवान् छन् । निबन्धकार देवकोटाका निबन्धमा इमर्सनमा झैँ स्वच्छन्दताको आत्मिक उडान र आत्मिक आनन्द, रस्सेलको जस्तो व्यङ्ग्य चेत सहितको बौद्धिक विचारको गहिराई, अर्वेलको जस्तो निख्खरपन, आरस्तुको जस्तो दृष्टिदर्शन र भर्जिनिय उल्फको जस्तो आत्मिक स्पन्दन पाइन्छ । यी सबै वैशिष्ट्य एकल देवकोटामा पाइनुले उनी निबन्धका मानक हुन् । विश्व मानक हुन् । तर यसरी गहिरो विश्लेषण समालोचक विवेचकबाट भएकै छैन ।
दोस्रो धारको नेतृत्वकर्ता शङ्कर लामिछाने पूरै मानव जीवन र प्रकृतिलाई कला देख्छन्, कतै मूर्त कतै अमूर्त । लामिछाने ससाना परिघटना उधिन्दै भावचिन्तनलाई आमन्त्रण गर्छन् । उनका विम्वमा गैरआख्यान होइनन्, अनुभूतिको सदृश्यतालाई ससाना घटना बुनेर मूर्त रूप दिने गर्छन् । तर ती घटना यथार्थ भाव भूमिबाट टिपिएका हुन्छन् । ‘एव्स्ट्र्याक्ट चिन्तन प्याज’ यसको बेजोड नमुना हो । ‘म हाँसी रहेँ । (हाँस्नु पनि एउटा कला हो । मानिसको उमेरमा विकास हुनासाथै हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् ।) हाँसेर मैले बाङ्देललाई बिदा दिएँ, र कुरालाई पन्छाएँ पनि ।’
हाँसो बिम्ब हो, अमूर्त कलाबिम्ब, जुन जीवनको विकाससाथ परिवर्तन भइरहन्छ । मानिस स्वयम्मा एक विशाल कला हो, मूर्त–अमूर्त कला । र, यी कलाभाव पोख्न निबन्धकार र बाङ्देलजीको छोटो संवादलाई रोजिएको छ । ‘गोधुली संसार’ र ‘एव्स्ट्र्याक्ट चिन्तन प्याज’, ‘बिम्ब प्रतिबिम्ब’ ले यही मौलिकता स्थापित गरेको छ ।
भैरव अर्याल नेपाली निबन्धका नितान्त मौलिक प्रयोगकर्ता हुन् । उनी व्यङ्ग्य सुधाका साथ सामाजिक विकृतिलाई चिरफार गर्न औधी सफल छन् । उनका प्रस्तुतिमा रहने सरलता र अनुप्रासले मिठास थपिदिएको छ । उनको व्यङ्ग्य सामाजिक क्षेत्रका व्यक्तिहरू र मानव व्यवहारमाथि केन्द्रित रहन्छ । नेपालको राजनीतिक प्रणालीप्रति उनको व्यङ्ग्यको उदाहरण राजनैतिक दलको घोषणा पत्रमा उल्लेख गरिएका कुराहरूबाट देख्न सकिन्छ ।
‘व्यापारीलाई दर, सुकुम्वासीलाई घर, जागिर खानेलाई पोस्ट, खाजा खानेलाई टोस्ट, जोगीलाई जंक्सन, रोगीलाई इन्जेक्सन, पढ्नेलाई पास, खोल्नेलाई तास, गाइनेलाई भ्वाइलिन, आइमाइलाई नाइलिन, पुलिसलाई दण्डा, नेतालाई झण्डा, पाण्डालाई भेटी, गुणलाई केटी इत्यादि’ ।
नेताका चरित्रलाई ‘नेता नम्बर एकसय एक’ मा यसरी उदाङ्गो बनाएका छन् कि उसले बाचा नगर्ने कुनै कुरै छैन । उनका अन्य ‘आलु’ तथा ‘जयभुँडी’ सङ्कलित निबन्धहरू ‘मपाईँ’, ‘जयभुँडी’, ‘भान्सा भो हजुर ?’, ‘केही राष्ट्रिय रोग: एक अनुसन्धान’ लगायतका निबन्धहरू नेपाली साहित्यका चटनी हुन् । निबन्धकारले आजभोलिको नेपाली समाजलाई नै चिरफार गरेझैँ लाग्छ । त्यसैले निबन्ध कालजयी पनि छन् ।
नेपाली निबन्ध विधाका सबैजसो सर्जकहरू उल्लिखित तीन धार तथा प्रवृत्तिबाट धेरथोर प्रभावित छन् । केही निबन्धकार देवकोटासँग नजिक छन्, केही लामिछाने वा भैरव अर्यालसँग । व्यङ्ग्यकार केशवराज पिडाली, युवराज मैनाली भैरव अर्यालका धारमा छन्, माधव घिमिरे, कृष्ण धारावासी, मनुजबाबु मिश्र, श्रीबाबु कार्कीहरूले देवकोटीय धार पछ्याउन खोजिरहेका छन्, श्रीओम श्रेष्ठ, प्रकाश सायमीहरू लामिछाने प्रवृत्ति पछ्याइरहेका छन् । तर निबन्ध भनिएका धेरै आलेखहरूले निबन्धको विधागत मर्म समाउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण