तिहारको गौरवमय त्यो साँझ
सारांश
- काठमाडौंमा लोडसेडिङ अन्त्य भएपछि खुसीयाली मनाइयो, तर जस लिने विषयमा माओवादीभित्रै विवाद भयो।
- जनार्दन शर्माले लोडसेडिङ अन्त्य गरे पनि उनलाई मिडिया ट्रायल र आरोपहरूको सामना गर्नुपर्यो।
- लेखमा राजनीतिक खिचातानी, नेताहरूको कार्यशैली, र तेस्रो विश्वका नागरिकको मानसिकताको चर्चा गरिएको छ।
त्यो एक जादुमयी साँझ थियो । पहिलो दिन काठमाडौँका टुकीमारहरू निभे । जेनेरेटरहरू अचानक बन्द भए । मैनबत्तिहरू थन्किए । मैनबत्तिका सहयोगी सलाई र लाइटर कोठाहरूमा ओहोरदोहोर भएनन् । शरदयामको सिरसिरे बतास, तिहारको रौनक, लक्ष्मीपूजाको औँसीको त्यो साँझ घरभित्र दियो र घरबाहिर बत्तीले झिलिमिली भयो । उत्साहको त्यो क्षण वास्तवमै कल्पनाभन्दा पर थियो । औँसीको त्यो रात काठमाडौँ दुलहीझैँ सिँगारिएको थियो ।
त्यो हिन्दुहरूको उज्यालो पर्व दीपावली मात्र थिएन — लोडसेडिङ अन्त्यको खुसीयाली मिसिएको सम्पूर्ण नेपालीहरूको सुखद दीपावली थियो । मानिसहरू गज्जबले उफ्रे । पहिलो पटक कुनै मन्त्रीको घोषणा हुबहु कार्यान्वयन भएको थियो । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ त्यस सफलताको निर्विवाद हकदार थिए । जनताले जनार्दनको वाही–वाही गरे । उनी देशवासीका लागि धन्यवादका पात्र बने । १७ घण्टा लामो लोडसेडिङ एकाएक गायब भयो । मैनबत्ती उद्योगहरू बन्द भए । जेनेरेटर व्यापारीहरू स्तब्ध भए । टुकीमाराका खुद्रा व्यापारीहरू अमिलिए । तर आम मानिसहरूको उत्साह व्यापक बन्यो ।
देशभर उज्यालोको चर्चा चुलियो । उज्यालोको चर्चासँगै जनार्दनको चर्चा जोडियो । जनार्दनसँग माओवादी पार्टीको नाम जोडियो । काम त राम्रै हो तर कामसँग जसको नाम जोडियो त्यो सहरको सम्भ्रान्त वर्ग र केही मिडिया टाइकुनलाई मन परेन । त्यसपछि मन्त्रीलाई छायामा पार्ने गरी प्राधिकरणका सिइओलाई चर्चामा ल्याइयो । त्यो आइडिया माओवादीभित्र जनार्दनका प्रतिस्पर्धी र पार्टीभित्र आफूबाहेक अरूको लोकप्रियतासँग सधैँ तर्सिने नेतृत्वपंक्तिलाई पनि निकै मन पर्यो ।
त्यस लोडसेडिङ अन्त्यको टिमका नीतिगत कोरियोग्राफर थिए मन्त्री शर्मा । मन्त्रालयका तर्फबाट त्यसलाई रणनीतिक योजनाको हिस्सा बनाउने कुशल र परिपक्व कर्मचारी थिए अनुपराज उपाध्याय । प्रबन्धकीय कुशलताका साथै प्राविधिक क्षमता भएका प्रशासक थिए कुलमान घिसिङ ।
लोडसेडिङ अन्त्यको जस लिनेको राजनीतिक भविष्य चम्किने निश्चित भयो । त्यसो हुँदा राजनीतिक सम्भ्रान्त र माओवादीप्रति अनुदार सोच राख्ने प्रबुद्ध वर्गले त्यो जस कुलमान घिसिङको टाउकोमा राख्दा सही हुने आँकलन गरे र सोही बमोजिम मिडियाको रोल सुरु भयो । जनयुद्धको फौजी कमान्डरदेखि शान्ति प्रक्रियासम्म आउँदा आफ्नो कार्यसम्पादनमा अब्बल मानिने जनार्दनको लोकप्रियता बढ्यो भने थेग्न नसकिने भन्ने सोच त सबैतिर थियो नै । ऊर्जा मन्त्रालयमा पुग्दा उनले गरेको कायापलटपछि रियालिटी कन्ट्रोल गर्ने र प्यारालल सत्य स्थापित गर्नेमा सबै सहमत हुने वातावरण बन्यो ।
लोडसेडिङ अन्त्यका लागि उनले चुहावटका प्वालहरूसम्म पुग्ने गरी कनेक्ट भएका अपारदर्शिताका तारहरू काट्नुपर्यो । प्राधिकरणबाट आउने कमिसनको ठूलो रकम रोकिएपछि धेरैको आर्थिक स्रोतका तार काटिए । यसैगरी भविष्यमा पनि आर्थिक स्रोतका तारहरू काटिए भने सत्ताको हालीमुहाली र ढलिमली कमजोर हुन्छ भन्ने सोच राख्नेहरू जनार्दन अर्थ मन्त्रालयमा पुगेपछि थप आत्तिए । उनले भ्रष्टहरूको अन्य आर्थिक स्रोतका तार काट्नु अघि नै उनलाई करको दर हेरफेरको आरोप लगाइयो । संसदीय समितिमार्फत छानबिनको दायरामा ल्याइयो । त्यहाँ पनि कुनै अपारदर्शिता फेला नपरेपछि सिसिटिभीको तार काटेको कथा रचेर उनीमाथि मिडिया ट्रायल गरियो ।
आफैले नेतृत्व गरेको मन्त्रालयभित्र आउजाउ गर्न सिसिटिभीको तार काटेको हल्ला पत्याइदिने समाजको जग पनि कति कमजोर रहेछ ? अर्थमन्त्रीले करको दर हेरफेर गर्ने कुरा उसको विभागीय दायित्व हो । तर हल्ला यसरी गरियो मानौँ कि कुनै अनधिकृत व्यक्तिले अर्थ मन्त्रालय सम्हालिरहेको हो । भ्रष्ट र माफियाका आर्थिक स्रोतका तारहरू काटिएपछि उनीहरूले सिसिटिभीको तार काटेको प्रचार गरे । ऊर्जाको जस्तै अर्थ मन्त्रालयबाट हुने चुहावटका प्वालहरू बन्द गरी अपारदर्शी आर्थिक आयका स्रोतहरू काटिएपछि भविष्यमा आफ्नो राजनीति चौपट हुने बुझेका उनीहरूले मुसोसरह चित्रित गरेर सिसिटिभीतिर लिएर विषय डाइभर्ट गरे ।
हरेक अर्थमन्त्रीले करको दर हेरफेर गर्छ । त्यो उसको जिम्मेवारीभित्र पर्छ भन्ने कुरा बुझाउन नपाउँदै मिडिया म्यानिपुलेटद्वारा मिस–लिड गर्ने फेक इन्फर्मेसनको बाढी सिर्जना गरियो र मिडिया ट्रायलको भिक्टिम बनाउने कसरत भयो । त्यो सबै योजना ऊर्जा मन्त्रालयको उत्साहलाई पखाल्ने रणनीति अन्तर्गत थियो भन्ने कुरा जनार्दनले आजसम्म आमपंक्तिलाई स्पष्ट पार्ने अवसर नै पाएनन् ।
ऊर्जामा रहँदा तिहारसम्मका लागि मात्रै हो कि जस्तो देखिएको लोडसेडिङ सधैँका लागि अन्त्य गर्न सफल भएपछि बाहिर मात्र होइन, उनको आफ्नै पार्टी माओवादीभित्र समेत त्यस सफलताको जस जनार्दनलाई मात्रै जान दिनु हुँदैन भन्ने खालका बहसको खेलो फड्को सुरु भयो । ऊर्जामन्त्रीका हैसियतले जनार्दनले उत्कृष्ट कार्य प्रदर्शन गरे भन्ने कुरा स्थापित गर्नुभन्दा प्रचण्ड नेतृत्वको सरकारले गर्यो भन्ने जुक्ति विद्वानहरूले निकाले । कुरा त सही हो । प्रचण्ड नेतृत्वकै सरकार थियो त्यो । एउटा विषयमा धेरै अर्थ लाग्ने सत्यहरू हुन्छन् । कुन सत्य उद्घाटित गर्ने भन्ने कुरा शासनको वरिपरि रहने विद्वानहरूको सर्कलले तय गर्छ । आफू अनुकूल अर्थात् आफ्नो जागिर बमोजिमको सत्य स्थापित गर्नु नै विद्वानको धर्म हो । विद्वानले रोजीरोटीको धर्म पूरा गर्दा आउने परिभाषा, स्थापित हुने सत्य र बस्ने नजिरहरूले शासकको कर्म प्रतिबिम्बित नगरेका अनगिन्ती उदाहरणहरू छन् ।
विद्युत् प्राधिकरणको सिइओ नियुक्तिका लागि नेपथ्यका खेलहरू सामान्य वा रहस्यमयी थिएनन् । त्यतिबेलाका ‘डार्क गेम’ को पृष्ठभूमितिर जाने हो भने सिंगो समाज आज पनि स्तब्ध हुन्छ । यदि कुनै दिन समयले तिनका ‘कम्प्रोम्याट फाइल’ भित्रका ‘डिप मिस्टेरियस’ (जसलाई सामान्यतया ‘इन्टरनल डार्क सिक्रेट’ भन्ने चलन छ) बाहिर ल्याउन माग गर्यो भने तिनको दुखान्त अन्त्य हुन्छ । यदि कुनै मिडिया वा एजेन्सीले योजनाबद्ध डेटा डिभिजन खडा गरेका थिए भने शासकहरूको बेलगाम कर्तुत जुन दिन सार्वजनिक हुन्छ, त्यही दिन उनीहरूको राजनीतिमा वियोगान्त अन्त्य हुन्छ । त्यतिबेला पुनः तिनै विद्वानहरू देवत्वकरणबाट राक्षसीकरणका लागि नयाँ अवतारमा देखिन्छन् ।
राजनीतिको मञ्चमा हुने कास्टिङ र पर्दापछाडि हुने तानाबानाको बेमेल आकाश–धर्ती जत्तिकै दूरीमा हुन्छ । आज मैले जुन टिपेर धर्तिमा ल्याएको छु, यहाँ मञ्चको छेउमा छ । तर सार्वजनिक गर्दा अनिष्ट हुने भयले म त्यो गर्न असमर्थ छु । कृपया मलाई त्यसका लागि प्रेरित नगर्नुहोला । अनि केही ताराहरू पनि जुनसँगै ल्याएको थिएँ, तिनीहरू चाहिँ आकाशतिरै पठाइसके भनेर समाजलाई बेवकुफ बनाउने कलाकारहरू नै तेस्रो विश्वका मुलुकका महान् राजनीतिज्ञ र नायकको कोटीमा पर्छन् ।
तेस्रो विश्वका नागरिकहरू आफ्नै क्षमता, चेतना, सरकारको कर्तव्य र दायित्वमा तथा प्रणालीमा व्यापक हेरफेरसहितको वास्तविक सुधारमा विश्वास गर्दैनन् । तिनीहरूलाई आफ्नै कामप्रति समेत आत्मविश्वास हुँदैन । बरु तिनीहरूले नायकको खोजीमा युगौँ बिताउँछन् । नेतैपिच्छे उपमा दिँदा दिँदै एकातिर सिद्धान्तको शब्दकोश रित्तिन्छ । अर्कातिर व्यवहारिक जीवनका कठिनाइसँगको अनवरत संघर्षमा जनताको आँसु र पसिना पनि रित्तिँदै जान्छ । तर नायकको भोक र नायकत्वको चाहना रित्तिएको हुँदैन ।
हरेक दशकमा एउटा राजनीतिक ठग नयाँ अवतारसहित आउँछ । जनताले त्यसैको जयजयकार गर्छन् । जब त्यसको गौरवपूर्ण प्रचारको मेकअप डिस्कलर हुन्छ, जनता फेरि दिक्दार हुन्छन् । यो चक्र निकै लामो चल्छ । र यसैको जगमा एउटा नयाँ तानासाहको जन्म हुन्छ । अब हामी नयाँ तानासाह जन्माउने बाटोमा छौँ ।
गणतन्त्रको यस कालखण्डमा दुई जना व्यक्ति — बाबुराम भट्टराईले आँट गरेका काठमाडौँका फराकिला सडक र खोला छेउका करिडोरहरू तथा जनार्दनले गरेको लोडसेडिङ अन्त्य — वास्तवमै जनपक्षीय कामहरू हुन् ।
तिनीहरूले देशलाई देशजस्तो र विकासलाई विकासजस्तो बनाउन सकिन्छ भन्ने सन्देश दिएका हुन् । ती दुवै काममा माओवादीभित्र जस लिने होडबाजी चल्यो । असफलता अरूको टाउकोमा हालेर ‘हिटम्यान’को शैलीमा भाग्ने र सफलता मिलिसेकेन्डमै सेबोटाज गर्ने प्रचलनले माओवादी ग्रस्त छ । जे सुकै होस्, हरेक दीपावलीमा जब काठमाडौँ झलमल्ल हुन्छ, मानिसहरूले वर्षमा एक पटक भए पनि तत्कालीन ऊर्जामन्त्री शर्माको सम्झना नचाहेर पनि गर्छन् । यही गर्वलाग्दो कामले माओवादी पंक्तिमा उत्साह आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण