यी ३ जनालाई प्रधानमन्त्रीले मन्त्रीमा सिफारिस गरिन्, शपथ लिन पाएनन्
काठमाडौँ । भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ पछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले सिफारिस गरेका तीन प्रस्तावित मन्त्रीले पद तथा गोपनीयताको शपथ लिन नपाउँदै बाहिरिनु परेको छ।
प्रधानमन्त्री कार्कीले आइतबार सिफारिस गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री खगेन्द्र सुनार र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री गणपतिलाल श्रेष्ठ तथा असोज ६ गते स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस डा. संगीता कौशल मिश्राले सिफारिस भएर पनि पदको शपथ र कार्यभार नसम्हाली विवादका कारण बाहिरिन बाध्य भएका हुन्।
- विवादित मन्त्री सुनारका मुद्दा
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएर शपथ गर्न नपाएका सुनारविरुद्ध जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म विभिन्न प्रकृतिका मुद्दा रहेको पाइएको छ। मन्त्री सिफारिसको खबर बाहिरिएपछि प्रमाणसहित सञ्चार माध्यमहरूमा समाचार आएपछि अन्तिममा उनको शपथ रोकिएको थियो। सुनारविरुद्ध फौजदारी कसुरमा अदालतको अवहेलना मुद्दा छ।
अधिवक्ता मनिषा गौतमका अनुसार सुनारविरुद्ध रुकुमका नवराज विक हत्या प्रकरणमा अदालतको फैसलाको विषयलाई लिएर न्यायाधीशविरुद्ध गालीगलौज गरेको भन्दै अदालतको अवहेलनामा सर्वोच्चमा दायर भएको मुद्दामा कारण देखाऊ आदेश जारी भएको पाइएको छ। सुनारले सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानलाई पनि गालीगलौज गरेर सामाजिक सञ्जालमा लेखेका थिए। मुद्दा दर्ता गर्ने अधिवक्ता गौतममाथि पनि उनले गालीगलौज गरेका थिए।
विकको मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको फैसला चित्त नबुझेपछि सुनारले अदालत परिसरमा हुलहुज्जत र गेटमा तोडफोड गर्नुका साथै न्यायाधीशहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। त्यसैगरी, काभ्रे जिल्ला अदालतमा सुनारमाथि विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। २०८० असारमा जिल्ला अदालतले उनलाई १० हजार जरिवाना हुने फैसला सुनाएकोमा हालसम्म उनले सो जरिवाना तिरेका छैनन्।

यस्तै, सुर्खेत जिल्ला अदालतबाट आपराधिक घटनामा संलग्न रहेको भन्दै अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पताल प्रमुख डा. सोजन सापकोटामाथि हातपात र अस्पताल भवनमा तोडफोड गरिएको आरोपमा सुनारविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
सुनारले वैदेशिक रोजगारमा कामदार पठाउने नाममा म्यानपावर कम्पनी खोलेर ठगी गरेको समेत पाइएको छ। २०७७ सालमा विभिन्न देश पठाउने भन्दै ५ देखि १५ हजारसम्म विभिन्न व्यक्तिसँग रकम असुली गरेर फिर्ता नगरेपछि उनीविरुद्ध ठगीको उजुरी परेको थियो।
- भूमि विवादले रोकियो श्रेष्ठको शपथ
भूमि व्यवस्थामन्त्रीमा सिफारिस गणपतिलाल श्रेष्ठविरुद्ध अदालतमा भूमिसम्बन्धी मुद्दा रहेका बताइए पनि विस्तृत विवरण भने बाहिर आएको छैन।

राष्ट्रपति कार्यालय स्रोतले भूमिसम्बन्धी विवादका मुद्दा अदालतमा रहेको पाइएकाले प्रधानमन्त्रीले तत्कालका लागि शपथ नगराउने निर्णय लिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गराएको थियो।
- घोटाला आरोपमा मिश्राको सिफारिस रद्द
असोज ६ गते स्वास्थ्यमन्त्री बन्ने निश्चित भएपछि नाम काटिएकी डा. संगीता कौशल मिश्राले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन्। उनी विभागको महानिर्देशक हुँदा स्वास्थ्य उपकरण खरिदका निर्णयमा घोटाला गरेको पाइएपछि उनको सिफारिस रोकिएको हो।

विभागको महानिर्देशक हुँदा डा. मिश्राले म्यामोग्राम मेसिनविनाको बक्सा मात्र हस्तान्तरण गरेर रकम भुक्तानी लिएको पाइएको थियो। त्यसैगरी, ११ औँ तहमा सिफारिसको समयमा लोकसेवा आयोगमा फर्जी विवरण पेस गरेको आरोप पनि उनीमाथि लागेको थियो।
सोही प्रकरणमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण