शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

१० बजे १० समाचार : सरकारमा थपिए दुई मन्त्री, सिफारिस भएर पनि शपथ लिन पाएनन् श्रेष्ठ र सुनारले

आइतबार, ०९ कात्तिक २०८२, २२ : ००
आइतबार, ०९ कात्तिक २०८२

आज २०८२ कात्तिक ९ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सरकारमा थपिए दुई मन्त्री, मन्त्रीका लागि सिफारिस भएर पनि शपथ लिन पाएनन् श्रेष्ठ र सुनारले, प्रधानमन्त्री कार्यालयसँग माग्यो सर्वोच्चले लिखित जबाफ, २५ सीडीओसहित ३६ सहसचिवको सरुवा, जाँचबुझ आयोगका अध्यक्षसहित तीन जनाविरुद्ध सर्वोच्चमा रिट, डीआईजीमा बढुवाका लागि पाँच एसएसपीको नाम सिफारिस, छठ पर्वको तयारी लगायत छन् ।

१. सरकारमा थपिए दुई मन्त्री
सुशीला कार्की नेतृत्वको सरकारमा आइतबार दुई मन्त्री थपिएका छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा बब्लु गुप्ता र डा. सुधा शर्मा गौतम मन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुवै मन्त्रीलाई आइतबार नै पद तथा गोपनीयताको शपथ गराएका छन् ।

२. मन्त्रीका लागि सिफारिस भएर पनि शपथ लिन पाएनन् श्रेष्ठ र सुनारले
आइतबार मन्त्रिपरिषद् विस्तारका क्रममा गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको नाम पनि चर्चामा थियो । अन्तिम समयमा आएर उनीहरूको नाम फिर्ता लिइएको छ । दुवैले मन्त्री बन्ने अवसर पाएनन् ।

३. प्रधानमन्त्री कार्यालयसँग माग्यो सर्वोच्चले लिखित जबाफ
सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित विपक्षीहरूलाई उत्प्रेषणलगायत मुद्दामा लिखित जबाफ पेस गर्न आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आइतबार दिएको आदेशमा निवेदक (सुनिल भट्टराई) को मागबमोजिम ‘आदेश किन जारी हुनु नपर्ने हो’ भनी १५ दिनभित्र लिखित जबाफ माग गरेको हो ।

४. २५ सीडीओसहित ३६ सहसचिवको सरुवा
गृह मन्त्रालयले आइतबार २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ३६ सहसचिवको सरुवा गरेको छ ।

५. जाँचबुझ आयोगका अध्यक्षसहित तीन जनाविरुद्ध सर्वोच्चमा रिट
जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्चमा रिट पेस भएको छ ।

६. डीआईजीमा बढुवाका लागि पाँच एसएसपीको नाम सिफारिस
नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । 

७. छठ पर्वको तयारी
सूर्य देवताको आराधना गरी मनाइने छठ पर्वका लागि नदी तथा चलाउ किनारमा घाट निर्माण गरिएको छ । यस क्रममा काठमाडौँका विभिन्न स्थानमा छठको तयारी भएको छ ।

८. पार्टी एकताको चर्चाले एकीकृत समाजवादीमा हलचल
माओवादी र एकीकृत समाजवादी बिचको एकता अन्तिम चरणमा पुगेको विषय सञ्चार माध्यममा आएपछि एकीकृत समाजवादी पार्टीमा हलचल भएको छ । यथास्थितिमा माओवादीसँग एकता भए घातक हुने भन्दै एकीकृत समाजवादीका झलनाथ–घनश्याम समूह एकताको विपक्षमा उभिएको छ । यदि नेतृत्वले पेलेरै एकता गरेमा विद्रोह हुने सो समूहको चेतावनी छ ।

९. नागरिक उन्मुक्ति पार्टीमा एक्लिइन् रञ्जिता
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पार्टीमा एक्लिएकी छन् । श्रेष्ठलाई अध्यक्षबाट हटाएर रामलाल डगौरा चौधरीलाई अध्यक्ष बनाएको पत्र निर्वाचन आयोगमा दर्ता गराइएको छ, जसमा पार्टीका अधिकांश संस्थापकले हस्ताक्षर गरेका छन् ।

१०. रास्वपा निर्वाचनमा केन्द्रित हुने 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने भएको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले मतदाता नामावली अद्यावधिक गराउन पार्टीको तर्फबाट अभियान नै चलाउने निर्णय गरेको सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप